आर्थिक संकट समाधानका लागि उच्चस्तरीय आयोग बनाउन अर्थविद्को सुझाव | Khabarhub Khabarhub

आर्थिक संकट समाधानका लागि उच्चस्तरीय आयोग बनाउन अर्थविद्को सुझाव


२७ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : अर्थविद्, विश्लेषक तथा व्यवसायीहरुले वर्तमान आर्थिक संकट समाधानका लागि सरकारले वर्तमान अर्थतन्त्रको गम्भीर समीक्षा गरेर समाधानका लागि विज्ञहरु सम्मिलित उच्चस्तरीय आयोग बनाउनुपर्ने बताएका छन् ।

खबरहबले दरबारमार्गस्थित पेभेलियन हलमा आयोजना गरेको ‘व्यापार घाटा तथा वैदेशिक ऋण एवं अनुदान’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरुले व्यापार घाटा घटाउन र रोजगारी सिर्जना गरेर देशको अर्थतन्त्र सुधारका लागि सरकारले गम्भीर भएर चरणबद्ध कदम चाल्नुपर्ने बताएका हुन् ।

कार्यक्रममा अर्थविद् डा.चन्द्रमणि अधिकारी, डा.गोविन्द नेपाल, डा.जगदीश पोखरेल, डा.रवीन्द्र पाण्डेय, विश्लेषक अरुणकुमार सुवेदी, व्यवसायी नरेश श्रेष्ठ लगायतको सहभागिता थियो ।

कार्यक्रममा बोल्दै अर्थविद् डा.चन्द्रमणि अधिकारीले नेपाली अर्थतन्त्र अहिले पनि संकटकै अवस्था अर्थात ‘रेडजोन’ उन्मुख रहेको बताए ।
उत्पादनभन्दा उपभोग बढी र निर्यात नभई आयात मात्रै धेरै रहेकाले अर्थतन्त्र सुधारमा ढिलाई भइरहेको उनको भनाई छ ।

अर्थविद् डा.अधिकारीले वार्षिक ७ लाख मानिसहरु विदेश जाने कारणले पनि नेपालको अर्थतन्त्र धराशयी भइरहेको बताए । धेरैजसो पढ्नका लागि विदेश जाने विद्यार्थीका कारण पनि अर्थतन्त्रमा ठूलो असर परेको उनको भनाई छ ।

रेमिट्यान्स आउने क्रम बढेपनि आयात बढेकाले अर्थतन्त्र सन्तुलनमा आउन समस्या भइरहेको डा.अधिकारीको धारणा छ । पछिल्लो केही महिना यता आयात घटिरहँदा निर्यात झन् धेरै घटेकाले अर्थतन्त्र सही अवस्थामा रहन नसकेको उनको भनाई छ ।

त्यसका साथै वैदेशिक लगानी नआउनु, पर्यटक आवागमन पनि धेरै नहुनु, वैदेशिक सहायता बजेटअनुसार लक्ष्यमा नपुग्नुले पनि अर्थतन्त्र सन्तुलनमा ल्याउन चुनौति बढेको उनको विचार छ ।

‘अर्थतन्त्रको आधारभूत बजारमा सुधार आइसकेको छैन । त्यो सुधार नहुँदा अर्थतन्त्र सही अवस्थामा छ भन्न मिल्दैन’ अर्थविद् डा.अधिकारीले कार्यक्रममा भने, ‘अर्थतन्त्र सुधार भए त मान्छेले काम पाउनुपर्ने, व्यापारीले दाम पाउनुपर्ने अवस्था हुनुपथ्र्यो । तर त्यो छैन । त्यसैले रेडजोन उन्मुख अर्थतन्त्र सुधार्न ठोस कदम चाल्न आवश्यक छ ।’

यस्तै व्यवसायी कमलेश अग्रवालले अर्थतन्त्र धराशयी हुँदा निजी क्षेत्र ठूलो समस्यामा परेको बताए । अहिले बैंकको ब्याजदरले गर्दा निजी क्षेत्र ठूलो समस्यामा रहेको भन्दै त्यसको समाधानका लागि सरकार रमिते बन्नु दुःखद भएको उनले टिप्पणी गरे । उच्च बैंक ब्याजदरमा नेपाल विश्वकै पाँचौ देश रहेको भन्दै यसले निजी क्षेत्रलाई ठूलो संकट सिर्जना गरेको अग्रवालले बताए ।

अहिले रेमिट्यान्सले देश धानिरहेको अवस्था भएपनि त्यो भोलिका दिनमा दायाबाँया हुँदा झन् ठूलो संकट आउन सक्ने उनले चेतावनी दिए । उद्यमी व्यवसायीसँग पैँसा नभएको खण्डमा देशले कहिल्यै प्रगति गर्न नसक्ने पनि अग्रवालको भनाई छ ।

तर भूकम्प र कोभिड महामारीले गर्दा उद्यमी व्यवसायीसँग पुँजी नरहेको भन्दै त्यसको उत्थानका लागि सरकारले कुनै कदम चाल्न नसकेको उनको टिप्पणी छ । निजी क्षेत्र पलायन हुँदै गएमा नेपालको अर्थतन्त्र झन् धराशयी हुने उनले चेतावनी दिए ।

कार्यक्रममा विश्लेषक अरुणकुमार सुवेदीले बंगुरपालन र कुखुरा व्यवसायमा संकट आउँदा दुई वर्षभित्र बाख्रापालन व्यवसाय डुब्ने खतरा बढेको बताए ।

अबको दुई वर्षभित्र बाख्रापालन व्यवसाय डुब्ने खतरा बढिरहेको विभिन्न बजार तथ्य तथा अनुसन्धानले देखाएको उनले टिप्पणी गरेका छन् । नेपालमा बढ्दै गएका आन्तरिक व्यवसाय डुब्दै जाँदा नेपाल झन् आर्थिक संकटमा फस्ने पनि सुवेदीले बताए ।

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका पूर्वपरराष्ट्र सल्लाहकारसमेत रहेका सुवेदीले आगामी दिनमा दक्षिण एसियामा माल्दिभ्स, श्रीलंका, पाकिस्तानपछि नेपालको अर्थतन्त्रले घुँडा टेक्ने अवस्था आउन सक्ने चेतावनी दिए ।

अर्थतन्त्र सुधारका लागि आगामी दिनमा निर्यात प्रवर्द्धन नभई आयात प्रतिस्थापन मुख्य एजेन्डा बनाएर अगाडि बढ्नुपर्ने अर्थविद् सुवेदीको भनाई छ । व्यापार घाटा र वैदेशिक ऋण चुनौतिपूर्ण अवस्थामा रहेकाले यसतर्फ पनि सरकार गम्भीर हुनुपर्ने उनको भनाई छ ।

यस्तै अर्थविद् डा.जगदिश पोखरेलले भारतसँगको अनौपचारिक अर्थतन्त्रलाई गम्भीर रुपमा समीक्षा गर्नुपर्ने बताए । भारतसँगको अर्थतन्त्रले नेपालको ६० प्रतिशत व्यापार व्यवसाय समेटेको भन्दै यसलाई हलुका रुपमा लिन नहुने उनको भनाई छ ।

यसअघि आएका आर्थिक संकटले धेरै पाठ दिइसकेको भन्दै उनले अब आउन सक्ने संकट सामान्य नहुने चेतावनी पनि दिए । अहिलेको अर्थतन्त्र सुधारका लागि औपचारिक र अनौपचारिक अर्थतन्त्रलाई समीक्षा गरेर स्पष्ट योजनाअनुसार कार्यान्वयनमा जानुपर्ने डा.पोखरेलको धारणा छ ।

यस्तै अर्का अर्थविद् डा.रवीन्द्र पाण्डेयले आम्दानी नभई खाली आर्थिक वृद्धिको मात्रै कुरा गर्ने प्रवृत्ति घातक रहेको टिप्पणी गरे । पहिले आम्दानी बढाएर मात्रै आर्थिक वृद्धिको कुरा गर्न आवश्यक रहेको भएपनि त्यसतर्फ सबैको ध्यान जान नसकेको उनको भनाई थियो ।

पछिल्लो समय राजनीतिक दलका नेताहरु केवल आर्थिक वृद्धिको मात्रै कुरा गरेर आम्दानी बढाउने विषयमा पन्छिदै गएको पनि उनको भनाई छ । रेमिट्यान्सले गर्दा अर्थतन्त्र धानिएको अवस्था भएपनि स्वदेशमै रोजगारी बढाउने र विदेशिएका नेपालीलाई देशमै रोक्ने खास रणनीति आर्थिक र राजनीतिक क्षेत्रका व्यक्तिमा नभएको उनको भनाई थियो ।

यसअघि ठूला देशका मानिसहरु पनि वैदेशिक रोजगारीमा जाने गरेको तथ्य रहेको भन्दै उनले सीमित समयका लागि वैदेशिक रोजगारीले रेमिट्यान्स बढाएपनि देशमै रोजगारी सिर्जना गरेपछि मात्रै अर्थतन्त्र सुधार हुने बताए ।

देशको अर्थतन्त्र सुधारका लागि नेपाल राष्ट्र बैंकलाई कानुनी र व्यावहारिक रुपमै स्वायत्त र स्वतन्त्र बनाउनुपर्ने डा.पाण्डेयको सुझाव छ । राष्ट्र बैंक स्वतन्त्र भएको खण्डमा मात्रै देशको अर्थतन्त्रलाई सही मार्गमा अगाडि बढाउन सकिने उनको भनाइ छ ।

पूर्ववक्ता डा.चन्द्रमणि अधिकारीले नेपाली अर्थतन्त्र ‘रेडजोन उन्मुख’ रहेको विषयमा टिप्पणी गर्दै अर्थविद् पाण्डेयले नेपाली अर्थतन्त्र रेडजोनमा परिसकेको अवस्था नभई रेडजोनमा पर्न लागेको भन्दै घण्टी बजाउने बेला भइसकेको बताए ।

कार्यक्रममा व्यवसायी नरेश श्रेष्ठले नेपालमा व्यापार व्यवसाय गर्ने वातावरण सरकारले अझै बनाउन नचाहेको बताएका छन् । व्यापारीको उद्यम र व्यवसायीबाट देशमा रोजगारी सिर्जना भएको र अर्थतन्त्रमा टेवा पुगेको भएपनि सरकारले सँधै बेवास्ता गर्ने गरेको उनको भनाई छ ।

नेपाली युवा रोजगारीका लागि दैनिक हजारौँ लाखौँको संख्यामा विदेशिने क्रम बढिरँहदा उनीहरुलाई रोक्न कुनै प्रयास नहुनु झन् दुःखद भएको पनि उनले बताए । व्यवसायी श्रेष्ठले धेरै पारिश्रमिकको लोभमा नेपाली युवा विदेश गइरहँदा नेपालमा श्रमिकको अभाव चरम अवस्थामा पुगेको पनि बताए ।

सरकारले देशमा भएका अर्थतन्त्र सुधारका प्रयास र व्यवसायीको रोजगारी सिर्जना गर्ने प्रयासलाई नजरअन्दाज गरेको भन्दै उनले देश विकासमा टेवा दिन प्रशासनिक रुपमा कठिन भइरहेको बताए ।

सरकारबाट निर्धक्कसँग व्यापार व्यवसाय गर्ने वातावरण नबनेसम्म देशमा अर्थतन्त्र सुधारको पाटो सँधै ओझेलमा परिरहने पनि व्यवसायी श्रेष्ठको भनाई छ ।

यस्तै कार्यक्रममा अर्थविद् डा.गोविन्द नेपालले आर्थिक संकट चुलिएका बेला सरकारले यसको दीर्घकालीन समाधानका लागि उच्चस्तरीय आयोग बनाउनुपर्ने बताए । हरेक क्षेत्रमा आर्थिक मन्दी लागेका बेला यसको दीर्घकालीन समस्या समाधान गर्न सरकारले तत्कालै उच्चस्तरीय आयोग बनाउनुपर्ने उनको धारणा थियो ।

देशमा रहेका हरेक क्षेत्रका आर्थिक समस्या बुझेर त्यसको दस्तावेजीकरण गर्दै आगामी दिनमा आउन सक्ने संकटमा पनि पाठ हुने गरि सरकारले तत्कालै विज्ञहरु सम्मिलित उच्चस्तरीय आयोग बनाएर दीर्घकालीन समाधान खोज्न लाग्नुपर्ने डा.नेपालको धारणा छ ।

अहिले बैंकिङ क्षेत्रसँगै साना व्यवसायी, ठूला व्यवसायीदेखि सबै आर्थिक संकटको मारमा रहेकाले सबैलाई सम्बोधन हुने गरि सबै क्षेत्रबाट समेटेर उच्चस्तरीय आयोग बनाएर मात्रै दीर्घकालीन समाधान हुन सक्ने डा.नेपाल बताउँछन् ।

‘सरकारले कर्मचारीलाई तलब खुवाउनै समस्या भयो भन्छ । तर यसको दीर्घकालीन समाधान खोजेको देखिदैन’ डा.नेपालले कार्यक्रममा भने, ‘यसको समाधानका लागि तत्कालै उच्चस्तरीय आयोग बनाएर विज्ञहरुबाटै सुझाव संकलन गरेर बुझाउनुपर्छ । त्यसले तत्कालको मात्रै होइन, दीर्घकालीन समस्या समाधानका लागि पनि धेरै सहज हुन्छ ।’

कार्यक्रममा सौरभराज पन्तले नेपालको वर्तमान आर्थिक अवस्था, वैदेशिक ऋण, व्यापार घाटाको विषयमा संक्षिप्त रिपोर्ट प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  ५ : ३४ बजे

च्याङ्ग्रा व्यापारीको यात्रा : रारादेखि फेवा तालसम्म

बागलुङ– उपल्लो मुस्ताङदेखि च्याङ्ग्रा लिएर पोखरा झर्दै गरेका मुगुका छिरिङ

फुटबल विश्वकपका लागि कसरी छनोट हुन्छन् ४८ टोली ?

सन् २०२६ मा तीन देशमा विश्वकप फुटबल प्रतियोगिताको आयोजना हुँदैछ।

बाढीपहिरो अपडेट : अहिलेसम्म २३९ जनाको मृत्यु, १८ बेपत्ता

काठमाडौं– असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा

पोखरामा बजार अनुगमन, अखाद्य वस्तु जफत

गण्डकी– दशैँ, तिहारलगायत ठूला चाडबाडलाई लक्षित गरी पोखरा महानगरपालिकाले बजार

दक्षिण अफ्रिकाले जित्यो आयरल्यान्डविरुद्धको शृङ्खला

यूएई – दक्षिण अफ्रिकाले आयरल्यान्डविरुद्धको एक दिवसीय शृङ्खला जितेको छ।