म्याग्दीमा रेडपाण्डा संरक्षण कार्यक्रम सञ्चालन गरिने | Khabarhub Khabarhub

म्याग्दीमा रेडपाण्डा संरक्षण कार्यक्रम सञ्चालन गरिने


२२ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– विश्वमै दुर्लभ जङ्गली जनावर रेडपाण्डा (हाब्रे) भेटिएको म्याग्दीमा संरक्षणको कार्यक्रम सञ्चालन हुने भएको छ । धवलागिरि गाउँपालिका–२ लुलाङको जलजलास्थित जङ्गलमा च्याउ टिप्न गएका सुवास थापाले केही दिनअघि जिल्लामै पहिलो पटक हाब्रेको भिडियो खिचेका थिए । हाब्रे भेटिएको सम्बन्धी समाचार गत बिहीबार राससमार्फत सार्वजनिक भएको थियो । 

म्याग्दीमा हाब्रेको बसोबास रहेको तथ्य प्रमाणित भएपछि अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएड)ले संरक्षण कार्यक्रम सञ्चालन गर्न चासो दिएको डिभिजन वन कार्यालयका प्रमुख मनोज रानाभाटले बताए । 

‘हाब्रे भेटिएको खबर सार्वजनिक भएपछि युएसएडअन्तर्गत गण्डकी प्रदेशमा लागू भएको जल र जङ्गल परियोजनाका अधिकार आइतबार वन डिभिजन कार्यालयमा आएर संरक्षण कार्यक्रम सञ्चालन गर्ने विषयमा छलफल गर्नुभएको छ’, उनले भने । 

जैविक विविधता र वातावरण संरक्षणका क्षेत्रमा काम गर्ने उक्त परियोजनाका ल्याडस्केप टिम लिडर मानबहादुर बिक र वरिष्ठ कार्यक्रम अधिकृत सोभियत कोइरालाको टोलीले डिभिजन वन कार्यालयसँग हाब्रे संरक्षण कार्यक्रम सञ्चालनको विषयमा छलफल गरेका हुन् । 

‘नयाँ र उपलब्धि देखिने काम हुने भएकाले म्याग्दीमा हाब्रे संरक्षणको कार्यक्रम परियोजनामा समेट्ने समझदारी भएको छ’, वन अधिकृत रानाभाटले भने , ‘स्थानीय तह र वन डिभिजन कार्यालयसँग छलफल गरेर संरक्षणका कार्यालय बनाउने विषयमा छलफल भएको छ ।’

सात वर्षअघि भएको अध्ययनका क्रममा जलजलाको जङ्गलमा भेटिएको दिसाको आधारमा हाब्रेको बासस्थान भएको बताइएको थियो । म्याग्दीमा यसअघि दुलर्भ वन्यजन्तु रेडपाण्डा भौतिकरूपमा देखिएको थिएन । संरक्षण कार्यक्रमको प्रभाव, चोरीसिकारी नियन्त्रण र जनचेतना अभिवृद्धिका कारण हाब्रे देखिन थालेको विषयमा अनुसन्धान गर्दै आएका बद्री बरालले बताए । 

विसं २०७३ मा विश्व वन्यजन्तु कोषको सहयोग तथा हरियो वन कार्यक्रमको आर्थिक सहयोगमार्फत रेडपाण्डा नेटवर्क र हिमाली संरक्षण मञ्चले लज्जालु स्वभावको हाब्रे खोजी अभियान सञ्चालन गरेको थियो । लुलाङको मरेनी सामुदायिक वन, ढोरपाटन सिकार आरक्षको जलजला, गुर्जा र मुदीको जङ्गलमा हलुका रातो, सेतो र कालो रङको रेडपाण्डाको बासस्थान फेला पारे पनि प्रत्यक्ष देखिएको थिएन ।  

रातको समयमा रूखको टोड्कामा बास लिने र दिउँसो रूखका हाँगामा बसी आराम गर्ने, भोक लागेका बेला निगालोको टुसालगायत झारपात खान भुइँमा झर्ने रेडपाण्डाको बासस्थानका विषयमा हरियो वन कार्यक्रम र रेडपाण्डा नेटवर्कले धौलागिरि गाउँपालिकाको गुर्जा, लुलाङ तथा मुदीमा अध्ययन गरेका थिए ।   

रेडपाण्डाका लागि आवश्यक आहारा निगालो तथा मालिङ्गो र टोड्का परेका रुख यस क्षेत्रको जङ्गलमा पर्याप्त छ । समुद्री सतहबाट दुई हजारदेखि चार हजार आठ सय मिटरको उचाइमा बसोबास गर्ने रेडपाण्डालाई सरकारले संकटापन्न वन्यजन्तुको सूचीमा राखेको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत रेडपाण्डालाई संरक्षितको सूचीमा राखिएको हो । रेडपाण्डा संरक्षण गर्न नेपाल सरकारले सन् २०१९ देखि २०२३ सम्म रेडपाण्डालाई पर्यटनसँगै जोडेर विशेष संरक्षण गर्ने नीति लिएको छ ।

रेडपाण्डाको चोरी सिकारमा संलग्नलाई रु पाँच लाखदेखि रु १० लाख जरिवाना, पाँचदेखि १५ वर्ष कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था छ । रेडपाण्डाको सङ्ख्या नेपालमा पाँच सयदेखि एक हजार रहेको अनुमान गरिए पनि दुई सय ३७ को मात्र यकिन भएको छ । 

विश्वमा नेपाल, चीन, भारत, भूटानम्यान्मामा मात्र रेडपाण्डाको बासस्थान छ । नेपालमा एलुरेन्स फ्युजन्स जातको रेडपाण्डा छ । नेपालका २४ जिल्लामा रेडपाण्डा पाइने रेडपाण्डा नेटवर्कले जनाएको छ । 

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  १ : १३ बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य