भोजपुरका किसानको रोजाइमा चिराइतो खेती « Khabarhub

भोजपुरका किसानको रोजाइमा चिराइतो खेती


२३ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


495
Shares
  • change font
  • change font
  • change font

भोजपुर– चिराइतो खेती भोजपुरका किसानहरूको रोजाइमा परेको छ । बहुउपयोगी जडीबुटी चिराइतोबाट मकै, आलुलगायतको तुलनामा खेती गर्न सहज हुने र आम्दानी पनि मनग्य हुने भएपछि किसानको रोजाइमा परेको हो । 

चिराइतो बिक्रीबाट वार्षिकरुपमा रू दशदेखि १५ लाखसम्म आम्दानी हुने गरेको टेम्केमैयुङ–१ तिम्माका स्थानीय कृषक देवेन्द्र राउतले बताए  । यस वर्ष आफ्नो बारीमा करिब ६० मन (४० केजीको एक मन) चिराइतो उत्पादन हुने उनको भनाइ थियो । 

राउतले करिब ६२ रोपनी क्षेत्रमा चिराइतोको व्यावसायिक खेती गरिरहेको बताए। ‘हाम्रो ठाउँका धेरै किसानले व्यावसायिक रुपमा चिराइतोको खेती गर्दै आएका छन्’, उनले भने, ‘अन्य बालीको तुलनामा यसबाट आम्दानी पनि मनग्य हुने र खेती गर्न पनि सजिलो छ ।’

उनले यस वर्ष करिब ६० मन उत्पादन गर्ने लक्ष्य लिएको जनाउँदै बजार मूल्य राम्रो भएमा रू १० देखि १५ लाखसम्म आम्दानी हुने जानकारी दिए। यहाँ प्रति किसानले २० देखि ५० मन उत्पादन गर्ने राउतले बताए।

भोजपुरको टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका ७० बढी कृषकले चिराइतोको व्यावसायिक खेती गर्दै आएका छन् । लेकाली भेग तथा चिस्यान क्षेत्र भएकाले यहाँ चिराइतोको राम्रो उत्पादन हुँदै आएको किसानको भनाइ छ । चिराइतोबाट आलु, मकैभन्दा राम्रो आम्दानी हुने उनीहरु बताउँछन् ।

विगतका वर्षका तुलनामा पछिल्लो समय चिराइतोले राम्रो मूल्य पाउने गरेको स्थानीय कृषक प्रेमबहादुर बस्नेतले बताए। ‘यसबाट राम्रो आम्दानी लिँदै आएको छु’, उनले भने, ‘बर्सेनि मूल्यमा वृद्धि भइरहेको अवस्था छ । त्यही भएर पनि धेरै किसान यसको व्यावसायिक खेतीमा लागेका छन् ।’ 

चिराइतो बारीमा छरेको २६ देखि २७ महिनासम्ममा संकलन गर्न योग्य हुने बस्नेतको भनाइ थियो । आलु, मकैबाट रू ५० हजार आम्दानी गरेकामा सोही बारीमा चिराइतो खेती गर्दा रू पाँचदेखि सात लाखसम्म आम्दानी लिन सकिने उनले जानकारी दिए । 

यस खेतीका लागि तालिम तथा आवश्यक ज्ञान पाएमा अझ प्रभावकारी हुने बस्नेतको भनाइ थियो । ‘हामीले पराम्परागत रुपमा खेती गरिरहेका छौँ’, उनले भने, ‘यस खेतीसम्बन्धी तालिम तथा प्राविधिक सहयोगमात्र पाएमा पनि अझ सहज हुने थियो ।’

कृषकले चिराइतोलाई भदौ, असोज र कात्तिकमा संकलन गर्दछन् । पछिल्लो समय यसको बजार मूल्य बढ्दै गएपछि धेरै किसान खेतीप्रति आकर्षित भएका कृषक गुणराज राउतले बताए । ‘विगत लामो समयबाट चिराइतोको व्यावसायिक खेती गरिरहेको छु’, उनले भने, ‘मेहनत गरेर खेती गर्न सकेमा राम्रो आम्दानी लिन सकिन्छ । एक पटक संकलन गरेर बिक्री गरेपछि सानो बिरुवा उत्पादन योग्य हुन समय लाग्छ । त्यही भएर बर्सेनि आम्दानी लिन फरक-फरक जमिनमा खेती गर्नुपर्ने हुन्छ ।’

ज्वरो, दम, रुघाखोकी, मधुमेह, पिसाब पोल्ने, पेटको जुका, सुन्निएको, पोलेको लगायत रोगका लागि औषधिका रुपमा चिराइतो प्रयोग गर्न सकिने कृषक राउतको भनाइ छ । उनका अनुसार यसको पात, डाँठ, जरा  लगायत सम्पूर्ण भाग प्रयोग गर्न सकिन्छ । 

यहाँको चिराइतो भारत, चीन र बङ्गलादेशमा निर्यात हुने गरेको व्यवसायी बताउँछन् । जिल्लाको टेम्केमैयुङ गाउँपालिका–५ मझौले, तिम्मा, षडानन्द नगरपालिकाको किमालुङ, दोभाने, हेलौंछा, साम्पाङ, खार्तम्छा, आमचोक गाउँपालिकाको युँ, वासिङथर्पु, पौवादुङमा गाउँपालिकाको श्यामशिलालगायत ठाँउ चिराइतोका लागि मुख्य पकेट क्षेत्रका रुपमा रहेका छन् । 

एक हजार पाँच सय मिटरदेखि दुई हजार पाँच सय मिटरसम्मको उचाइको हावापानीमा चिराइतो राम्रोसँग फस्टाउने भएकाले यहाँका माथिल्लो भेगका अधिकांश मानिसले यसको खेती गरिरहेका छन् ।

प्रकाशित मिति : २३ भाद्र २०८०, शनिबार  २ : ०१ बजे

डा. डीआर उपाध्यायको ‘अन्तस्करण’ लोकार्पण

काठमाडौं – नेपाली साहित्य, संगीत तथा बहुआयामिक सिर्जनाका अथक साधक

झापामा सिटी सफारी चोरीमा संलग्न गिरोह पक्राउ

झापा – सिटी सफारी चोरीमा संलग्न एक गिरोहलाई प्रहरीले पक्राउ

रुसमा गरिएको युक्रेनी ड्रोन आक्रमणमा भारतीय श्रमिकको मृत्यु

मस्को – मस्को र वरपरको क्षेत्रमा भएको युक्रेनी ड्रोन आक्रमणमा

करिब २० हजार टन ग्याससहित एक ट्याङ्कर हर्मुज हुँदै गुजरात आइपुग्यो

गुजरात – पश्चिम एसियामा जारी भीषण युद्ध र बढ्दो तनावका

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

झापा – झापाको अर्जुनधारा नगरपालिका–४ दहीझोडास्थित दुर्गापुर–खुदुनाबारी सडकखण्डमा मोटरसाइकल दुर्घटना