अस्पताल आउने ५० प्रतिशत बिरामीमा आँखा पाक्ने समस्या : नेपाल नेत्रज्योति संघ | Khabarhub Khabarhub

अस्पताल आउने ५० प्रतिशत बिरामीमा आँखा पाक्ने समस्या : नेपाल नेत्रज्योति संघ


२३ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पछिल्लो समय देशभर आँखा पाक्ने समस्या फैलिएको छ । देशका अधिकांश आँखा अस्पतालहरुमा यस रोगका बिरामीको चाप बढिरहेको छ । नेपाल नेत्रज्योति संघ अन्तर्गतका आँखा अस्पतालहरुमा आँखा जाँच गराउन आउने बिरामीमध्ये सरदर ५० प्रतिशत बिरामी यस रोगको उपचारका लागि आउने गरेको संघका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्र बताउँछन् ।

‘सुरुवातमा भारतको सिमावर्ती क्षेत्रहरुमा मात्र आँखा पाक्ने समस्या देखिएको थियो, तर अहिले देशैभरी यो समस्या फैलिरहेको छ, हाम्रो नेटवर्कका सबै अस्तालहरुको सोमबारसम्मको डाटा हेर्ने हो भने करिब दैनिक आँखा जाँच गराउने बिरामीको ५० प्रतिशत बिरामीमा यस्तो समस्या देखिएको छ, अहिलेको संक्रमण दर हेर्दा यो अझै बढ्नेजस्तो देखिन्छ’ डा. मिश्रले भने ।

देशैभरी अहिले आँखा पाक्ने रोगको प्रकोप बढिरहेकाले यसमा केन्द्रित भएर सेवा प्रवाह गर्न संघ अन्तरगतका अस्पताल तथा उपचार केन्द्रहरुलाई निर्देशन जारी गरिसकिएको नेपाल नेत्रज्योति संघका महासचिव भरतबहादुर चन्दको भनाइ छ ।

नेपाल नेत्रज्योति संघको तथ्याङ्कअनुसार अहिले दैनिक आँखा जाँच गराउन आउने बिरामीमध्य दाङको राप्ती आँखा अस्पताल र लमही आँखा अस्पतालमा करिब ८० प्रतिशत, गेटा आँखा अस्पताल धनगढीमा ७० प्रतिशत, गौर आँखा अस्पताल गौरमा २५ प्रतिशत, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान, भैरहवामा ३० प्रतिशत, कीर्तिपुर आँखा अस्पतालमा ४५ प्रतिशत, हिमालय आँखा अस्पताल, पोखरामा ६० प्रतिशत, फत्तेवाल आँखा अस्पताल, नेपालगञ्जमा २० प्रतिशत, विनोद निता कडेल आँखा अस्पताल, नवलपरासीमा ६० प्रतिशत, विराटनगर आँखा अस्पतालमा २२ प्रतिशत, पाल्पा लायन्स लाकौल आँखा अस्पतालमा ५० प्रतिशत र सगरमाथा चौधरी आँखा अस्पताल, लहानमा २० प्रतिशत बिरामीहरुमा आँखा पाक्ने समस्या देखिएको छ ।

आँखा पाक्ने समस्या भएका बिरामीहरुलाई अकस्मात आँखा रातो हुने, आँखाको डिल सुन्निएर हेर्न समस्या हुने, आँखाबाट पानी बगिरहने , आँखा चिलाउने, पोल्ने र बिझाउने, आँखामा पहेंलो चिप्रा आउने, बिहान उठ्दा ढकनी एकआपसमा टाँसिएर आँखा खोल्न गाह्रो हुनेजस्ता लक्षणहरु देखिन्छन् ।

हरेक वर्ष बर्खाको समयमा आँखा पाक्ने समस्या देखिने गरेको भएतापनि यो पटक भने प्रकोपकै रुपमा फैलिरहेको चिकित्सकहरु बताउँछन् । देशैभरी यो समस्या फैलिएपछि अहिले कतिपय स्थानीय तहहरुले त विद्यालय बन्द गर्ने निर्णय समेत गरिसकेका छन् । यस्तो समस्या देखिएका बिरामीहरुले नआत्तिई सावधानी अपनाउनु पर्ने चिकित्सकको सुझाव छ ।

नेपाल नेत्रज्योति संघ, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थानका मेडिकल निर्देशक प्रा. डा. ज्ञानेन्द्र लामिछानेका अनुसार आँखा पाकेको समयमा जथाभावी औषधिको प्रयोग गर्दा थप जटिलतासमेत आउन सक्छ । ‘यो एडिनो भाइरसका कारण लाग्ने रोग हो, यस्ता समस्या देखिएका बिरामीहरुले नआत्तिई सावधानी अपनाउनु पर्दछ चिकित्सकको सुझावबिना जथाभावी औषधिको प्रयोग गर्नु हुँदैन, यसले थप जटिलता निम्त्याउन पनि सक्छ’ प्रा.डा. लामिछानेले भने ।

समाजमा आँखा पाक्ने समस्या भएका बिरामीहरुको आँखामा हेर्दैमा सर्छ भन्ने गलत मान्यता रहेको प्रा. डा. लामिछाने बताउछन् । यस्तो समस्या देखिएका बिरामीहरुको आँखाबाट आएको आँसु मिसिएको वस्तु तथा सामानहरुको प्रयोगबाट मात्र यो रोग सर्ने उनको भनाइ छ ।

यस्तो समस्या देखिएका बिरामीहरुले आँखा चिसो पानी वा बरफले सेक्ने, सफा पानीले आँखा सफा गर्ने, घरबाहिर जाँदा कालो चश्मा प्रयोग गर्ने, संक्रमित आँखालाई छोएपछि राम्रोसँग हात धुने र समस्या बढेमा नजिकैको आँखा अस्पताल वा उपचार केन्द्रमा गई आँखा परिक्षण गर्न उनको सुझाव छ ।

कारागारका कैदीबन्दीमा पनि आँखा पाक्ने समस्या

दाङ जिल्ला कारागार घोराहीमा रहेका कैदीबन्दीहरुका पनि आँखा पाक्ने समस्या तीव्र रुपमा फैलिएकोे छ । नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पताल र लमही आँखा अस्पतालको सहयोगमा ४०२ जना कैदीबन्दी रहेको घोराही कारागारमा गरिएको निःशुल्क आँखा जाँचमा ६३ जनामा आँखामा आँखा पाक्ने समस्या देखिएको राप्ती आँखा अस्पतालका निमित्त प्रशाशक, नेत्र अधिकृत शालिकराम गौतमले बताए ।

करिब ३–४ दिनअघि तुलसीपुरबाट जिल्ला कारागार घोराहीमा आएका कैदीबन्दीको आँखा सामान्य रातो भएको देखिएको थियो । पछि त्यो आँखाको सङ्क्रमण रहेको पत्ता लागेको र त्यो विस्तारै धेरै जनामा फैलिसकेको जिल्ला कारागार घोराहीका स्वास्थ्थकर्मी योगेन्द्र रिजालले बताए ।

आँखा जाँच कार्यक्रममा नेत्र अधिकृत लाल बहादुर चौधरी, नेत्र अधिकृत शालिकराम गौतम, टेकबहादुर चौधरी, पूर्णबहादुर वली, किरण पौडेल, छेदुराम चौधरी र शशीकला चौधरीले आँखा जाँच गरेका थिए । उक्त अवसरमा नेपाल नेत्र ज्योति संघ, दाङका कोषाध्यक्ष श्यामप्रकाश आचार्यको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  ३ : ५३ बजे

विश्व सम्पदास्थल स्वयम्भूमा सरसफाइ

काठमाडौं – विश्व सम्पदास्थल स्वयम्भूमा सरसफाइ गरिएको छ । यही

प्रकृतिको संरक्षण भएमात्र मानव सुरक्षित हुन्छ : अध्यक्ष बस्नेत

रौतहट –प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले प्रकृतिको संरक्षण भएमात्र

गाजाबाट १७ अमेरिकी डाक्टरको उद्धार

वासिङ्टन – इजरायलले राफाहबाट इजिप्ट जाने सीमा बन्द गरेपछि गाजामा

राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि

दाङमा खोलामा डुबेर एक बालकको मृत्यु

दाङ – दाङस्थित अर्जुनखोलामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको