हिजो केन्द्रमा परमादेशी सरकार चलाउँदै गर्दा त्यसको निन्दा आलोचना गरेको नेकपा (एमाले)ले आज कोशी प्रदेशमा त्यही खालको सरकार बनाएको छ। दलहरू यसरी पटक-पटक संघ वा प्रदेशमा आफैले लेखेको संविधानविरुद्धमा राजनीतिक गतिविधिहरू किन गरिराखेका छन् ? यसले संविधान, संघीयता र प्रदेशलाई कहाँ कुन कोर्समा अगाडि बढाएको छ ? वरिष्ठ अधिवक्ता विष्णु भट्टराईसँग कृष्ण तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंश:
कोशी प्रदेशको अहिलेको राजनीतिक समीकरणले वा यो घटनाले कस्तो सन्देश दियो ?
कोशी प्रदेशमा सरकार बनाउने र ढाल्ने कुरालाई हामीले पटक–पटक हेरिरहेका छौँ। यो देशमा अदालतले सरकार बनाउँछ। चाहे त्यो केन्द्रमा परमादेशले सरकार बनाएको होस् वा अहिले प्रदेशमा। यही अदालतको आदेशले अर्को सरकार बनेको कुरा होस्। मुख्य प्रश्न भनेको नेपाली जनताको राज्यसत्ता र सम्प्रभु सत्तामा विश्वास गर्ने यो संवैधानिक प्रणाली भनेर जे भने पनि नेपाली जनताले कसैलाई पनि प्रदेश वा केन्द्रको सरकार बनाउने अनुमति नदिएको अवस्थामा कसैले अदालतद्वारा परमादेशको सरकार बनाउँछ।
अदालतद्वारा त्यसलाई गठन र विघटनको कुरा गर्छ भने नेपाली जनता सम्प्रभुताको यो उपहारको नेपाली जनलाले राज्य सत्ता चलाउने अनुमति दिएनन् भने कि त जनताको ताजा जनादेश लिन जानुपर्यो। नत्र बहुमतको आधारमा अथवा अदालतको आदेशको आधारमा राज्य चलाउने हो भने जनताको अभिमतलाई अवज्ञा गरेको कुरा मान्नुपर्यो। त्यस कारण यो राज्य प्रणाली साँच्चै भन्ने हो भने अहिले मङ्सिर ४ गते आम निर्वाचन भएको ९ महिना भइसक्यो। यो अवस्थामा न केन्द्रमा संघीय सरकारले नेपाली जनताको हित उन्नति समुन्नतिको लागि केही काम गर्न सकेको छ।
प्रदेश सकारलाई हामीले हेरिराखेको छौँ। खाली सरकार बनाउने र गिराउनेभन्दा बाहेक केही काम छैन। जसका कारण प्रदेश सभाका मान्य सदस्यले आसेपासे, निजी सचिव, गाडी मोटरलगायतका सुविधाले गर्दा अर्बौं राज्यकोष लुटेका छन्। जनता गरिबीले थिचिएर मारिएका छन्। उहाँहरूलाई राज्य संस्था चलाउन परमादेश भए पनि चाहियो। यो त जनतामाथिको राज्य सत्ता र सम्प्रभुता माथिको चिरहरण हो भन्ने मलाई लाग्छ।
सांसदलाई जनताको सार्वभौम थलो भनिन्थ्यो। अब संसद्को त्यो गरिमा कुन हदसम्म बाँकी रह्यो ?
गत जेठ १७ गते राष्ट्रपतिले सही छाप गरेर नागरिकता विधेयक पारित भयो भन्नुभयो। त्यो नागरिकता विधेयक २०७९ भदौ १४ गते तत्कालीन राष्ट्रपतिजीकोमा प्रस्तुत गर्दा प्रतिनिधि सभामा अहिलेको राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी भन्ने थिएनन्। राप्रपा भन्ने पार्टीको पनि जम्मा एक सिट थियो।
त्यो प्रतिनिधि सभाले यी पार्टीले प्रतिनिधि सभामा देख्दै नदेखेको नागरिकता विधेयक सर्वोच्च अदालतले पारित गरेर कानुन बनाएको होइन ? नेपाली जनताका प्रतिनिधिहरूले त्यो विधेयकमा छलफल गरे। यो संसादमा आयो। यो संसदमा जनताको राज्य सत्ता र सम्प्रभुताको परीक्षण गर्छु भनेको त्यो संसदलाई पनि नेपाली जनताले राज्य सत्ता चलाउने कुनै पनि गणतन्त्रवादी शक्तिलाई बहुमत दिएनन्। अनि त्यहाँबाट अदालतले विधेयक बनाइदिन्छ। अदालतले नै सरकार बनाइदिन्छ। संविधान अथवा नेपाली जनताको सम्प्रभुता किन चाहियो।
गएको पुस २७ गतेको घटना हामीले संसदमा जे हेर्यौं । यो देशमा त प्रतिपक्ष बिहीन संसद् पनि चलाएर हेरियो। त्यति खेर यो देशको अब अवस्था बदल्छौँ, परिस्थिति बदल्छौँ भनेर आएका पार्टीहरूको के हाल भयो ? यसै कारणले गर्दा यो नेपाली जनताको राज्य सत्ता र सम्प्रभुसत्ताको मजाकभन्दा बाहेक यो संविधान केही होइन।
नागरिकता विधेयक २०८० साल जेठ १७ गते जारी भयो। त्यसमा माथि विद्यादेवी भण्डारी लेखियो र तल रामचन्द्र पौडेलले हस्ताक्षर गर्नुभयो। संविधानको धारा ११३ (४) ले के भन्छ ?
संविधानको धारा ११३ को उपधारा ४, ३ ले प्रतिनिधि सभाले वा सदनले पास गरेको विधेयकलाई राष्ट्रपतिले पुर्नर विचार गर्नको लागि पठाउन सक्छ। त्यसरी पुर्नर विचार गर्न पठाएको विधेयक सांसदले जस्ताको त्यस्तै पठायो वा जे गरेर संशोधन गरेर पठायो भने पनि पठाएको मितिले १५ दिनभित्र राष्ट्रपतिले त्यो विधेयकलाई प्रमाणीकरण गर्नुपर्छ। १६ दिनको दिन यो कसरी प्रमाणीकरण गरियो भयो ? जतिखेर यो प्रमाणीकरण गरियो त्यति बेला के देवराज घिमिरे सभामुख हुनुहुन्थ्यो ? रामचन्द्र पौडेललाई त्यो विधेयक कसले दियो।
सरकारले समर्थन गर्यो भन्नुहुन्छ विधेयक सरकारसँग हुन्छ कि संसदसँग ? रामचन्द्र पौडेललाई १६ औँ १७ औँ ६ महिनापछि त्यो विधेयक प्रमाणीकरण गर्ने के अधिकार छ ? यस्तोमा अदालतले प्रमाणीकरण गरिदिन्छ भने संसद्को के अर्थ भयो ?
यो प्रणालीले के के विषयमा घात गरेको देख्नुहुन्छ ?
९४ प्रतिशत ओमकार परिवार बस्ने देशमा धर्म निरपेक्षको संविधान नेपाली जनताले बनाए। देशलाई धर्म निरपेक्ष गर्छु भनेर संविधान सभामा निर्वाचन लडेको थियो ? यो संविधान संविधान सभाले पारित मात्र गर्याे। दिगो शान्तिको कुरामा ११६ वटा राष्ट्रले शान्ति क्षेत्र नेपाल भनेको कहाँ गयो आज त्यो नेपाल ? राष्ट्रिय जनावर गाई भनेर लेखियो तर संसदमा गाई काटेर खान पाउनु पर्छ भन्दा यो सरकारले ती गाई काट्न पाउनुपर्छ भन्नेलाई के कारबाही गर्यो? यस्तो संसद नेपाली जनताको रक्षक हो ? यो हुन सक्दैन।
संघीय संसदको अवस्था यस्तै छ। संसदमा कुनै बिजनेस छैन। जनताले नेता तथा दलका प्रतिनिधिहरूलाई पत्याउन छाडेका छन्। धार्मिक र सामाजिक सद्भा खलबलिएको छ। हामी असफल राष्ट्र भएका हौँ ?
यो भन्दा अर्को असफल राष्ट्र के हुने ? गएको मङ्सिर ४ गते भएको चुनावमा नेपाली जनताले यो संविधान अन्तर्गत नेपाली जनतामाथि शासन गर्ने, नेपाली जनताको लागि कानुन बनाउने कुनै पनि एउटा राजनीतिक दललाई बहुमत दिएनन्। सर्प, भ्यागुतो र बिच्छी भएर ठगबन्धको सरकार बनाइएको छ। सिद्धान्तको सौदा गरिएको छ। उदाहरणको लागि नेपाली कांग्रेसको बैठक बस्यो भने त्यहाँ बिपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराइका तस्बिर राखेर उहाँहरूलाई आदर्श पुरुष मानिन्छ। उनीहरू कहिले गणतन्त्रवादी भएका थिए। ती नेताको सम्मान गरिएको छ कि अपमान ?
यो देशका एकथरी कम्युनिस्ट त सुन तस्करीकै साम्राज्यमा रमाएका रहेछन्। ती माओवाद लेलिन, स्टानलिन भन्ने नेकपा (एमाले), माओवादी जे होस् सबैले संसद् भनेको खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने भन्ने। माओवाद लेलिन स्टानलिनले कहिले संसदीय प्रजातन्त्रलाई हुन्छ भनेका थिए र यी कम्युनिष्ट हुँ भनेर संसदमा गएका छन्।
यो सैद्धान्तिक विचलन, विखण्डन, विकृतिको जड संविधानभन्दा बाहेक अरु हुनै सक्दैन। त्यस कारणले यो भन्दा बढी असफल केलाई बुझ्ने ? भर्खरै चिनियाँ राजदूतले जे कुरा सार्वजनिक रूपमा भने एउटा राजदूतले आएर राष्ट्र भारतकोविरुद्धमा यही देशका पार्टी प्रमुख राजनीतिक शक्तिले आयोजना गरेको कार्यक्रममा एक प्रकारको कूटनीतिक मर्यादालाई उलंघन गरेर बोल्न सक्छन् भने त्यो हैसियतमा देशलाई पुर्याएको कसले हो ? यही व्यवस्थाले त हो।
कूटनीतिज्ञले पनि आएर राजनीतिक पाठ, समृद्धिको पाठ सिकाउन थाले ?
अब संघीयताको पाठ कसले सिकाउने त ? चीनमा संघीयता छ। चीनमा संसदीय व्यवस्था छ। अनि उनीहरूले संघीयताको पाठ सिकाउने र एमसीसी, नागरिकता लगायतका गतिविधि, नेपालमा १७ हजार मान्छे मारेर किरियामा बसेको बाहुनलाई गाईको मासु काटेर खुवाउने मानिस जेठ १७ गते प्रधानमन्त्री भएर भारत भ्रमण गर्न गएपछि महाकालेश्वर मन्दिरमा गएर गेरु वस्त्र लगाएर ८/१० किलो रुद्राक्ष चढाएर कर्म गर्छन्। १ अर्ब हिन्दुहरूको मैले रक्षा गरे भन्छन्। यो पाखण्डको सीमा यो राज्य प्रणाली होइन भने अरु के हो ?
अहिले नेकपा एमालेले कोशीमा सरकार चलाउने अवसर पाएको छ। हिजो केन्द्रमा परमादेशको सरकार बन्यो भन्ने एमाले अहिले प्रदेशमा फेरि परमादेशबाट सरकार चलाउन पुगेको छ। यसलाई कसरी हेर्नु भएको छ ?
यो देशमा राज रह्यो नीति रहेन। तपाईंलाई प्रतिकुल भयो भने यो निकृष्ट भयो। त्यहाँ कुनै सिद्धान्त चाहिएन। त्यसैले गर्दा नेपाली जनताको राज्य सत्ता र सम्प्रभुता सत्ताको रक्षा यो संविधान र यो राज्य प्रणाली पात्र प्रवृत्ति र चरित्रबाट देशले निकास पाउँदैन।
संविधान, प्रणाली, राजनीतिक पार्टीहरू फेल भए भन्नु भएको हो ?
यो मैले भनेको कुरालाई असत्य भनेर कसैले प्रमाणित गरिदियोस्। आज जुन प्रकारको चरित्र देखिएको छ। हिजो एक जना राजालाई सलाम गर्ने, अहिले प्लास्टिकको टुलमा तौलिया ओछ्याएर ८ वटा १० वटा राजालाई सलाम गर्ने अनि भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी हाम्रो तीर्थ स्थललाई भारतको सांस्कृतिक नक्सा भित्र राखेकोलाई सलाम गरेर फर्किने र ल्यारक्याल लामा जस्ता मान्छेहरू जो पटक–पटक कसुर र अपराधका अनन्त शृङ्खलामा संलग्न व्यक्तित्व सबै पार्टीकै संरक्षणमा छन्। तिनीहरूलाई लुम्बिनी विकास कोषको उपाध्याय बनाउँछन् भने यो देशमा शान्तिको सन्देशका हाम्रा सर्जक भगवान् बुद्धले यो देशलाई श्राप दिएका होलान् कि वरदान दिएका होलान् त ?
यो त दलीय प्रणाली वा राजनीतिक पार्टीहरूको असफलता हो नि, संविधानसँग लगेर किन जोड्ने ?
प्रणाली अनुसारको पात्र हुन्छ। पात्र अनुसारको प्रवृत्ति हुन्छ। र प्रवृत्ति अनुसारको चरित्र हुन्छ। कोही मोटरसाइकलमा चढेको छ भने गाडीको जस्तो सुरक्षा खोजेर हुँदैन। कोही जहाजमा चढेको छ भने मोटर जस्तो भिडमा खस्ने हो कि एकै चोटि समुन्द्रमा फाल हान्ने हो भन्ने त्यसै कारणले गर्दा प्रणाली लिएर आउने भयो।
नेपाली जनतालाई सोधेको थियो देशलाई धर्म निरपेक्ष बनाउँछु भनेर ? नेपाली जनतालाई सोधेको थियो देशमा गणतन्त्र ल्याउँछु भनेर ? संसारका डेढ सयभन्दा बढी राष्ट्रहरू क्रिश्चियन होलान्। ४७ वटा देश मुस्लिम र १२ वटा बुद्धिष्ट होलान्। संसारको एक मात्र हिन्दु राष्ट्रको हाम्रो पहिचान समाप्त गर्नलाई कसको वुद्धिले दिएको थियो र यो संविधानमा लेखियो। त्यसैको फल अहिले भोग्दै छन्। त्यसैले नेपाली जनताले पनि यो राज्य प्रणालीको परिवर्तनको म भोको छु भने अरूले भात खाएर हुँदैन। यो देशको राज्य प्रणालीले यो देश अप्ठ्यारो अवस्थामा पुगेको छ भने यसको प्रतिकार गर्न जनताको सशस्त्र आवाज वाञ्छनीय छ।
प्रतिकार गर्ने पुस्ता सबैलाई पासपोर्ट थमाएर विमानस्थलबाट बिदा गरिराखेको छ। केही आउँछन्। केही बाक्सामा फर्किन्छन्। केही उतै पलायन हुन्छन्। प्रतिकार गर्ने को बाँकी छ र ?
अब प्रतिकार गरिएन भने एउटा भनाइ छ, ‘तिमी कसैसँग प्रतिशोध लिन सक्दैनौँ भने त्यसलाई प्रणाम गरेर बस।’ हामी नै नेपाली जनता मन्दिरमा घण्टा बजाएर बिहान बेलुका पूजा अर्चना गरेर मात्रा खाना खाने। हामी हिन्दु भन्छौँ होला। मन्दिर नै मन्दिरको देश भन्छौँ होला। पशुपतिमा निरन्तर पूजा गर्न जानेले गणतन्त्रवादी र धर्मनिरपेक्षतावादीलाई मत हालेर सत्तामा पुर्याएको होइन ? कि त आफूले गरेको कुरामा सच्याउनु पर्यो। नत्र यो अराजकतालाई निर्वाह गर्नुहोस्। यो संविधान नेपाली जनताको संविधान नै होइन।
यत्ति छिट्टै यो प्रणालीप्रति यति धेरै आक्रोश र वितृष्णा किन पैदा भयो ?
अहिले राजनीतिको शीर्ष तहमा पुगेका मान्छेहरूको आर्थिक स्रोत साधन बर्कत हैसियत तागत क्षमता कहाँबाट आयो ? त्यसको जवाफ नेपाली जनतालाई दिनुपर्यो र ट्रान्सपरेन्सी इन्टनेशनलले प्रतिवेदन सार्वजनिक गरे अनुसार देशका भ्रष्ट मुलुकको सूचीमा संसारको सबैभन्दा गरिब मुलुक नेपाल परेको छ। नेपालका कम्युनिस्टहरू र राजनीतिक सत्तामा पुगेका नेता र नेतृत्वहरू अर्बोंको मालिक कहाँबाट भएका छन् ? त्यसको स्रोत साधन शक्ति र सामर्थ्य कहाँबाट प्राप्त भएको छ ? यसको खोजी हुनुपर्छ।
नेपाली जनतालाई भुटानी बनाएर बेच्ने जुन देशको राष्ट्रियता बेचेर भुटानी हुन तयार हुने हुँदा यो अवस्था आयो। जबसम्म नेपाली जनताले आफ्नो राष्ट्र राष्ट्रियता, राष्ट्रिय एकता, स्वाधीनता, सम्प्रभुता र शान्ति राष्ट्रिय अखण्डता प्रति आफ्नो गौरव गर्दैनन् तब कुनै दिन नेपाल भन्ने माटो, भूगोल त रहला तर यो देशको राष्ट्रियता सम्प्रभुता यही हो भने त असफल राष्ट्र के हुन्छ।
कुनै संस्था त होला नि अहिलेको हाम्रो गरिमालाई थामिराख्ने वा जोगाइराख्ने ?
अहिले नेपाली जनताले गएको दसैँमा पूर्व राजा (गद्दीहीन राजा)ले नेपाली जनतालाई सन्देश दिँदा अब नेपाली जनताले राजनीतिको कोर्स करेक्सन गर्नुपर्छ भनेर भन्नु भएको थियो। प्रतिनिधि सभा, प्रदेश सभाको निर्वाचनमा नेपाली जनताले कुनै पनि गणतन्त्रवादीलाई एकल बहुमतको सरकार चलाउने अनुमति नदिएपछि नेपाली जनताले राजनीतिको कोर्ष करेक्सन गरे। नेपाली जनताले पत्यार गरेर गएको प्रतिनिधि सभामा राप्रपालाई राष्ट्रिय दल बनाउँदा माधव नेपालको बाटी चुक्यो। राप्रपा त राष्ट्रिय मान्यता प्राप्त पार्टी भयो। यसले पनि केही संकेत गरेको छ।
अब यो प्रणाली टिक्दैन, यी दलहरूले काम गर्न सक्दैनन् भन्ने तपाईंको निष्कर्ष हो ?
अहिले पनि दलमा विश्वास छैन। हिन्दु राष्ट्रको पहिचान भारतमा देखिन थालेको छ। यो देशमा बिपी कोइरालाको तस्बिरमा माला लगाइन्छ र गणतन्त्र भनिन्छ। पृथ्वी नारायण शाहको सालिकलाई लात्ताले हानेर ढालेर आफूलाई नेपाली हुँ भन्छन्। सुन तस्करीका घटनाहरू आफ्ना ठाउँमा छन्। युद्ध अपराधको मुद्दा जसको विरुद्धमा सर्वोच्च अदालतमा छ। यो भन्दा बढी यो राज्य व्यवस्थाको अन्त्यको कुरा अरु के हुनसक्छ ?
प्रतिक्रिया