पछिल्लो समय काठका सामग्रीको प्रयोग घट्दै « Khabarhub

पछिल्लो समय काठका सामग्रीको प्रयोग घट्दै


२५ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

गलेश्वर– बागलुङको बलेवाबाट दारका ठेका, ठेकी, मदानी, धुपौरा, चम्ठो, पुछैलगायतका सामान बोकेर म्याग्दीको दरबाङ आएका टीकाबहादुर चुँदारा बिक्रीका लागि ल्याएको एउटा सामान पनि बिक्री नभएपछि निरास हुँदै बागलुङ फर्किए ।

कलात्मकरूपमा कुँदेर बनाइएका काठका सामग्रीको प्रयोग घट्दै गएपछि यो पेसामा लागेका व्यवसायी संकटमा पर्न थालेका छन् । व्यवसाय नै परिवर्तन गर्ने अवस्था आइलागेको टीकाबहादुर चुँदाराले बताए । काठका भाँडाकुँडा र सामग्री बनाउन प्रयोग गरिने दारलगायतका रुख र काठको अभाव खेपिरहेका बेला यसको प्रयोग नै घट्दै गएपछि व्यवसायी संकटमा परेका उनको भनाइ छ ।

वर्षौंदेखि काठ कुँद्ने पेसा गर्दै आएका चुँदारा काठ कुद्ने पेसाबाट पलायन हुनुपर्ने अवस्था आएको बताउँछन् । १०-१२ वर्षको उमेरदेखि बाबुबाजेले अँगाल्दै आएको पेसा आफूले पनि सम्हालेको बताउने चुँदारा ६० वर्ष उमेर पुगुञ्जेलसम्म पनि यही पेसालाई निरन्तरता दिइरहेका छन् । यतिञ्जेलसम्म यही पेसाबाट गुजारा चलेको भए पनि अब भने काठका सामान बिक्री हुनै छाडेकामा उनलाई चिन्ता लागेको छ ।

कुनै समय थियो, गोठमा रहेका पशुधन र ठेकी हेरेर त्यस घरको हैसियत आँकलन गरिन्थ्यो । ती सबै साधन रैथाने सीप प्रयोग गरेर जङ्गलका काठबाट बनाइन्थ्यो । तर, समय फेरियो । मही पार्ने चलन हराउँदै गयो । गाउँघरमा कतै कतै मही पारे पनि प्लाष्टिकका ठेकीको प्रयोग हुन थाल्यो । रैथाने काठका सामग्रीलाई आयातित प्लाष्टिकका सामग्रीले विस्थापित गर्‍यो । दश पाथे काठको ठेकीमा घ्वार्र घ्वार्र गर्दै मही पारेको दृश्य पछिल्लो समय दुर्लभ हुन थालेको छ । ठेकी र मदानीले दही मथेर मही पार्ने र घटघटी पिउने चलन पनि हराउँदै गएको छ ।

काठबाट ठेकाठेकी बनाउन चुँदारा नै सिपालु हुन्छन् । ठेकी कुद्ने कामलाई गाउँघरमा चुदारा पेसा भन्ने गरिन्छ । उनले बनाएका काठका सामग्री बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका विभिन्न ठाउँमा बिक्री हुने गरेकामा पछिल्लो समय बिक्रीमा कमी आएको उनको भनाइ छ । 

दश पाथी जाने एउटा दारको ठेकोलाई रु १२ देखि १५ हजारसम्म पर्ने उनले बताए । केही वर्षअघिसम्म काठका सामान बनाएर मासिक २५-३० हजार रुपैयाँसम्म आम्दानी गर्ने चुँदारा पछिल्लो समय मेला पर्वजस्ता विशेष अवसरमा पनि काठका सामग्री बिक्री हुन छोडेका बताउँछन् । अहिले मुस्किलले मासिक पाँच-सात हजार रुपैयाँ मात्र कमाइ हुने गरेको बताउँदै उनले भने, ‘प्लाष्टिकका सामग्रीले बजार लिएपछि रैथाने सामग्रीको बिक्री हुन छाड्यो, अब त दुःख पनि उठ्दैन ।’

बजारमा काठका सामानको बिक्री घट्दै जानु र गाउँघरमा यस्ता सामान बनाउने काठको अभाव हुनुले पनि परम्परागत काठका सामग्री बनाउन समस्या हुने गरेको छ । मेहनत धेरै लाग्ने र फाइदा कम हुने भएकाले पनि यो पेसा विस्थापित हुँदै गएको दरबाङका व्यवसायी सन्तनाथ सुवेदीले बताए ।

विशेष गरेर काठका ठेकाठेकी, मदानी, धुपौरा, चम्ठो (तेल राख्ने भाँडो), पुछै (रक्सी खाने भाँडो), खुर्पेटोलगायतका समान बनाउने गरेका चुँदाराले यी सामान बनाउन दारगिठो, गुराँस, भलाय र काप्राको काठ प्रयोग गर्ने हुने जानकारी दिए ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहीबार  १ : ४५ बजे

भारतमा ६० जना कानुन व्यवसायी पक्राउ

काठमाडौं- भारतमा प्रदर्शन जारी रहँदा राजधानी दिल्लीमा प्रहरीले सर्वोच्च अदालत

निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति

बागलुङ– बाढीपहिरोबाट जिल्लाको निसीखोला गाउँपालिकामा झण्डै १० करोडको क्षति पुगेको

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न मन्त्रालयद्वारा समिति गठन

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

वर्षापछि सिरहा सदरमुकाम डुबानमा, सवारी आवागमनमा समस्या (तस्बिरहरू) 

सिरहा- वर्षापछि सिरहा सदरमुकामका मुख्य सडकमा पानी जम्दा जनजीवन प्रभावित

मेक्सिकोमा पत्रकारको गोली हानी हत्या, यस वर्ष मारिनेको सङ्ख्या नौ पुग्यो

मेक्सिको सिटी– मेक्सिकोमा शुक्रबार एक पत्रकारको गोली हानी हत्या गरिएको