थारू महिलाहरूले हर्षोल्लासका साथ मनाए जितिया पर्व « Khabarhub

थारू महिलाहरूले हर्षोल्लासका साथ मनाए जितिया पर्व


२१ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– यहाँका थारू महिलाहरूले जितिया पर्व हर्षोल्लासका साथ मनाएका छन् । पूर्वी क्षेत्र, पश्चिम र माडी क्षेत्रमा थारू समुदायको बाक्लो बसोबास छ । सन्तानको दीर्घायुका लागि विशेषतः महिलाले बस्ने व्रतका रुपमा चिनिने व्रत वा पर्व जितिया पर्व हो । 

जितिया पर्व आश्विन कृष्णपक्षको अष्टमी तिथिका दिन मनाउने गरिन्छ । थारू कल्याणकारी सभा चितवनका सभापति ललित चौधरीका अनुसार यो व्रत वा उपवासका क्रममा जितवहान भगवान्को कथा र महिमा सुन्ने गरिन्छ । 

थारू महिलाहरूको ठूलो चाडका रुपमा रहेको जितिया पर्व सन्तानको सुख, शान्ति र चिरायुका लागि प्रसिद्ध छ । शनिबार थारू समुदायका महिलाहरू झाम्टा, नाच नाच्दै गीत गाउँदै जितिया मनाएका छन् । बिहानै नुहाएर बेलको पात टिपेर दिनभर महिला तथा युवतीहरू यो पर्व मनाउने गरेको उनले जानकारी दिए।

जितिया आउनुअघि नै जिल्लाका थारू समुदायमा चहलपहल र रमझम सुरु भएको थियो । थारूहरूको बाक्लो बसोबास रहेको चितवनको पूर्वी क्षेत्र, पश्चिम र माडी क्षेत्रमा यतिबेला जितियाको विशेष उल्लास छ । थारू समुदायका महिलाहरू खुल्ला तरिकाले चोकचोकमा झाम्टा, नाच नाच्दै गाउँदै जितिया मनाइरहेको उनले बताए ।  विगतका वर्षहरूमा झैँ यस वर्ष पनि बिहान दर खाएपछि महिलाहरू एक ठाउँमा गीत गाउँदै रमाइलो गरिरहेको देख्न सकिन्छ ।

जिल्लाको पूर्वी क्षेत्र रत्ननगर, कालिका, खैरहनी, राप्ती नगरपालिका,  भरतपुर महानगरपालिकाको मेघौली र माडीमा जितियाको रौनक हुने गर्दछ । आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथि गरी तीन दिनसम्म यो पर्व मनाइन्छ । सप्तमीको दिनलाई ‘लाहा खाएके’, अष्टमीको दिनलाई ‘उपास’ र नवमीको दिनलाई ‘पारन’ भनिन्छ । शुक्रबार सप्तमीको दिन भएकाले महिलाहरूले बिहानै खोला, ताल तलैया, नदी, पोखरीमा गई स्नान गरी त्यसपछि मात्रै खानेकुरा खाएका थिए ।

अष्टमीको दिनमा महिलाहरू बिहानै नुहाएर सफा र चोखो कपडा लगाई पानी पनि नखाई निराहार ‘उपवास’ व्रत बसी झाम्टा नाच नाचेर मनाउने गरेको महिला अगुवा चन्द्रकुमारी चौधरीले बताए । महिलाहरू सांस्कृतिक वेशभूषा लगाई दिनभरि नै झाम्टा नृत्यमा झुमेर रम्छन् । बेलुकीपख व्रतालुहरु फेरि खोलामा गई पिनाले नुहाई पातमा पिना बगाउँछन् । त्यसपछि बेलुकीपख सबै व्रतालु महिला जम्मा भएर कथा श्रवण गर्ने प्रचलन रहेको उनले बताए ।

रूखको चारैतिर व्रतालु महिलाहरू फलफूल, पानी, दूध, दही, चिउरा, बिहान भिजाएको मासको दाल र चामल लिएर बस्छन् । गाउँको कुनै एक भद्र पुरुषले जीतबाहनको कथा (जितिया ब्रत कथा) घण्टौँ लगाएर सुनाउँछ । कथाले अनुशासित र संस्कार सिकाउने गर्दछ । कथा सकिएपछि सबै जना घर गएर ‘फलाहार’ गर्छन् । उनले भने, ‘भोलिपल्ट अर्थात् नवमीको दिन बिहानै सबै व्रतालु खोलामा नुहाएर निराहार प्रतिमूर्ति (जसलाई थारू भाषामा ‘गरग्वाङ’ भनिन्छ) बनाएर मासको गेडा र बेलपत्रले पूजा गर्छन् ।’

खोलाबाट घर आइसके पछि व्रतालुहरूलाई दही, चिउरा, केरा लगायतका खानेकुरा खान बस्छन् तर खानुभन्दा अगाडि गुइँठाको अङ्गारमा काठको धूप बालेर सबै खान्कीको केही अंश चढाएरमात्र खाने चौधरीले बताए । त्यसलाई ‘पारन’ भनिन्छ । यस दिन मासु भात पनि खाने प्रचलन रहेको छ ।  त्यसपछि भने व्रत सकिएसँगै जितिया पर्व सकिन्छ । हिन्दु धर्मावलम्बी नेपाली महिलाहरूले मनाउने तीज जस्तै थारू समुदायले यो पर्वलाई महत्वका साथ मनाउने गरेका छन् ।

सन्तानको दीर्घजीवन, सन्तान प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक तथा सांस्कृतिक महत्व छ । यो पर्वले महिलाहरूको सांस्कृतिक भूमिका र महत्वलाई उजागर गर्ने काम गरेको छ । विशेषगरी विवाहित थारू महिलाले निराहार व्रत बसेर सूर्यलाई जितवाहन बाबाको नामले पूजा अर्चना गर्ने प्रचलन रहेको थारू कल्याणकारी सभा चितवनका सचिव सन्तकुमार चौधरीले बताए ।  विवाह गरेर गएका महिलालाई अनिवार्य रुपमा माइतीमा बोलाई यो पर्व मनाउने परम्परा छ ।

विवाहित र अविवाहित दुवै महिलाहरूले यो पर्वमा व्रत लिन सक्छन् । विवाहितले श्रीमान् र आफ्ना सन्तानको दीर्घायुको कामना गर्दै निराहार व्रत बस्छन् भने अविवाहित महिलाहरूले जितवाहन जस्तै सुयोग्य पति प्राप्तिका लागि निराहार व्रत बस्ने चलन छ । चौबीस घन्टे लामो व्रतपछि मात्र महिलाहरू पानी पिउने गर्छन् । यस्तो कठोर व्रतबाट सूर्य भगवान् खुसी भई सन्तान तथा पतिको सुस्वास्थ्य र दीर्घायुको आशीर्वाद दिने विश्वास छ ।

यस पर्वलाई थारू विवाहित महिलालाई माइतमा ल्याई सुःख-दुःखका कुरा साट्ने अवसरका रूपमा लिइन्छ । वर्षौँसम्म आफन्तसँग भेटघाट गर्ने सङ्गमका रूपमा पनि यसलाई लिने गरिन्छ । मीठो मसिनो खाई एकापसमा भलाकुसारी गर्ने अवसर पनि यस पर्वले जुराउने गरेको उनले बताए ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  २ : ४५ बजे

आइसीसी टि–२० विश्वकप : अमेरिकालाई हराउँदै भारतको विजयी सुरुवात

काठमाडौं – आइसीसी टि–२० विश्वकप २०२६ मा भारतले विजयी सुरुवात

सुर्खेतबाट ‘खतरनाक खोपडी’ समूहका २५ पक्राउ

कर्णाली – सुर्खेत प्रहरीले वीरेन्द्रनगरमा कालो झण्डासहित मोटरसाइकल र्‍याली निकाल्ने

सर्लाहीमा लक्ष्यभन्दा बढी बालबालिकालाई दादुरा विरुद्धको खोप

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलले सर्लाहीको मङ्गलवा नगरपालिकामा लक्ष्यभन्दा

गुल्मीमा ४८ मतदानस्थल अतिसंवेदनशील सूचीमा

गुल्मी – यहाँका ४८ वटा मतदानस्थल अतिसंवेदनशील सूचीमा रहेका छन्

निर्वाचन प्रहरीको भूमिका महत्वपूर्ण छः गृहमन्त्री अर्याल

नुवाकोट – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने