विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


२२ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

आज आश्विन २२ २०८० या अंग्रेजी क्यालेन्डर अनुसार अक्टोबर ९, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

गाजा पट्टीमा १ लाख २३ हजारभन्दा बढी विस्थापित : संयुक्त राष्ट्रसङ्घ

 प्यालेस्टिनी लडाकु समूह हमास र इजरायलबीच द्वन्द्व सुरु भएयता गाजा पट्टीमा एक लाख २३ हजारभन्दा बढी मानिस विस्थापित भएको संयुक्त राष्ट्रसङ्घले सोमबार जनाएको छ ।

‘गाजामा मुख्यतः डर, सुरक्षाको चिन्ता र उनीहरूको घर भत्काइएका कारण एक लाख २३ हजार ५३८ भन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित भएका छन्,’ संयुक्त राष्ट्रसङ्घको मानवीय निकाय ओसीएचएले भनेको छ ।

ओसीएचएका अनुसार ७३ हजारभन्दा बढी व्यक्तिले विद्यालयमा आश्रय लिइरहेका छन्, जसमध्ये केहीलाई आपतकालीन आश्रयस्थल तोकिएको छ ।

हमासको लडाकु समूहले इजरायलमा घातक आक्रमण गर्नुका साथै हजारौँ रकेट प्रहार गरेपछि इजरायलले शनिबारदेखि गाजामा सयौँ हवाई आक्रमण गरेको छ । प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय निकाय यूएनआरडब्लुएका प्रवक्ता अदनान अबु हसनाले यो सङ्ख्या अझै बढ्ने अपेक्षा गरेको बताएका छन् ।

‘यी विद्यालयमा बिजुली छ, हामी उनीहरूलाई खाना, सफा पानी, मनोवैज्ञानिक सहयोग र चिकित्सा उपचार प्रदान गर्छौं,’ उनले एएफपीसँग भने ।

गाजामा २३ लाख प्यालेस्टिनी छन्, उनीहरूले सन् २००७ मा हमासले सत्ता सम्हालेपछि इजरायली नाकाबन्दीको सामना गरिरहेका छन् ।

जर्मनीका चान्सलर स्कोल्जको दललाई निर्वाचनमा धक्का
जर्मनीको हेस्से र बाभेरियामा आइतबार भएको निर्वाचनमा कन्जरभेटिभ पार्टी क्रिश्चियन डेमोक्र्याटिक युनियन (सीडीयू) र क्रिश्चियन सोसियल युनियन (सीएसयू) विजयी भएका छन् ।

जर्मनीका सम्पन्नशाली राज्यको चुनावमा मध्यमार्गी दक्षिणपन्थी दलहरूले पहिलो स्थान हासिल गरेका हुन् । आधिकारिक तथ्याङ्कअनुसार सीडीयूले हेस्से राज्यमा ३४।६ प्रतिशत भन्दा बढी मत प्राप्त गरेको छ भने सीएसयूले बाभेरियामा ३७ प्रतिशत मत प्राप्त गरेको छ ।

यसका साथै दक्षिणपन्थी अल्टरनेटिभ फर जर्मनी (एएफडी) पार्टीले एसपीडी, ग्रिन पार्टी र फ्रि डेमोक्र्याटिक पार्टीद्वारा सञ्चालित वर्तमान संघीय सरकारप्रति मतदाताहरूको असन्तोषका कारण ठूलो लाभ उठाएको छ ।

सन् २०१८ को विधानसभा चुनावको तुलनामा यी दुई राज्यमा सीडीयू र सीएसयूले राम्रो मत प्राप्त गरेका छन् ।

चीनको सरकारी स्वामित्वको बैंकिङ कम्पनीका पूर्व प्रमुख पार्टीबाट बर्खास्त
चीनको सरकारी स्वामित्वको बैंकिङ कम्पनी, एभरब्राइट ग्रुपका पूर्व प्रमुखलाई ‘अनुशासन र कानूनको गम्भीर उल्लङ्घन गरेको’ भन्दै सत्तारुढ कम्युनिस्ट पार्टी (सीपीसी)बाट सार्वजनिक पदमा रहन अयोग्य गरी बर्खास्त गरिएको छ ।

यसअघि एभरब्राइटको पार्टी सचिव र अध्यक्षका रूपमा काम गरेका ली सियाओपेङलाई अनुशासनको छानबिनपछि सजाय सुनाइएको हो । समाचार एजेन्सी सिन्ह्वाका अनुसार लीले उपहार र पैसा लिएका, आचरण सुधार गर्ने पार्टीको नीतिको अवज्ञा गरेको र उनको मुद्दाको अनुसन्धानमा बाधा पुर्‍याउने प्रयास गरेका थिए ।

एक अर्थशास्त्रीको रूपमा प्रशिक्षित, लीले आफ्नो कामको अधिकांश समय वित्त उद्योगमा बिताएका थिए । मार्च २०२२ मा चाइना एभरब्राइटको अध्यक्षपदबाट सेवानिवृत्त हुनुअघि उनले धेरै प्रमुख चिनियाँ बैंकहरूमा नेतृत्वदायी पदहरूमा सेवा गरेका थिए ।

राष्ट्रपति सी चिनफिङले कथित भ्रष्टाचारविरुद्ध आक्रामक कारबाहीको नेतृत्व गरिरहेका छन् । चीनको केन्द्रीय अनुशासन अनुगमन आयोग (सीसीडीआई) ले मार्चमा चाइना एभरब्राइट ग्रुप र देशको वित्तीय क्षेत्रका अन्य प्रमुख खेलाडीसहित ३० वटा सरकारी स्वामित्वका उद्यमहरूलाई लक्षित गरी ‘अनुगमन यात्रा’सुरु गर्ने बताएको थियो ।

गत महिना चाइना लाइफ इन्स्योरेन्सका पूर्व अध्यक्ष तथा सीसीपी प्रमुख वाङ बिनलाई घुस लिएको र विदेशमा बचत लुकाएको आरोपमा ‘दुई वर्षको जेल सजायसहित मृत्युदण्ड’ दिइएको थियो ।

उनको सजाय ‘आजीवन कारावासमा परिवर्तन’ हुनसक्ने बताइएको छ ।

भारी वर्षाका कारण दक्षिणी म्यान्मारमा हजारौँ नागरिक विस्थापित
दक्षिणी म्यान्मारको बागो क्षेत्रमा आइतबार भएको भारी वर्षाका कारण हजारौँ नागरिक विस्थापित हुनुका साथै रेल यातायात अवरुद्ध भएको स्थानीय अधिकारीहरूले सोमबार बताएका छन् ।

बागो क्षेत्रको समाज कल्याण, राहत तथा पुनर्वास मन्त्रालयका निर्देशक उ थाउङ स्वेले बाढीका कारण १४ हजार तीन सय चार नागरिकले ३६ वटा राहत शिविरमा आश्रय लिएको बताए ।

उनका अनुसार पानीको सतह निरन्तर बढिरहेकाले उद्धार संस्थालगायत सम्बन्धित निकायले उद्धार कार्य जारी राखेका छन् । म्यान्माको यातायात तथा सञ्चार मन्त्रालयले बाढीका कारण याङ्गुन जाँदै गरेको दुई वटा यात्रुवाहक रेलमा सवार करिब आठ सय यात्रुलाई आइतबार साँझ जहाजहरूमा राखेर पुर्याइएको बताएको छ ।

बाढीकै कारण आइतबार बागो सहर हुँदै जाने चार वटा यात्रुबाहक रेलको यात्रा रद्द गरिएको थियो । एक रेलवे अधिकारीले बागो क्षेत्र हुँदै चल्ने रेलका यात्रा सोमबार पनि स्थगित गरिएको जानकारी दिए ।

म्यान्माको जल तथा मौसम विज्ञान विभागले बागो नदीमा पानीको सतह सोमबार खतराको स्तरभन्दा चार इन्च माथि रहेको बताएको छ ।

इजरायलमा जहाज पठाउने सरकारको तयारी, हवाई कम्पनीद्वारा तेल अभिभ विमानस्थलमा सेवा स्थगित
प्यालेस्टाइनी लडाकुको हमलामा परी मृत्यु भएका नेपाली नागरिकको शव फिर्ता ल्याउन एवम् फसेका नागरिकको उद्धार गर्न सरकारले इजरायलतर्फ जहाज पठाउने तयारी गरिरहेको बेला विभिन्न हवाई कम्पनीले त्यहाँबाट हुने सबै उडान र अवतरण स्थगित गरेका छन् ।

इजरायलस्थित तेल अभिभ सहरमा रहेको बेन गुरियोन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सुरक्षित नभएको भन्दै अमेरिकी हवाई सेवा कम्पनीहरु डेल्टा एयर, युनाइटेड एयरलाइन्स, अमेरिकन एयरलाइन्स र फ्रान्सको एयर फ्रान्स, फिनल्याण्डको फिन एअरले सबै उडान र अवतरण स्थगित गरेका हुन् ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार बेलायतको इजीजेट, चीनको हाइनान अयरलाइन्सले पनि हवाई सेवा स्थगित गरेको घोषणा गरेका छन् । हमास, प्यालेस्टाइनी इस्लामिक जिहादलगायतका प्यालेस्टाइनी लडाकु समूहले इजरायलमाथि हमला गरेसँगै सुरक्षा चिन्ताबीच विभिन्न एयरलाइन्सले हवाई सेवा स्थगित गरेका हुन् ।

सामाजिक सञ्जालमा सार्वजनिक भएका केही फुटेजहरुमा गाजा क्षेत्रमा रहेको लडाकुहरुले आकाशमा उडिरहेका हेलिकोप्टर तथा लडाकु विमानलाई लक्षित गरी काँधमा राखेर मार हान्न सक्ने विमानभेदी क्षेप्यास्त्र प्रहार गरिरहेको देखिन्छ ।

यसअघि हमासको लडाकु दस्ता इजाद्दिन अल कसम ब्रिगेडले बेन गुरियोन अन्तर्राष्ट्रिय विमानस्थलमा रकेट आक्रमण गरेको दाबी गरेको थियो ।

हमासको आक्रमणमा इजरायलमा ५७ सैनिक र ३४ प्रहरी मारिए
प्यालेस्टाइनको हमास समूहको आक्रमणमा परी इजरायलमा ५७ सैनिक र ३४ प्रहरी अधिकारी मारिएको अधिकारीहरूले जनाएका छन् ।

इजरायल डिफेन्स फोर्सले आइतबार गाजापट्टीको सीमामा हमास आतङ्ककारीहरूसँगको लडाइँमा मारिएका ५७ सैनिकको नाम प्रकाशित गरेको छ।

यसैबीच, इजरायल पुलिसले आतङ्कवादीहरूको सामना गर्दा मारिएका ३४ अधिकारीहरूलाई सूचीबद्ध गरेको छ। गाजामा हमासका आतङ्ककारीहरूले इजरायलविरुद्ध युद्ध सुरु गर्दा, सहरहरूमा घुसपैठ गर्ने, सैन्य स्थानहरूमा आक्रमण गर्ने गरिरहेको जनाएको छ ।

यात्रुहरूलाई सडक र उनीहरूको घरहरूमा गोली हानेर र देशको विस्तृत क्षेत्रहरूमा हजारौँ रकेटहरू प्रहार गर्दा कम्तीमा तीन सय जनाको मृत्यु भएको थियो।

आतङ्ककारीहरूले दर्जनौँ सैनिक र नागरिकहरूलाई गाजामा तानेर लगेको र त्यहाँ उनीहरूलाई बन्धक बनाइएको द टाइम्स अफ इजरायलले जनाएको छ ।

गाजामा बन्धक बनाएकाहरूको सङ्ख्यासँगै मारिएका सैनिकहरूको कुल सङ्ख्याबारे अधिकारीहरू अझै निश्चित छैनन्।

इजरायल प्यालेस्टाइनको हमास समूहको युद्धमा परी १० नेपाली सहित ६०० भन्दाबढी इजरायलीको मृत्यु भइसकेको छ भने एक सय भन्दा बढी व्यक्तिको अपहरण गरिएको बताइएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  ७ : ५९ बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः