संवेदनशील सूचनाको पूर्ण गोपनीयता कायम गर्न महानिरीक्षक केसीको निर्देशन « Khabarhub

संवेदनशील सूचनाको पूर्ण गोपनीयता कायम गर्न महानिरीक्षक केसीको निर्देशन


१८ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरी महानिरीक्षक डा मनोजकुमार केसीले सङ्गठनको आन्तरिक रणनीति र संवेदनशील सूचनाको पूर्ण गोपनीयता कायम गर्न निर्देशन दिएका छन् । प्रहरी प्रधान कार्यालयमा आज पदबहालीपश्चात् आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले अनधिकृत सूचना चुहावटप्रति शून्य सहनशीलताको नीति अवलम्बन गरिने स्पष्ट पारे ।

“विधिको शासन पालना गराउने क्रममा सङ्गठनप्रति पूर्ण बफादार रही कुनै पनि प्रलोभन, प्रभाव वा दबाबबाट मुक्त भई नागरिकको हकहित र कानुनी राज्यको पालना सुनिश्चित गर्न उच्च नैतिक चरित्र र व्यावसायिक इमानदारी सबै प्रहरी कर्मचारीबाट प्रदर्शन हुने अपेक्षा लिएको छु,” महानिरीक्षक केसीले भने ।

उनले सङ्गठनको श्रीवृद्धि, प्रतिष्ठा र नागरिकको विश्वासलाई केन्द्रमा राख्दै सबै प्रहरी कर्मचारी एक ढिक्का भई नेपाल सरकार र आमनागरिकका अपेक्षाअनुरूप काम कारबाही अगाडि बढ्नु आवश्यक रहेको बताए ।

राष्ट्रसेवक कर्मचारीबाट प्रवाह हुने सेवाको स्तर र आम नागरिकप्रति गरिने व्यवहार अहिलेको ज्वलन्त प्रश्न र सुधारको क्षेत्र रहेको उल्लेख गर्दै उनले साङ्गठनिक र व्यक्तिगत रूपमा आमनागरिकप्रतिको व्यवहारलाई अझ जनउत्तरदायी बनाउन निर्देशन दिए ।

महानिरीक्षक केसीले प्रहरी कर्मचारीको मनोबल उच्च बनाउन उपलब्ध साधनस्रोतको उच्चतम उपयोग गर्दै कल्याणकारी कार्य र प्रहरी कर्मचारीको कार्य वातावरणमा सुधारका प्रयास निरन्तर जारी राखिने बताए ।

“प्रहरीको कार्यगत स्वायत्तता, सेवा विशिष्टीकरण, पारदर्शी, अनुमानयोग्य र क्षमतामा आधारित वृत्तिविकास प्रणालीको प्रवद्र्धनलगायत विषयमा आवश्यक नीतिगत व्यवस्थाका लागि तालुक मन्त्रालय र नेपाल सरकारसँग सार्थक पहल गरिनेछ,” उनले भने ।

गृहमन्त्री सुधन गुरुङबाट दर्ज्यानी चिह्नद्वारा सुशोभित भएपश्चात् प्रहरी प्रधान कार्यालय पुगेका महानिरीक्षक केसीलाई प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायब महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतलगायत प्रहरी अधिकृत तथा जवानले स्वागत गरेका थिए ।

त्यस क्रममा प्रहरी महानिरीक्षक केसीले हेडक्वार्टरस्थित अमर प्रहरी स्मारकमा पुष्पहार चढाई अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । यसैबीच, महानिरीक्षक केसीको उपस्थितिमा आजै बसेको नीतिनिर्माण समितिको बैठकले मुलुकमा शान्तिसुरक्षा र अमनचयनलाई थप मजबुत बनाउन विस्तृत सुरक्षा योजनाको प्रभावकारी रूपमा कार्यान्वयन गर्ने निर्णय गरेको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए ।

प्रकाशित मिति : १८ कार्तिक २०८३, बुधबार  १० : ५२ बजे

संवेदनशील सूचनाको पूर्ण गोपनीयता कायम गर्न महानिरीक्षक केसीको निर्देशन

काठमाडौं – प्रहरी महानिरीक्षक डा मनोजकुमार केसीले सङ्गठनको आन्तरिक रणनीति

नेपाल बिमा प्राधिकरणको अध्यक्षमा थापा नियुक्त

काठमाडाैं – सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई

नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदी नियुक्त

काठमाडौं – सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृतमा

सरकारलाई जवाफदेहिताका आधारमा अघि बढ्न कांग्रेसको आग्रह

ललितपुर – नेपाली कांग्रेसले सञ्चारमाध्यमको स्वतन्त्रता, पत्रकारको सुरक्षा र लोकतान्त्रिक

पाकिस्तानमा टीटीपीका दुई शङ्कास्पद सदस्य मारिए

इस्लामाबाद – पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा प्रहरीले गरेको कारबाहीमा