नदीजन्य सामाग्री उत्खननमा देखिएको समस्या समाधान हुन्छ : ऊर्जामन्त्री | Khabarhub Khabarhub

नदीजन्य सामाग्री उत्खननमा देखिएको समस्या समाधान हुन्छ : ऊर्जामन्त्री


२४ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजनाले ढुङ्गा गिट्टी, बालुवा उत्खनन गर्न नपाउँदा निर्माण प्रभावित भएको छ ।

आयोजनाको स्वीकृति प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) प्रतिवेदनमा उल्लेखित स्थानबाट झिक्न नपाउँदा ढुङ्गा गिट्टी, बालुवाको अभावमा निर्माण नै रोकिने अवस्था देखिएको छ । निर्माणका लागि आवश्यक नदीजन्य सामग्री कालीगण्डकी नदीबाट झिक्ने गरी आईईइमार्फत स्थानहरूको तय गरिएको थियो ।

सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको २९ असार २०७८को एकल इजलासले कालीगण्डकी नदी धार्मिक, ऐतिहासिक तथा वातावरणीय महत्वको देखिएकाले रिटको अन्तिम टुङ्गो नलागेसम्म उक्त नदीको प्राकृतिक बहावलाई पथान्तरण गरी जलाशय बनाउने, प्रदूषण गर्ने, नदीजन्य पदार्थहरू निकाल्ने, शालिग्रामको चोरी निकासी तथा विनाश गर्नेलगायतका प्राकृतिक बहाव र पर्यावरण प्रतिकूल हुने गरी कुनै पनि कार्यहरू नगर्नू नगराउनू भनी अन्तरिम आदेश जारी गरेको थियो ।

अनुगमनमा निर्माण स्थलमा शनिबार पुगेका ऊर्जा, जलस्रोत तथा सिचाइ मन्त्री शक्ति बहादुर बस्नेत, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशक प्रदीप कुमार थिके सम्मिलित टोलीलाई आयोजना व्यवस्थापन र ठेकेदार कम्पनीहरूले सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण नदीजन्य सामग्री नदीबाट झिक्न रोक लागेपछि त्यसको अभावमा निर्माणमा असर परिरहेको जानकारी गराएका छन् ।

मन्त्री बस्नेतले आयोजनाको पछिल्लो समयमा निर्माण प्रगति सन्तोषजनक नै रहेको बताउँदै नदीजन्य सामाग्री उत्खननमा देखिएको समस्या समाधान गर्न माथिल्लो तहबाट आवश्यक पहल, समन्वय र सहजीकरण गरिने बताए । मन्त्री बस्नेतले आयोजनाको निर्माण निर्धारित समयमा सम्पन्न गर्न निर्देशनसमेत दिए । ठेकेदार कम्पनीहरूले हालको ढुङ्गा, गिट्टी, बालुवाजस्ता नदीजन्य निर्माण सामग्रीहरूको अभाव हटेमा आगामी १५ महिना भित्रमा निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् ।

आयोजनाको समग्र भौतिक प्रगति ६५ प्रतिशत छ । बाँध, मुख्य सुरुङ, विद्युत् गृहलगायतका संरचनाहरूको निर्माण भइरहेको छ । ६.३ किलोमिटर मुख्य सुरुङमध्ये ५.६ किलोमिटर खनिसकिएको छ ।सुरुङलाई पूर्ण रूपमा कंक्रिट लाइनिङ गर्नु पर्ने छ । विद्युतृगृहको सिभिल निर्माण कार्यसँगै उपकरणहरू जडान पनि भइरहेको छ ।

कंक्रिट लाइनिङ, बाँध क्षेत्रका संरचनाहरु निर्माणका लागि करिब साढे एक लाख घनमिटर ढुङ्गा, गिट्टी, बालुवा आवश्यक पर्छ । तर, अहिले करिब १० घनमिटर प्राप्त गर्ने ठाउँ मात्र उपलब्ध रहेको आयोजनाको प्रवर्धक कम्पनी रघुगंगा हाइड्रोपावर लि.का प्रबन्ध–सञ्चालक मनोज केसीले बताए ।

‘बेनी नगरपालिकाले म्याग्दी खोलामा नदीजन्य सामग्री उत्खननका लागि टेण्डर आह्वान गरेको थियो, त्यसमा सहभागी भई १० हजार घनमिटर प्राप्त हुने ठाउँ प्राप्त गर्यौं, यसैले पुग्दैन, नदीजन्य निर्माण सामग्री अभावमा काम नै प्रभावित हुने अवस्था आए समस्या समाधान गर्न माथिल्लो तहबाटै पहल गरिदिनु पर्‍यो ।’

संघीय संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा सांसदहरूबाट करिब डेढ वर्षअघि आयोजनाको स्थलगत अनुगमन भ्रमण गरी नदीजन्य निर्माण सामाग्री अभावमा आयोजना ढिला हुँदा यसको लागत बढ्ने निष्कर्ष निकालेको थियो । समितिले नदी संरक्षणमा हानी नपुर्‍याई नदीजन्य पदार्थ निकाल्न सरकारले अन्तरिम आदेश सच्याउन सर्वोच्च अदालतसमक्ष पुनरावलोकन गर्न उपयुक्त हुने सिफारिस गरेको थियो ।

नेपाल सरकार, नेपाल विद्युत् प्राधिकरणको लगानी र भारतीय निर्यात आयात (एक्जिम) बैङ्कको सहुलियतपूर्ण ऋणमा प्राधिकरणको पूर्ण स्वामित्वको रघुगंगा हाइड्रोपावर लि.मार्फत आयोजनाको निर्माण भइरहेको छ । ८ करोड १९ लाख अमेरिकी डलर अनुमानित लागत रहेको आयोजनामा भारतीय एक्जिम बैङ्कको ६ करोड ७० लाख डलर सहुलियतपूर्ण ऋण रहेको छ ।

दैनिक ६ घण्टा पिकिङ गर्न मिल्ने आयोजनाबाट वार्षिक रूपमा २४ करोड ७९ लाख युनिट विद्युत् उत्पादन हुने छ । सिभिल संरचना र हाइड्रो मेकानिकलका कामहरू इन्जिनियरिङ, खरिद र निर्माण (इपिसी) ढाँचा जयप्रकाश एसोसिएटस् लि.भारतले,  इलेक्ट्रोमेकानिकलका कार्यहरू भारत हेभ्वी इलेक्ट्रिकल लि.ले र निर्माण सुपरिवेक्षण वाप्कोस् लि, भारतले गरिरहेका छन् ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  १२ : ४१ बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः