हंगेरी : विशिष्ट संस्कृति, उच्च जीवनस्तर र तीव्र आर्थिक विकासको संगम | Khabarhub Khabarhub

हंगेरी : विशिष्ट संस्कृति, उच्च जीवनस्तर र तीव्र आर्थिक विकासको संगम



मध्य युरोपेली देश हंगेरीले पछिल्लो समय तीव्र आर्थिक वृद्धिदर हासिल गरिरहेको छ । खासगरी दोस्रो विश्वयुद्धपछि साम्यवादी व्यवस्था अपनाएको हंगेरी शीतयुद्धको अन्त्यपछि लोकतान्त्रिक एवम् खुला बजार अर्थतन्त्र अंगालेको छ ।

पछिल्ला केही वर्षहरुमा हंगेरीको अर्थतन्त्रमा पनि व्यापक वृद्धि देखिएको छ । यससँगै हंगेरीमा नागरिकको जीवनस्तर पनि माथि उठ्दै गएको छ । हंगेरीले सन् २००४ मा युरोपेली युनियन ईयूको सदस्यता लिएको हो । ईयूको सदस्यता लिएपनि हंगेरीमा युरो मुद्रा भने प्रचलनमा छैन । यहाँ फोर्निट मुद्रा प्रचलनमा रहेको छ ।

पश्चिममा स्लोभेनिया र अस्ट्रिया, दक्षिणमा सर्बिया र क्रोएशिया, पूर्वमा रोमानिया र युक्रेन तथा उत्तरमा स्लोभाकियासँग सीमा जोडिएको हंगेरीलाई मध्य र दक्षिणपूर्व युरोपको प्रवेशद्वारको रूपमा रूपमा पनि लिइन्छ । करिब एक करोड जनसङ्ख्या रहेको हंगेरीको क्षेत्रफल भने ९२ हजार ३० वर्गकिलोमिटर रहेको छ । यो मुलुकको राजधानी बुडापेस्ट हो भने यहाँको सरकारी भाषा हंगेरियन हो । हंगेरियनबाहेक जर्मन र अंग्रेजी भाषा पनि यहाँ प्रचलनमा रहेको छ ।

हंगेरीलाई परम्परागत सभ्यता बोकेको युरोपको सबैभन्दा पुराना देशहरूमध्ये एक मानिन्छ । हंगेरीमा मुख्यगरी मज्यार जातिको बसोबास रहेको छ । यो जातको इतिहास चौथो शताब्दीमा युरोपमा बसोबास गर्ने जर्मन र त्यसबेलाको रोमन साम्राज्यमाथि आक्रमण गर्ने हन जातिसँग जोडिने गरेको इतिहासकारहरु बताउँछन् ।

इतिहासलाई हेर्ने हो भने हाल हंगेरी रहेको कार्पेथिपन क्षेत्रमा हंगेरियन राज्यको जग बसाउने श्रेय भने मज्यार शासक राजा अर्पादलाई जान्छ । उनले नै नवौँ शताब्दीको अन्त्यतिर अर्थात् ८९५ मा कार्पेथियन क्षेत्रमा सैनिक विजय हासिल गरी हंगेरीको जग बसालेका थिए ।

इतिहासका विभिन्न कालखण्डमा विभिन्न साम्राज्यका शासकको अधिनमा रहेको हंगेरीले सन् १८६७ मा अस्ट्रियन साम्राज्यका शासकको मातहतमा स्वायत्तता पाएको थियो । त्यसपछि उक्त साम्राज्य अस्ट्रिया हंगेरीको नामले चिनिन थालियो । पहिलो विश्वयुद्धमा अस्ट्रिया हंगेरीको पराजयसँगै ट्रायननको सन्धिपछि हंगेरीको भूभाग खुम्चिन पुग्यो र अहिलेको भौगोलिक अवस्थामा कायम रह्यो । दोस्रो विश्वयुद्धपछि साम्यवादी शासनव्यवस्था अपनाएको हंगेरीले शीतयुद्धको अन्त्यसँगै लोकतान्त्रिक व्यवस्था अपनाएको हो ।

हंगेरीमा बसोबास गर्ने मज्यार जाति र यहाँको भाषालाई युरोपका बहुसंख्यक भारोपेली भाषा परिवार बाहिरको मानिन्छ । भाषाविदहरु हंगेरियन भाषालाई युराली भाषा परिवारको सदस्य मान्छिन् । हंगेरियन भाषा छिमेकी मुलुकका भाषाहरु रोमानियाली, जर्मन, सर्बो क्र्रोसियनभन्दा पनि युराली भाषा परिवारका अन्य सदस्यहरु जस्तै फिन्निस, इस्टोनियन भाषासँग नजिकको सम्बन्ध रहेको ठानिन्छ । यस कारण हंगेरीको भाषा, संस्कृति, परम्परा अरु युरोपेली मुलुकभन्दा विशिष्ट रहेको छ ।

यहाँको मुख्य धर्म इसाई हो । सन् १००० आसपास तत्कालीन राजा स्टेफनले इसाई धर्म अपनाएयता हंगेरीमा इसाई धर्मको जग बसेको विश्वास गरिन्छ । हाल यहाँका आधाभन्दा धेरै जनसङ्ख्याले इसाई धर्म मान्ने गरेका छन् । यीमध्ये अधिकांश रोमन क्याथोलिक छन् भने करिब १० प्रतिशत इसाईहरु प्रोटेस्टेन्ट छन् । यद्यपि यहाँ नास्तिकहरुको पनि उत्तिकै बसोबास रहीआएको छ । करिब २० प्रतिशत जनसङ्ख्याले आफू कुनै धर्म नमान्ने बताउने गरेका छन् । यहाँ यहुदी धर्मले पनि विशिष्ट प्रभाव पारेको छ । बुडापेस्टमा संसारकै दोस्रो ठूलो यहुदी प्रार्थानास्थल सिनेगोग रहेको छ ।

हंगेरीलाई आविष्कार, ज्ञान, सीपका क्षेत्रमा पनि महत्वपूर्ण मुलुक मानिन्छ । यहाँ शिक्षाको पहुँच सहज छ भने स्वास्थ्यको क्षेत्रमा पनि यो मुलुकले लगानी गरेको छ । यहाँ १० वटा विश्वविद्यालय तथा ९ प्राविधिक शिक्षालयहरु रहेका छन् । यहाँको सबैभन्दा पुरानो पेक्स विश्वविद्यालय सन् १३६७ मा स्थापना भएको थियो । यहाँको साक्षरता दर ९९ प्रतिशतभन्दा धेरै छ । जुन, उक्त क्षेत्रमै उच्चतम हो । यहाँको औसत आयु पनि झण्डै ७६ वर्ष छ, जुन विश्वको औसत आयु ७२ भन्दा धेरै हो ।

सन् १९०५ यता हंगेरीका १३ जनाले विश्वकै सबैभन्दा प्रतिष्ठित नोबेल पुरस्कार जितेका छन् । यसबाट जनसङ्ख्याका आधारमा प्रतिव्यक्ति सबैभन्दा धेरै नोबेल पुरस्कार जित्ने मुलुकको अग्रणी स्थानमा आउँछ । हंगेरियन विद्वानहरुले शान्तिबाहेक अन्य सबै विधाका नोबेल पुरस्कार जितिसकेका छन् । यहाँका खेलाडीले हरेक ओलम्पिकमा स्वर्ण पदक जितेका छन् । हंगेरीलाई जनसङ्ख्याका आधारमा प्रतिव्यक्ति स्वर्ण पदक जित्ने मुलुकमध्ये फिनल्याण्डपछि दोस्रो मानिन्छ ।

हंगेरीको अर्थतन्त्रलाई युरोपको सबैभन्दा छिटो वृद्धि भइरहेको अर्थतन्त्रमध्ये एक मानिन्छ । हंगेरी भौगोलिक रुपमा पनि युरोपको मुख्य बजारहरुबाट निकै नजिक रहेको छ भने न्यून कर, लगानीमैत्री वातावरण र सरकारी प्रोत्साहनले विदेशी लगानीको लागि आकर्षक गन्तव्य बन्न पुगेको छ । यसको वित्तीय प्रणाली यस क्षेत्रमा सबैभन्दा विकसित र गतिशील मानिन्छ । भौतिक पूर्वाधारको राम्रो विकास, स्पष्ट कानूनी र नियामक ढाँचाले पनि हंगेरीमा दिगो विकासको लागि अनुकूल वातावरण मिलेको छ ।

विदेशी लगानी आकर्षित गर्नुलाई हंगेरीको सरकारले आफ्नो प्राथमिकतामा राखेको छ । त्यहाँको सरकारले मुलुकमा लगानी गर्न चाहने विदेशी कम्पनीहरूलाई व्यावसायिक सहयोग पनि प्रदान गर्दै आएको छ । यसै उद्देश्यले मुलुकमा हंगेरी इन्भेस्टमेन्ट प्रमोशन एजेन्सी स्थापना पनि गरिएको छ ।

हाल दक्षिण कोरियाली कम्पनी एसके इनोभेसनले हंगेरीमा अहिलेसम्मकै सबैभन्दा ठूलो ग्रीनफिल्ड परियोजनामा लगानी गरेको छ । त्यस्तै, दक्षिण कोरियाली कम्पनीले इभान्सामा २,५०० जनालाई रोजगारी दिन ब्याट्री प्लान्ट निर्माण गरेको छ । दक्षिण कोरियाजस्तै जर्मनी, चीन, अमेरिकालगायत देशहरुले पनि हंगेरीमा अर्बैँ डलरको लगानी गरिरहेका छन् ।

हंगेरीमा वाह्य लगानीको आधा हिस्सा ब्याट्री निर्माण लगायत इलेक्ट्रोनिक्स क्षेत्रले ओगट्ने गरेको छ । त्यसबाहेक खाद्यान्न र अटोमोटिभ उद्योगमा पनि विदेशी लगानी भित्रिने गरेको छ । बढ्दो उद्योगहरुको विकास, उच्च आर्थिक वृद्धि र जीवनस्तर पनि उच्च रहेकाले हंगेरी विदेशी श्रमिकका लागि पनि आकर्षक गन्तव्यका रुपमा रहेको छ ।

नेपाल र हंगेरीबीचको कूटनीतिक सम्बन्ध सन् १९६१ जनवरी १५ मा स्थापना भएको हो । दुई देशबीचको सम्बन्ध सदैव सद्भाव, विश्वास र पारस्परिक सम्मानमा आधारित छ ।

हंगेरीले विदेशी लगानीहरुलाई आकर्षित गरिरहेका कारण सो देशमा वाह्य कामदारहरुको माग पनि सोही अनुसार बढिरहेको छ । खासगरी दक्षिण कोरिया, चीनलगायतका देशहरुले ठूला उद्योगमा लगानी गरेकाले पनि हंगेरीमा वाह्य श्रम शक्तिको आवश्यकता बढाएको छ ।

 

प्रकाशित मिति : २३ असार २०८०, शनिबार  ११ : १५ बजे

चारवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं – संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै

‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन’

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रेस तथा अभिव्यक्ति

सुदूरपश्चिम प्रदेशसभा बैठक बस्दै , विश्वासको मत लिने मुख्यमन्त्रीको तयारी

 काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने

राष्ट्रपति पौडेलले दिए विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा स्वदेश

आज विश्व प्रेस स्वतन्त्रता दिवस

काठमाडौं– आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि