कुलोमा पानी नआएपछि सिँचाइमा समस्या « Khabarhub

कुलोमा पानी नआएपछि सिँचाइमा समस्या


२८ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

टीकापुर– कैलालीका किसानलाई सिँचाइ कुलोमा पानी नआएपछि खेती गर्ने समयमा समस्या भएको छ । धानको ब्याड (बीउ) राख्ने बेलामा कुलोमा सिँचाइका लागि पानी नआएपछि कैलालीका अधिकांश किसानले बीउ छर्न पाएका छैनन् । कतिपय किसानले मोटर तथा बोरिङको सहायतामा बीउ राख्न थालेका छन् ।

कैलालीको जमरा कुलोमा पानी आएको साता दिन भयो । खेतीपातीको समय सुरु हुँदै गर्दा एक साताअघि रानी जमरा कुलरिया सिँचाइ आयोजनाले रानी, जमरा र कुलरिया कुलामा पानी छाडेको छ तर जमरा कुलोमा भएको पानी शाखा, उपशाखा तथा प्रशाखा कुलामा छाडेको छैन । शाखा प्रशाखा कुलामा पानी नगएपछि किसानले मोटर चलाएर धानको ब्याड राख्नुपर्ने बाध्यता बनेको हो । 

टीकापुर, वनगाउँलगायत क्षेत्रका किसानले मोटरको पानीले धानको ब्याड राख्न थालेका छन् । जमरा कुलामा पानी भए पनि कुलाका शाखा तथा प्रशाखामा पानी नछाड्दा मोटर गाडेका किसानले मोटरको सहायतामा ब्याड छर्न थालेका किसान रतन चौधरीले बताएका छन् । ‘कुलामा पानी आउला भनी कुरेका किसान जेठ अन्तसम्म पनि पानी नआएपछि मोटर सुविधा भएका ब्याड राख्न थालेका छन्’, चौधरीले भने्, ‘मोटर सुविधा नभएका अझै कुलामा पानी आउला कि भनी कुरेर बसेका छन् ।’

जमरा जल उपभोक्ता समितिले जेठको पहिलो साता कुलामा पानी सञ्चालनमा आएको जनाएको थियो । हेर्दा जमरा कुलोमा पानी बगिरहेको छ । किसानको खेतसम्म पानी पुग्ने शाखा प्रशाखा कुलामा अहिलेसम्म पानी गएको छैन । 

जमरा कुलाबाट जाने शाखा तथा प्रशाखा कुलाका धेरै ठाँउमा कुला सरसफाइ नहुँदा अहिलेसम्म पानी नपुगेका किसानको गुनासो छ । ‘पानी चाहिने बेलासम्म धेरै ठाँउमा निर्माणका काम भएका र केही ठाउँमा गाडी सञ्चालनका लागि कुला पटानी गरेकाले समस्या भएको छ’, किसान किटटु चौधरीले भने, ‘मोटरबाट सिँचाइ गर्दा धेरै समस्या हुने गरेको छ, यस वर्ष पानी सतह सुकेर होला मोटरमा पनि पर्याप्त आएको छैन ।’

किसान सही समयमा पर्याप्त पानी लगाउनका लागि हरेक वर्ष कुला मर्मत तथा सरसफाइ कार्य गर्ने गर्दछन् । यस वर्ष समयमा जमरा कुलोमा पानी सञ्चालन भएको भनेर जानकारी आएको तर अहिलेसम्म किसानले कुलोको पानी नआएको अर्का किसान पुरन चौधरीले बताए। ‘जेठ मसान्तदेखि असार पहिलो सातामा प्रायःकिसान रोपाइँ सुरु गर्दछौँ’, उनले भने, ‘यस वर्ष कसैले सुरु गर्न सकेका छैनन्, यस वर्ष पानी नभएकाले भर्खर ब्याड छर्न थालेका छन्, मोटरको पानीले पर्याप्त सिँचाइ पुगाउन सकिँदैन ।’

मोटर चलाउँदा आर्थिक भारसमेत बढेको किसानको गुनासो छ । जमरा कुला जलउपभोक्ता समितिका अध्यक्ष मानबहादुर चौधरी सिँचाइ आयोजनाले अहिले हाइड्रोपावर अगाडि पट्टि जाली लगाउने कार्य गरिरहेकाले असारदेखि किसानको खेतसम्म पुग्ने गरी पानी छाड्ने बताए। ‘हामी पनि किसानले छिटो पानी पाउनुपर्छ भन्नेमा छौँ’, उनले भने, ‘अबका केही दिनमा सबै शाखा, प्रशाखा कुलामा पानी पुग्नेछ ।’

रानीजमरा कुलरिया सिँचाइ आयोजनाअन्तर्गत रहेका रानीमुल कुलाका १४ प्रशाखा कुला, जमरा मुल कुलाका १५ शाखा कुला, कुलरिया मूल कुलाका १९ शाखा कुला रहेका र ती मूल कुलाका शाखामार्फत बनेका आठ सय ६३ उपशाखा कुला छन् । यसरी शाखा र प्रशाखा कुलामार्फत किसानको ११ हजार हेक्टर खेतसम्म पानी लैजाने कार्य हुन्छ ।

प्रकाशित मिति : २८ जेठ २०८०, आइतबार  ४ : ०६ बजे

यी हुन् सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको ६ अध्यादेश

काठमाडौँ । सरकारले मंगलबार र बुधबार गरेर ६ वटा अध्यादेश

वैशाख १८ देखि काठमाडौंका सुकुम्बासी बस्ती एकैपटक खाली गरिने

काठमाडौं । सरकारले काठमाडौंभरका सुकुम्वासी बस्तीहरू यही वैशाख १८ गते

विश्व विद्यालयमा हुने राजनीतिक नियुक्ति पदमुक्त गर्न अध्यादेश : सरकार

काठमाडौँ । सरकारले विश्व विद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विगतमा

सरकारले भन्यो : सहकारीपीडितको रकम फिर्ता गर्ने कानुन बनाउन अध्यादेश सिफारिस

काठमाडौँ । सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तथा भूमि,

अस्पतालमा भिडभाड गर्न, फोटो खिच्ने कार्य रोक्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्थामा अनावश्यक भिडभाड