दूध उत्पादनको केन्द्र बनाउँदै बागमती प्रदेश « Khabarhub

दूध उत्पादनको केन्द्र बनाउँदै बागमती प्रदेश


२८ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

चितवन– बागमती प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले प्रदेशलाई दूध उत्पादनको केन्द्र बनाउने योजना अघि सारेको छ । मन्त्रालयले प्रदेशभित्रका तराईका जिल्लामा ३० हजार लिटर दूध संकलन क्षेत्र र पहाडमा पाँच हजार लिटर दूध संकलन हुने क्षेत्रलाई समेटेर दूध ‘जोन’ बनाउन सुरु गरेको हो ।

मन्त्रालयका सचिव डा शरण पाण्डेका अनुसार यस आर्थिक वर्षमा चितवन, काभ्रे र ललितपुरमा गरी पाँच जोन बनिसकेका छन् । चितवन र काभ्रेमा दुई-दुई जोन बनेका छन् भने ललितपुरमा एउटा बनेको छ ।

आगामी आवमा यो सङ्ख्यालाई बढाउँदै लैजाने मन्त्रालयको योजना छ । दूध जोन बनिसकेपछि सो क्षेत्रमा रोगविरुद्धको सुई दिने, पशु आहारको कार्यक्रम लैजाने, दूध उत्पादन वृद्धिका अन्य कार्यक्रम अघि सार्ने, प्राविधिक सेवा दिने, नश्ल सुधारका कार्यक्रम सञ्चालन गर्ने, व्यावसायिक ढुंगाबाट गोठ सुधारका कार्यक्रम गरिँदैछ ।

जोनभित्र दूध कम आएका पशुलाई सुधार गर्न गाईभैँसी पुनःस्थापना केन्द्रसमेत बनाइँदैछ । ती पशुलाई उपचार गरेर पूर्ववत् अवस्थामा फर्काइ पुनःकिसानलाई दिइनेछ । चालु आवमा ढिलो गरी कार्यक्रम सुरु भएकाले एक करोड हाराहारी खर्च गरिँदै छ भने आउँदो वर्ष जोन थप्ने गरी बजेट विनियोजन गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए ।

पाण्डेका अनुसार नेपालमा वार्षिक २५ लाख मेट्रिकटन दूध उत्पादन हुँदै आएको छ । त्यसमध्ये बागमती प्रदेशमा छ लाख मेट्रिकटन दूध उत्पादन हुन्छ । एक जनालाई वार्षिक ९१ लिटर दूध आवश्यकपर्ने तथ्यांक छ । आत्मनिर्भर हुनेगरी दूध उत्पादन गर्न जोनको अवधारणा ल्याइएको उनले बताए ।

जोनका लागि दूध नपुगेको अवस्थामा दूध बढाउने अन्य कार्यक्रम लगेर जोनमा परिणत गर्ने गरी प्रदेशले कार्यक्रम अघि सारेको उनले बताए। जोनभित्र एक-दुई पशु पाल्नेलाई एकीकृत गरी एकै ठाउँमा एकै व्यक्तिले हेर्नेगरी कम लागतमा दूध उत्पादन गर्न उत्प्रेरणासमेत यसै कार्यक्रममार्फत गरिँदैछ ।

जोनभित्रका दक्ष र अनुभवी कृषक तथा साना किसानलाई सीप आदानप्रदान गर्नेगरी कार्यक्रम अघि सारिएको छ । अनुभवी किसानको फार्मलाई लाइभस्टक इपिसेन्टरका रुपमा विकास गर्ने योजना बनाइएको उनले बताए । दूध जोनलाई विस्तार गर्दै लगेर समग्र प्रदेशलाई दूध उत्पादनको केन्द्रका रुपमा विकास गर्ने लक्ष्य लिइएको छ । पाण्डेले भने, ‘किसान र हामी सँगसँगै दूध उत्पादन वृद्धि गर्न लाग्ने गरी जोनको विकास गर्दैछौँ ।’

मन्त्रालयद्वारा स्वीकृत पशुपक्षी विकास कार्यक्रम सञ्चालन कार्यविधि, २०७९ अन्तर्गत दूध जोन निर्धारण गरिएको हो । चितवनका भरतपुर महानगरपालिकाका आठ र रत्ननगर नगरपालिकाका ११ गरी १९ वडालाई दूध जोन निर्धारण गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र चितवनका प्रमुख सुशील केसीका अनुसार भरतपुरका वडा नं १३, १४, १५, १६, २२, २१, ५ र ६ लाई समेटेर दूध जोन निर्धारण गरिएको छ । रत्ननगरका वडा नं ८, ९, १०, ११, १२, १३, १४, १५, १६, ३ र ५ लाई दूध जोन क्षेत्र तोकिएको छ ।

जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले दूध जोन कार्यक्रमले दूध उत्पादन वृद्धिमा सघाउने बताए। उनले किसानले माग गर्दै आएको कार्यक्रम प्रदेशले ल्याएको जनाउँदै यो कार्यक्रम प्रभावकारी हुने बताए। उनले भने, ‘यो हाम्रो माग हो, यसले परिणाम दिन्छ, जुन विधि अपनाइएको छ, यो अत्यन्त राम्रो छ ।’

दूध उत्पादन वृद्धिका लागि महत्वपूर्ण हुने जनाउँदै उनले यसले साना किसानलाई व्यावसायिक बनाउन प्रेरणा दिने बताए । यो कार्यक्रमसँगै बाच्छी हुर्काउने कार्यक्रम थप गर्न आफूहरुले माग गरेको उनले बताए। उनले भने, ‘बाच्छी हुर्काउने कार्यक्रम भयो भने भारतबाट गाई आयात गर्नु पर्दैन ।’

प्राविधिकको प्रत्यक्ष निगरानीमा जोन कार्यक्रम सञ्चालन भइरहेको भन्दै उनले यसबाट किसान प्रत्यक्ष लाभान्वित हुने बताए । चितवनमा दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ । यो कार्यक्रमसँगै उत्पादन बढ्ने अपेक्षा किसानको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहीबार  १२ : १५ बजे

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री

नक्कली भुटानी शरणार्थी : प्रकरण टेकनाथ रिजाल, केशव दुलाल, सानु भण्डारी दोषी ठहर

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा शरणार्थी नेता टेकनाथ रिजालसहित तीन

आजका समाचार : एडीबीले नेपाललाई सहयोग गर्ने, मौद्रिक नीति सार्वजनिक, मनाङमा चामलको माग बढ्यो र हर्मुजमा फेरी हमला

चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृतराष्ट्रियसभाले विभिन्न चार विधेयक

युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास

काठमाडौं- युरोपेली संघ (ईयू)ले चीनमा निर्मित दुई लाखभन्दा बढी नक्कली