कथा : घर कुरुवा | Khabarhub Khabarhub

कथा : घर कुरुवा



मेरो नाम इभा हो । पेशाले म प्राध्यापक । पेशा जेसुकै भए पनि घरव्यवहार, छोराछोरी, इष्टमित्र सबै मेरो भागमा पर्छन् । थोरै समय फुर्सद पाएँ भने समसामयिक विषयमा लेखहरू लेख्न मन पराउँछु ।

महिलालाई समय व्यवस्थापन गर्न निकै कठिन छ । एकातिर घर, अर्कोतिर जागिर । जहाँ इच्छा त्यहाँ उपाय भनेझैँ यी सबै समस्या भन्दा कहिलेकाहीँ माथि उठ्छु र आफ्नो कलम तिखार्छु ।

सेक्सपियर, सुकरात अरस्तुका समयका महिला लेखक खोज्छु । आइसल्याण्डमा सर्प खोजेजस्तै लाग्छ । फेरि अहिलेका पुस्ताका नारी लेखक सम्झिन्छु । छाती गर्वले फुल्छ ।

बाहिर झमझम पानी परिरहेछ । सानो छोरो भित्र चिच्याइरहेछ– दुई एकान दुई, दुई दुना चार । अर्को कोठामा सासूआमाको खोकीको चर्को आवाज सुन्छु । भर्खरै श्रीमानको फोन आयो, ‘भरे आउन अलि ढिला हुन्छ है !’

आज केही लेख्न मन लागिरहेछ । तर, के लेख्ने ? मनभित्र सम्झनाका उछाल चल्छन् । ल्यापटप अन गरेर इमेल चेक गर्छु ।

अहो ! बहिनी इराको इमेल आएको रहेछ । उसले मलाई कहिल्यै यसरी इमेल गरेकी थिइन । मुटुको धड्कन तीब्र गतिमा धड्कियो । गोडा लगलग काँपे । हतार–हतार डाउनलोड गरेँ ।

प्यारी दिदी इभा,

योमध्य बर्खामा मन खडेरीले डढेको छ । छोरी मान्छे, त्यसमाथि अविवाहित भएर समाजमा बाँच्नु अपराध मानिन्छ भने विवाह गरेर पराई घरमा बाँच्नु पनि सगरमाथा चढेभन्दा सजिलो छैन ।

मनमा चलेका आँधीहुरी तिमीलाई नसुनाई बस्नै सकिनँ । मेरा रहर, खुसी, स्वतन्त्रता, अस्तित्व सबै लुटिएको दुःखद खबर तिमीलाई बाहेक कसैलाई पनि सुनाउने हिम्मत छैन । अझ भनौँ, सुनाउनुको कुनै अर्थ छैन । तिमीसँग मलाई सम्झाउने शब्द त नहोला, तैपनि यो कुरा तिमीलाई भनेर मन हलुका बनाउन चाहन्छु कपासजस्तै ।

तिमीसँग बाआमाको आँगनीमा सँगै खेलेका दिन खुब याद आउँछन् । जब माइतीघरको त्यो बार्दली सम्झन्छु, मन पुतलीझैँ उड्छ । तिमीसँग गरेको चकचक, प्रेम, झगडा सबैसबै ताजा छन् ।

जब तिमी विवाह गरेर पराईकी भयौँ । त्यस रात म बेस्सरी रोएकी थिएँ । तिम्रो प्रेम, त्याग, समर्पण सबै उर्लिएर पोखियो । त्यसपछिका हरेक दिन तिम्रा सम्झनामा बिते । तिमीलाई भन्न बाँकी धेरै कुराहरू थिए । मैले चाहेर पनि भन्न सकिनँ ।

मेरो पनि विस्तारै उमेर बढ्दै गयो । प्लस टु सकेर बसेकी थिएँ । सोचेथेँ अब सहरतिर गएर काम गर्दै बीएड पढ्नु पर्ला । केही गर्ने, केही बन्ने सपना र उत्साह मनभरि थिए । तर मलाई यो थाहा भएन, म त बाआमा, दाजुभाइ र आफन्तका लागि बोझ हुन थालेँछु ।

पढ्दै जागिर गर्दै अगाडि बढ्ने नवीन कल्पना गर्दै गएँ । यता घरमा दिनप्रतिदिन मेरो चिन्ता र विवाहको कुरा चल्न थालेछ । आफ्नो सुन्दर भविष्यका लागि हजारौँ बिन्ती गर्दा पनि काम लागेन । अन्ततः परिवार, आफन्त मिलेर विवाह पक्का गराइदिए ।

त्यसपछि पनि मैले आमासँग लाखौँ बिन्ती गरेँ । छोरी भएकै कारण आमाले मेरो कुरा विश्वासै गर्नुभएन । अन्ततः म बाध्यताको भुमरीमा नमज्जासँग पछारिएँ । जतिबेला मेरो विवाह पक्का भयो, त्यतिबेला तिमी आमा बनिसकेकी थियौ ।

दूधे बच्चा काखमा राखेर तिमी मेरो विवाहमा सहभागी भयौ । त्यतिबेला तिमीलाई अँगालो हालेर रुनुजस्तै भएको थियो । विवाहमा म बाहेक सबै खुसी थिए ।

बाआमाको आँखाको आँसु पनि हर्षको हो भन्ने बुझ्न मलाई समय लागेन । रगतको साइनोलाई सिन्दुरको जिम्मा लगाएर जब बिदा गरे, मलाई त यो संसारमा आफ्नो कोही छ जस्तो पनि लागेन ।

रातो पहिरनमा सिँगारिएर जब पराईको घरतिर पाइला बढे, त्यतिबेला लाग्यो। म आफ्नै रहरको मृत्युउत्सव मनाइरहेछु

छोरीको जात न माइती घरमा अटाउँदो रहेछ, न पराइघरमा । न माइतीघर आफ्नो हो भन्ने हक रहन्छ, न चटक्कै भुलेर बाँच्न सकिन्छ । यो दोधारे जिन्दगी हुनुभन्दा नहुनु बेस लागेको थियो ।

इभा,

तिमीलाई थाहा छँदैछ । विवाह गर्दा म १९ वर्षकी थिएँ । उनको उमेर ३४ वर्षको थियो । युके बसेको केटा, सबैले राम्रो छ भन्थे । बाआमाको खुसीको सीमा नै थिएन । उहाँहरूले पीआरसँग आफ्नी छोरी किन साट्नुभयो, म जान्दिनँ ।

विवाह भएको २ महिना नबित्दै मलाई छाडेर युके जानुभयो । आफूले विवाह गरेर आएको मान्छे कस्तो छ बुझ्न नपाई टाढिँदाको पीडा म व्यक्त गर्न सक्दिनँ ।

मलाई त त्यहाँका मान्छेदेखि हावापानीसम्म बिराना लाग्थे । बुहारी भएर पराइघर गएपछि एउटी नोकर्नीले सरह काम गर्नुपर्ने रहेछ । मैले दुखे पनि ऐया भन्न पाइनँ ।

घरका सबै जहानले खाएको भाँडा धुनुपर्ने । कपडा धुनेदेखि लिएर सबै काम गर्नुपर्यो । जीवनसाथी बनाउँछु भनेर विवाह गरेका श्रीमानको घरमा मैले दासीको जस्तो जीवन बिताएँ । परिवारका सबै सदस्यहरू एकातिर थिए भने म अर्कोतिर हुन्थेँ ।

घरका सबै महत्वपूर्ण निर्णयहरूमा उनीहरूको मात्रै सहभागिता हुन्थ्यो । मलाई  रोबर्टजस्तै बनोस् भन्ने चाहना राख्थे । म त्यो हुनै सक्दैनथेँ । विवाहपछि जिन्दगीका सुखद क्षणहरू गुमाएँ । माइतीघरकाले सुख पाएकीले आफूहरूलाई बिर्सिएको आरोप लगाउँथे । त्यतिबेला मन चरक्क हुन्थ्यो ।

श्रीमानलाई कहिलेकाहीँ मनका कुरा भन्दा पत्याउँदैनथे । हुन त रगतको साइनोभन्दामाथि सिन्दुरको साइनो किन हुन्थ्यो र ? म उनीसँग केही अपेक्षा राखेर आफ्ना दुःख सुनाउँथे । उनी आफू बीचमा परेको भन्दै पन्छिन खोज्थे । सबैले हेर्ने भनेको आफ्नो सहजता त रैछ नि ।

मनमा जति पीडा भए पनि मैले हरेक पटकको फोन संवादमा हाँसेर बोल्नुपर्थ्यो । रातभरि रोएर बिहान ठिक छु भन्ने जवाफ दिन्थेँ । उनी कसरी बाँचेका थिए, उनैले जानून् ।

एउटै कोखमा हुर्किएर एउटै आँगनीमा खेलेको मान्छे त आफ्नो नहुँदो रहेछ । म त हिजो जोडिएकी मान्छे, कसरी आफ्नो जस्तो हुन सक्थेँ र ? फेरि सोच्थेँ, रगतको साइनो त आफ्नो भएन भने यो सिन्दुरको साइनोले बनाएको सम्बन्धको के आड के भरोसा ?

सिधैभन्दा नरकजस्तो लाग्छ दिदी ! डरमा कतिन्जेल हाँस्ने ? जिन्दगी कहिले समाज त कहिले परिवारको डरमै सकिने रहेछ । विवाह गरेको दुई महिना नबित्दै युके गएका श्रीमान जम्मा एकपटक घर आए । उनीसँग उनी मात्रै आएनन्, मलाई बच्चाको सवाल पनि आयो । एक महिनाको बिदामा आएका थिए । उनी फर्केपछि दिनप्रतिदिन बच्चाको कुरा लिएर ममाथि प्रहार हुन थाल्यो । आफ्ना रहरका फूल अरूका लागि फुलाउनुपर्दा म कुन जिन्दगी बाँचे हुँला, अनुमान गर्नुस् त !

कहिलेकाहीँ काममा गलेर खाना पकाउन नसक्ने अवस्थामा पुग्छु । त्यतिबेला कसैले पनि सहयोग गर्दैनन्देवर–जेठाजुले भाँडा धुने त कहाँ हो कहाँ, थालमा चुठेर हिँडिदिन्छन् । त्यतिबेला त मलाई लाग्छ, यहाँ यिनीहरूको घर चलाउने भन्दा बाहेक मेरो कुनै प्रयोजन नै छैन ।

छोरा मान्छेले कमाएको हरेक कुराको हिसाब हुने, तर छोरी मान्छेको कर्तव्य, प्रेम, त्याग समर्पणको कुनै मूल्य नहुँदो रहेछ ।

बाआमालाई हेला नगर्नू, नन्द आमाजूको आदेश मान्नू, सबैसँग मिठो बचन बोल्नू– श्रीमानको आदेश । समाजको इज्जत राख्नू– ससुराको निर्देशन । मेरा कुनै सन्तानलाई हेला नगर्नू–सासूको वचन । अनि मेरा रहर र खुसी… ?

 अचेल लाग्छ, म यो घरकी बुहारी होइन, घर कुरुवा मात्रै हुँ । फेरि सोच्छु मेरो जाने ठाउँ कता छ ? जति दुःख परे पनि मेरा बाआमा र दाजुभाइको अगाडि मैले आफ्नो अनुहार देखाउन मिल्दैन । यहाँ श्रीमानले दिएको सिन्दुर र पोतेबिना आफ्नो भन्ने केही पनि छैन । मैले जाने कहाँ ? सुनाउने कसलाई ? कोसँग पोख्ने मनको बह ? कसरी शीतल बनाउने जलेको मुटु ?

माइतीघरमा आफ्नो दुःख सुनाए सहानुभूति बाहेक केही पाउँदिनँ । देउरानी जेठानीलाई आफ्नो दुःख सुनाउँदा हाँसोको पात्र हुन्छु । लेख्नका लागि आफूसँग तिम्रोजस्तो कला छैन ।

एकदिन म आफन्तको घरमा गएकी थिएँ । उनीहरूले सबैभन्दा पहिले मेरो कानका गहना र शरीरका कपडा नियालेँ । यस्तो संकुचित दायराभित्रको समाजका यी मान्छेहरू देखेर मलाई एकपटक घृणा लाग्यो ।

हामीले आफ्नो जिन्दगी बाँच्न नपाउने हो र ? यो समाज परिवार र अरूलाई देखाउनका लागि कतिन्जेल आफ्नो रहर र जिन्दगीको तिलाञ्जली दिने ? छिमेकी देशले अन्तरीक्षमा यान पठाउँदा हामी अझै पनि कसले कति गहना लगाउँछ, उसले लगाएको कपडाको मूल्य कति हो  ? बाहिर हिँड्दा म राम्री देखिन्छु कि ऊ राम्री देखिन्छे भन्ने विषयमा प्रतिस्पर्धा गरिरहेका छौँ । मलाई हाम्रो समाजको यही पक्ष पटक्कै मन पर्दैन ।

सम्झी ल्याउँछु मेरा रहरहरू यति मात्र हैनन् । यो धर्तीमा मेरो उदयको केही उपलब्धि  छैन र ? यो उपलब्धिहीन जिन्दगी बोकेर बाँच्नुको कुनै तुक छैन । मेरो जीवन या मरणले यो राज्यलाई, यो पृथ्वीलाई कुनै असर पर्नेवाला छैन । एउटा धुलोको कण जति पनि मेरो अस्तित्व र महत्त्व छैन ।

हरेक साँझ आर्यघाटमा लास जलाउँदै गरेको दृश्य सम्झन्छु । आगो लागेपछि सबै शरीरको हैसियत उस्तै हो । तर, कोही इतिहासको पानामा अमर भएर रहन्छन् भने कसैको अस्तित्व धुँवाको मुस्लोसँग विलीन हुन्छ । सामान्य मान्छे जन्मनु र मर्नुले खासै फरक पार्दैन ।

बाहिर म ठीक छु भन्ने देखाएर भित्रभित्र जलन भएर म बाँच्नै सक्दिनँ । मलाई स्वतन्त्र पक्षी भएर खुला आकाशमा उड्न मन पर्छ । म हरेक पल समतामूलक समाजको परिकल्पना गर्छु ।

म फेरि सोच्ने गर्छु, नेपाली समाजमा धर्म भन्ने कुरा हामी छोरी मान्छेको लागि मात्रै लागू हुने रहेछ । दमन, शोषण अन्याय, अत्याचार सबै छोरी मान्छेले मात्र भोग्नुपर्ने रहेछ । विवाहमा प्रेम, त्याग समर्पण सबै हुनुपर्छ तर पछिल्ला चरणका विवाहहरूमा सम्झौता र स्वार्थ बाहेक अरू केही पनि देखिनँ ।

समतामूलक समाजको परिकल्पना पनि गर्ने, त्यही अनुरुप आफूलाई ढाल्न पनि नसक्ने समाजमा स्थापित छौँ हामी । मैले अहिले पनि हाम्रो समाजमा देखेकी छु, जापान, कोरिया, अष्ट्रेलिया जस्ता विकसित मुलुकहरूमा भएका अधवैँसेलाई आफ्ना फूलजस्ता छोरीहरूको विवाह गर्न तयार हुन्छन् । ‘जेनेरेशन ग्याप’ का कारण कयौँको घरबार विघटन हुन पुगेका छन् ।

समाजका धेरै छोरीहरूले आफ्नो आवाज उठाउन पनि सक्दैनन् । अनमेल विवाह, मन नपर्दा नपर्दै आफ्नो परिवारका लागि भए पनि विवाह गर्न विवश छन् । म त भन्छु, हरेक छोरीहरूले एक्लै बाँच्ने र हिँड्ने साहस राख्नुपर्छ ।

बाल्यकाल बाबुको नियन्त्रणमा, जवानी श्रीमानको नियन्त्रणमा अनि बुढेसकाल छोराको नियन्त्रणमा । अनि हाम्रो जिन्दगी सधैँभरि अरूकै नियन्त्रणमा मात्रै चलाउनुपर्ने ?

छोरी मान्छेको जिन्दगी पराईको घरमा जाने, भाँडा धुने, उनीहरूका जहानलाई खाना खुवाउने, उनीहरूको इज्जतको ख्याल गरिदिने, उनीहरूको कुल र वंश जोगाउने । के यति मात्रै हो त त हाम्रो प्रयोजन ? जब उनीहरूको घरमा काम, उनीहरूको कुलको इज्जतका लागि आफ्नो सम्पूर्ण रहर समर्पण गर्नुपर्छ, त्यतिबेला छोरी हुनु पनि ठूलो अपराध जस्तो लाग्छ ।

साँच्चै छोरी मान्छेको जिन्दगी खुकुरीको धारमाथि हुँदो रहेछ । घरको काम र दिक्दारीले निरास भएको बेलामा बाआमाको फोनमा हरेक पटक कहिले आउँछेस् भन्ने सवाल आउँछ । त्यतिबेला मन भारी भएर भक्कानो फुट्छ तर रुन पाउँदिन । एउटी छोरी मान्छेले क–कसको चिन्ता लिनु दिदी ? श्रीमानका आफन्त, परिवार सबैलाई रिझाउँदा रिझाउँदै म त आफू को हो भन्ने पहिचान नै बिर्सिसकेँ

रहर लाग्दा र आशलाग्दा जिन्दगीको समय यसैगरी विघटन हुँदै गइरहेको छ ? दिदी, अर्को सत्य के हो भने उहाँले मलाई यता घरकुरुवा जस्तै बनाएर युकेमा अर्को विवाह गर्नुभएको थाहा पाएँ ।

यो कुरा मैले कसैसँग सोधिनँ र भनिनँ पनि । मनमा उठेको ज्वालामुखीलाई भित्रभित्र दबाउने कोसिस गरेर जापानिज भाषा सिकेँ । भरे राति नौ बजेको फ्लाइट छ । म कसैको घर कुरुवा हैन, अस्तित्व र पहिचान बन्न चाहन्छु

इराको इमेल पढिसकेपछि लामो सास फेरेँ ।

छतमा गएर आकाशतिर हेरेँ । भर्खरै एउटा जहाज उड्यो ।

मनमनै भनेँ– प्यारी बहिनी ! तिमीलाई शुभकामना र शुभेच्छा !

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार  १२ : २६ बजे

आगामी वर्षको बजेट सरकारको प्राथमिकतामा : मन्त्री भण्डारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारको नीति तथा

युक्रेनलाई शक्तिशाली प्याट्रियट इन्टरसेप्टर दिने अमेरिकाको घोषणा

काठमाडौं– अमेरिकाले युक्रेनलाई सबैभन्दा ठूलो सैन्य सहयोग दिने घोषणा गरेको

इलाममा कसले जित्ला ? ‘एक्जिट पोल’ नै रद्द !

काठमाडौं- अन्तरराष्ट्रिय अभ्यास अनुसार चुनावको सर्वेक्षण दुई किसिमबाट हुन्छ ।

बागलुङ कालिकामा ४० लाख भेटी संकलन

बागलुङ– गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठका रुपमा रहेको बागलुङ कालिका मन्दिरमा

‘ओलीले हामीलाई हेप्ने काममात्रै गर्छन्‌’ : नेपाल

मकवानपुर : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)का