अविरल वर्षाका कारण ग्रामीण सडक अवरुद्ध | Khabarhub Khabarhub

अविरल वर्षाका कारण ग्रामीण सडक अवरुद्ध


२४ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– तीन दिनदेखिको अविरल वर्षाका कारण बागलुङका मुख्यसहित ग्रामीण सडक अवरुद्ध भएका छन् । मुख्य सडक वर्षा रोकिने बित्तिकै खुलाउने गरे पनि ग्रामीण सडक ठप्प छन् । ग्रामीण सडक ठप्प हुँदा स्थानीयलाई दैनिक उपभोग्य सामान ढुवानीमा समस्या भएको छ । ग्रामीण सडक एक महिनादेखि ठप्प छन् । सडक ठप्प हुँदा ग्रामीण क्षेत्रबाट बिरामी अस्पताल ल्याउनसमेत समस्या भएको छ ।

सोमबार रातिदेखि अवरुद्ध भएका राष्ट्रिय गौरवका आयोजना मध्यपहाडी लोकमार्ग र कालीगण्डकी कोरिडोर सञ्चालनमा आएपछि अहिले दुई तर्फ यातायात सञ्चालन भइरहेको छ । गाउँबाट मुख्य सडकमा पुग्नै निकै समस्या हुने गरेको तमानखोलाका स्थानीय भीमबहादुर रसाइलीले बताए ।

 उनले गाउँमा अहिले ज्वरो, रुघाखोकी लगायतका बिरामी बढ्दै गएको जनाउँदै पहिरोले सडक अवरुद्ध हुँदा उनीहरुलाई अस्पताल पुर्‍याउन समस्या भइरहेको बताए। उनले गाउँमा सडक नआउँदा बिरामीलाई मान्छेलेनै बोकेर अस्पतालसम्म पुर्‍याउने र सामान ढुवानी घोडा खच्चडदेखि गराउने गरेको भन्दै अहिले सडक पुगेर पनि अवस्था त्यही आएको गुनासो पोखे । पहिले सामान ढुवानीका लागि प्रशस्त खच्चड पाइने गरेको जनाउँदै उनले अहिले नपाइँदा मान्छेले नै बोक्नुपर्ने अवस्था आएको बताएका छन् ।

‘पहिले–पहिले गाउँमा मोटरबाटो आएका थिएनन्, गाडी पनि आउँदैन्थे, केही वर्षयता हिउँदभरी गाडी दौडिन्छन्, बर्खा लाग्यो भने सुनसान हुन्छन्, गाडी नचल्दा हामीले धेरै दुःख पाएका छौँ, गाउँको कोही सिकिस्त बिरामी पर्छ उसलाई छिटोछिटो अस्पताल कसरी लैजाने ?, बोकेर लैजाँदा बाटोमै मर्छ कि भन्ने डर हुन्छ’, रसाइलीले भने, ‘सहर बजारमा सबै सुविधा हुन्छ, त्यहाँ बाह्रै महिना गाडी गुड्छन्, हाम्रो दुर्गम गाउँमा छ महिना पनि राम्रोसँग गाडी गुड्दैनन् ।’

निसीखोलाका कमलमणी शर्माले सडकले हिउँदमा सुविधा दिए पनि बर्खामा दुःख मात्रै दिएको गुनासो गरे। अहिले लोकमार्ग बाहेक कुनै पनि सडकमा गाडी नगुड्ने जनाउँदै उनले टाढाटाढा जानु परे हिँडेर पुग्नुपर्ने बाध्यता रहेको सुनाए। केही दिनदेखिको बर्खाले गाउँमा आएका सडक सबै भत्किएर ठप्प बनेको र स्थानीय पालिकाले तत्काल नखुलाउँदा हामी मारमा परेको उनले बताए । उनले सडक नआउँदा बर्खामा चाहिने सबै सामान वर्षा सुरु हुनुभन्दा पहिले नै जोहो गरेर राख्ने गरेको स्मरण गर्दै अहिले धेरैले पहिलेनै सामान जम्मा गरेर राख्न छोडेको बताए ।

‘पहिले–पहिले मोटरबाटो कतै थिएनन्, गाउँलेले बर्खा नलाग्दै, चामल, नून, तेल जोहो गरेर बर्खाभरी पुग्ने गरी राख्थे, त्यसरी जोहो गरेर राखेको सामान, म्याद गुज्रिएको हुन्थ्यो, सडक आएपछि धेरैले एकमुष्ट सामान जम्मा गरेर राख्न छोडे’, शर्माले भने, ‘बर्खा लागेको केही समय त गाउँमा गाडी आउँथे, अहिले त धेरै ठाउँमा पहिरो गएर बाटो सबै बन्द भएका छन्, दसैँ अगाडि बाटो खुल्दैन, त्यस बेलासम्म भोकै बस्न भएन, बोकेर भए पनि ल्याउनुपर्‍यो ।’

तमानाखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले नागरिकको आवश्यकतालाई मध्यनजर गरेर बस्ती बस्तीसम्म सडक पुर्‍याइएको र बर्खाको समय केही ठाउँमा पहिरो झर्दा यातायात निरन्तर चल्न नसक्दा स्थानीयलाई सास्ती भएको बताए। आफूहरुले जोखिम न्यूनीकरण हुनेगरि सडक निर्माण गरेको भन्दै भारी वर्षाका कारण केही सडक अवरुद्ध भएको उनले बताए । पालिका केन्द्रदेखि गाउँ-गाउँमा पुग्ने सडकका बीचबीचमा धेरै खोला रहेको हुँदा गाडी चल्न नसकेको उनले बताए ।

‘पश्चिम बागलुङ अलि भौगोलिक रुपमा निकै जटिल ठाउँ छ, हिउँदमा गाडी चल्न कुनै समस्या हुँदैन, बर्खामा खोला बढ्ने र ठाउँठाउँमा पहिरो झर्ने हुँदा समस्या आउने गरेको छ, सबै ठाउँमा एकै पटक पुल बनाउन पनि नसकिने, पुल नबन्दा समस्या आउने’, उनले भने, ‘बाह्रै महिना सडक सञ्चालन गर्न आवश्यक ठाउँमा क्रमशः पुल पनि बनाउनका लागि केन्द्र र प्रदेश सरकारसँग सहकार्य गछौँ, अहिले बन्द भएका सडक खोलामा पानीको बहाव घट्दा साथ खुल्छन् ।’

पहिराले घरगोठ भत्कियो

तीन दिनदेखि परेको भारी वर्षाका कारण बागलुङको काठेखोलामा एक घर र गोठ भत्किएको छ । जिल्लाको काठेखोला गाउँपालिका–७ रेशका गोपाल थापाको घर र नरबहादुर मल्लको गोठ भत्किएको हो । पहिरोले घर भत्किएपछि थापाको परिवारलाई सुरक्षित स्थानमा सारिएको वडाध्यक्ष प्रेम लामिछानेले जानकारी दिए ।

थापाको घर र गोठ भत्किँदा करिब रु सात लाख बराबरको क्षति भएको उनको भनाइ छ । पहिरो पीडितलाई आवश्यक राहतको व्यवस्था गरिने उनले बताए। अहिले पनि भारी वर्षा भइरहेको हुँदा ग्रामीण सडक अवरुद्ध भएको उनको भनाइ छ । सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित बनेको अध्यक्ष लामिछानेले बताए । 

डम्मर बुढा मगर- रासस

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  २ : १६ बजे

उत्तरप्रदेशमा ‘भोलेबाबा’को प्रवचनमा भागदौड हुँदा मर्नेको संख्या १३४ पुग्यो

एजेन्सी- भारतको उत्तर प्रदेशस्थित हाथरसमा मंगलबार भएको भागदौडका क्रममा मर्नेको

गाजाका बालबालिकामा छालासम्बन्धी रोगको भयानक सङ्क्रमण

एजेन्सी– विश्व स्वास्थ्य संग्ठनका अनुसार गत अक्टोबर ७ मा इजरायल–हमास

प्रतिनिधिसभाबाट प्राप्त सन्देश राष्ट्रियसभामा टेबुल

काठमाडौं– राष्ट्रियसभामा चार विधेयकका सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश टेबुल भएको

म्याग्दीका ग्रामीण सडक धमाधम कालोपत्र गरिँदै

गलेश्वर– हिमाली जिल्ला म्याग्दीमा सदरमुकाम बेनी बजार बाहिरका ग्रामीण क्षेत्रका

सोह्रखुट्टेमा सडक भासियो

काठमाडौं– काठमाडौंको सोह्रखुट्टेमा सडक भासिएको छ । बुधबार बिहान करिब