डोको बुनेरै ५० वर्ष बित्यो… « Khabarhub

डोको बुनेरै ५० वर्ष बित्यो…


२५ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

गलेश्वर- म्याग्दीका चुमबहादुर विक र माइला सार्कीको बसोबास फरक छ । पश्चिम म्याग्दीको मालिका गाउँपालिकाका चुमबहादुर विक र बेनी नगरपालिकाका गजबहादुर (माइला) सार्की एकापसमा परिचित छैनन् तर उनीहरुको पेसा भने एउटै छ । दुवैले ७०औँ वसन्त पार गरिसकेका छन् ।

उन्नाइस वर्षको उमेरदेखि चोयासँग खेल्न थालेका मालिका गाउँपालिका–५ देविस्थानका विकको अहिले ७१ वर्षमा लाग्दासमेत चोयाँसँगको साथ छुटेको छैन । उनकोजस्तै अवस्था छ, बेनी नगरपालिका– २ ज्यामरुककोटका ७१ वर्षीय सार्कीको पनि । अहिलेसम्म डोको–डालो बुनेरै उनीहरूले जीवन गुजारा गरिरहेका छन् ।

बिहान उठेदेखि राति नसुतुन्जेलसम्म चोयाँसँग खेल्दै उनीहरूको समय बित्छ । गहुँगोरो वर्णका फरासिला चुमबहादुरको शरीर बुढ्यौलीले कुप्रिएको छ । कान कम सुने पनि २० वर्षे लक्का जवानकोजस्तै फुर्तिलो ढङ्गले काम गरेको देख्दा उनलाई बुढ्यौलीले छोएको महसुस नहुने नाति शकबहादुर विकले बताए ।

वनमा निगालो खोजेर चोयाँ निकाल्दै जवानीका रमाइला दिन बिताइसकेका विकले डोको बिक्री गरेर कमाएको पैसाले अहिलेसम्म घर व्यवहार चलाउँदै आएको बताए ।

“छोराहरू विदेशमा छन्, अहिले दुःख गर्नुपर्ने कुनै बाध्यता त छैन तर त्यसै बस्न मनै लाग्दैन” उनले भने । अहिले दिनमा दुई वटासम्म डोका बुन्ने गरिन्छ । एउटा डोकाको रु तीन सय ५० देखि रु छ सयसम्ममा बिक्री हुन्छ ।

आफूले बुनेका डोका मान्छे लगाएर दरवाङ बजारमा लगेर बिक्री गर्दै आइएको र यसबाट मासिक रु १५ हजारदेखि रु २२ हजारसम्म आम्दानी हुने विकको भनाइ थियो ।

उनीजस्तै ज्यामरुककोटका माइलाले पनि डोको बुनेरै मासिक रु २० हजार भन्दा बढी आम्दानी गर्दै आएको र यसैबाट आफ्ना छ÷छ परिवारको पालनपोषण, शिक्षा दीक्षा र औषधोपचार गर्दै आएको बताए ।

बुढ्यौलीले छोएपनि डोको बुन्न माइलाको जोश र जाँगर जवानी अवस्थाकोजस्तै देखिन्छ । बिहानदेखि रात नपरुञ्जेलसम्म डोको बुनेर दिन बितेको उनलाई पत्तै हुँदैन । “डोको बुन्ने कामले उमेर ढल्कँदै गएको ख्यालै भएन, अझै पनि जवानी नै छु जस्तो लाग्छ तर हिसाब गर्दा ७० पो काट्न लागेछु” माइलाले भने ।

माइलाको वास्तविक नाम गजबहादुर हो तर उनलाई सबैले माइला नै भन्ने गर्दछन् । उनको हातको सीप नै घरमै बसिबसी दिनहुँ आम्दानी गर्ने माध्यम बनेको छ ।

अति विपन्न परिवारका माइलाको परिवारको जीविका अहिले यसैबाट चलेको छ । पहिले–पहिले डोको, थुन्से, भकारी बुनेर घर घरमा बिक्रीका लागि पुग्ने गरेकामा अहिले उनकै घरमै ग्राहक दिनहुँ आउने गरेका छन् ।

माइलाले आफ्नै कमाईबाट छोरा छोरीलाई पढाउनाका साथै विवाहसमेत गराइसकेका छन् । गाउँघरमा थुन्से, भकारीको चलनचल्ती कम हुँदै जाँदा उनले पनि डोको उत्पादनलाई नै बढी प्राथमिकता दिने गरेका छन् ।

दिनमा तीन वटादेखि पाँच वटासम्म डोको बुन्न सकिने र यसबाट मासिक २० हजार जति आम्दानी हुने माइलाले बताए । एउटा डोको रु २५० देखि रु ३५० सम्ममा बिक्री हुने हुन्छ । मेहनत गरियो भने पैसा कमाउनकै लागि अन्यत्र धाउनु पर्दैन भन्ने गतिलो उदाहरण माइला सार्कीले प्रस्तुत गरेको स्थानीय समाजसेवी झकबहादुर थापाले बताए ।

“डोकोको माग अत्यधिक हुने गरेकाले पुर्‍याउन मुस्किल परेको छ । पहिले नै अर्डर हुन्छ, ग्राहकको माग बढ्दो छ, कसरी पुर्‍याउने ?” माइलाले भने, “आफूले बुनेको डोको बलियो र धेरै समयसम्म टिक्ने भएकाले टाढाटाढाबाट ग्राहक आउने गरेका छन् ।”

विक र सार्की मात्रै होइन, ५०औँ वसन्त पार गरेका अधिकांश गाउँका पाका व्यक्ति अहिले पनि डोको, भकारी, नाम्लोजस्ता सामग्रीहरु वनाउने गर्दछन् । कृषि पेसाप्रति घट्दो आकर्षण र आयातित सामाग्रीहरुको बढ्दो प्रयोगले पाका उमेरका व्यक्तिको रैथाने सीपले भने बजार पाउन हम्मेहम्मे पर्ने गरेको उनीहरुको गुनासो थियो ।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  २ : ४९ बजे

आङ सान सुकीको रिहाइसम्बन्धी आसियानको आह्वान म्यानमाद्वारा अस्वीकार

याङ्गुन- म्यानमारको सैन्य समर्थित सरकारले नजरबन्दमा रहेकी पूर्वनेतृ आङ सान

ग्यासको आपूर्ति १५ प्रतिशत बढेको छ, उपभोक्ताले अतिरिक्त खरिद नगर्ने हो भने समस्या समाधान हुन्छ : संघ

काठमाडौं– नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्ताले अतिरिक्त ग्यास खरिद

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

म्याग्दी– म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम

गगनले त्यो दिन सम्झिँदै भने, ‘भदौ २४ गते हाम्रो परिवारलाई घरभित्रै थुनेर आगो लगाइयो’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले पछिल्लो राजनीतिक संकटका क्रममा

मोरक्कोका दशौँ हजार आप्रवासी रोक्न नसकेको स्पेनले गर्‍यो इटालीका १९९ आप्रवासीको खानतलासी

काठमाडौं– अफ्रिकी मुलुक मोरक्कोबाट केही समयअघि सेउटा छिरेका दशौँ हजार