विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


२६ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

आज असार २६, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार जुलाई ११, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा हेलिकोप्टर दुर्घटना, तीन जनाको मृत्यु

प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा खानी निगमको स्वामित्वमा रहेको हेलिकप्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

हाउतकटाङ्गा प्रान्तको कम्बोवेमा रहेको खानीमा सोमबार खराब मौसमका कारण हेलिकप्टर उडेको केही मिनेटपछि नै दुर्घटनाग्रस्त भएको सुरक्षा सेवाका अधिकारीलाई उद्धृत गर्दै कम्पनीका सुरक्षा गार्ड फ्रान्सिस ल्वाम्बाले एएफपीलाई बताएका छन् ।

दुर्घटनामा फ्रान्सेली पाइलट, एक दक्षिण अफ्रिकी प्रशासक र सुरक्षाको जिम्मेवारीमा रहेका पोल्याण्डका कार्यकारीको मृत्यु भएको छ । बोस माइनिङ नामको कोबाल्ट र तामा फर्मको स्वामित्वमा रहेको हेलिकप्टर छिमेकी लुआलाबा प्रान्तको कोल्वेजीका निम्ति उडेको थियो ।

आसियानको बैठकमा चिनियाँ कूटनीतिज्ञ पनि सहभागी हुने

आगामी बिहीबारदेखि इन्डोनेसियाको राजधानी जाकार्तामा आयोजना हुने दक्षिणपूर्वी एशियाली राष्ट्रहरूको सङ्गठन आसियानका विदेशमन्त्रीहरूको बैठकमा वरिष्ठ चिनियाँ कूटनीतिज्ञले पनि भाग लिने भएका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीका केन्द्रीय समितिको विदेश मामिला आयोगको कार्यालयका निर्देशक वाङ यीले आसियान–चीन विदेश मन्त्रीहरूको बैठक, आसियान ‘प्लस थ्री’ विदेश मन्त्रीहरूको बैठकमा भाग लिने परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले मङ्गलबार घोषणा गरेका छन् ।

बैठकको एउटा मुख्य विषय सदस्य देश म्यान्माको सङ्कट समाधान, त्यस निम्ति त्यहाँको सैन्य सरकारलाई वार्तामा बोलाउने रहेको फ्रान्सेली समाचार समिति एएफपीले जनाएको छ ।

आसियानमा विद्रोहमा उत्रिएका म्यान्मारका नागरिकलाई सैनिक सरकारसँग वार्तामा बस्न कसरी संलग्न गराउने भन्नेमा मत विभाजित रहेको छ ।

दुई वर्षअघि निर्वाचित नेत्री आङ सान सुचीको सरकारलाई अपदस्थ गरी सत्तामा आएको  सैनिक सरकारप्रति असहमति जनाउनेलाई अमानवीय ढङ्गले दबाएपछि म्यान्मामा घातक हिंसाका घटना बढिरहेका छन् ।

सदस्य राष्ट्र भइरहेको रक्तपातलाई बेवास्ता गरेकामा आसियानलाई बेकामे सङ्गठनका रुपमा केही पश्चिमा सरकारले आलोचना गर्दै आएका छन् । यो सङ्गठन सङ्कट समाधान गर्ने कूटनीतिक प्रयासमा पनि विभाजित छ ।

फिलिपिन्स भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि

फिलिपिन्स भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । यो वर्षका पहिलो छ महिनामा सबैभन्दा धेरै कोरियाली पर्यटकले फिलिपिन्सको भ्रमण गरेका तथ्याङ्कले देखाएको छ ।

फिलिपिन्सको पर्यटन विभागका अनुसार छ महिनमा कोरियाबाट छ लाख ७३ हजार आठ सय ४१ पर्यटकको आगमन भएको छभने अमेरिकाबाट पाँच लाख १६ हजार तीन सय १८ जना पाहुना आएका छन् ।

अष्ट्रेलियाबाट एक लाख २९ हजार सात सय पाँच जना, जापानबाट एक लाख २८ हजार ८१, क्यानडाबाट एक लाख २४ हजार पाँच सय १० र चीनबाट एक लाख १४ हजार छ सय ६३ जना पर्यटकले फिलिपिन्स भ्रमण गरेका विभागले जनाएको छ ।

गत महिना फिलिपिन्स सरकारले विद्युतीय प्रवेशाज्ञा जारी गर्ने घोषणा गरेसँगै पछिल्ला दिनमा पर्यटक आगमनमा वृद्धि भएको छ । हालसम्म २५ लाखभन्दा बढी विदेशी पर्यटकलाई फिलिपिन्समा स्वागत गरिएको प्रतिनिधिसभाका सदस्य एवम् पर्यटन समितिका उपाध्यक्ष मार्भिन रिलोले बताएका छन् ।

बाइडेनले बेलायती राजाको ढाडमा हात राखेपछि …

अमेरिकी राष्ट्रपति जो बाइडेन अहिले युरोप भ्रमणमा छन् । यस क्रममा उनले विन्डसर क्यासलमा राजा चार्ल्स तृतीयलाई पनि भेटेका छन् ।

राजा चार्ल्स तृतीयले पनि अमेरिकी राष्ट्रपतिलाई न्यानो स्वागत गरे । यसै क्रममा एक घटना भयो, जसको अहिले चर्चा भइरहेको छ । मानिसहरूले त्यसलाई शाही प्रोटोकलको उल्लङ्घन भनेका छन् ।

वास्तवमा जब अमेरिकी राष्ट्रपति सुरक्षाको एस्कर्टका साथ ‘द बिस्ट’ भनेर चिनिने आफ्नो आधिकारिक गाडीमा विन्डसर क्यासल आइपुगे। राजा चार्ल्स तृतीयले बाइडेनलाई हात जोडेर स्वागत गरे। त्यसपछि दुवै देशको राष्ट्रिय गान बजाइएको थियो । राजासँगै अमेरिकी राष्ट्रपतिले वेल्श गार्डको पनि निरीक्षण गरेका थिए । 

तर विवाद त्यतिबेला उत्पन्न भयो जब बाइडेनले राजा चार्ल्सको पीठमा आफ्नो हात राखे। अहिले उनलाई यही आरोप लागेको छ कि त्यसो गरेर उनले शाही प्रोटोकल तोडेका छन्  । भनिएको छ– ‘उनी राजा हुन् । उनको पिठँमा हात राख्न मिल्दैन, सुहाउँदैन ।’

यद्यपि, बकिङ्घम प्यालेस स्रोतले यसलाई व्यक्ति र देश दुवैको विगतको न्यानोपन र स्नेहको प्रतीकको रूपमा वर्णन गरेको छ।राजा बनेपछि अमेरिकी राष्ट्रपति बाइडेनसँग चार्ल्स तृतीयको यो पहिलो औपचारिक भेट थियो । सो क्रममा दुवै नेताबीच जलवायु परिवर्तन विरुद्धको  लडाइँबारे छलफल भएको थियो । यससँगै यसको समाधानका लागि जलवायु वित्त परिचालन मञ्चसँग पनि छलफल भएको थियो ।

स्वीडेनलाई नेटोमा सहभागी हुने बाटो खुल्यो, टर्की सहमत

स्वीडेनलाई उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) मा सामेल हुने बाटो खुलेको छ। टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले नेटो सदस्यताको लागि स्विडेनको प्रस्तावलाई ग्रान्ड नेशनल एसेम्बलीमा समर्थन गर्न र अगाडि बढाउन सहमत भएपछि स्वीडेनलाई नेटोमा आवद्ध हुने बाटो खुलेको हो ।

स्वीडेनका प्रधानमन्त्री उल्फ क्रिस्टसनले टर्कीको राष्ट्रपतिले समर्थन गरेकोमा खुशी ब्यक्त गरे । टर्कीका राष्ट्रपतिको समर्थन बाहेक स्वीडेनलाई नेटोमा आवद्ध गराउन टर्कीको संसदले अनुमोदन गर्न बाँकी रहेको छ ।

नेटोमा आवद्ध ३१ सदश्य राष्ट्रहरुलाई स्वीडेनलाई नेटोमा आवद्ध गराउने कि नगराउने भन्ने बिषयमा भिटो प्रयोग गर्ने अधिकार रहेको छ । 

यसबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले टर्कीको समर्थनलाई स्वागत गर्दै स्वीडेनलाई नेटोमा आवद्ध गर्ने प्रस्ताव छिटै अनुमोदन हुने विश्वास ब्यक्त गरे ।

ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा स्वीडेनलाई नेटोको ३२ औँ सदस्यको रुपमा स्वागत गर्न बाइडेन तयार रहेको जनाएको छ । 

लिथुआनियाको राजधानी भिल्नियसमा जारी नेटो सम्मेलनका बीच टर्की र स्वीडेनका नेताहरुबीच भएको वार्ताका क्रममा टर्की र स्वीडेनबीच सम्झौता भएको हो ।

टर्कीले लामो समयदेखि नेटोमा सामेल हुन स्वीडेनको आवेदनको विरोध गर्दै आएको थियो । टर्कीले स्वीडेनले कुर्दिश कार्यकर्तालाई आतंकवादी ठानेको आरोप लगाएको थियो। 

वार्तापछि जारी विज्ञप्तिमा टर्की र स्वीडेनले आतंकवाद विरोधी समन्वयमा मिलेर काम गर्ने र द्विपक्षीय व्यापारिक सम्बन्धलाई प्रवर्द्धन गर्ने उल्लेख छ ।

 

 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिनसँग भेटवार्ता गरेका छन् । क्रेमलिनले यसको पुष्टि गरेको छ। 

केही दिनअघि वाग्नर समुहका प्रमुख प्रिगोजिनले पुटिनविरुद्ध विद्रोहको घोषणा गरेका थिए । तर, बेलारुसको मध्यस्थतामा दुवैबीच सहमति भएको थियो । त्यसपछि यी दुईबीचको यो पहिलो भेट हो ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभका अनुसार मस्कोमा भएको बैठकमा निमन्त्रणा गरिएका ३५ वाग्नर कमाण्डरहरूसहित प्रमुख प्रिगोजिन सहभागी थिए । तर, उनीहरू बिचमा के कुराकानी भयो भन्ने बारेमा केही खुलाइएको छैन ।

विगतका महिनाहरूमा प्रिगोजिनले बारम्बार रुसी रक्षामन्त्री सर्गेई शोइगुलाई युक्रेनमा रहेका आफ्ना सेनाहरूलाई जानाजानी कम आपूर्ति गरेको आरोप लगाएका छन्। 

त्यसपछि रुसी रक्षा मन्त्रालयले युक्रेनका स्वयम्‌सेवक लडाकुहरूले जुनको अन्त्यसम्ममा उनीहरूसँग सम्झौता गर्नुपर्ने बताएका थिए । मन्त्रालयले गरेको घोषणामा वाग्नर समूहको नाम भने राखिएको छैन।

२६ वटा राफेल विमान खरिद गर्दै भारत

एक प्रमुख विकासमा, भारतले फ्रान्सबाट २६ वटा राफेल लडाकु विमान र तीन स्कोर्पेन पनडुब्बी खरिद गर्ने भएको छ ।

रक्षा मन्त्रालयका अधिकारीहरूका अनुसार लडाकु विमान र पनडुब्बी खरिदको घोषणा यसै साता हुने प्रधानमन्त्री नरेन्द्र मोदीको फ्रान्स भ्रमणको क्रममा हुने संभावना छ । देशले सामना गर्नुपरेका सुरक्षा चुनौतीलाई दृष्टिगत गर्दै भारतीय नौसेनाले विमान र पनडुब्बी खरिदका निम्ति सरकारलाई निरन्तर दबाब दिँदै आएको थियो ।

विमान र पनडुब्बी खरिदका निम्ति रु ९० हजार करोड भन्दा बढी लाग्ने अनुमान गरिएको भए पनि फ्रान्ससँगको खरिद सम्झौता वार्ता निष्कर्षमा नपुगेकाले लागत यकिन भएको छैन । भारतले सम्झौतामा मूल्य सहुलियत खोज्ने छ ।

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  ७ : ५९ बजे

डडेल्धुरामा जिप दुर्घटना, चार जनाको घटनास्थलमै मृत्यु

अमरगढी– यहाँको नवदुर्गा गाउँपालिका–५ मा आज बिहान से १ ज

जनार्दनलाई स्वार्थ समूहको संज्ञा दिँदै प्रचण्डले भने- उनले नपत्याउँदैमा फरक पर्दैन, पदाधिकारी बैठकमा समीक्षा हुन्छ

विराटनगर- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले

ट्रम्पको ‘ट्यारिफ’ले खोस्यो भारतीय हिराको चमक

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने सामानमा ५० प्रतिशतसम्म

अनियन्त्रित मनलाई नियन्त्रित गर्न सत्संग गरौँ : उपप्रधानमन्त्री सिंह

काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अनियन्त्रित मनहरूलाई

अमेरिकी चर्चमा बन्दुकधारीले आक्रमण गर्दा दुई बालबालिकाको मृत्य, १७ जना घाइते

वाशिङ्टन- अमेरिकाको मिनियापोलिस राज्यको एक चर्चमा सेवा गरिरहेका विद्यालय जाने