संस्कृति बचाउँदै, पर्यटक बोलाउँदै कुमाल सामुदायिक होमस्टे | Khabarhub Khabarhub

संस्कृति बचाउँदै, पर्यटक बोलाउँदै कुमाल सामुदायिक होमस्टे


२२ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


585
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राप्ती र नारायणी नदीको किनार । दुई किनार भएर बग्ने दुई नदी मिसिएर बनेको दोभान । त्यही दोभानमा एकाबिहानै र साँझपख सूर्यको मनमोहक दृश्य देखिन्छ । त्यो दृश्य हेर्न चितवन पुगेका हरेक पर्यटक मोहित भएर गोलाघाट पुग्छन् । गोलाघाट अर्थात मेघौलीको अर्को नाम । जुन भरतपुर महानगरपालिका वडा नं. २८ मा अवस्थित छ । जो टाइगर टप्स होटलका कारण सबैभन्दा धेरै चर्चित बन्यो ।

वर्षौ पहिले खुलेर १२ वर्षअघिदेखि टाइगर टप्स होटल बन्द भएपछि मेघौली सुनसान बन्यो । अनि राप्ती र नारायणी नदीको संगमस्थल अर्थात दोभानका कारण गोलाघाट चर्चित हुँदै गयो ।

टाइगर टप्स होटलका कारण चर्चित बनेको मेघौलीमा पर्यटक आउन छाडेका छैनन् । मात्रै पहिलेको तुलनामा धेरै कम मात्रामा पर्यटक मेघौली जाने गरेका छन् । मेघौलीको मायाले आउने पर्यटकलाई अचेल गोलाघाटले निरन्तर आकर्षण गरिरहेको छ । चितवन राष्ट्रिय निकुञ्ज, त्यसभित्रका वन्यजन्तु, राप्ती र नारायणीको सुन्दर किनार अनि कुमाल समुदायको बाहुल्य बस्ती ।

पर्यटक निरन्तर आइरहँदा निकुञ्जभित्रका होटल बन्द भएपछि अलपत्र पर्ने गरेका तिनै पर्यटकलाई गाँस र बास दिने कुमाल सामुदायिक होमस्टे अहिले मेघौली तथा गोलाघाटको भरोसा हो । सुरुमा एउटा घरबाट सुरु भएको होमस्टे अहिले चार घरसम्म फैलिएका छन् । चार घरमा उनीहरूले कम्तीमा ३० देखि ४० जनासम्मलाई कुमाल समुदायको स्थानीय परिकार खुवाएर सेवा दिन्छन् ।

‘मेघौली र गोलाघाट आउने पर्यटकलाई निराश हुन नदिन हामी सकेको स्थानीय उत्पादनसहितको खाना खुवाउँछौँ’ कुमाल सामुदायिक होमस्टेका संस्थापक तथा अध्यक्ष तारा मास्केले खबरहबसँग भने, ‘ग्रुपमा आएका पर्यटकलाई कुमाल समुदायको संस्कृति झल्किने सांस्कृतिक नाचहरू देखाउँछौँ ।’ अध्यक्ष मास्केका अनुसार गोलाघाटमा ८० प्रतिशत कुमाल समुदायको बस्ती छ । लोपोन्मुख आदिवासीमा गनिने यो समुदायमा साक्षरता दर न्यून छ । अनि युवाहरू गाउँघरमै रोजगारी सिर्जना गर्नेभन्दा पलायन भएर विदेशिने धेरै छन् ।

जसका कारण प्रशस्त पर्यटकीय सम्भावना भएर पनि गोलाघाट सँधै ओझेलमा पारिरह्यो । खेतीकिसानी गर्ने, अन्न उत्पादन गर्ने, आफ्नै रैथाने बाली र व्यवस्थामा रमाउने कुमाल समुदाय बजारीकरणमा भने धेरै पछाडि छ । त्यसमा जोडिएको अर्को तथ्य हो, सामूहिक एकतामा कमी । माटोका सुन्दर भाडा बनाउने र आफ्नै खेतबारीको बालीमा ध्यान दिने उनीहरु बजारिया प्रवृत्तिबाट सँधै टाढा रहन रुचाउँछन् ।

नेवार समुदायका मास्केले भने यी सबै कुरा बुझेर कुमाल समुदायलाई एकतामा बाँध्दै सामुदायिक होमस्टे गठन गरेका हुन् । उनीहरूको आफ्नै उत्पादन र संस्कृतिलाई जगेर्ना गर्नुपर्ने आवाज बुलन्द पार्दै पर्यटकलाई पनि भित्र्याएर अर्थोपार्जन गराउन मास्के आफैँ अघि सरेर होमस्टे सञ्चालन गरेका हुन् ।

‘कुमाल समुदायसँग रैथाने बाली र सांस्कृतिक सम्पदाको वर्षौ पुरानो ज्ञान छ । तर त्यो बजारीकरण हुन पाएन । अलि बढी आफैँसँग रमाउने यो समुदायलाई एकतामा बाँध्न केही गाह्रो थियो’ उनले सुरुवाती समयमा गरिएको संघर्ष सम्झिँदै भने, ‘तर प्रशस्त सम्भावना र अर्थोपार्जनको भरपर्दो भरोसा होमस्टे भनेर बुझाएपछि अहिले सबैजना आफ्नै संस्कृति बचाउँदै, पर्यटक बोलाउँदै गर्छन् ।’

विगतमा आफ्नै खेतबारी र आन्तरिक काम मात्रै गर्ने कुमाल समुदाय अहिले पर्यटक बोलाउन, उनीहरूको स्वागत गर्न, होमस्टे बसुन्जेल सांस्कृतिक नाचगान देखाउन र सेवामा रमाउँछन् । पर्यटक खुशी भए फेरि फेरि आउने, अरु पर्यटक पठाउने र आफ्नो समुदायको अर्थोपार्जनमा सहयोग हुने देखिएपछि उनीहरु हिजोआज कम्मर कसेर होमस्टे चम्काउन लागि परेका छन् । होमस्टे सञ्चालन भएपछि आफ्नो दैनिकी र थोरै भएपनि अर्थोपार्जनमा सहयोग पुगेको कुमाल सामुदायिक होमस्टेका सचिव पदम कुमाल बताउँछन् ।

‘पर्यटकहरु आउनुहुन्छ । हाम्रो समुदाय र संस्कृति बुझेर जानुहुन्छ । बसेको खाएको पैँसा दिएपछि हाम्रो पनि अर्थोपार्जन भएको छ । अब थप घर बनाउने र पर्यटकलाई सेवा दिने व्यवस्थापनमा लागेका छौँ,’ उनले खबरहबसँग भने । गोलाघाट पुगेका पर्यटकलाई कुमाल सामुदायिक होमस्टेका सञ्चालकहरु मकैको सेलरोटी, मुलाको अचार, गुन्द्रुक, सिमीको तरकारी, आलुदेखि माछा खुवाउने गरेका छन् । आफ्नै बारीमा उत्पादन भएको साग, अचार र चामलको भात खुवाउने उनीहरु कुमाल समुदायको स्वादिलो स्वाद चखाउँछन् ।

‘हामी बाहिरबाट केही पनि किन्दैनौँ । आफ्नै बारीमा उत्पादन भएको खानेकुरा पकाएर खुवाउँछौँ’ उनले भने, ‘बाहिरबाट आएका पाहुनालाई खुशी पार्न कुमाल समुदायको नृत्य देखाउँछौँ ।’ दोभान नजिकै केही स–साना होटल र रेष्टुरेन्ट भएपनि गोलाघाटमा होमस्ट सञ्चालन भएको गएको बैशाखदेखि हो । २०८० सालको नयाँ वर्ष लाग्नेबित्तिकै कुमाल समुदायका सबैलाई विश्वास दिलाउँदै मास्केले होमस्टे सञ्चालन गराएका हुन् ।

‘आफूलाई मात्रै विश्वास गर्ने उहाँहरूको सोच विस्तारै परिवर्तन भएर सामुदायिक एकता नै सबैभन्दा ठूलो उपलब्धि हो भन्ने बुझाउन सकिएको छ,’ होमस्टेका अध्यक्ष मास्केले भने, ‘एक घरबाट सुरु भएर अहिले चार घर पुगेका छन् । विस्तारै घरसङ्ख्या बढाएर एक दुई सय मान्छे राख्न सकिने गरि व्यवस्थापनमा जुटेका छौँ ।’ त्यसमाथि भरतपुर महानगरपालिकाले ‘भिजिट भरतपुर २०२४’ कार्यक्रम ल्याएपछि कुमाल समुदायक होमस्टेका सञ्चालक तथा समिति सदस्य खुशी भएका छन् ।

दशौँ लाख पर्यटक भित्र्याउने भिजिट भरतपुरको लक्ष्य र चितवनकै एक प्रमुख पर्यटकीय गन्तव्यका रुपमा परिचित मेघौली तथा गोलाघाटमा थप आन्तरिक तथा बाह्य पर्यटक आउने उनीहरूको विश्वास छ ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  १ : ५८ बजे

बाँकेको जमुनाहा नाका तीन दिन बन्द हुने

नेपालगञ्ज – बाँकेको नेपाल–भारत जमुनाहा नाका तीन दिनका लागि बन्द

कांग्रेसले मागेको छानबिन समिति होइन, सरकार हो : एमाले 

काठमाडौं– नेकपा एकालेका प्रमुख सचेतक महेश बर्तौलाले नेपाली कांग्रेसले गृहमन्त्रीमाथि

प्रधानमन्त्रीसँग यादव असन्तुष्ट, उपप्रधानमन्त्री बन्न सक्छन् राई

काठमाडौं– जनता समाजवादी पार्टी नेपाल (जसपा) विभाजनपछि केन्द्र सरकारमा पनि

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न माग

रुपन्देही – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संग सिद्धार्थ उद्योग वाणिज्य

आगामी बजेट दलितमैत्री बनाउन माग

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग दलित समुदायका नेताहरुले