विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


२२ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : 8 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

आज कार्तिक २२, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार नोभेम्बर ८, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

भ्रष्टाचारको आरोप लागेपछि पोर्चुगली प्रधानमन्त्री कोस्टाद्वारा राजीनामा

पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कोस्टाले ऊर्जासम्बन्धी ठेक्काप्रकरणमा भ्रष्टाचारको आरोपमा मुछिएपछि राजीनामा दिने मङ्गलबार घोषणा गरेका छन् ।

“प्रधानमन्त्रीको कर्तव्य मेरो निष्ठाको कुनै पनि शङ्कासँग मेल खाँदैन”, राष्ट्रपति मार्सेलो रेबेलो डी सूसासँग संक्षिप्त कुराकानीपछि आयोजित पत्रकार सम्मेलनमा कोस्टाले भने, “यस्तो अवस्थामा मैले गणतन्त्रका राष्ट्रपतिसमक्ष राजीनामा बुझाएको छु ।”

यसअघि मङ्गलबार पोर्चुगाली सञ्चारमाध्यमले अनुसन्धानकर्ताहरूले विभिन्न मन्त्रालय र कोस्टाको कार्यालयमा छापा मारेको जनाएका थिए । त्यसपछि सरकारी अभियोजकहरूले पूर्वाधार मन्त्री जोआओ गलाम्बालाई दोषी ठहर गर्दै कोस्टाका चिफ अफ स्टाफविरुद्ध पक्राउ पुर्जी जारी गरेको बताएका थिए ।

सरकारी वकिलहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अनुसन्धानमा ‘कोषको दुरुपयोग, राजनीतिक व्यक्तित्वहरूद्वारा सक्रिय र निष्क्रिय भ्रष्टाचार र प्रभाव फैलाउने’ आरोप लागेको छ ।

कोस्टामाथि छुट्टै अनुसन्धान भइरहेको छ, जसले सम्झौतालाई गति दिन व्यक्तिगत रूपमा हस्तक्षेप गरेको आरोप लगाइएको छ ।

अनुसन्धानले देशको उत्तरमा लिथियम खनन छूटका साथै हाइड्रोजन उत्पादन परियोजना र तथ्याङ्क सङ्कलन केन्द्रलाई लिस्बनबाट लगभग १०० किलोमिटर (६२ माइल) दक्षिणमा सिनेसमा स्टार्ट क्याम्पस कम्पनीले निर्माण गर्न लागेको छ ।

उडान जोखिम र अवैध गतिविधि जारी रहन सक्ने सम्भावनालाई उद्धृत गर्दै, सिनेस र स्टार्ट क्याम्पसका दुई अधिकारीहरूको लागि पक्राउ पुर्जी पनि जारी गरिएको थियो ।

पोर्चुगाली वातावरण सुरक्षा निकाय (एपीए) को कार्यकारी बोर्डका अध्यक्षलाई पनि अभियोग लगाइएको छ । एपीएले मे मा लिथियम खनन परियोजनालाई अनुमोदन गरेको थियो, जुन ब्याट्रीको उत्पादनको लागि एक आवश्यक धातु हो ।

पोर्चुगलमा युरोपमा सबैभन्दा ठूलो लिथियम भण्डार छ र महाद्वीपको अग्रणी उत्पादक हो, तर यसको हालको उत्पादन पूर्ण रूपमा सिरेमिक र ग्लास बनाउने उद्योगहरूमा जान्छ ।

पार्चुगलको सोसलिस्ट पार्टीबाट कोस्टा सन् २०१५ को अन्त्यदेखि सरकारको कार्यकारी नेतृत्वमा छन् भने उनी सन् २०२२ को जनवरीमा दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका छन् । राष्ट्रिय वायुसेवा कम्पनी टीएपीसँग जोडिएका शृङ्खलाबद्ध काण्डपछि उनको लोकप्रियतामा हालै गिरावट आएको छ ।

अवैध बाटोबाट अमेरिका छिर्न खोज्ने ९६ हजार बढी भारतीय पक्राउ

अवैध रुपमा अमेरिका छिर्न खोज्ने भारतीयहरूको संख्या अत्याधिक रुपमा वृद्धि भएको छ । विगत वर्षको तुलनामा सन २०२-२३ मा अवैध रूपमा अमेरिका र मेक्सिकोमा प्रवेश गर्ने भारतीयहरूको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको तथ्यांक सार्वजनिक भएको हो ।

अमेरिकाको भन्सार र सीमा सुरक्षाको पछिल्लो तथ्याङ्क अनुसार अक्टोबर २०२२ देखी सेप्टेम्बर २०२३ को बीचमा ९६ हजार ९९७ भारतीयहरू अवैध रूपमा अमेरिका प्रवेश गर्ने क्रममा पक्राउ परेका छन्।

अमेरिकाको सिमा सुरक्षा प्रतिवेदनका अनुसार तीमध्ये ३० हजार १० भारतीय क्यानडामा र ४ हजार ७७० भारतीय मेक्सिकोको सिमानामा पक्राउ परेका थिए भने बाँकी अन्य ठाउँबाट पक्राउ परेका छन् ।

अमेरिकी एजेन्सीहरूले यो तथ्याङ्क यस्तो समयमा सार्वजनिक गरेका हुन्, जब गुजरात प्रहरीले गैरकानूनी माध्यमबाट अमेरिका प्रवेश गर्नेहरूमाथि अनुसन्धान गरिरहेको छ । यसबाहेक अमेरिका जाने क्रममा बेपत्ता भएका ९ भारतीयको मुद्दा पनि उच्च अदालतमा विचाराधीन रहेको छ ।

पछिल्लो समय विदेशमा बस्ने क्रेज लगातार बढ्दै गएको छ । धेरै भारतीयहरू राम्रो जीवनको खोजीमा त्यहाँ बस्न चाहन्छन्। तर, यसका लागि कतिपय वैधानिक साधनको सहारा लिन्छन् भने कतिपयले अवैध रूपमा त्यहाँ बसोबास गर्ने प्रयास गर्ने गरेको अमेरिकास्थित करन सिंहले बताए ।

टाइम्स अफ इन्डियाका समाचार अनुसार २०१९–२० मा अवैध रूपमा अमेरिकी सीमामा प्रवेश गर्ने भारतीयहरूको संख्या १९,८८३ थियो, अहिले जुन पाँच गुणा बढेर २०२१ मा ३०,६६२, २०२२–२०२३ मा ९६,९१७ पुगेको छ। यस्तो अवस्थामा प्रहरीले समाउन नसकेका तथा अमेरिका प्रवेश गर्न सफल भएका भारतीयलाई पनि समावेश गर्ने हो भने उनीहरुको कुल संख्या अझ बढी हुन सक्छ ।

अहिलेसम्म धेरैजसो भारतीयहरू मेक्सिकोको सिमाना हुँदै अमेरिका प्रवेश गर्ने गरेका थिए तर यूसीबीपीले सार्वजनिक गरेको तथ्यांकले उनीहरूले अमेरिका प्रवेशका लागि अन्य बाटो पनि अपनाएको देखाएको छ ।

पिठो सकिएपछि उत्तरी गाजाका सबै बेकरी पसल बन्द

पिठो सकिएको भन्दै उत्तरी गाजाका बेकरी पसलहरू बन्द भएका छन् । संयुक्त राष्ट्र संघका अनुसार गाजाको उत्तरी क्षेत्रमा रहेका सबै बेकरीहरू इन्धन, पानी र गहुँको पीठोको अभावले बन्द भएका हुन ।

त्यसमाथि इजरायली हमलाका कारण क्षतिग्रस्त भएका कारण पनि बेकरी पसलहरू बन्द गरिएको छ। संयुक्त राष्ट्रले भनेको छ कि उत्तरको बजारमा गहुँको पीठो अब उपलब्ध छैन र सहायता संस्थाहरूले त्यहाँ सात दिनदेखि कुनै पनि खाद्यान्न वितरण गर्न असमर्थसमेत भएको छ।

गाजाको दक्षिणमा भने केवल ९ बेकरीहरू भने अझै खुला भइरहेका छन्, जसले पीठो र इन्धन उपलब्ध भए पछि त्यहाँ आश्रयमा रहेकाहरूलाई रोटी प्रदान गर्ने गरेको छ ।

संयुक्त राष्ट्रको राहत एजेन्सीको यो अपडेट त्यसबेला आएको हो, जुनबेला गाजाको आन्तरिक मन्त्रालयले गाजा शहर र उत्तर गाजाका सबै बेकरीहरू सोमबार बन्द गरेको बताएको थियो ।

अत्याधिक धुलोका कारण पाकिस्तानको पञ्जाबमा चार दिन बिदा

धुलो र धुँवा अत्याधिक बढे पछि पाकिस्तानको पञ्जाब सरकारले चार दिन बिदाको घोषणा गरेको छ । मंगलबार प्रान्तीय राजधानी लाहोरलगायत धेरै जनसङ्ख्या भएको प्रान्तका धेरै जिल्लाहरूमा धुवाँको प्रभावलाई कम गर्ने भन्दै चार दिने सार्वजनिक बिदाको घोषणा गरेको छ।

पञ्जाब सरकारको निर्देशन अनुसार नोभेम्बर ९ देखि १२ सम्म सार्वजनिक बिदा हुनेछ । ‘धुवाँको प्रभावलाई कम गर्न पन्जाबको लाहोर, गुजरनवाला र हाफिजाबाद डिभिजनमा चार दिन बिदाको घोषणा गरिएको छ,’ पञ्जाबका कार्यवाहक मुख्यमन्त्री मोहसिन नक्वीले पत्रकारसँग भने ।

यी डिभिजनमा वातावरणीय र स्वास्थ्य आपतकाल लगाइएकोसमेत उनले बताएका छन् । शैक्षिक संस्था, सार्वजनिक र निजी कार्यालय, रेस्टुरेन्ट, सिनेमा, पार्क र जिम बिहीबारदेखि आइतवारसम्म बन्द रहने उनले जानकारी दिए ।

शनिबार र आइतबार बजार र व्यापार केन्द्र बन्द रहनेछ। यद्यपि यो अवधिमा विवाह हल, औषधि पसल र बेकरी पसलहरू भने खुला रहनेछन्। उनका अनुसार यो बिदा यो साताका लागि मात्रै हो ।

वातावरण प्रदूषण र धुवाँ कम गर्न मुख्यमन्त्रीले बिदाको समयमा घरमै बस्न अपिल गरेका छन् ।

अमेरिकासँग सम्बन्ध सुधार गर्न तयार छौँ : चिनियाँ उपराष्ट्रपति हान

चीनका उपराष्ट्रपति हान झेङले बुधबार अमेरिकासँग ‘सबै तहमा’ कुराकानी गर्न चीन तयार रहेको बताएका छन् । आगामी साता सन फ्रान्सिस्कोमा चिनियाँ राष्ट्रपति सी जिनपिङ र उनका अमेरिकी समकक्षी जो बाइडेनबीच अपेक्षित शिखर सम्मेलनअघि उनको यस्तो धारणा आएको हो ।

सिङ्गापुरमा आयोजित ब्लुमबर्ग न्यू इकोनमी फोरममा उपराष्ट्रपति झेङले बेइजिङ र वासिङ्टनबीच हालैको उच्चस्तरीय बैठकहरूले सम्बन्धमा सुधार भइरहेको ‘सकारात्मक सङ्केत’ दिएको बताए ।

“हामी सबै तहमा अमेरिकासँग सञ्चार र संवादलाई सदृढ बनाउन, पारस्परिक रूपमा लाभदायक सहयोगलाई अघि बढाउन, मतभिन्नताहरूलाई उचित रूपमा व्यवस्थापन गर्न र संयुक्त रूपमा वैश्विक चुनौतीहरूको समाधान गर्न तयार छौँ”, उनले भने ।

निर्यात नियन्त्रण, मानव अधिकार र राष्ट्रिय सुरक्षालगायत थुप्रै मुद्दामा वासिङ्टन र बेइजिङबीचको सम्बन्ध हालैका वर्षमा सबैभन्दा निम्तस्तरमा पुगेको छ । तर दुवै पक्ष सम्बन्ध सुधार गर्न इच्छुक रहेको देखिन्छ ।

वासिङ्टनले सञ्चारलाई सुदृढ बनाउन यसै वर्ष थुप्रै शीर्ष अधिकारीहरूलाई बेइजिङ पठाएको छ । अमेरिकी राष्ट्रपति बाइडेनले ‘रचनात्मक’ वार्ताका लागि आगामी साता सन फ्रान्सिस्कोमा शिखर सम्मेलनका अवसरमा चिनियाँ नेता सीसँग भेट हुने आफूले अपेक्षा गरेको बताएका छन् ।

यद्यपि अमेरिका–चीन सम्बन्धको प्रश्नले ‘मानवताको भविष्यमा निर्भर गर्छ’ भन्ने राष्ट्रपति सीको विचारलाई उपराष्ट्रपति झेङले बुधबार दोहोर्यासँगै बेइजिङले शिखर बैठकको पुष्टि गर्न बाँकी छ । उनले भने, “दुई मुलुकले आफूलाई विकसित गर्न र समृद्ध गर्नका लागि विश्व ठूलो छ ।”

अज्ञात अवरोधका कारण इन्टरनेट र फोन सेवाबाट एक करोड अस्ट्रेलियाली बञ्चित

अस्ट्रेलियामा अज्ञात अवरोधका कारण एक करोडभन्दा धेरै मानिसहरु इन्टरनेट र फोन सेवाबाट बञ्चित भएका छन् । मुलुकको एउटा महत्वपूर्ण सञ्चार कम्पनीमा अज्ञात अवरोधका कारण बुधबार एक करोडभन्दा बढी अस्ट्रेलियाली इन्टरनेट र फोन सेवाबाट बञ्चित भएका हुन् ।

उक्त गडबडीका कारण इलेक्ट्रोनिक भुक्तानी प्रणाली क्षतिग्रस्त हुँदा एम्बुलेन्स र प्रहरीले प्रयोग गर्ने फोन लाइन अवरुद्ध भएका छन् भने मुलुकको सबैभन्दा ठूलो सहर मेलबर्नमा भीडभाड हुने रेलहरू केही समयका लागि रोकिएका थिए । सिङ्गापुरको दूरसञ्चार कम्पनी सिङ्गटेलको सहायक कम्पनी अप्टसले बुधबार दिउँसो ‘केही’ सेवाहरू पुनःस्थापित गरिएको बताएको छ । यद्यपि उसले गडबडीको कारणबारे बताउन सकेको छैन ।

“हाम्रो टोलीले अहिले पनि सम्भावित मार्गमा काम गरिरहेको छ, हामीसँग धेरै परिकल्पना थिए र अहिलेसम्म हामीले जति परीक्षण गर्यौँ र नयाँ कार्य गर्यौँ तिनीहरूले मूल समस्याको समधान गर्न सकेका छैनन्”, कम्पनीका प्रमुख कार्यकारी केली बेयर रोजमरिनले राष्ट्रिय प्रसारक एबिसीलाई भनिन्, “मूल समस्या र पुनःस्थापनाको समय थाहा भएपछि हामी चाँडोभन्दा चाँडो सबैलाई अपडेट गराउने छौँ ।” उनले ह्याकिङका कारण सेवा अवरुद्ध भएको कुनै सङ्केत दिइनन् ।

ठिक एक वर्ष पहिला साइबर आक्रमणमा ९० लाखभन्दा ग्राहकको व्यक्तिगत डाटा चोरी भएको थियो । छुट्टै विज्ञप्तिमा कम्पनीले सबै सेवाहरू पुनः सञ्चालन गर्न केही घन्टा लाग्न सक्ने बताएको छ । अस्ट्रेलियाली सरकारले मोबाइल फोन, ल्यान्डलाइन र ब्रोडब्यान्ड इन्टरनेट प्रभावित भएको बताएको छ ।

एक करोडभन्दा बढी ग्राहक भएको अस्ट्रेलियाको दोस्रो सबैभन्दा ठूलो दूरसञ्चार कम्पनी अप्टसले स्थानीय समयानुसार बिहान करिब ४ः०५ बजे सेवा अवरुद्ध भएको थाहा पाएको बताएको छ । इन्जिनियरहरूले समस्या समाधान गर्न प्रयास जारी राख्दा नौ घन्टासम्म व्यापक समस्याहरूले अप्टस नेटवर्कलाई दुःख दियो ।

थाइल्याण्डले भारतीय पर्यटकलाई भिसा बिना नै प्रवेश दिने

थाइल्याण्डले भारतीय पर्यटकलाई भिसा बिना नै प्रवेश दिने भएको छ । थाइल्याण्डले १० नोभेम्बरबाट भारतीय पर्यटकलाई भिसा बिना नै प्रवेश दिने भएको हो ।

भारतीय समाचार संस्था एएनआईका अनुसार यसअघि श्रीलंकाले पनि भारतीय पर्यटकलाई भिसा बिनै प्रवेश दिने घोषणा गरेको थियो । थाइल्याण्ड सरकारले भारतीय पर्यटकलाई बिना भिसा मुलुकमा ६ महिनासम्मका लागि प्रवेश दिने निर्णय गरेको एएनआईले उल्लेख गरेको छ ।

भारतसहित ताइवानका नागरिकलाई पनि थाइल्याण्डले भिसामा छुट दिएको छ । हाल कायम नीति अनुसार हाल ५९ मुलुकका नागरिकलाई थाइल्याण्ड प्रवेश गर्दा भिसा लिइराख्नु पर्दैन ।

चीनबाट आउने पर्यटकको सङ्ख्यामा कमी आएसँगै यसअघि थाइल्याण्डले कखाजस्तान र चीनका पर्यटकका लागि समेत यस्तै व्यवस्था गरेको थियो ।

त्यहाँको राज्यसञ्चालित सञ्चार माध्यमका अनुसार यस वर्षको पहिलो ९ महिनामा १२ लाख ६० हजारभन्दा धेरै भारतीय पर्यटकले थाइल्याण्डको भ्रमण गरेका थिए ।

‘चीनले ११ खर्ब डलर ऋण उठाउन बाँकी’

चीनले ११ खर्ब अमेरिकी डलर ऋण उठाउन बाँकी रहेको पाइएको छ । विकास लगानीबारे तथ्यांक राख्दै आएको ‘एड डेटा’ ले सार्वजनिक गरेको प्रतिवेदनमा चीनले विश्वका विकासशील मुलुकहरुबाट ११ खर्ब अमेरिकी डलर ऋण उठाउन बाँकी रहेको उल्लेख गरिएको छ । यसमा मूलधन समावेश भएपनि ब्याज भने समावेश छैन ।

एड डेटाका अनुसार यीमध्ये आधाभन्दा धेरै ऋणको मूलधन तिर्ने भाका आइसकेको छ । प्रतिवेदनअनुसार दशकको अन्त्यमा यो अनुपात ७५ प्रतिशतसम्म पुग्ने अनुमान गरिएको छ ।

चीनका राष्ट्रपति सी जिन्पिङले एक दशकअघि बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजना घोषणा गरेका थिए । हाल विश्वका विभिन्न १५० मुलुकमा यस परियोजना विस्तार भइसकेको छ ।

बीआरआई अन्तर्गत चीनले विश्वका निम्न एवम् मध्यम आय भएका मुलुकलाई पुल, बन्दरगाह, सडकमार्ग, रेलमार्गजस्ता पूर्वाधारको विकास गर्न भारी मात्रामा ऋण प्रदान गरेको छ ।

विभिन्न १६५ मुलुकमा सञ्चालित २१ हजार परियोजनाको अध्ययनपछि तयार पारिएको प्रतिवेदनमा चीनले न्यून एवम् मध्यम आय भएका मुलुकलाई ८० अर्ब डलर प्रतिवर्ष ऋणस्वरुप प्रदान गर्ने गरेको पाइएको छ । यसको तुलनामा अमेरिकाले भने यस्ता मुलुकहरुलाई केबल ६० अर्ब डलरमात्रै प्रदान गर्ने गरेको छ ।

चीनले ऋण प्रदान गरेका ८० प्रतिशत विकासशील मुलुकले हाल आर्थिक समस्या झेलिरहेकोसमेत प्रतिवेदनमा उल्लेख गरिएको छ ।

बीआरआईका समर्थकहरु भने यस परियोजनाले विकासशील मुलुकलाई स्रोत एवम् आर्थिक वृद्धि प्रदान गर्ने बताउने गरेका छन् । यता आलोचकहरुले भने बीआरआई परियोजनामा व्याप्त अपारदर्शीतालाई लिएर प्रश्न उठाउने गरेका छन् ।

एड डेटाको प्रतिवेदनले विकासशील मुलुकमा चीनको प्रतिष्ठामा पनि आँच आएको देखाएको छ । सन् २०१९ मा विकासशील मुलुकका ५६ प्रतिशत जनताले चीनप्रति सकारात्मक दृष्टिकोण राख्ने भएपनि सन् २०२१ मा त्यो घटेर ४० प्रतिशतमा पुगेको प्रतिवेदनमा उल्लेख छ ।

यद्यपि चीनले विगतका गल्तीहरुबाट पाठ सिक्दै जोखिम व्यवस्थापनमा सुधार गर्दै लगेको जनाइएको छ ।

इन्डोनेसियाको बान्दा सागरमा ७.१ म्याग्निच्युडको भूकम्प

इन्डोनेसियाको बान्दा सागरमा बुधबार सात दशमलव एक म्याग्निच्युडको भूकम्प गएको अमेरिकाको भूगर्भ सर्वेक्षण (युएसजिएस)ले जनाएको छ । भूकम्पबाट जनधनको क्षतिबारे तत्काल कुनै समाचार आएको छैन ।

युएसजिएसका अनुसार भूकम्पका लागि कुनै पनि सुनामी जारी गरएको थिएन । प्रारम्भमा स्थानीय समयअनुसार बिहान ११ः५३ बजे छ दशमलव नौ म्याग्निच्युडको भूकम्प आएको बताइएको थियो ।

इन्डोनेसियाली मौसम विज्ञान, जलवायु र भूभौगर्भिक एजेन्सी (बिएमकेजी)का अनुसार मुलुकको तनिमबार टापु समूहको सौमलाकी सहरमा भूकम्पको कम्पन मध्यमरूपमा महसुस गरिएको थियो ।

“भूकम्प अत्यन्त तीव्र थियो तर यहाँका मानिस आत्तिएका थिएनन्, हामी भूकम्पको सामना गर्न अभ्यस्त भइसकेका छौँ”, सौमलाकी निवासी ल्याम्बर्ट टाटाङले भने, “विशेषगरेर सुनामीको कुनै खतरा छैन भन्ने थाहा भएपछि जनजीवन सामान्य भएको छ ।”

प्रशान्त क्षेत्रको ‘रिङ अफ फायर’ मा रहेका कारण इन्डोनेसियाले लगातार भूकम्पको अनुभव गर्दछ । जापानदेखि दक्षिणपूर्वी एसिया र प्रशान्त बेसिनसम्म फैलिएको ‘रिङ अफ फायर’ तीव्र भूकम्पीय गतिविधिको चाप हो ।

गत वर्ष नोभेम्बरमा मुलुकको मुख्य टापु जाभाको घना जनसङ्ख्या भएको पश्चिमी जाभा प्रान्तमा पाँच दशमलव छ म्याग्निच्युडको भूकम्पमा छ सय दुई जनाको मृत्यु भएको थियो ।

सन् २००४ मा सुमात्राको तटमा गएको नौ दशमलव एक म्याग्निुच्युडको भूकम्पका कारण आएको सुनामीमा उक्त सम्पूर्ण क्षेत्रमा इन्डोनेसियाका मात्रै एक लाख ७० हजारसहित दुई लाख २० हजार मानिसको मृत्यु भएको थियो ।

बङ्गलादेशमा डेङ्गुबाट एक हजार चार सयको मृत्यु

यो वर्षको ११ महिनाभन्दा कम अवधिमा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु ज्वरोले बङ्गलादेशमा एक हजार चार सयभन्दा धेरै मानिसको मृत्यु भएको छ भने करिब तीन लाख सङ्क्रमित भएका छन् ।

स्वास्थ्य सेवा महानिर्देशनालय ९डिजिएचएस० को पछिल्लो आँकडाअनुसार यो वर्ष डेङ्गुको प्रकोप चिन्ताजनक अवस्थामा पुगेको छ । नोभेम्बर ७ सम्म कूल दुई लाख ८३ हजार पाँच सय ९३ सङ्क्रमित भएका छन् भने एक हजार चार सय २५ को मृत्यु भएको छ ।

महानिर्देशनालयले यो वर्ष जुलाईमा दुई सय चार, अगस्टमा तीन सय ४२, सेप्टेम्बरमा तीन सय ९६, अक्टोबरमा तीन सय ५९ र नोभेम्बरमा ७७ जनाको डेङ्गुबाट मृत्यु भएको जनाएको छ । गत महिना ६७ हजार सात सय ६९ मानिसमा डेङ्गु सङ्क्रमण भएकामा नोभेम्बर १ देखि ७ सम्म थप १२ हजार चार सय १८ जना सङ्क्रमित भएका छन् ।

बङ्गलादेशमा सेप्टेम्बरमा डेङ्गुका केसमा उच्च वृद्धि भएको थियो । उक्त महिनामा ७९ हजार पाँच सय ९८ नयाँ सङ्क्रमण र तीन सय ९६ जनाको मृत्यु भएको थियो । व्यापकरूपमा डेङ्गु फैलिएपछि चीनले मङ्गलबार बङ्गलादेशलाई डेङ्गुविरोधी आपत्कालीन आपूर्तिको समूह प्रदान गरेको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  ८ : ०१ बजे

लामो समयपछि पानी पर्दा सर्वसाधारणलाई राहत

सुदूरपश्चिम– लामो समयपछि कैलालीसहितका जिल्लामा आज भएको वर्षाले चर्को गर्मीसँगै

रातो मछिन्द्रनाथ रथ तान्न सुरू

ललितपुर– वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको रथ तान्न

एकीकृत समाजवादी बैठक : महाधिवेशनमा पेश हुने दस्तावेज प्रस्तुत

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) स्थायी कमिटी बैठकमा महाधिवेशनमा पेश हुने

डा. गोविन्द केसी २२औं आमरण अनशनमा, यो पटक प्रधानमन्त्रीको राजीनामा माग

काठमाडौं – हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीले २२औं आमरण अनशन

घलेगाउँ र भुजुङ जोड्ने सडक कालोपत्र

गण्डकी– गण्डकी प्रदेश सरकारको लगानीमा लमजुङको क्व्होलासोथार गाउँपालिकास्थित पर्यटकीय घलेगाउँ