दक्षिणपूर्वी एसियामा साइबर अपराधमा संलग्न चिनियाँ नागरिक पक्राउ पर्ने क्रम बढ्दो | Khabarhub Khabarhub

दक्षिणपूर्वी एसियामा साइबर अपराधमा संलग्न चिनियाँ नागरिक पक्राउ पर्ने क्रम बढ्दो


२३ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

बैंकक- पछिल्लो समय दक्षिणपूर्वी एसियाली मुलुकमा साइबर पराधका गतिविधिमा संलग्न हुने चिनियाँ नागरिक धमाधम पक्राउ पर्न थालेका छन् । म्यान्मारले हालै अनलाइन ठगी र सीमापार टेलिफोन एवम् साइबर अपराधमा संलग्न २४ चिनियाँ नागरिकलाई देश निकाला गरेको छ ।

त्यसको केही दिनपछि अगस्त ३० का दिन इन्डोनेशियाले पनि ठगी गरेर पैसा असुलेको आरोपमा ८८ जना चिनियाँलाई पक्राउ गर्यो । पछिल्लो समय चिनियाँ नागरिकबाट हुने अनलाइनजन्य अपराधको मारमा दक्षिणपूर्वी एसियाली मुलुकहरु परेका छन् ।

दक्षिणपूर्वी एसियाली मुलुकहरु लाओस, कम्बोडिया, फिलिपिन्स, म्यान्मार, थाइल्याण्डजस्ता मुलुक चिनियाँ नागरिक संलग्न यस किसिमका आपराधिक गतिविधिलाई न्यूनीकरण गर्न प्रयास गरिरहेका छन् ।

चीनको नाम नलिई हालै संयुक्त राष्ट्रसंघीय उच्च आयुक्तले दक्षिणपूर्वी एसियामा अनलाइन ठगी गर्ने गिरोह सक्रिय रहेको र लाखौँ मानिसहरु ठगिएको बताएका थिए । राष्ट्रसंघको अनुमान अनुसार म्यान्मारमा कम्तीमा १ लाख २० हजार, कम्बोडियामा १ लाख जनालाई बाध्यकारी रुपमा अनलाइन ठगी धन्दामा संलग्न गराइएको छ ।

एबीसी न्यूजका अनुसार इन्डोनेशियाको प्रहरीले भने पर्यटकका भेषमा आउने चिनियाँ नागरिकहरु साइबर अपराधमा संलग्न हुने गरेको जनाएको छ । गत अगस्ट ३० मा इन्डोनेशियाको जनसुरक्षा मन्त्रालयले दिएको सूचनाका आधारमा प्रहरीले कारवाही अभियान सञ्चालन गर्दा ८८ जना चिनियाँ नागरिक पक्राउ परेका थिए ।

उनीहरु सीमापार टेलिफोन एवम् अनलाइन रोमान्सको ठगी सञ्जालमा संलग्न रहेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ । यसका लागि उनीहरुले अनलाइन डेटिङ साइट वा सामाजिक सञ्जालका माध्यमबाट पीडितको पहिचान गर्ने गरेका थिए । पीडितको पहिचान भएपछि उनीहरुले जाली प्रोफाइल खोलेर प्रेमको जालमा पारेर पैसा माग्दै आएका थिए ।

आपराधिक गतिविधिमा चिनियाँ संलग्नता नयाँ घटना भने होइन । यसअघि सन् २०१९ मा पनि इन्डोनेशियामा प्रहरीको कारवाहीका क्रममा आपराधिक गतिविधिमा संलग्न ८५ चिनियाँ नागरिक पक्राउ परेका थिए । त्यसैगरी, सन् २०१७ मा पनि इन्डोनेशियामै टेलिफोन र अनलाइन ठगीमा संलग्न ४१९ जना चिनियाँ नागरिक पक्राउ परेका थिए ।

रोचक कुरा त के छ भने उनीहरु सबै तीन महिनाको पर्यटक भिसामार्फत् इन्डोनेशिया प्रवेश गरेका थिए । साउथ चाइना मर्निङ पोस्टका अनुसार इन्डोनेशियाको जेलमा तीन महिनाको कारावास र ७७० अमेरिकी डलर तिरेपछि उनीहरुलाई देश निकाला गरिएको थियो ।

सूक्ष्म अनुसन्धानका क्रममा यस्ता गतिविधिका पीडित पनि चिनियाँ नागरिक नै हुने गरेको पाइएको छ । अन्य देशका नागरिकले चिनियाँ मन्दरिन भाषा बोल्न नजान्ने भएका कारण चिनियाँ आपराधिक गिरोहको निशानामा पनि चिनियाँ नागरिक नै पर्ने गरेको बताइएको छ ।

गत अगस्ट २८ र २९ का दिन म्यान्मार र चीनका अधिकारीहरुबीच बेइजिङमा भएको छलफलमा सीमापार टेलिफोन ठगीधन्दाविरुद्ध कदम चाल्न सहकार्य गर्ने सम्झौता भएको थियो । चीनले २४ जना संदिग्ध चिनियाँलाई देश निकाला गरेको केही दिनपछि आयोजित उक्त बैठकमा सीमा क्षेत्रमा शान्ति सुरक्षालाई सुदृढ गर्नेबारे पनि सहमति भएको थियो ।

तर, सबै जना यस्ता घटनामा आफ्नै मर्जीले संलग्न हुनेमात्रै छैनन् । अधिकांशलाई धेरै कमाई हुने प्रलोभन देखाएर म्यान्मार ल्याइने र यस्ता गतिविधिमा संलग्न गराइने म्यान्मारस्थित चिनियाँ राजदूतावासले जनाएको छ ।

थाइल्याण्डसँग सीमा जोडिने म्यान्मारको करेन राज्यमा हालै निर्मित शावे कोको सहर साइबर अपराधको केन्द्रका रुपमा स्थापित हुँदै गएको छ । भ्वाइस अफ अमेरिकाका अनुसार यस सहरमा चिनियाँ आपराधिक गिरोहको नियन्त्रण रहेको छ । म्यान्मारको सैनिक सरकार, सीमा नियन्त्रक र करेन समुदायका व्यक्तिहरुसँगको साँठगाँठमा उक्त सहरमा आपारधिक गतिविधि सञ्चालन भइरहेको भ्वाइस अफ अमेरिकाले जनाएको छ ।

समाचारमा आएका विवरणअनुसार चीनले सट्टाबाजी, अनलाइन जुवा, सम्पत्ति शुद्धीकरण, अश्लील चलचित्र र साइबरजन्य अन्य अपराधमा कडाइ गरेपछि कुनै समय बेइजिङ, साङ्घाई, ग्वाङझाउजस्ता सहरमा सक्रिय चिनियाँ आपराधिक गिरोह दक्षिणपूर्वी एसियाली देशतर्फ पुगेका छन् ।

थाइल्याण्डका अधिकारीहरुले पनि पछिल्लो समय साइबरजन्य अपराधविरुद्ध अभियान नै सञ्चालन गरेका छन् । बैंकक पोस्टका अनुसार सन् २०२१ यता मुलुकमा ठगी गर्ने उद्देश्यले गरिएका टेलिफोन कलको सङ्ख्यामा २७० प्रतिशतले वृद्धि भएको छ । जुलाई महिनासम्म प्रहरीसमक्ष ५० हजार उजुरी परेकोमा यसको आधाजति उजुरी त साइबर ठगीका मात्र छन् ।

प्रकाशित मिति : २३ भाद्र २०८०, शनिबार  ९ : ३८ बजे

प्रचण्डले बोलाए सर्वदलीय बैठक

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका

क्यानडाले नेपाललाई दियो १२४ रनको लक्ष्य

काठमाडौं – क्यानडाले नेपाललाई १२४ रनको लक्ष्य दिएको छ ।

कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाए सर्वदलीय बैठक

काठमाडौं – कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक बोलाएका छन्

उद्धार कार्यमा खटिन रास्वपाद्वारा पार्टी सदस्यहरुलाई निर्देशन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जोखिमपूर्ण अवस्थामा रहेका नागरिकको

आइतबार बिहानैदेखि मौसममा सुधार हुने

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले