आँखा पाक्ने समस्याको कसरी हुन्छ उपचार ? | Khabarhub Khabarhub

आँखा पाक्ने समस्याको कसरी हुन्छ उपचार ?

समयमै ख्याल नगरे दृष्टि गुम्ने खतरा


२३ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

भारतसँगको सीमावर्ती क्षेत्रमा देखिएको आँखा पाक्ने रोग अहिले नेपालका अधिकांश जिल्ला हुँदै काठमाडौँ उपत्यकामासमेत देखिन थालेको छ । चिकित्सकीय भाषामा आँखाको सेतो भाग सुन्निने र रातो हुने समस्या एउटा भाइरसका कारणले हुन्छ। प्रदूषित हावा र मौसमका कारण आँखा पाक्ने रोग बढेको चिकित्सकको भनाइ छ। अहिले आँखा पाक्ने रोग लिएर उपचारका लागि आँखा अस्पताल तिलगङ्गादेखि विभिन्न सरकारी तथा निजी अस्पताल र प्राइभेट क्लिनिकमा बिरामीको चाप बढेको छ। अहिले कुनै लक्षण नै नदेखाई एक्कासी आँखा पाक्ने रोग लाग्ने गरेको चिकित्सक बताउँछन्। आज सुत्ने बेलासम्म ठिक भए पनि भोलिपल्ट बिहान उठ्दा आँखा पाकिरहेको, सुन्निइरहेको हुने भएकाले परिवारका अन्य सदस्यमा पनि छिट्टै सर्नसक्छ। त्यसैले यो आँखा पाक्ने रोग कस्तो हो ? कति समयमा निको हुन्छ र यसका लक्षणहरू के के देखा पर्छन् ? बच्ने र जोगिन उपाय के के हुन् ? यी र यस्तै विषयमा आधारित रहेर खबरहबका लागि आँखा रोग विशेषज्ञ डा. वेन लिम्बुसँग गरिएको कुराकानीको सम्पादित अंश :

आँखा पाक्ने रोग के हो ?
काठमाडौं उपत्यकासहित मुख्यमुख्य सहर अव्यवस्थित हुँदा फोहोरमैला बढ्दा आँखामा प्रत्यक्ष रूपमा सङ्क्रमण बढ्ने गर्छ। आँखामा सङ्क्रमण हुँदा समयमै ख्याल गरिएन भने आँखाको दृष्टि नै गुम्नसक्छ। गर्मी मौसममा आँखा चिलाउने, पाक्ने, पोल्ने, रातो हुने, सुख्खा हुने, बिझाउने जस्ता समस्या देखिने गरेका छन्। एडिनो भाइरस, ब्याक्टेरिया र रोग प्रतिरोधात्मक क्षमता कम हुँदा आँखा पाक्ने गर्छ। यहि भाइरसका कारण एकबाट अर्को व्यक्तिमा आँखा पाक्ने रोग छिटो सर्छ। यस्तै, आँखाको सरसफाइमा हुने कमीका कारण पनि यो रोग निम्तिन सक्छ। डाक्टरको सल्लाहबिना नै विभिन्न किसिमका कस्मेटिक लेन्सको प्रयोग र ब्याटेरिया तथा भाइरसको संक्रमणको कारण पनि आँखा पाक्ने रोग लाग्दछ।

यसका लक्षण के के हुन् त ?
आँखा पाक्दा आँखा रातो हुने, आँसु आइरहने, आँखा पोल्ने यसका साथै आँखा भारी भएर कचेरा आउने तथा आँखा बिझाएजस्तो हुने, घाममा हिँड्न गाह्रो हुने, उज्यालोमा हेर्न गाह्रो हुने, आँखा सुख्खा भएर चिलाउने, दृष्टि धमिलो हुँदै जाने, आँखा तथा आँखा वरपरको भाग सुन्निने, बिहान उठ्दा आँखाको ढकनी पूरै टाँसिने र आँखा खोल्न गाह्रो हुने लगायतका लक्षण देखा पर्छन्।

यो एकबाट अर्को मानिसमा कसरी सर्छ ?
आँखा पाक्ने रोग एक व्यक्तिबाट अर्कोमा अर्थात् सङ्क्रमित व्यक्ति चलाएका सामान प्रयोग गर्दा सजिलै सर्नेगर्छ। रुमाल, लुगा कपडा, कम्प्युटर, ल्यापटप, मोबाइल अर्को व्यक्तिले चलाउँदा यो रोग सर्ने सम्भावना हुन्छ। सङ्क्रमित व्यक्तिले लगाएको चस्मा अर्को निरोगी व्यक्तिले लगायो भने पनि सर्छ। यसका साथै सङ्क्रमित व्यक्तिले आँखा मिच्दा उसको हातमा कीटाणु टाँसिन्छन् र त्यही हात नधोई अर्को व्यक्तिसँग मिलाउँदा पनि यो रोग सर्छ।

घरमा बसेर आँखाका लागि अपनाउनु पर्ने सावधानी के के हुन् ?
एउटा आँखामा मात्र सङ्क्रमण भएको छ भने दुवै आँखा माड्नु हुँदैन। एउटा आँखाको आँसु पुछेर त्यही रुमालले अर्को आँखा पुछ्नु हुँदैन। घरमा कोही आँखाको सङ्क्रमित छन् भने बिरामीलाई औषधि लगाइसकेपछि हात राम्ररी धुनुपर्दछ। सङ्क्रमित व्यक्तिले घरबाहिर निस्कँदा चस्मा लगाएर मात्र निस्किएमा अरूमा सङ्क्रमण सर्न पाउँदैन। तर कतिपयको कुनै लक्षण देखिने बित्तिकै मेडिकलमा गएर औषधि ल्याएर खाने बानी हुन्छ। त्यसले कुनै सामान्य समस्या छ भने आफैले औषधि किनेर राख्दा पनि सन्चो हुनसक्छ। तर, डाक्टरको सल्लाह बिना औषधि प्रयोग गर्नु राम्रो होइन। यस्तो बानीले अन्धोपना निम्त्याउँन सक्छ।

आँखा पाकेपछि के के कुरामा ध्यान दिने ?
आँखा सफा राख्न आँखामा पानीले छ्याप्ने गर्नु हुँदैन। फोहोर हात वा हात नपखाली आँखा माड्नु हुँदैन। जथाभावी औषधिको प्रयोग पनि गर्नु हुँदैन।

आँखा पाक्ने समस्याबाट बच्न के गर्ने त ?
यो रोग एउटा सरुवा रोग भएकाले जुनसुकै व्यक्तिबाट जो कोहीलाई पनि सर्नसक्छ। सुरुवाती दिनमा यो रोगले खासै समस्या नपारेता पनि उचित समयमा उचित उपचार नगरेको खण्डमा यसबाट व्यक्तिको आँखाको ज्योति नै गुम्न सक्ने डर हुन्छ। त्यसैले यो समस्याबाट बच्नको लागि धुलो–धुवा भएको ठाउँमा सकेसम्म जानु हुँदैन। यदि जानै परे चस्मा लगाएर जाने गर्नुपर्छ। घरबाट बाहिर जाँदा घामले आँखालाई असर नगर्ने गरी सन ग्लासको प्रयोग गर्नुपर्छ।

मोटरसाइकल, स्कुटी जस्ता सवारी साधन चलाउँदा चस्मा लगाउने वा पछाडि बस्नेले पनि चस्मा लगाउने गर्नुपर्छ। कुनै केमिकलको काम गर्नुपर्दा पनि चस्मा लगाउने गर्नुपर्छ। यसका साथै सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको आँखाको सफाइ हो। यसका लागि दिनको दुईदेखि तीन पटक आँखालाई मनतातो सफा पानीले सफा गर्ने र केही समय बन्द गरेर बस्ने गर्नुपर्छ। त्यसो गर्दा आँखाले आराम पाउँछ।

यो मौसममा आँखामा कुनै पनि समस्या नआओस् भनेर केके कुरामा ध्यान दिने ?
प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिमा सङ्क्रमण हुने भएकाले स्वास्थ्यवर्धक खानेकुरा खानुपर्छ। वरिपरि हात लैजाँदा वा आँखा माड्दा ध्यान दिनुपर्छ। घरबाहिर निस्कँदा चस्माको प्रयोग गर्नुपर्छ। निर्माण सम्बन्धी काम गर्ने व्यक्तिमा आँखामा चोट लाग्ने सम्भावना बढी रहन्छ। त्यस्ता व्यक्तिले चस्मा लगाएर मात्र काम गर्नुपर्छ। साथै आँखाको नियमित रूपमा जाँच गर्नुपर्छ। मधुमेह, उच्च रक्तचाप, थाइराइड रोग भएका र दैनिक प्रयोग गर्ने डिप्रेसन, बाथको औषधिले पनि आँखामा नकारात्मक असर गर्छन्। औषधि सेवन गर्ने व्यक्तिले नियमित आँखा परीक्षण गरेमा अन्धोपनबाट बच्न सकिन्छ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  ६ : ५९ बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार