आज मानसिक स्वास्थ दिवस। सन् १९९२ देखि हरेक वर्ष १५० भन्दा बढी देशमा आजकै दिन अर्थात् अक्टुबर १० मा विभिन्न कार्यक्रम गरी विश्व मानसिक स्वास्थ्य दिवस मनाइन्छ। यो दिवसले संसारमा मानसिक स्वास्थ्यसम्बन्धी मुद्दाहरू, समस्याहरू अनि उपचारात्मक र प्रतिरोधात्मक तरिकाहरूबारे चेतना जागृत गरिन्छ। पछिल्लो समय मानिसहरुमा मानसिक समस्या र त्यसबाट उत्पन्न हुने रोगहरुको संख्या बढ्दो छ। अस्तव्यस्त जीवनशैली, खानपान र शारीरिक कसरत नगर्नाले मानिसहरुमा मानसिक रोग तथा त्यसले निम्त्याउने समस्या बढेको हो। शारीरिक रूपमा स्वस्थ रहनु जति आवश्यक छ त्यति नै आवश्यक मानसिक रूपमा स्वस्थ रहनु हुन्छ। मानसिक स्वास्थ्य समस्या जुनसुकै उमेरका मानिसमा देखिनसक्छ। मानसिक समस्या भनेको के हो ? खबरहबका लागि मनोचिकित्सक डा. ऋषभ कोइरालासँग गरिएको कुराकानीको सम्पादित अंश :
मानसिक समस्या भनेको के हो त ?
मानसिक स्वास्थ्य अहिलेको प्रमुख मुद्दा हो। कुनै पनि विशेषज्ञतामा मानसिक स्वास्थ्यमा ध्यान दिनुपर्छ। कुनै व्यक्तिको बानी व्यवहार, सोच, विचारमा परिवर्तन भयो वा हुँदै आयो र उसले दैनिक क्रियाकलाप गर्न सक्दैन। उसलाई गाह्रो हुन्छ भने यस्तो समस्यालाई मानसिक समस्या वा मानसिक रोग भनेर भन्न सकिन्छ। मानसिक समस्या ठूलो मान्छेलाई चिन्ता परेपछि हुने भनेर सोचिन्छ। तर, ठूलो संख्यामा मानसिक समस्या सुरु हुने बाल्यकालमा हो। आजको डिजिटल युगले हाम्रो समाजलाई परिवर्तनशील बनाएको छ। पुरुष मात्र होइन महिलासमेत घरबाहिरको विभिन्न जिम्मेवारीमा आएका छन्। परिवर्तित जिम्मेवारी तथा भूमिकाले मानिसलाई खुसी, स्वतन्त्र, आत्मनिर्भर तथा सफल पनि बनाएको छ। यद्यपि तनाव पनि सँगसँगै छ। तनावबाट मुक्त हुनका लागि आत्मविश्वास कायम राखिरहनु, खुसी हुनु, दैनिक बाधा अवरोधलाई सामना गर्नका लागि उपाय अपनाउनुलाई सामान्यतया स्वस्थ मानसिकता अथवा मानसिक स्वास्थ्य राम्रो भएको मानिन्छ। शारीरिक स्वास्थ्य जत्तिकै तपाईंले आफ्नो मानसिक स्वास्थ्यमा ध्यान दिनु जरुरी हुन्छ।
मानसिक समस्या के कारणले हुने हो ?
मानसिक समस्या अभिभावकले बच्चा हुर्किने बेला समय नदिँदा बालबालिकाको बौद्धिक पक्ष बढ्ने, बानीमा कन्ट्रोल हुने, पढाइमा समस्या आउने र मानसिक समस्यासमेत देखा पर्ने विभिन्न अनुसन्धानले देखाएका छन्। उमेर बढ्दै जाँदा टाउकोमा घाउ वा चोटपटक लागेमा, वंशाणुगत कारण, तनावग्रस्त जीवनशैली, सामाजिक विकृति, मादक पदार्थको सेवन, एक्लोपन, डिप्रेसनलगायतका कारणहरुबाट मानसिक समस्या हुन सक्छ।
डिप्रेसन चाहिँ के कारणले हुन्छ ?
डिप्रेसन मनोवैज्ञानिक कारण, वंशाणुगत कारण, सामाजिक कारणको प्रभावले पनि हुनसक्छ। यसको प्रभाव दिमागमा एक पटक परेपछि त्यसकै बारेमा गहिरिएर सोच्दा दिमागको सोच्ने तरिका परिवर्तन हुन्छ। डिप्रेसन बालक, किशोरावस्था र वृद्ध सबै उमेर समूहलाई हुनसक्छ। आत्मविश्वासको कमी, शारीरिक थकान र सुस्तता महसुस हुने, यौन उत्तेजना नहुनु, एकाग्रता कायम गर्न कठिन हुनु पनि डिप्रेसनका लक्षण हुन्।
बालबालिकामा मानसिक समस्या के कारणले हुन्छ ?
अभिभावकले समय नदिँदा बालबालिकामा विभिन्न असर पर्छ। अभिभावकले बच्चा हुर्किने बेला समय नदिँदा बालबालिकाको बौद्धिक पक्ष बढ्ने, बानीमा कन्ट्रोल हुने, पढाइमा समस्या आउने र मानसिक समस्यासमेत देखा पर्ने विभिन्न अनुसन्धानले देखाएका छन्। अभिभावकको काम बच्चा हुर्काउने मात्र होइन। धेरै पक्षमा ध्यान दिनुपर्छ। बालबालिकालाई सकेसम्म होस्टेल राख्नु हुँदैन। मुख्य कुरा अभिभावकले बालबालिकालाई समय दिनुपर्छ। बालबालिकालाई अभिभावकले सक्ने जति सहयोग गर्नुपर्छ। शिक्षा, स्वास्थ्य, खेलकुदमा समय दिनुपर्छ। कति बालबालिकालाई अभिभावकले नसोधी आफ्नो कुरा खोल्दैनन्। उनीहरुलाई कसरी हुन्छ, सबै समस्याको बारेमा भन्न लगाउनुपर्छ। उनीहरुले सानो समस्यालाई पनि गहिरो रुपमा बुझेका हुन्छन्।
मानसिक समस्या हुँदा देखा पर्ने लक्षण के के हुन् ?
मानसिक समस्या हुदाँ निद्रामा गडबडी हुने वा निद्रा नलाग्ने, कानमा अनावस्यक आवाजहरु आइरहने, धेरै रिसाउनु वा अरुलाई कुटपिट गर्नु, कुनै कुरामा दुविधा हुनु वा झुक्किनु। दैनिक कार्य नै बिर्सदै जाने, छटपटी हुने, आत्महत्याको सोच आउने, एकदमै डर लाग्ने र चिरचि पिसना आउने, एकोहोरो हुनु वा एक्लै हुन मन पराउनु, एकदमै गल्ती गरेको महसुस गर्नु, दैनिक कामहरू पुरा गर्न नसक्नेलगायतका समस्हरु देखा पर्छन्।
एन्जाइटी र डिप्रेसन महिलामा नै धेरै भयो भनिन्छ यो सत्य हो ?
अनुसनधानमा महिलाहरूमा धेरै लोड हुन्छ। पुरुषहरूले जस्तो खुलेर बोल्न सक्ने कसैको अवस्था नहोला। अहिले अंशको कुरा आयो। पहिला त्यो पनि थिएन। यो बाहिरको डेटामा पनि महिलामा धेरै नै छ। वंशाणुगत कुराहरू हाम्रो शरीरमा भएको हर्मनको कुराहरू थाईरो हर्मनको कुराहरू हामीले हेछौँ। सामाजिक कारणले पनि होला केटाहरूमा सानैदेखि बलियो बनाउने कारणले पनि हुन्छ।
मानसिक स्वास्थ्यको जोखिमबाट बच्न के गर्न सकिन्छ ?
यसको लागि हरेक कार्यालयमा खाजा खाँदासँगै सबैजना बसेर खाने गर्नुपर्छ। चाडपर्व आउँदा कमसेकम आधा घण्टा जतिसँगै बसेर केही कुराको आदानप्रदान गर्न सकिन्छ। यान्त्रिक रूपमा अफिस आयो, यान्त्रिक रूपमा काम सक्यो र यान्त्रिक रूपमा नै घर गयो। यसरी दैनिक ८÷९ घण्टा बिताउँदा समस्या देखा पर्दछ। मानसिक रोग भएका बिरामीहरुले पनि अरु रोगहरु जस्तैः मधुमेह, उच्च रक्तचापको औषधि लगातार सेवन गर्ने र घरमा राख्न नसक्ने अवस्थामा मानसिक पुर्नस्थापना केन्द्रमा भर्ना गरेर पुरा उपचार गराउने गर्नुपर्छ।
मानसिक मसस्याको समयमा नै उपचार गरेनौँ भने के समस्या आउँछ ?
मानसिक समस्या हुने बित्तिकै व्यक्तिको कार्यक्षमतामा ह्रास आइसकेको हुन्छ। कार्यक्षमतामा ह्रास आइसकेपछि कार्यालयमा असर गर्दछ। यसले सिङ्गो समाजमा असर पार्दछ। त्यसपछि समग्र राष्ट्रमा नै असर पर्दछ। बाहिर मान्छे राम्रो छ। तर, यो कुरालाई चाँडै सम्बोधन भएन भने आत्महत्याको बाटो रोज्छ। यसको मुख्य कारण भनेको नै डिप्रेसन हो।
प्रतिक्रिया