विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


२३ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

आज असार २३, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार जुलाई ८, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

भारतको उत्तर प्रदेशमा दुई जना चिनियाँ नागरिक पक्राउ

भारतको उत्तर प्रदेशमा दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । भिसाको म्याद सकिएपनि भारतमै बसिरहेका उनीहरुलाई उत्तर प्रदेशको ग्रेटर नोयडाबाट पक्राउ गरिएको हो ।

उनीहरु चिनियाँ फोन निर्माता कम्पनी ओप्पोमा कार्यरत रहेको बताइएको छ । उनीहरुको नाम डेङ चोनकोन र मेङ शौगुओ रहेको प्रहरीले जनाएको छ । उनीहरुको उमेर करिब ३० वर्ष रहेको बताइएको छ ।

ती चिनियाँ नागरिकलाई देश निकाला गर्ने तयारी भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरुलाई नियन्त्रणमा लिएर कानूनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

रुसी आक्रमणमा परी युक्रेनमा ६ जनाको मृत्यु

पूर्वी युक्रेनको लिमानमा रुसी आक्रमणमा परी शनिबार छ जनाको मृत्यु भएको छ । घटनामा अरु पाँच जना घाइते भएका छन् ।

लिमानमा शनिबार बिहानैदेखि रुसी फौजले रकेट प्रहार गरेको र त्यसमा परेर छ जनाले ज्यान गुमाएको तथा अन्य पाँच जना गम्भीर घाइते भएका क्षेत्रीय गभर्नर पाभ्लो किरिलेन्कोले पुष्टि गरेका छन् ।

सामाजिक सञ्जालमा उनले शहमा धेरै रकेट लञ्चरबाट प्रहार भएको तथा रुसी आक्रमणले लिमानका केही भागमा आपत्कालीन परिस्थित सृजना गरेको लेखेका छन् ।

चीनमा गत महिना कोरोनाबाट २३९ जनाको मृत्यु

विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रकोप अन्त्य हुने भनिए पनि यसको खतरा अझै धेरै देशहरूमा कायम छ। 

कोरोना भाइरसको उद्गमस्थल चीनमा कोरोनाबाट मृत्यु हुने क्रम रोकिएको छैन । यद्यपि चीनले अधिकांश रोकथामका उपायहरू हटाइसकेको छ ।

गएको जुन महिनामा चीनमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीब्र रुपमा बढेको जनाइएको छ । चाइनिज सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले जुन महिनामा २३९ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

चीनले बिहीबार कोभिड–१९ को फैलावट रोक्न विगतमा धेरै कडा नियमहरू लागू गरिएको बताएको छ । तर विगतमा धेरैजसो रोकथामका उपायहरू हटाइएका थिए। 

रोकथामका उपाय हटाएपछि जुन महिनामा ज्यान गुमाउनेको संख्यामा ठूलो वृद्धि भएर २३९ पुगेको हो। चाइनिज सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार मे महिनामा १६४ जनाको मृत्यु भएको र अप्रिल र मार्चमा भने कुनै पनि मृत्यु भएको छैन।

सन् २०२० को सुरुमा चीनले शून्य कोभिड रोकथाम रणनीति अपनाउन थालेको थियो। विशेष गरी कडा लकडाउन, क्वारेन्टाइन, सीमा बन्द र अनिवार्य सामूहिक परीक्षण जीवन बचाउन महत्त्वपूर्ण भएको छ।

तर डिसेम्बरमा केही तयारी पछि उपायहरू खुकुलो पारियो र हटाइयो । जसका कारण कोरोना संक्रमितको संख्यामा अन्तिम ठूलो उछाल आयो, जसमा करिब ६० हजार जनाको मृत्यु भयो । 

नेदरल्यान्ड्समा प्रधानमन्त्री रुट नेतृत्वको सरकार ढल्यो

नेदरल्यान्ड्सका प्रधानमन्त्री मार्क रुटको कन्जर्भेटिभ पार्टी फ्रिडम एण्ड डेमोक्रेसी (पीभीभी) ले बहुमत गुमाएको छ ।

आप्रवासी सम्बन्धी कसिलो नीति ल्याएपछि गठबन्धनका चार मध्ये दुई दलले साथ छाडेपछि प्रधानमन्त्री रुट अल्पमतमा परेका हुन् ।

बहुमत गुमएपछि टेलिभिजन प्रसारणमा बोल्दै प्रधानमन्त्री रुटले आफ्नो राजीनामा राजासमक्ष पेश गर्ने घोषणा गरेका छन् ।

प्रस्तावित आप्रवासी नीतिमा रुट सरकारले युद्धग्रस्त क्षेत्रका बालबालिकालाई नेदरल्यान्ड्स प्रवेशमा कडाइ गर्ने उल्लेख गरिएको थियो ।

त्यसैगरी युद्धग्रस्त क्षेत्रबाट शरणार्थीका रुपमा आएका बालबालिकालाई आफ्ना परिवारसँग भेट गर्न दुई वर्ष कुर्नुपर्ने बाध्यात्मक प्रावधान पनि उल्लेख गरिएको थियो ।

नेदरल्यान्ड्समा शरणका लागि पछिल्लो वर्ष आवेदन दिनेहरुको संख्या बढेको बीबीसीले जनाएको छ । समाचारमा जनाइए अनुसार गत वर्ष शरणका लागि ४७ हजारले आवेदन दिएका थिए भने यस वर्ष ७० हजार पुग्ने सरकारी आँकडाले देखाएको छ ।

बहुमत गुमाएपछि अब नेदरल्यान्ड्समा रुट सरकार कामचलाउका रुपमा परिणत भएको छ । अब अर्को चुनावको घोषणा नभएसम्म उनको सरकार रहनेछ ।

अर्को चुनाव गर्न अझै तीन महिना जति लाग्ने समाचारमा जनाइएको छ । युरोपेली राष्ट्रहरुमध्ये नेदरल्यान्ड्सको आप्रवासी नीतिलाई तुलनात्मक रुपमा कडा मानिन्छ ।

१ सय २७ सिट रहेको नेदरल्यान्ड्सको संसदमा ९ दलको सहभागिता रहे पनि कसैको बहुमत छैन । बहुमतका लागि ६४ सिट आवश्यक भए पनि रुटको पार्टीसँग ३४ सीट मात्रै थियो ।

रुटको सरकारलाई २४ सिट संख्या रहेको दोस्रो ठूलो दल डेमोक्र्याट्स, १५ सिटको क्रिश्चियन डेमोक्रेटिक र ५ सिटको क्रिश्चियन युनियनले समर्थन जनाएका थिए ।

तर, दोस्रो दल र क्रिश्चियन युनियनको समर्थन गुमेपछि रुटको सरकार अल्पमतमा परेको हो ।

ओडिशा रेल दुर्घटना प्रकरणमा तीन जना रेल कर्मचारी पक्राउ

भारतको ओडिशाको बालासोरमा जुन २ मा भएको रेल दुर्घटनामा सीबीआईले शुक्रबार ३ रेलवे कर्मचारीलाई पक्राउ गरेको छ ।

पक्राउ परेका तीनै जनालाई आईपीसी धारा ३०४ (हत्या नभएको अपराधी हत्या) अन्तर्गत मुद्दा चलाइएको छ ।

केन्द्रीय अनुसन्धान एजेन्सीले यस रेल दुर्घटनामा आपराधिक षड्यन्त्रको सम्भावनाको अनुसन्धान गरिरहेको थियो। पक्राउ पर्नेमा रेलवेका सिनियर सेक्शन इन्जिनियर अरुणकुमार महन्तो, सिनियर सेक्शन इन्जिनियर मोहम्मद अमिर खान र प्राविधिक पप्पु कुमार रहेका छन् ।

कानुको व्याख्या अनुसार धारा ३०४ अन्तर्गतको सजायमा आजीवन कारावास र जरिवाना वा कठोर कैद समावेश छ। यी तीनको लापरवाहीका कारण यति ठूलो दुर्घटना भएको भनाइ छ ।

बालासोरको बहंगा बजार रेलवे स्टेसननजिकै जुन २ मा साँझ ७ बजे कोरोमण्डल एक्सप्रेस स्टेशनमा रहेको मालगाडीसँग रेल ठोक्किएको थियो ।

बेंगलुरु–हावडा सुपरफास्ट एक्सप्रेस पनि यसको चपेटामा परेका थियो । यो रेल दुर्घटनामा २९२ जनाको मृत्यु भएको थियो भने एकहजार जनाभन्दा बढी घाइते भएका थिए । जसकाकारण बहनगा बजार स्टेशनमा कुनै पनि रेल रोकिने छैनन्, बहनगा बजार रेलवे स्टेशनबाट दैनिक लगभग १७० रेलहरू गुज्र्छन् ।

सीआरएसले कथित रूपमा केही भूमि अधिकारीहरूको लापरवाहीको पर्दाफास गरेको थियो, जसले तीन वर्ष अघि सुरक्षा चिन्ताको कारण डिजाइन परिवर्तन गरेपछि निरीक्षणको पर्याप्त सुरक्षा प्रक्रियाहरू पालना नगरेको भन्ने थियो ।

ओडिशा ट्रिपल ट्रेन दुर्घटनाको सम्बन्धमा बालासोरको जीआरपीएसमा एफआईआर दर्ता गरिएको थियो । पछि, रेलमन्त्रीले घटनाको सीबीआई जाँचको माग गरे । केन्द्र सरकारको सहमतिपछि सीबीआईले मुद्दालाई आफ्नो हातमा लिएको थियो ।

आदिपुरुषका लेखकले मागे माफी

भारतीय बलिउड चलचित्र आदिपुरुषका लेखक मनोज मुन्ताशिर शुक्लाले माफी मागेका छन् ।

आदिपुरुष चलचित्रले सनातनी हिन्दु धर्मका बारेमा गलत प्रचार गरेको र रामायणका पात्रहरूलाई गलत रुपमा देखाएको भन्दै सर्वत्र आलोचना भएपछि अन्ततः उनले माफी मागेका छन् ।

‘आदिपुरुष चलचित्रबाट जनभावनामा चोट पुगेको म स्वीकार गर्दछु, मेरा सबै दाजुभाइ दिदीबहिनी, ज्येष्ठ नागरिक, आदरणीय ऋषि मुनीहरू तथा श्री रामका भक्तजनहरूमा हात जोडेर निःशर्त माफी चाहन्छु,’ उनले ट्विटरमा माफी माग्दै लेखेका छन्, ‘भगवान बजरङ्गबलीको हामी सबैको कल्याण गरून्, हामीलाई एक र अटुट रहन र हाम्रो पवित्र शाश्वत र महान देशको सेवा गर्ने शक्ति प्रदान गरुन् ।’ 

नेपाली चेली सितालाई भारतीय भनेर प्रचार गराएको भन्दै नेपालमा सो चलचित्र प्रदर्शनमा प्रतिबन्ध लगाइएको थियो भने उनले लेखेका संवाद र भिएफएक्सका कारण रामायणका पात्रहरुलाई गलत तरिकाले प्रस्तुत गरेको भन्दै भारतका विभिन्न अदालतमा सो चलचित्रविरुद्ध मुद्दा दर्ता भएको थियो ।

टपोरी भाषामा चलचित्रका संवाद राखिएको भन्दै विवादमा परेपछि केही संवाद सच्च्याए पनि लेखक शुक्लाले आलोचनाको प्रतिवाद गर्दै आएका थिए । 

प्रकाशित मिति : २३ असार २०८०, शनिबार  ८ : ०१ बजे

रजनीकान्तले एकै फिल्मबाट लिए २८० करोड, बने एसियकै महँगो नायक

काठमाडौं – ७४ वर्षीय भारतीय सुपरस्टार रजनीकान्त एसियाकै महँगो नायकका

विपद्‍मा मधेस : चालु आर्थिक वर्षमै ४२२ को मृत्यु

महोत्तरी – मधेस प्रदेशमा चालु आर्थिक वर्षमै विपद्‍मा परी ४२२

राज्य व्यवस्था र पूर्वाधार समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका राज्य व्यवस्था तथा सुशासन

युइएफए नेसन्स लिग : स्पेनलाई हराउँदै विजेता बन्यो पोर्चुगल

काठमाडौं – आइतबार म्युनिखमा भएको फाइनल खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय