आलु उत्पादन वृद्धि हुँदा किसान उत्साहित | Khabarhub Khabarhub

आलु उत्पादन वृद्धि हुँदा किसान उत्साहित


२३ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– ताप्लेजुङको हिमाली क्षेत्रमा यस वर्ष आलु उत्पादनमा वृद्धि भएको छ । केही वर्ष आलु उत्पादन घट्दै गएपनि अहिले उत्पादनमा सुधार आएसँगै किसान उत्साहित भएका हुन् ।

समुद्र सतहबाट चार हजार दुई सय मिटर उचाइमा अवस्थित ताप्लेजुङ आलुको भण्डारणका उपनामले परिचित ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ याङमा र ६ घुन्सा क्षेत्रमा यस सिजनमा आलु उत्पादनमा वृद्धि भएको छ । गत वर्ष उत्पादनमा कमी आएपछि निराश भएका कृषक यस सिजनमा आलु उत्पादनमा सुधार आएसँगै कृषकको आशा पलाएको छ ।

फक्ताङलुङ गाउँपालिका–६ का स्थानीय पेमा शेर्पाले आठ मुरी आलु गत असारमा रोपेका थिए । गत साता आलु खन्दा २० मुरी आलु संकलन गरे । 

सोही गाउँका उटुक शेर्पाले पाँच मुरी आलु रोपेकामा गत हप्ता खन्दा १५ मुरी जम्मा भयो । हिमाली क्षेत्र याङमा र घुन्सा क्षेत्रमा अन्य खेतीपाती नहुने भएकाले यस क्षेत्रमा मुख्य बालीका रूपमा आलुखेती गर्दै आएका छन् ।

विगतका वर्षमा राम्रो आलु उत्पादन हुँदै आए पनि गत वर्षदेखि याङमा र घुन्सा क्षेत्रमा आलु उत्पादनमा कमी आएको स्थानीय उटुक शेर्पाले बताए । 

आलुको भण्डारणका रूपमा रहेको घुन्सा क्षेत्रमा गत वर्ष आलु बीउको अभाव भएको थियो । बीउ रोपेको जति पनि उत्पादन नभएपछि जिल्ला बाहिरदेखि आलु बीउ ल्याएर रोपेको स्थानीय पेमा शेर्पाले बताए । तर गत वर्षभन्दा यो वर्षमा केही सुधार आएको घुन्साका स्थानीयवासीको भनाइ छ ।

आलुको व्यापार
याङमा र घुन्सा क्षेत्रमा उत्पादन भएको आलु मङ्सिरको तोस्रो सातादेखि कृषकले याङ्माबाट दुई दिन याकमार्फत ढुवानी गरेर चेनेसम्म पुर्‍याउने गर्छन् । 

चेनेमा अस्थायी टहरा निर्माण गरेर आलुको व्यापारका लागि तयारी हुन्छ । आलु बीउका लागि तल्लो क्षेत्रका कृषक कोदो, मकैलागयतका अन्न बोकेर दुई–चार दिन पैदलयात्रा गरेर आलु व्यापारिक केन्द्र याङ्माको चेनेमा पुग्ने गर्दछन् । घुन्सा क्षेत्रको आलु व्यापारिक केन्द्र फले पुग्ने गर्दछन् । एक पाथी अन्नमा आलु दुईदेखि चार पाथीसम्ममा साट्ने प्रचलन छ ।

गत वर्ष याङमा र घुन्सा क्षेत्रमा आलु उत्पादन कमी आएसँगै आलुको त्यति व्यापार नभएको याङ्माका ठावा शेर्पाले बताए । विगतका वर्षमा जस्तै नभए पनि गत वर्षभन्दा आलु उत्पादनमा वृद्धि भएको शेर्पाको भनाइ छ ।

पचपन्न हजार मेट्रिक टन बढी आलु उत्पादन 
ताप्लेजुङमा एकै वर्ष ५५ हजार मेट्रिक टन बढी आलु उत्पादन भएको छ । गत आर्थिक वर्ष २०७९–०८० मा किसानले ५५ हजार मेट्रिक टनभन्दा बढी आलु उत्पादन गर्न सफल भएका हुन् । 

अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष यहाँ आलु उत्पादन वृद्धि भएको कृषि केन्द्रका सूचना अधिकारी विनय महर्जनले जानकारी दिए ।

उनका अनुसार आव २०७८–७९ मा ५५ हजार एक सय ७६ मेट्रिक टन आलु उत्पादन भएको थियो । आलु उत्पादनका लागि चार हजार दुई सय ७० हेक्टर क्षेत्रफलमा किसानले खेती लगाएका थिए । 

केन्द्रका अनुसार गत वर्ष आलुको उत्पादकत्व प्रतिहेक्टर १२ दशमलव ९५ मेट्रिक टन रहेको छ । जिल्लामा उत्पादन हुने आलु अधिकांश जिल्लाभित्रै खपत हुने र केही परिमाणमात्र जिल्ला बाहिर निर्यात हुने गरेको किसानले बताएका छन् ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  १२ : २१ बजे

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल