शुक्लाफाँटामा कृषि ‘प्रोफाइल’ निर्माणका लागि तथ्यांक संकलन | Khabarhub Khabarhub

शुक्लाफाँटामा कृषि ‘प्रोफाइल’ निर्माणका लागि तथ्यांक संकलन


२५ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– व्यावसायिक कृषिमा किसानलाई संलग्न गराउने उद्देश्यले जिल्लाको शुक्लाफाँटा नगरपालिकाले कृषिसम्बन्धी ‘प्रोफाइल’ निर्माणका लागि तथ्यांक संकलन कार्य अगाडि बढाएको छ । फार्म नेपाल संस्थासँग सम्झौता गरी नगरपालिकाले कृषि प्रोफाइल निर्माण थालेको हो । 

प्रोफाइल निर्माणका लागि किसानको घरधुरी सर्वेक्षण गर्न गणक परिचालन गरिएको नगरपालिकाको कृषि शाखाका प्रमुख करन बुढाऐरले बताए । उनका अनुसार कृषि प्राविधिकअन्तर्गत प्रविणता प्रमाणपत्र तह (आइएस्सी एजी) अध्ययन गरेका सात जना र स्नातक तह (विएस्सी एजी) अध्ययन गरेका तीन जनालाई गणकका रूपमा खटाइएको छ ।

गणकले किसान परिवारको अवस्था, सङ्ख्या, जमिनको अवस्था, प्रकृति, सिँचाइको अवस्था, बाली लगाउने तरिका, तरकारी खेतीको तौरतरिका, खेती गर्ने प्रविधि, कृषि औजार उपकरणको अवस्था, सिञ्चित क्षेत्र, असिञ्चत क्षेत्र, व्यावसायिक कृषि फार्म, समूह, सहकारीलगायत तथ्याङ्क संकलन गर्ने छन् । 

कृषि बजारको अवस्था र चुनौतीका बारेमासमेत जानकारी संकलन गरिने कृषि शाखाका प्रमुख बुढाऐरले बताए । प्रोफाइलमा कृषिसम्बन्धी विस्तृत जानकारी संकलन गरी सोही अनुसार कृषकलाई व्यवसायिक बनाउन पहल गरिने उनको भनाइ छ ।

‘डिजिटल प्रविधिको प्रयोग गरी प्रोफाइल बनाइने भएकाले प्रोफाइलमा प्रत्येक किसानको व्यक्तिगत विवरण (बायोडाटा) समावेश गरिएको हुन्छ’, प्रमुख बुढाऐरले भने , ‘गणकले संकलन गरेका तथ्यांक र जानकारीको विश्लेषण गरी प्रोफाइल निर्माण गरिने छ ।’

कृषि शाखा प्रमुख बुढाऐरले कृषि र कृषका बारेमा विस्तृत जानकारी प्राप्त भएपछि त्यसकै आधारमा नगरपालिकाले कृषिसम्बन्धी योजना बनाइ लागू गर्ने जानकारी दिए । उनका अनुसार माटोको नमूना संकलन गर्ने तरिका सिकाउनका लागि नगरपालिकाका १२ वटै वडामा कर्मचारी खटाइएको छ । किसानलाई वडावडामा भेला गराई माटोको नमुना संकलन गर्न सिकाउने कार्य भइरहेको बुढाऐरले बताए। यसपछि वडावडामा घुम्ती माटो परीक्षण शिविरका लागि भ्यान परिचालन गरी माटोको नमूना चेकजाँचको कार्य गरिने उनको भनाइ थियो ।

 ‘माटोको नमूना परीक्षण पश्चात नतिजाका आधारमा किसानलाई माटो सुधारका लागि आवश्यक सुझाव दिनेछौँ’, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले भने, ‘माटोको अवस्था यकिन भएपछि त्यसकै आधारमा किसानलाई अन्नबाली, तेहन, दलहन बाली, उखु, तरकारी खेतीका लागि सिफारिस गर्नेछौँ ।’

‘एक वडा एक बाली’को अवधारणलाई लागू गरिने उनको भनाइ छ । प्रोफाइल र माटो परीक्षणका आधारमा किसानलाई मल, विषादी, बीउ, सिँचाइका लागि स्यालो ट्युबेल, कृषि औजार र यन्त्र अनुदानमा उपलब्ध गराउने गरी कृषि विज्ञको सल्लाहमा योजना बनाउने प्रशासकिय अधिकृत भट्टले जानकारी दिए। उनले भने, ‘व्यावसायिक र आधुनिक तरिकाले कृषि गर्ने किसानलाई प्रोत्साहित गर्ने नगरपालिकाको लक्ष्य रहेको छ ।’

नगरपालिकाका ९० प्रतिशत बासिन्दा कृषिमा आश्रित रहेको नगरप्रमुख रणबहादुर महराले बताए। उनका अनुसार यहाँका अधिकांश किसानले परम्परागत तरिकाले कृषि गर्दै आएका छन् । ‘थोरै मात्रै किसान व्यावसायिक कृषि कार्यमा संलग्न छन् । कृषिमा नगरपालिकालाई जिल्लामै उत्कृष्ट बनाउनका लागि प्रोफाइल निर्माणको कार्य अगाडि बढाइएका छौँ’, नगरप्रमुख महराले भने, ‘प्रोफाइलकै आधारमा कृषियोजना बनाइ लागू गर्नेछौँ ।’

 कृषि प्रोफाइलसँगै नगरपालिकाले ‘डिजिटल स्वाईल क्रोप म्याप’समेत निर्माण गर्ने जनाएको छ । कृषि प्रोफाइल निर्माणका लागि नगरपालिकाले १० लाख बजेट विनियोजन गरी परिचालन गरेको छ । माटोको नमुना संकलन गर्न सिकाउनका लागि एक लाख र माटो परीक्षण शिविरका लागि एक लाख बजेट विनियोजन गरिएको नगरप्रमुख महराले जानकारी दिए । 

प्रकाशित मिति : २५ जेठ २०८०, बिहीबार  ३ : २४ बजे

त्रिभुवन विश्वविद्यालयको भाँडभैलोले उठाएको प्रश्न- कक्षाकोठामा को जाने ?

कुलपति विरुद्ध नाराबाजी लागेको भन्ने कुरा त मैले मान्दिन किनभने

क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ल्याइयो : स्वास्थ्य मन्त्रालय

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने ‘ह्युमन

लुम्बिनी विहार तथा तीर्थयात्री व्यवस्थापन कार्यविधि कार्यान्वयन

लुम्बिनी– लुम्बिनीका स्थानीय होटल र लुम्बिनी विहारबीचको विवाद समाधान भएको

क्यान्सरविरुद्धको खोप बनाएको रुसको घोषणा, आगामी वर्ष संसारभर बाँडिने

काठमाडौं– रुसले क्यान्सरविरुद्धको खोप बनाएको घोषणा गरेको छ । रुसी

गाजामा इजरायली आक्रमण : एक लाख भन्दा बढी घाइते

इजरायल – इजरायली सेनाले गाजामाथिको आक्रमणलाई निरन्तरता दिएको छ। पछिल्लो