समाचार

सर्पदंश उपचार केन्द्रलाई कोशी प्रदेशको सहयोग

By खबरहब

June 09, 2023

उदयपुर– कोशी प्रदेश स्वास्थ्य तथा खानेपानी मन्त्रालयले उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित सामुदायिक सर्पदंश उपचार केन्द्रलाई विभिन्न उपकरण सहयोग गरेको छ । उक्त सर्पदंश उपचार केन्द्र नेपाली सेनाको १८ नम्बर बाहिनी अड्डाको हाताभित्र सञ्चालनमा छ ।

कोशी प्रदेश सरकारले भेन्टिलेटरसँगै अक्सिजन सिलिण्डर पाँच थान र पल्स अक्समिटर डिजिटल दुई थान सहयोग गरेको सर्पदंश उपचार व्यवस्थापन समितिका अध्यक्ष पवित्रा गिरीले जानकारी दिइन् । उक्त सामग्री र उपकरण कोशी प्रदेशका स्वास्थ्य तथा खानेपानी मन्त्री तिलकुमार मेन्याङ्बो (लिम्बू)ले समितिका अध्यक्ष गिरीलाई हस्तान्तरण गरे ।

सर्पदंश उपचार केन्द्रलाई चाँडै एम्बुलेन्स हस्तान्तरण गर्न लागिएको मन्त्री मेन्याङ्बोले बताए । उनले कोशी प्रदेशका सबै अस्पताल र सामुदायिक उपचार केन्द्रलाई प्रदेश सरकारले स्तरोन्नति गरेर भौतिक तथा प्राकृतिकरूपमा दक्ष तथा व्यवस्थित बनाउने योजना प्रदेश सरकारको रहेको बताइ ।

कोशी प्रदेशसभाका उपसभामुख सिर्जना दनुवारले जनतासँग प्रत्यक्ष जोडिने स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउन आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताइन् । सर्पदंश उपचार केन्द्रले प्रवाह गरेको सेवाको प्रशंसा गर्दै उनले आगामी दिनमा सेवालाई थप विस्तार गर्नसमेत आग्रह गरिन् ।

विसं २०६८ साल भदौ १७ गतेदेखि सञ्चालनमा ल्याइएको भुल्केको सर्पदंश उपचार केन्द्रमा हालसम्म कुनै अप्रिय घटना नभएको र हालसम्म उत्कृष्ट सेवा प्रवाह भइरहेको उपचारमा संलग्न नेपाली सेनाका सहसेनानी डा. मनिष यादवले बताए । 

उनका अनुसार पछिल्लो चार वर्षको अवधिमा क्रमशः विसं २०७६ मा दुई सय ९६, २०७७ मा तीन तीन सय ७३, २०७८ मा चार सय २६ र २०७९ मा चार चार सय २५ जना उपचारपछि स्वस्थ भई घर फर्किएको डा. यादवले जानकारी दिए ।

कार्यक्रममा त्रियुगा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेतले समेत भुल्केको सर्पदंश उपचार केन्द्रलाई प्राविधिक र व्यवस्थापनका हिसाबले सुदृढीकरण र सबल बनाएर लानुपर्ने विचार व्यक्त गरे । 

स्वास्थ्य मन्त्रालयका सचिव डा. सुधा देवकोटा र भुल्के नेपाली सेना १८ नं बाहिनीका सहायक बाहिनीपति प्रेम हमालले सर्पदंश उपचार केन्द्रलाई दक्ष र सबल बनाएर सञ्चालन गर्न सके यस क्षेत्रका जनताले प्रभावकारी सर्पदंश उपचार पाउन सक्ने बताए ।