मनाङ पुग्ने रहर, बाटोको छैन भर | Khabarhub Khabarhub

मनाङ पुग्ने रहर, बाटोको छैन भर


२४ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


615
Shares
  • change font
  • change font
  • change font

मनाङ– विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा देखिने हिमाली जिल्ला मनाङ पुग्ने कसलाई रहर हुँदैनर ? तस्बिर र भिडियोमा देखिएका मनाङमा रहेको सेता हिमशृङ्खलाको काखमा टिल्पिलाइरहेका हिमताल, यहाँका बस्ती, संस्कार, संस्कृति र फाँटभरि फापर, करु, लटरम्म गोलभेँडाझैँ फलिरहेका स्याउका दाना, अग्ला पहाडका दृश्यले लोभ्याउने गरेको छ ।

स्वर्गीय अनुभूति दिलाउने यहाँको दृश्यले कसलाई लोभ्याउँदैन र ? यिनै प्राकृतिक सुन्दर दृश्यलाई हिमालको काखमा बसेर अवलोकन गरी आफ्नै आँखामा कैद गर्ने सबैको सपना हुन्छ । देश तथा विदेशका विभिन्न भूभागबाट आउने पर्यटकलाई यही स्वर्गीय स्थान मनाङ पुग्न रहर हुन्छ । तर, यही स्वर्गीय आनन्द लिन कैयौँ कठिनाइ पार गर्नुपर्ने हुन्छ ।

यस्तै सपना बोकेर मनाङ आएका भेडेटारका सूर्य राईलाई विश्वको सर्वाधिक अग्लो स्थानमा रहेको तिलिचो ताल पुगेर एक अञ्जुली पानीले मुख धुने रहर छ । तर, बेँशीसहरबाट हिँडेपछिको सास्तीले रहर रहरमै सीमित हुने हो कि भन्ने उनलाई चिन्ता छ । सडकको जोखिम देखेर कतै सपनै तुहाएर फर्किनुपर्ने पो हो कि ? भन्ने उनमा छुट्टै डर छ ।

राईले भने, ‘घरपरिवार र आफन्त सबै छाडेर आफ्नो सपना साकार पार्न हिँडेको छु, बाटोको अवस्था देखेर सपना पूरा नहुँदै घर फर्किन सकिन्छ कि सकिँदैन भन्ने त्रास बढेको छ ।’

स्वर्गको अनुभूति गर्न सहज हुँदैन, तर त्रास नै त्रासको यात्रा गर्नुपर्ने रहेको उनले बताए।  हुन त स्वर्गको अनुभूति गर्न सहज कहाँ हुन्छ र रु मनाङ पुग्नका लागि सडक सञ्जाल पुगेको छ । तर, सहज भने छैन । घन, छिनो र सावेलले ठूलाठूला चट्टान खोपेर बनाइएको सडक । तल हेर्दा आँङ नै सिरिङ हुने भीर, त्यो भन्दा तल रिँगटा लाग्ने गरी गड्गडाउँदै बगिरहेको मर्स्याङ्दी नदी । माथि उस्तै अजङ्गको चट्टानी पहरो । यो अवस्था मनाङ जाने सडकको हो ।

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासमक्ष मनाङका तत्कालीन निर्वाचित सांसद पाल्तेन गुरुङ, कमल घलेलगायत जिल्लावासी समाजसेवी, बुद्धिजीवीले मनाङलाई सडक सञ्जालसँग जोड्न आग्रह गरेका थिए । तत्कालीन मनाङका सांसद तथा पूर्वमन्त्री गुरुङका अनुसार लमजुङ सदरमुकाम बेँशीसहरदेखि मनाङको सदरमुकाम चामेसम्म सडक सञ्जालका लागि सर्भे गर्न रु १५ लाख बजेटको व्यवस्थापन भएको थियो । तत्कालीन प्रधानमन्त्री कोइरालाको पहलमा सडक डिभिजन कार्यालय दमौली, तनहुँले विसं २०५१ देखि ट्र्याक खोल्ने कामको सुरुवात भएको हो ।

‘कामका लागि खाद्यान्न’ अभियानअन्तर्गत वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले सडक सञ्जाल निर्माणका लागि पाँच सय क्विन्टल चामल बेँशीसहर–चामे सडकलाई उपलब्ध गराएका पूर्वसांसद गुरुङले जानकारी दिए । उक्त परिमाणको चामलको सहयोगमा बेँशीसहर–चामे सडक खण्डको बेँशीसहर–खुदीसम्म ट्र्याक खोलिएको उनले बताए ।

जनयुद्ध र अन्य विभिन्न कारणले यस सडक निर्माणको जिम्मेवारी विसं २०५७ देखि तत्कालीन नेपाली सेनाले पायो । तत्कालीन सेनाले शान्ति प्रक्रियापछि मात्रै सडक निर्माण कार्यलाई निरन्तरता दिएको थियो । राजनीतिक नेता, समाजसेवी तथा बौद्धिक व्यक्ति कपिल लामाले सडक सञ्जालको ट्र्याक खोल्नका लागि समन्वयकारी भूमिका खेलेको बताए । उनकै समन्वयमा मनाङ विकास समाज गठन गरी जिल्लामा सडक पुर्‍याउन रेखदेख गरिएको थियो । मनाङका समाजसेवी तथा राजनीतिक दलका नेतृत्वले सडक पुर्‍याउन मुख्य भूमिका खेलेका थिए ।

उतिबेला अहिले जस्तो डोजर र एस्काभेटरको माध्यमबाट सडक सञ्जाल खनिदैन थियो । साँघुरो कच्ची सडक, हरेक पटक जोखिम मोल्नुपर्ने अवस्था छ । ठाउँ–ठाउँमा खसेको पहिराका कारण थप जोखिमपूर्ण यात्रा गर्नुपर्ने हुन्छ ।

अहिले वर्षाको समयमा यही जोखिमपूर्ण सडक पार गर्दै दैनिक सयौँ यात्रु यात्रा गर्न बाध्य छन् । यही सडक भएर दैनिक दर्जनौँ सवारीसाधन लमजुङ–मनाङ आवतजावत गरिरहेका छन् । मनाङबाट लमजुङ हुँदै विभिन्न ठाउँमा आउने र यहाँबाट मनाङ जाने एउटै डुम्रे–बेँशीसहर–चामे सडक हो । भिरैभिर र मर्स्याङ्दी नदी माथिमाथि हुँदै ढुङ्गैढुङ्गाको सडक व्यवस्थित नहुँदा डुम्रे–बेँशीसहर–चामे सडकमा यात्रुले ज्यानको बाजी राखेर यात्रा गर्न बाध्य छन् । मनाङवासीलाई यस्तो जोखिम मोल्नुको विकल्प छैन ।

सेनाले यस जोखिमपूर्ण भीरमा ज्यानको बाजी राखेर सडक निर्माण गर्न सफल भयो । यसले सरर मोटर चढेर मनाङ आवतजावत गर्ने मनाङवासीको सपना पूरा भयो । नेपाली सेना कार्यगणले विसं २०६९ मा सडक निर्माण सम्पन्न गरेपछि सडक डिभिजन कार्यालय दमौलीलाई हस्तान्तरण गरेको थियो । बेँशीसहर–चामे सडक ६५ किलोमिटर रहेको सडक डिभिजन कार्यालय दमौलीले जनाएको छ । यस सडक खण्डको लमजुङतर्फ ३५ किलोमिटरसम्म र मनाङतर्फ ३० किलोमिटर रहेको छ ।

सडक निर्माण भए पनि भौगोलिक कारणले यहाँको यात्रा हालसम्म जोखिमपूर्ण नै छ । करिब २१ वर्ष हुँदासम्म पनि यस सडकको स्तरोन्नति हुन नसक्दा यहाँका स्थानीयवासी निराश बनेका छन् । मनाङवासीसँगै, लमजुङवासी, आन्तरिक तथा बाह्य पर्यटक समेत चिन्तित छन् । यात्राका क्रममा सबैको चाहना सडक गुणस्तरीय होस् र दुर्घटना र जोखिम न्यून रहोस् भन्ने हुन्छ ।

बेँशीसहर–चामे सडक पार गर्न झन्डै छ घन्टा समय लाग्ने सवारी चालक सोम मगारातीले बताए। ‘ठूलाठूला चट्टान ढुङ्गाको बीचैबीच, मस्र्याङ्दी नदीको किनारबाट तीन सयदेखि एक हजार फिटभन्दा माथिमाथि हुँदै सवारीसाधन चलाउनुपर्ने हुन्छ’, उनले भने । यात्रा नसकिञ्जेलसम्म त्रासैत्रासमा यात्रा गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । विभिन्न कामलगायत घरायसी सामान लिनका लागि जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको स्थानीयवासी बताउँछन् ।

भौगोलिक संरचनाले जोखिमपूर्ण बनेको सडक वर्षायाममा बाढीले खोतलिदिने र पहिरो खस्ने भएकाले अझ जोखिम थपिने गरेको चालक मगारातीले बताए। सङ्घीयता कायम भएपछि पछिल्लो समय मनाङको मेरुदण्डको रूपमा रहेको यस सडकको स्तरोन्नतिका लागि पहल नभएको पनि होइन । यहाँको स्तरोन्नतिका निम्ति विभिन्न राजनीतिक दलका नेतृत्व तथा स्थानीय सरकारले सङ्घ, प्रदेश सरकारलाई झकझकाउने काम गरिरहेका छन् । 

जसले गर्दा यस सडकमा डुम्रे–बेँशीसहर–चामे सडक आयोजना कार्यालयमार्फत काम भइरहेको छ । भौगोलिक विकटतासँगै यहाँको प्रतिकूल मौसमका कारण कामले तीव्रता लिन नसकेको डुम्रे–बेँशीसहर–चामे सडक आयोजना कार्यालयका साइट इन्चार्ज सब–इञ्जीनीयर सुमन अधिकारीले जानकारी दिए। 

उनका अनुसार विभिन्न स्थानमा ठेक्का प्रक्रियामार्फत भए पनि ठेकेदार कम्पनीले समयमा काम नगर्दा सडक निर्माणको कामको प्रगति देखिने अवस्थामा छैन । ‘सवारीसाधन आवतजावतमा सहजता कायम गर्न विभिन्न ठाउँ ठाउँमा एक्साभेटर राखी सडक निरन्तर सञ्चालन गरिरहेका छौँं, जोखिमलाई न्यूनीकरण गर्ने काम गरेका छौँ’, उनले भने । विगतमा मनाङ घुम्न वा पर्यटक आगमनका क्रममा पहिरा वा बाढीका कारण सडक अवरुद्ध भएमा घण्टौँ बाटोमा नै रोकिनुपर्ने अवस्था छैन ।

सडक आयोजना कार्यालयले पर्यटक तथा स्थानीयवासीको सहजताका लागि बढी पहिरा खस्ने स्थानमा खबर हुनासाथ ढुंगा, माटो हटाउने काम गर्दै आएको छ । 

-नवीन लामिछाने रासस

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  ६ : ०१ बजे

बर्लिनमा राष्ट्रपति पौडेललाई गार्ड अफ अनर

बर्लिन– जर्मनको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेललाई सोमबार बर्लिनमा

अर्थसंक्षेप : घरजग्गाको कारोबार बढेदेखि पुँजीगत खर्चमा सुध्रिएन सरकारसम्म

काठमाडौं– गत वर्षको तुलनामा २०८१ जेठ महिनामा घरजग्गाको कारोबार केही

ग्रामथान गाउँपालिका अध्यक्षको निधन

विराटनगर– मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार थारूको निधन भएको

कास्की–तनहुँको पुँडीटार औद्योगिक क्षेत्रमा पूर्वाधार निर्माण गरिने

गण्डकी– गण्डकी प्रदेश सरकारले कास्की–तनहुँको पुँडीटार र नवलपरासी (बर्दघाट सुस्ता

वैदेशिक रोजगारीका लागि एक महिनामा ७२ हजार नेपाली विदेशिए, सबैभन्दा बढी धनुषाबाट 

काठमाडौं– वैदेशिक रोजगारका लागि एक महिनाको अवधिमा ७२ हजार नेपाली