दिनभर आज स्पष्टीकरणको मौकासमेत नदिई राजीनामा मागिनु संसदीय मर्यादा नभइकाे प्रधानमन्त्री प्रचण्डकाे भनाइ, संसदलाई तीन दलको बन्धक बन्न दिन्नौँ : सांसद लामिछाने,लुम्बिनीका अर्थमन्त्रीद्वारा आयोजनाको अनुगमन, पाँच वर्षमा चट्याङका कारण चार सय १९ जनाको मृत्यु, राप्रपाको मुख्यसचिवमा केदारबहादुर अधिकारी मनोनीत, व्यापार घाटा १५.२ प्रतिशतले घट्याे, सवारी साधनकाे आयात घट्दा अलैंची र गलैँचाको निर्यात बढ्यो, आजबाट सोमबारको व्रत सुरु, पशुपतिनाथमा दर्शनार्थीको घुइँचोलगायतका समाचारले प्रमुख स्थान पाए ।
स्पष्टीकरणको मौकासमेत नदिई राजीनामा मागिनु संसदीय मर्यादा नभइकाे प्रधानमन्त्री प्रचण्डकाे भनाइ
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्ना सन्दर्भमा प्रश्न उठेपछि सुरुदेखि नै स्पष्ट पार्न खोजेको तर संसदमा अवरोध भएकाले त्यो अवसर नपाएको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले आफूलाई कुनै स्पष्टीकरणको मौकासमेत नदिई राजीनामा माग्नु संसदीय मर्यादा नभएको बताए । विगतमा शान्ति प्रक्रियामा आइसकेपछि आफ्ना तर्फबाट भएका कमीकमजोरीका सन्दर्भमा आत्मसमीक्षा र आत्मस्वीकृति गर्दै आएको प्रधानमन्त्रीको भनाइ छ ।
संसदलाई तीन दलको बन्धक बन्न दिन्नौँ : सांसद लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदलाई प्रमुख तीन दलको बन्धक बन्न नदिने बताएका छन् ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उनले तीन दलको निर्णय अरुले मानिदिनुपर्ने हो ? भन्दै आफूहरुले संसदलाई तीन दलको बन्धक बन्न नदिने बताए ।
प्रधानमन्त्रीको अभिव्यक्तिबारे आफूलाई धारणा राख्ने अवसर नै नदिएको भन्दै उनले एमालेको छायाँमा परेको अनुभव गरेको बताए ।
मेरो नाम जोडेर सार्वजनिक भएको अडियो झुटो : डा. आरजु देउवा
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद डा आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान भइरहेका बेला आफूलाई जोडेर सार्वजनिक भएको अडियो झुटो भएको बताएकी छिन् । उक्त अडियोको अनुसन्धान गर्न प्रहरीमा दिएको उजुरीको छानविनबाट पनि सो प्रमाणित भएको उनको भनाइ छ । उक्त अडियो संवादमा एक व्यक्तिले अर्का कोही व्यक्तिसँग डा. राणा र मञ्जु खाँडलाई रकम बुझाएको बताएका थिए ।
त्यो आवाज हाल अनुसन्धानमा रहेका दाङका सन्देश शर्माकै भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । सो अडियोको छानविन गर्न डा. राणाले नेपाल प्रहरीको साइबर ब्युरोमा निवेदन दिएकी थिइन् । आफूलाई जोडेर ‘फेक अडियो’ बदनियतपूर्ण रुपमा रेकर्ड गराइएको भन्दै सो अडियो कसले बनाएको हो र सामाजिक सञ्जालमा कसले राखेको हो भन्ने विषयको अनुसन्धान गरी दोषीमाथि कारवाही गरिपाउँ भन्दै उनले गत वैशाख २७ मा उजुरी दिएकी थिइन् ।
दोस्रो चरणको आर्थिक सुधार सुरु भयो : अर्थमन्त्री महत
अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा गएसँगै दोस्रो चरणको आर्थिक सुधार थालनी भएको बताएका छन् । आज अर्थ मन्त्रालयमा पत्रकारसँग कुराकानी गर्दै अर्थमन्त्री महतले अहिले अर्थतन्त्र सुधारोन्मुख रहेको र आगामी आर्थिक वर्षको बजेटमा राखिएका योजना तथा कार्यक्रमको कार्यान्वयनबाट थप सकारात्मक लय समात्ने बताए ।
“अर्थतन्त्रलाई कसरी लयमा ल्याउने भन्ने हिसाबले आगामी आर्थिक वर्षको बजेट प्रस्ताव भएको छ । यसबाट दोस्रो चरणको सुरुवात भएको छ । यो सुधारलाई हामीले घनीभूत बनाएर लैजानुपर्नेछ । यसलाई कार्यान्वयन गर्न सकियो भने अर्थतन्त्र लयमा फर्किन्छ”, अर्थमन्त्री महतले भने ।
लुम्बिनीका अर्थमन्त्रीद्वारा आयोजनाको अनुगमन
लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले देउखुरी क्षेत्रका विभिन्न योजनाको अनुगमन गरेका छन् । उनले राप्ती गाउँपालिका–२ स्थित कटाहाघाटमा निर्माण हुने लागेको फोहरमैला व्यवस्थापन स्थलको अनुगमन गरेका हुन् ।
पालिकामा यसअघि फोहरमैला व्यवस्थापन स्थल निर्माणमा विवाद भएपछि प्रदेश सरकारको संयोजनमा फोहरमैला व्यवस्थापन स्थल निर्माण कार्य अगाडी बढेको हो । रू ३० लाखको लागतमा फोहरमैला व्यवस्थापन स्थल निर्माण भइरहेको छ ।
मन्त्री मास्कीले गढवा गाउँपालिका–४ स्थित खैराघाटको तटबन्धनको अनुगमन गरेका छन् । यस क्षेत्रमा तटबन्ध नहुँदा नागरिकले वर्षातमा सास्ती भोग्नुपरेको थियो । तटबन्ध निर्माण अन्तिम चरणमा पुगेसँगै यहाँका नागरिक खुसी भएका छन् ।
पाँच वर्षमा चट्याङका कारण चार सय १९ जनाको मृत्यु
पछिल्लो पाँच वर्षमा चट्याङका कारण चार सय १९ जनाले ज्यान गुमाएका छन् । यही अवधीमा चट्याङका कारण छ करोड रुपैयाँभन्दा बढी आर्थिक क्षति भएको राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण प्राधिकरणले जानकारी दिएको छ ।
प्राधिकरणका अनुसार २०७५ सालदेखि हालसम्म सबैभन्दा बढी कोशी प्रदेशमा एक सय आठ र सबैभन्दा कम कर्णाली प्रदेशमा २५ जनाले चट्याङका कारण ज्यान गुमाएका छन् । चट्याङका कारण लुम्बिनी प्रदेशमा ७६, मधेस प्रदेशमा ६९, बागमती प्रदेशमा ६२, सुदूरपश्चिम प्रदेशमा ४३ र गण्डकी प्रदेशमा ३६ जनाले ज्यान गुमाएका छन् ।
राप्रपाको मुख्यसचिवमा केदारबहादुर अधिकारी मनोनीत
राप्रपाको केन्द्रीय सचिवालयका मुख्यसचिवमा केन्द्रीय सदस्य केदारबहादुर अधिकारीलाई मनोनीत गरिएको छ ।
अध्यक्ष राजेन्द्र लिङ्देनले सदस्य अधिकारीलाई केन्द्रीय सचिवालयको मुख्यसचिव पदमा मनोनीत गरेको राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।
विदेश भ्रमणमा नेपालीको खर्च एक खर्ब १९ अर्ब ९९ करोड
नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकले भन्दा विदेश घुम्न जाने नेपालीले बढी खर्च गरेको पाइएको छ ।
नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा चालु आर्थिक वर्षको जेठसम्ममा विदेश भ्रमणमा जाने नेपालीले एक खर्ब १९ अर्ब ९९ करोड रुपैयाँ खर्च गरेका छन् ।
गत वर्षको तुलनामा यस्तो खर्च ३७ दशमलव नौ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा नेपालीले विदेश भ्रमणमा ८७ अर्ब तीन करोड रुपैयाँ बराबर खर्च गरेका थिए ।
झण्डै १५ खर्ब पुग्यो विदेशी विनिमय सञ्चिति
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ११औँ महिनामा कुल विदेशी विनिमय सञ्चिति १४ खर्ब ८० अर्ब ८७ करोड रुपैयाँ रहेको जनाएको छ।
सोमबार जेठ मसान्तसम्मको विवरण सार्वजनिक गरेको राष्ट्र बैंकले कुल विदेशी विनिमय सञ्चिति ११ अर्ब ३० करोड अमेरिकी डलरमा रहेको जनाएको हो ।
गत असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २१.८ प्रतिशतले वृद्धि भई गत जेठ मसान्तमा १४ खर्ब ८० अर्ब ८७ करोड रुपैयाँ पुगेको हो ।
व्यापार घाटा १५.२ प्रतिशतले घट्याे, सवारी साधनकाे आयात घट्दा अलैंची र गलैँचाको निर्यात बढ्यो
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ११औँ महिनामा कुल वस्तु व्यापार घाटा १५.२ प्रतिशतले घटेकाे जनाएको छ ।
राष्ट्र बैंकले सोमबार जारी गरेको गत जेठ महिनासम्मको विवरण अनुसार कुल वस्तु व्यापार घाटा १५.२ प्रतिशतले कमी आई १३ खर्ब ३७ अर्ब ३९ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २५ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.५ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी १ खर्ब ३८ अर्ब ४७ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २ खर्ब ८८ करोड बराबरको भएको थियो ।
आजबाट सोमबारको व्रत सुरु, पशुपतिनाथमा दर्शनार्थीको घुइँचो
साउनमा बसिने सोमबारको व्रत आजबाट सुरु भएको छ । महिनाले असार नै भए पनि तिथिअनुसार सोमबारको व्रत आजबाटै सुरु भएको ज्योतिषी तथा वास्तुविद् सुरेशचन्द्र रिजालले जानकारी दिए ।
‘तिथिअनुसार साउन महिनामा सोमबारको व्रत बस्न तथा शिवजीको विशेष उपासना गर्नका लागि आजबाट पहिलो व्रत प्रारम्भ भएको छ,’ उनले भनेका छन् ।
चालु वर्षमा ६ वटा बाघको उद्धार
चितवन राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्षमा छ वटा बाघको उद्धार गरेको छ । निकुञ्जको विभिन्न स्थानबाट ती बाघको उद्धार गरिएको हो ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार उद्धार गरिएका बाघमध्ये तीन वटालाई निकुञ्जमा छोडिएको छ । समस्याग्रस्त भएका, घाइते भएका बाघलाई उद्धार गरिएको उनले जानकारी दिए ।
प्रतिक्रिया