चुँदीरम्घामा भानुभक्तकालीन घर बनाइँदै « Khabarhub

चुँदीरम्घामा भानुभक्तकालीन घर बनाइँदै


२६ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

तनहुँ– नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थान भानु नगरपालिका–४ चुँदीरम्घा शिखरकटेरीमा भानुभक्तकालीन घर निर्माण गरिने भएको छ । हाल भग्नावशेष अवस्थामा रहेको आदिकवि आचार्यको घरलाई भने सोही अवस्थामा नै संरक्षण गरिने भएको छ ।

भानुजन्मस्थल विकास समिति र भानु नगरपालिकाको समन्वयमा पश्चिमाञ्चल विकास मञ्चले आदिकवि आचार्यको जन्मघरकै स्वरुपमा नयाँ घर बनाउन लागेको हो । नेपाली साहित्यमा महत्वपूर्ण योगदान दिएका आदिकवि आचार्यको सम्मानमा आफूहरूले देश तथा विदेशमा रहेका व्यवसायीबाट रकम उठाएर भानुभक्तकालीन घर बनाउन लागेको विकास मञ्चका संस्थापक अध्यक्ष तथा भानुभक्त घर निर्माण समितिका संयोजक रामकाजी कोनेले जानकारी दिएका छन् ।

‘हामी आफ्नै सक्रियता र व्यवसायीबाट जुटेको सहयोगबाट भानुभक्तकालीन घर बनाउने निष्कर्षमा पुगेका छौँ’, उनले भने । आचार्यको जन्मघरकै स्वरुपमा अर्को घर निर्माण नगरिएसम्म नेपाली साहित्यको सम्मान नहुने कोनेको भनाइ छ । उनले भने, ‘अब घर निर्माण ढिला गर्न हुँदैन । विभिन्न दाताबाट केही रकम जुटिसकेको छ । चाँडै घर निर्माण थाल्छौँ ।’

भानुभक्तकालीन घर निर्माणका लागि करिब रु एक करोड  खर्च हुने मञ्चले जनाएको छ । उक्त घरको भित्री भाग सिमेन्ट र रडबाट निर्माण हुनेछ । एक वर्षभित्र नै सक्ने गरी निर्माण गरिने भूकम्पप्रतिरोधी उक्त दुईतले घरको बाहिरी आवरण भने परम्परागत र भानुभक्तकालीन शैलीको रहने छ । भग्नावशेष अवस्थामा रहेको आदिकवि आचार्यको घरको बाँकी रहेको ढुङ्गाको गाह्रोलाई भने सोही अवस्थामा तारबार गरी संरक्षण गरिने संयोजक कोनेले जानकारी दिए। हाल रहेको भग्नावशेष घरको पछाडि नयाँ घर निर्माण गरिने छ । 

‘आदिकविको जन्मघर दुरुस्तै हुनुपर्छ भन्नेमा हामी प्रतिबद्ध छौँ’, कोनेले भने, ‘भानुभक्तकालीन त्यही घर र घरको भग्नावशेष हेर्न देश तथा विदेशबाट पर्यटक आउने विश्वास छ ।’

मञ्चले सात वर्ष पहिले २०७३ सालमा ६८ लाख लागतमा उक्त घर बनाउन शिलान्याससमेत गरेको थियो । हाल सोही डिजाइनलाई केही परिमार्जन गरी घर बनाउन लागिएको हो । तर आगलागी र संरक्षण अभाव देखिएकाले त्यस समय आफूहरूले घर बनाउने काम रोकेको संयोजक कोनेले बताए । भानुजन्मस्थल विकास समितिले २०५७ सालमा ‘आदिकवि भानुभक्त’ चलचित्र बनाउने क्रममा करिब रु एक लाख १० हजारको लागतमा आचार्यको जन्मघर पुननिर्माण गरेको थियो । 

विसं २०६० मा भानु सामुदायिक वनमा आगलागी हुँदा खरको छानो रहेको उक्त घर जलेर नष्ट भएको थियो । आगलागी हुुनुअघि नै आदिकवि आचार्यले प्रयोग गर्ने मसी दानी, विभिन्न रचनाका पाण्डुलिपि, भाँडावर्तन, ओदान, ठेकी, मदानी, भोटेताल्चालगायतलाई भानुजन्मस्थल विकास समितिको हाताभित्र संरक्षण गरी राखिएको विकास समितिका कार्यकारी निर्देशक शंकर रानाभाटले बताए।

‘आदिकविको घर हेर्न आउनेहरू भग्नावशेष देखेर खिन्न भएर फर्किने अवस्था छ’, उनले भने, ‘अब भानुभक्तकालीन घर बनेपछि साहित्यिक पर्यटक बढ्ने विश्वास लिएका छौँ ।’

भानुजन्मस्थल विकास समिति मातहत कार्यालय परिसरमा चार रोपनी र स्थानीय पुरनडिहीमा १४ रोपनी तथा भानुभक्तको जन्मघर शिखरकटेरीमा करिब ५० रोपनी गरी कुल ६८ रोपनी क्षेत्रफल जग्गा छ । नेपाल सरकारले शिखरकटेरीमा करिब दुई करोड ६० लाख लागतमा दुई वर्ष पहिले निर्माण गरेको रामायण भवनको समेत उचित संरक्षण हुनसकेको छैन । शिखरकटेरीको ५० रोपनी क्षेत्रलाई संरक्षण गर्न लगाइएको पर्खालसमेत केही स्थानमा भत्किएको छ । 

राज्यले भानुजन्मस्थल विकासका लागि पर्याप्त बजेट विनियोजन नगर्दा संरचना निर्माणमा विभिन्न दाताको भर पर्नु पर्ने बाध्यता रहेको समितिले जनाएको छ । आर्थिक वर्ष २०७९-८० मा विकास समितिको बजेट चालुतर्फ रु १५ लाख र पुँजीगततर्फ २५ लाख मात्र रहेको छ । विकास समितिमा हाल एक कार्यकारी निर्देशक, एक खरिदार, एक चौकीदार र एक कार्यालय सहयोगी कार्यरत छन् । 

आदिकवि आचार्यको जन्मस्थललाई साहित्यिक पर्यटकीय गन्तव्यको रुपमा विकास गरी आर्थिक उन्नतीको लक्ष्य राखिएको भानु नगरपालिकाको कार्यालयले जनाएको छ । मञ्चले भानुभक्तकालिन घर बनाउन तत्परता देखाउनु सकारात्मक भएको भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले बताए। ‘भानुभक्त कालिन घर बनाउन विकास कोष अग्रसर हुनुलाई सकारात्मक रुपमा लिएका छौँ’, भानुजन्मस्थलमा बाटो र खानेपानीको व्यवस्था गरी सकेको बताउँदै अध्यक्ष त्रिपाठीले भने, ‘आगामी दिनमा भानुजन्मस्थलको व्यापक प्रचार गरी देश, विदेशका साहित्यकारलाई यो थलोमा जमघट गराउने योजनामा जुट्छौँं ।’

भानु नगरपालिकाको कार्यालयले विभिन्न संघ संस्था र व्यक्तिको सहयोगमा आदिकवि आचार्यको एक सय आठ फिटको पूर्ण कदको शालिक बनाउने र भानुकालिन गाउँ बनाउने योजना राखेको प्रमुख त्रिपाठीले बताए । बुबा धनञ्जय र आमा धर्मावतीका कोखबाट विक्रम सम्बत् १८७१ असार २९ गते आदिकवि भानुभक्त आचार्यको जन्म भएको थियो । हजुरबुबा श्रीकृष्ण आचार्यबाट संस्कृत शिक्षा पाउनुभएका अदिकवि आचार्यले संस्कृतमा लेखिएको रामायणलाई नेपालीमा उल्था गरी सबै नेपालीलाई भाषिक एकतामा जोडेका हुन् ।

पूर्ण विके- रासस

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  ९ : ५८ बजे

सरकारी सञ्चारमाध्यममा मात्र सूचना प्रकाशन तथा प्रसारण गर्ने नीति परिवर्तन गर्न पत्रकार महासङ्घको आग्रह

काठमाडौं – नेपाल पत्रकार महासङ्घले सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना

बागमती प्रदेशसभाको सत्रौँ हिउँदे अधिवेशन आजदेखि प्रारम्भ

मकवानपुर – बागमती प्रदेशसभाको १७औँ हिउँदे अधिवेशन आजदेखि प्रारम्भ भयो

अमेरिका–इजरायलद्वारा इरानको खार्ग टापुमा आक्रमण

तेहरान – इरानको प्रमुख तेल निर्यात केन्द्र खार्ग टापुमा अमेरिका

महोत्तरीका वनमा माहुरी चराउँदै चितवनका किसान

महोत्तरी – पूर्वपश्चिम राजमार्ग दायाँबायाँ महोत्तरीका वन क्षेत्रमा हाल चितवनका