दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


२१ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा फेरि सर्‍यो कांग्रेस महासमिति बैठक,राष्ट्रपति पौडेलद्वारा भूकम्प प्रभावित क्षेत्रको भ्रमण, नेपालमा लगानी गर्न एसिया प्रशान्त क्षेत्रका व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह,आइएमई ग्रुपद्वारा प्रधानमन्त्रीलाई डेढ करोडको चेक हस्तान्तरण, भूकम्पपछिको पुनःनिर्माणलाई व्यवस्थित बनाउन कांग्रेसको सुझावलगायतका समाचारले प्रमुख स्थान पाए ।

फेरि सर्‍यो कांग्रेस महासमिति बैठक

नेपाली कांग्रेसको महासमिति बैठक फेरि सरेको छ । पुस १६ गते उद्घाटन गर्ने गरी महासमिति बैठकको नयाँ मिति तोकिएको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बताए ।

मंगलबार केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै प्रचार विभाग प्रमुख विश्वकर्माले पुस १६ गते उद्घाटन गर्ने गरी महासमिति बैठकको नयाँ मिति तोकिएको जानकारी दिए । कांग्रेसले नीति अधिवेशनको समेत काम गर्ने गरी पुस १६ देखि १९ गतेसम्म महासमिति बैठक गर्न लागेको उनको भनाई छ ।

राष्ट्रपति पौडेलद्वारा भूकम्प प्रभावित क्षेत्रको भ्रमण

राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्प प्रभावित क्षेत्रको भ्रमण गरेका छन् ।

मंगलबार राष्ट्रपति पौडेल भूकम्प प्रभावित क्षेत्र पुगेका हुन् ।

नेपालमा लगानी गर्न एसिया प्रशान्त क्षेत्रका व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुक आर्थिक समृद्धिको मार्गमा रहेकाले नेपालमा लगानी गर्न एसिया प्रशान्त क्षेत्रका व्यवसायीलाई आग्रह गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा गएको एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसङ्घका अध्यक्ष पिटर म्याकमुलिन एमसहितको प्रतिनिधिमण्डलसँगको भेटमा उहाँले नेपालको आर्थिक समृद्धिको यात्रामा सहयोग गर्न आग्रह गरे।

आइएमई ग्रुपद्वारा प्रधानमन्त्रीलाई डेढ करोडको चेक हस्तान्तरण

आइएमई ग्रुप तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जाजरकोट र रुकुमपश्चिमलगायतका जिल्लाका भूकम्प प्रभावितका लागि घोषणा रु एक करोड ५० लाख बराबरको चेक आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हस्तान्तरण गरेका छन् ।

अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंक लिमिटेड, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स र आइएमई लिमिटेडलगायत आइएमई ग्रुपबाट प्रवर्द्धित कम्पनी तथा आइएमई फाउन्डेसनमार्फत घोषणा गरिएको उक्त सहयोग रकमको चेक प्रधानमन्त्री दाहाललाई हस्तान्तरण गरेका हुन् ।

उपप्रधानमन्त्री श्रेष्ठसँग फ्रिडम फण्डका पदाधिकारीको भेट

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग फ्रिडम फण्डका पदाधिकारी तथा प्रतिनिधिले भेटवार्ता गरेको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा आज भएको सो भेटमा उहाँहरूबीच नेपाल सरकारका प्राथमिकता र फ्रिडम फण्डले गर्नसक्ने सहयोगका बारेमा छलफल भएको थियो ।

श्रमिक एवं कामदारमाथि हुने घरेलु, लैङ्गिक र आर्थिक हिंसाविरोधी अभियानमा सामाजिक संस्थामार्फत सहयोग पुर्‍याउँदै आएको फ्रिडम फण्डले नेपाल सरकारसँगसमेत सहकार्यको प्रस्ताव गरेको थियो । त्यसक्रममा टोली प्रमुख नताशा डोल्बीले अनुचित लेनदेन (मिटरब्याज) नियन्त्रणसम्बन्धि कानुन निर्माण र लागू गरेकामा उपप्रधानमन्त्री श्रेष्ठप्रति आभार व्यक्त गरेका थिए ।

अर्थतन्त्रको गतिलाई वृद्धि गर्ने आधारहरु सिर्जना भएका छन् : अर्थमन्त्री

अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रको गतिलाई वृद्धि गर्ने आधारहरु सिर्जना भएको बताएका छन् ।

मंगलबार काठमाडौंमा त्रिविवि शिक्षण अस्पतालको मङ्गलादेबी बर्थिङ सेन्टरको उद्घाटन गर्दै मन्त्री महतले अहिले रेमिटेन्स वृद्धि भएको र पर्यटन व्यवसायमा उत्साह छाएको भन्दै अर्थतन्त्रको गतिलाई वृद्धि गर्ने आधारहरु सिर्जना भएको बताएका हुन् ।

भूकम्पपछिको पुनःनिर्माणलाई व्यवस्थित बनाउन कांग्रेसको सुझाव

नेपाली कांग्रेसले भूकम्पपश्चात् राहत, पुनःस्थापना र पुनःनिर्माणलाई थप व्यवस्थित बनाउन सरकारलाई सुझाव दिएको छ ।

मंगलबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसले उद्धार, राहत, पुनःस्थापना र पुनःनिर्माणका लागि तत्कालीन र अल्पकालीन उपाय अपनाउन सरकारलाई सुझाव दिएको हो ।

जनताको स्वास्थ्यलाई ध्यान दिएर काम गरेका छौँ : मन्त्री बस्नेत

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले जनताको आधारभूत स्वास्थ्य सुविधालाई विशिष्ट ढङ्गले अघि बढाउने गरी काम भइरहेको बताएका छन् । बागमती प्रदेशमा आर्थिक वर्ष २०७९/८० मा भएका स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा गोष्ठीको आज उद्घाटन गर्दै उनले जनताको आधारभूत स्वास्थ्यलाई ध्यानमा राखेर सरकारले काम गरेको बताए ।

“संविधानमा शिक्षा र स्वास्थ्यलाई मौलिक हकका रुपमा व्यवस्था गरिएको छ”, मन्त्री बस्नेतले भने, “संविधान र कानुनमा भनिएजस्तो व्यवहारमा गर्न सकिएको छैन, तर निरन्तर प्रयास जारी छ ।”

जुम्लाका तीन स्थानीय तहले भूकम्पपीडितलाई आर्थिक सहयोग गर्ने

जुम्लाका आठ स्थानीय तहमध्ये तीन स्थानीय तहले भूकम्पपीडितलाई आर्थिक सहयोग गरेका छन् । यही कात्तिक १७ गते शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले जाजरकोट र रुकुम जिल्लामा ठूलो धनजनको क्षति भएको छ ।

उक्त दुखद परिस्थितिको सामना गरिरहेका पीडितलाई सहयोगका लागि तातोपानी गाउँपालिकाले राहतका लागि रु दस लाख दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाइँले जानकारी दिए। यसैगरी नेपाल सरकारको दैवी प्रकोप व्यवस्थापन कोषमा रु पाँच लाख भूकम्प प्रभावितका क्षेत्रमा सहयोग गर्ने कार्यपालिकाबाट निर्णय भएको पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले बताइन् ।

भूकम्पपीडितलाई बाँके र बर्दियाबाट १० लाखको राहत

जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई नेकपा (एमाले) बाँके र बर्दियाको तर्फबाट करिब रु १० लाख बराबरको राहत सामग्री प्रदान गरिएको छ ।

भूकम्पपीडितलाई तत्काल आवश्यक पर्ने खाद्यान्न, लत्ताकपडा र कम्बलको व्यवस्था गरी प्रभावित क्षेत्रमा पुगेर जिल्ला प्रशासन कार्यालयमार्फत प्रदान गरिएको एमाले बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिएका छन् । उनका अनुसार एमाले बाँकेको तर्फबाट जाजरकोटका भूकम्पपीडितका लागि ९८ बोरा चामल, तीन सय ५० थान कम्बल, लत्ताकपडा, चिउरा, भुजा र चाउचाउ गरी रु पाँच लाख ७५ हजार बढीको राहत सामग्री प्रदान गरिएको छ ।

भुकम्पपीडितलाई दोलखाका ९ पालिकाद्वारा २० लाख सहयोग

जिल्लाका नौ स्थानीय तहले जाजरकोट र रुकुम पश्चिम जिल्लाको भुकम्प पीडितलाई आर्थिक सहयोग गर्ने भएका छन्।

दोलखाका ९ वटा स्थानीयतहहरुले २० लाख सहयोग गर्ने भएका छन् । दोलखाका स्थानीयतहले सोमबार जिल्ला समन्वय समितिको कार्यालयमा बसेको पालिका प्रमुखहरूको बैठकले सो निर्णय गरेर रकम संकलनको तयारी थालिएको बैठकमा सहभागी मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा थोकरले जानकारी दिए।

रूपन्देहीका स्थानीय तहद्वारा भूकम्पपीडितलाई राहत

रूपन्देहीका स्थानीय तहले जाजरकोटको भूकम्पपीडितका लागि राहत प्रदान गरेका छन् । बुटवल उपमहानगरपालिकाले भूकम्प प्रभावितका लागि राहत सामग्री पठाएको छ । चामल, दाल, तोरीको तेल, नुन, सोयाबिन, कम्बल र म्याट गरी एक ट्रक सामान जाजरकोट पठाइएको उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले जानकारी दिए ।

भूकम्पपीडितका लागि उपमहानगरपालिकाले रु २५ लाख, जनप्रतिनिधिले थप रु पाँच लाख र कर्मचारीको तर्फबाट समेत सहयोग गर्ने निर्णय भएको प्रमुख पाण्डेले बताएका छन् । यस्तै तिलोत्तमा नगरपालिकाले रु १० लाखसहित स्वास्थ्यकर्मी र आवश्यक सामग्री त्यसतर्फ पठाएको छ । नगरप्रमुख रामकृष्ण खाँणले भूकम्पले नराम्ररी क्षति पुर्याएका दुई जिल्लाका लागि पालिकाको विपद् कोषबाट जाजरकोट र रुकुम पश्चिमलाई रु पाँच-पाँच लाख सहयोग गरेको बताए ।

विश्वकपमा छनोट भएका क्रिकेट खेलाडीलाई राखेपले जनही १३ लाख दिने

अमेरिका र वेस्ट इन्डिजले आगामी वर्ष संयुक्त रुपमा आयोजना गर्ने विश्वकप टी–२० क्रिकेट प्रतियोगितामा छनोट हुन सफल नेपाली क्रिकेट टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

राखेप कार्यकारी समितिका संयोजक एवं सदस्य–सचिव टङ्कलाल घिसिङको अध्यक्षतामा आज बसेको बैठकले नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

क्रिकेट रङ्गशालाको काम भरतपुर महानगर र बागमती सरकारले अघि बढाउने

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अघि बढ्ने भएको छ । भरतपुर महानगरपालिका र बागमती प्रदेश सरकारबीच यससम्बन्धी सहमति भएको हो । अलपत्र अवस्थामा रहेको रङ्गशालाको काम लागत साझेदारीमा गर्ने विषयमा आज बागमति प्रदेशको मुख्यमन्त्री कार्यालयमा सहमति भएको हो ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिग्राम जमकट्टेलको संयोजकत्वमा आज बसेको बैठकले प्रदेश सरकारले ७० प्रतिशत र भरतपुर महानगरपालिकाले ३० प्रतिशत लागत साझेदारीमा रङ्गशालाको काम अघि बढाउने निर्णय गरेको छ । बैठकले भरतपुर महानगरपालिकाले पहिलो चरणमा गर्नुपर्ने कामका लागि तयार गरेको लागत अनुमान रु ७५ करोड बराबरको काम लागत साझेदारीमा महानगरपालिकाले अघि बढाउने गरी निर्णय गरिएको हो ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  ९ : ०२ बजे

इलाममा मतगणना स्थल थपियो, तीन ठाउँबाट गनिने

इलाम– मुख्य निर्वाचन अधिकृतको कार्यालयले इलाम– २ को मतगणना तीन

इलाम अपडेट : एमाले– ९४८४, कांग्रेस– ६६३१, मतान्तर २८५३

इलाम– इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत अन्तर घटाउँदै एमाले: कांग्रेस ८३ मतले अगाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

इटालियन सिरी ए : रोमा र नापोलीले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र नापोलीले बराबरी खेलेक

माङसेबुङमा मुढाले जित्ला कि सूर्यले ?

इलाम– सुदुरपूर्वी जिल्ला इलाममा आइतबारदेखि उपनिर्वाचनको मतगणना रोचक ढ‌ंगबाट जारी