मुगु हत्याकाण्ड : कतार भिसा नमिलाएको रिसमा आफन्तबाटै हत्या | Khabarhub Khabarhub

मुगु हत्याकाण्ड : कतार भिसा नमिलाएको रिसमा आफन्तबाटै हत्या


२४ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


11.1k
Shares
  • change font
  • change font
  • change font

मुगु – मुगुको छायानाथ रारा नगरपालिका–६ मुन्दुका एकै परिवारका चार जनाको हत्या आफन्तबाटै भएको खुल्न आएको छ । हत्या भएको १० दिनपछि १८ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले मुगु सामूहिक हत्याको अनुसन्धानको जिम्मा लिएको थियो ।

टोलीले घटनामा संलग्न आरोपमा दुई जनालाई पक्राउ गरेको थियो । दुवैलाई आज प्रहरीले पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको छ । हत्या आरोपमा पक्राउ परेका छायानाथ रारा नगरपालिका–७ पिना गाउँ घर भई हाल बाँके बैजनाथ गाउँपालिका–१ चिसापानी बस्ने ३१ वर्षीय काले भन्ने गोर्खराज शाही र मुगुकै मृतककै गाउँका ३१ वर्षीय गोपालबहादुर बोहरालाई प्रहरीले सार्वजनिक गरेको हो ।

हत्यापछि भागेका गोर्खराजलाई सीआईबीको टोलीले यही कात्तिक २० गते सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–५ पञ्चकोशी टोलबाट पक्राउ गरेको थियो । उनी समातिएपछि हत्यामा गोपालको पनि संलग्नता खुलेको प्रहरीको दाबी छ । गोपाललाई गोर्खबहादुर पक्राउ परेको भोलिपल्ट कात्तिक २१ गते मुगुको गमगढी वडा नं २ बाट प्रहरीले पक्राउ गरेको थियो । यही कात्तिक ८ गते राति मुन्दुका २८ वर्षीया श्रीदेवी बोहरा, उनका ११ वर्षका छोरा मनोज बोहोरा, सात वर्षकी छोरी अप्सरा बोहोरा र पाँच महिनाका छोरा रहर बोहोराको घरभित्रै हत्या भएको थियो ।

हत्या आरोपित गोर्खबहादुर श्रीदेवीका काका र गोपाल भाइ नाता पर्छन् । श्रीदेवी गोर्खराजको दिदी–सासूकी छोरी हुन् भने गोपाल मामाका छोरा भएको पत्रकार सम्मेलनमा बताइएको छ । घरमा दसैँ मनाएर ७ गते टीका थाप्न माइत गाउँ कोटिल्ला गएकी श्रीदेवी छोराछोरीसहित ८ गते बेलुका घर फर्किएकै दिन राति धारिलो हतियार प्रहार गरी उनीहरूको हत्या भएको थियो ।

हत्याका आरोपी गोपालले कतारमा वैदेशिक रोजगारीमा रहेका मृतक श्रीदेवीका श्रीमान् दीपक बोहोरालाई भिसा लगाइदिन दुई वर्षअघि आग्रह गरेका थिए । दीपकले भिसा मिलाउन नसकिने जवाफ दिएका थिए । त्यही भिसा नमिलाई दिएको कारण रिस साँधेको प्रहरीले बताएको छ ।

उनीहरूले सुरुमा लुटपाटको योजना बनाएको र पछि परिवार नै सखाप पारेर हत्या गरेको प्रारम्भिक सोधपुछबाट खुलेको छ । २०८० जेठमा बाँकेको कोहलपुरबाट गोर्खराज शाही मन्दु पुगेर गोपाल बोहोरालाई भेटेको, त्यही भेटमा उनीहरूले श्रीदेवीसँग रहेको १०÷१२ तोला सुन लुटपाट गर्ने योजना बनाई सोही योजनाअनुसार कात्तिक ५ गते गोर्खबहादुर सुर्खेतबाट मुगु आई गोपालको घरमा बसेको, ७ गते र ८ गते राति गोपालको पुरानो गोठमा लुकी बसेको, गोपालले लुकाएर खाना खुवाएको र कात्तिक ८ गते श्रीदेवी बोहोरा दुई छोरा र एक छोरीसहित माइतीघरबाट फर्किएपछि त्यही बेलुकी गोर्खबहादुर र गोपालले उनीहरूको हत्या गरेको बयानको क्रममा बताएको कर्णाली प्रहरी प्रमुख भीमप्रसाद ढकालले पत्रकार सम्मेलनमा बताए।

हत्यापछि उनीहरूले मृतकले कानमा लगाएका साढे दुई तोलाका सुनका रिङ, २५ लालको तिलहरि लुटी लिएर फरार भएका थिए । प्रहरीका अनुसार घटनापछि उनीहरू शव घरभित्रै छाडेर बाहिरबाट ढोकामा ताला लगाई हिँडेका थिए । गोपाल बोहोरा त्यसपछि पनि गाउँमै बसेको र गोर्खबहादुर भने सुर्खेततर्फ फरार भएका थिए । प्रहरीका अनुसार अनुसन्धान टोलीले बाँके नेपालगञ्ज उपमहानगरपालिका–१८ स्थित कारकादोस्थित गजेन्द्रविक्रम शाहीको घरमा गोर्खराज शाहीले लुकाइछिपाइ राखेको नगद रु एक लाख ७९ हजार, निजकै नामको राहदानी, मुगुबाट गएको बसको टिकट फेला पारेको थियो ।

घटनाको अनुसन्धानका लागि सुरुदेखि जिल्ला प्रहरी कार्यालय मुगु प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाको टोली र कर्णाली प्रदेश प्रहरी कार्यालयबाट खटिएको दुई वटा अनुसन्धान टोलीले घटनास्थलमै खटिएर अनुसन्धान गरेको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआइबी० का प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीको नेतृत्वमा खटिएको अनुसन्धान टोलीले अनुसन्धान गरेको थियो । अनुसन्धानबाट आएको नतिजालाई केलाएर प्रहरीले मुगु सामूहिक हत्याका आरोपी प्रक्राउ गर्न सफल भएको हो । अनुसन्धानका क्रममा सीआइबीको टोली सुर्खेत, बाँके र मुगुसम्म पुगेको थियो ।

अनुसन्धानमा चार टोलीका १४ सदस्य खटिएका थिए । प्रत्यक टोलीलाई छुट्टाछुट्टै क्षेत्र बनाएर अनुसन्धान गरिएको थियो । प्रमुख हत्या आरोपी दुई जना सार्वजनिक गरे पनि सामूहिक हत्याको थप अनुसन्धान जारी रहने पनि प्रहरी नायब महानिरीक्षक ढकालले बताए।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  ८ : २३ बजे

दल विभाजनसम्बन्धी अध्यादेश आउँछ जस्तो लाग्दैन : राजेन्द्र लिङ्देन

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी शर्मा

‘ममी’को पोस्टरमा प्रियङ्काको हरर लुक्स

काठमाडौं – प्रदर्शन मिति माघ २५ तोकिएको हरर थ्रिलर फिल्म

जनकपुरधाम–२४ का वडाध्यक्ष सहनी भ्रष्टाचार आरोपमा दोषी ठहर, ६ महिना कैद

जनकपुरधाम– विशेष अदालतले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२४ का वडाध्यक्ष उपेन्द्र

अर्थमन्त्रीले ठेकेदारलाई भने – ‘२२ अर्ब रुपैयाँ भुक्तानी दिइसकेँ, कानूनअनुसार चल्नुस्‌’

काठमाडौं – उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षमा

भीमदत्तका नगरप्रमुख र प्रशासकीय अधिकृतको भ्रष्टाचार मुद्दा सर्वोच्चमा

काठमाडौं – कञ्चनपुरको भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्रबहादुर बिष्ट र निमित्त