वर्षेनी बाढी र डुबानबाट कैलालीमा अत्यधिक क्षति  « Khabarhub

वर्षेनी बाढी र डुबानबाट कैलालीमा अत्यधिक क्षति 


२६ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

भजनी– बर्सेनि बाढी र डुबानबाट कैलालीमा अत्यधिक क्षति हुने गरेको छ । कैलालीको पनि भजनीमा बाढी र डुबानबाट बढी क्षति हुने गरेको छ । वर्षात्को समयमा भजनीवासी शान्तले सुत्न  पाउँदैनन् । 

‘बर्सेनि बाढीले विस्थापित बनाउँछ । दुई-तीन महिना सडकमै बास हुन्छ-, स्थानीय सुरेन्द्र चौधरीले भने– ‘बाढीका तीन महिना देशमा हाम्रा लागि सरकार छ कि छैन जस्तो हुन्छ ।’ सान्त्वना दिनुभन्दा पीडा नहुने गरी दीर्घकालीन समाधानको उपाय खोज्नुपर्ने उनको भनाइ छ । 

भजनीकै रामकृष्ण चौधरी पनि समस्याका बेलामात्रै दिइने सान्त्वनाले  समस्या समाधान नहुने बताउँछन् । बाढी र डुबानको मुख्य समस्या  पहिचान गरी काम थाल्नुपर्ने उनको भनाइ छ । ‘बाढीका कारण खेत बाँझो राख्नुपरेको छ । लगाएको खेती भित्र्याउन पाइन्न । कुन बेला के हुन्छ भन्ने चिन्ताले रातभर जाग्राम बस्नुपर्छ’, चौधरीले भने। बाढी र डुबानको दीर्घकालीन समाधान आवश्यक भएको उनको भनाइ छ । 

बर्सेनि बाढी र डुबानका कारण करोडौँको क्षति हुने गरेको छ । विशेषगरी नदीका कारण भजनीका अधिकांश क्षेत्र डुबानमा पर्छन् । ‘बाढी बस्तीमा पसेपछि समस्या बढी हुन्छ । पानीको निकास नहुँदा डुबानको जोखिम महिनौँसम्म रहन्छ’, स्थानीय रीता बोहराले बताइन् । 

भजनी नगरपालिकाका प्रमुख केवल चौधरी भजनी डुबानमा पर्नुका विविध कारण रहेको बताउँछन्। भजनीलाई चारैतिरबाट नदीले घेरेको छ । बाढीबाट जोगाउन उचित काम हुन नसक्दा भजनी डुबानमा पर्ने गरेको छ । ‘भारतको कैलाश बाँधले पनि बढी समस्या भएको छ । भारतले कैलाश बाँध बन्द गरेपछि त्यसको असर भजनीमा बढी पर्ने गरेको छ’, नगरप्रमुख चौधरीले भने । 

कैलाली क्षेत्र नं ३ की सांसद गङ्गा चौधरी हुलाकी राजमार्गले पनि डुबानको समस्या निम्त्याएको बताए। पानीको निकास नहुँदा तथा  जमिनभन्दा राजमार्गको उचाइ १०-१२ फिट बढी भएर समस्या भएको उनको भनाइ छ । उनले हुलाकी राजमार्गको पूर्वी क्षेत्र जलमग्न हुँदा पश्चिम क्षेत्रमा पानी नहुनु भनेको पानीको निकास नै नभएर डुबान गरेको भन्दै त्यसको विकल्प खोज्न आवश्यक रहेको सांसद चौधरीले बताए। 

राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजनाले पथरैया नदीमा गरेको तटबन्धको काम अधुरै हुँदा पनि भजनी डुबानमा पर्ने गरेको छ । आयोजनाले केही भागमा तटबन्ध गरेर केही भाग छोड्दा तटबन्ध नभएको स्थानबाट पथरैया नदी बस्तीमा पसेको हो । 

आयोजनाका प्रमुख केदार श्रेष्ठले बजेट अभावका कारण सबै ठाउँमा तटबन्धको काम गर्न नसकिएको बताए। यसपटकको बाढीका कारण भजनी नगरपालिकामा मात्रै एक हजार आठ सय २२ घरपरिवार विस्थापित भएका छन् । दुई घर बाढीले बगाएको तथ्यांक छ ।

एक दशकपछि अत्यधिक वर्षा 

 कैलालीको कर्णाली चिसापानी क्षेत्रमा २०७१ यताकै बढी वर्षा भएको छ । वर्षा मापन केन्द्र कर्णाली चिसापानीका अनुसार यही साउन २३ गते बिहान चार सय २४ दशमलव दुई मिलिमिटर वर्षा मापन गरिएको छ । यसैगरी चिसापानी माथिल्लो क्षेत्रमा वर्षा भए ठूलो खतरा हुने जल तथा मौसम विज्ञान विभागको वर्षा मापन केन्द्र चिसापानीकी कर्मचारी पार्वती गुरुङले बताइन् । 

‘माथिल्लो क्षेत्रमा पनि यस्तै वर्षा भएको भए नदीमा पानीको बहाव अत्यधिक बढ्ने थियो’, उनले भने। जल तथा मौसम विज्ञान विभागको महाकाली वेसइन फिल्ड कार्यालय अत्तरियाका अनुसार यही साउन २४ गते एक सय ४३ दशमलव नौ मिलिमिटर वर्षा मापन भएको छ । चुरे क्षेत्रमा वर्षा भएकाले त्यहाँ पहिरोसमेत गएको फिल्ड कार्यालय अत्तरियाका मौसम विज्ञान सहायक सिङ्गल चौधरीले बताए ।

अहिले पनि मनसुन सक्रिय भएकाले देशका अधिकांश भू-भागमा वर्षा भइरहेको छ । आगामी तीन दिनसम्म पनि देशका केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ । आउँदो शनिबारदेखि फेरि मनसुन सक्रिय हुने देखिएको र त्यो समयमा अझै बढी वर्षा हुने सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिलेको अवस्था हेर्दा शनिबारदेखि देशका धेरै स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले नागरिकलाई सचेत रहन मौसमविद् सजिना शाक्यको सुझाव छ । दुई दिन परेको वर्षाका कारण बाढी आउँदा कैलालीका तटीय क्षेत्रमा डुबान भएको छ । डुबान हुँदा हजारौँ नागरिक  प्रभावित भएका छन् ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अझै पनि भारी वर्षा हुने सम्भावना देखिएकाले तटीय तथा जोखिम क्षेत्रका नागरिकले सतर्क भएर बस्न स्थानीय पालिकाले आग्रह गरेका छन् । कैलालीको टीकापुर, भजनी, जोशीपुर र जानकी गाउँपालिकाले नागरिकलाई सुरक्षित रहन सूचना गरेका छन् । बाढीबाट टिकापुर र भजनीका सयौँ परिवार विस्थापित भएका छन् । 

कैलालीमा बर्सेनि कर्णाली, मोहना, पथरैया, कन्द्रा, खुटियालगायत नदीले दुःख दिने गरेको छ । 

रासस

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  ७ : ३९ बजे

इरानमाथि प्रहार गर्न हजार क्षेप्यास्त्र तयार रहेको ट्रम्पको चेतावनी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ध्वस्त पार्ने धम्की दिँदै

काठमाडौंको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास

काठमाडौं– काठमाडौंको बुद्धनगरमा शनिबार बिहान एक जनाले आत्मदाहको प्रयास गरेका

बजारमा कृत्रिम अभाव सृजना गरेको देखिए तत्काल खबर गर्न अनुरोध

चितवन– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि क्षेत्रमा कालोबजारी,

ट्रमा सेन्टरको क्षमता बढाउने बागमती सरकारको घोषणा

काठमाडौं– बागमती प्रदेश सरकारले सवारी दुर्घटनापछि घाइतेको उपचारलाई सहज बनाउन

विपद् तयारीका लागि साढे दुई करोडभन्दा बढीका उपकरण हस्तान्तरण

हेटौँडा– बागमती प्रदेश सरकारले विपद्को पूर्वतयारीलाई सुदृढ बनाउन नेपाली सेना,