चार महिनादेखि अवरुद्ध सडक खुल्यो, स्थानीय खुसी | Khabarhub Khabarhub

चार महिनादेखि अवरुद्ध सडक खुल्यो, स्थानीय खुसी


२४ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– वर्षाका कारण खोलामा पानीको बहाव बढ्दा तमानखोला गाउँपालिकाका मुख्य तथा शाखा सडक चार महिनादेखि अवरुद्ध थिए । असारदेखि खोला र पहिरोका कारण अवरुद्ध भएका सडक गाउँपालिकाले खुलाउन थालेको छ । 

पहिरोले क्षति पुर्‍याएका सडक वर्षा रोकिँदा बित्तिकै खुलाएर गाडी सञ्चालन गरे पनि खोलामा पानीको सतह नघट्दा खुङ्खानी, नर्जाखानी, तमान लाम्मेला लगायतका गाउँबाट पालिकाको केन्द्र बोङ्गादोभान आउन समस्या थियो । गाउँपालिकाले सोमबारदेखि अवरुद्ध सबै सडक सञ्चालनका लागि मेसिन प्रयोग गरेको छ । खोलामा ढुङ्गा हालेर यातायातका साधन वारपार गर्ने सक्ने बनाइएको छ ।

चार महिनापछि सडक सञ्चालनमा आएपछि स्थानीयमा खुसी छाएको छ । बोङ्गादोभान बजार हुँदै पालिकाका सबै वडामा पुग्नुपर्छ । बोङ्गादोभानकै छेउमा बोङ्गाखोलातमानखोला बग्ने हुँदा वारपारमा निकै समस्या थियो । वडा नं २ को खोलेस्बाङबाहेक सबै वडामा पुग्न खोला पार गर्नुपर्ने हुँदा वर्षातका चार महिना सिधा यातायात हुन सकेन । 

बोङ्गाखोलामा मोटरेबल पुल निर्माण हुन थालेको वर्षौं बितिसक्दा पनि अहिलेसम्म काम नसकिँदा यात्रुले सास्ती खेप्नु परेको छ । बोङ्गाखोलामा पुल बने वडा नं ३ को तमान र ४ को लाम्मेलाबाहेक अन्य वडामा बर्खामा पनि सिधा यातायात सञ्चालन हुन सक्थ्यो । दुई वर्ष अगाडिसम्म बुर्तिबाङ बजारदेखि बोङ्गादोभानसम्म पुग्न दुई स्थानमा गाडी परिवर्तन गर्नुपथ्र्यो । ढोरपाटन नगरपालिका–४ हुद्राफेँदीभालिबाङ खोलामा दुई मोटरेबल पुल निर्माण भएपछि बाह्रै महिना यातायात सञ्चालन हुन थालेको छ । अहिले पालिकाको केन्द्रदेखि वडा नम्बर २ को खोलेस्बाङबाहेक अन्य सबै वडामा बर्खामा सिधा यातायात सञ्चालन हुन सक्दैन । 

वडा नम्बर ३ को तमान गाउँ र लाम्मेला बुर्तिबाङदेखि खुङ्खा हुँदै सञ्चालन भए पनि पालिकाको केन्द्र बोङ्गादोभानदेखि भने हुन सक्दैन । करिब चार महिना सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य सामान ढुवानी तथा यात्रा गर्न निकै समस्या भोग्नुपरेको स्थानीय शेरबहादुर सिर्पालीले बताए। तमानखोला–५ का सिर्पालीले गाउँको सडक निकै साँघुरो र अप्ठ्यारो रहेको भन्दै हिउँदमा जसोतजो गाडी चले पनि बर्खामा ठप्प हुने गरेको बताए। सडकले गाउँमा नजोडिँदा हिँडेरै बजार पुग्ने र सामान बोकेरै ल्याउने गरेको सुनाउँदै उनले सडक आए पनि अहिले खोलाहरुमा पुल नबन्दा पहिलेको जस्तै हिँड्नु पर्ने अवस्था रहेको सिर्पालीले गुनासो पोखे । 

पहिले गाउँमा नुन, चामल ल्याउनु परे घोडा खच्चडको प्रयोग गरेको भन्दै गाउँ सडकले जोडिएपछि घोडाखच्च विस्थापित हुँदा मान्छेले नै बोक्नु परेको उनको भनाइ छ । ‘गाउँमा सडक आयो अब त भारी बोक्न नपर्ला, टाढा–टाढा जाँदा गाडीमै चढेर जान पाइएला भनेका थियौँ, तर बर्खामा त्यो सुविधा पाएनौँ, त्यस बोल अहिलेको जस्तो यस्तो ठूला–ठूला सडक थिएनन्, साना गोरेटो बाटोमा हिँड्थ्यौँ, घोडाखच्चड पनि तिनै बाटोमा हिँड्थे’, सिर्पालीले भने, ‘टाढा जानु पर्‍यो भने घोडा चढेर जान्थ्यौँ, अहिले गाडी घरमै पुगेका छन्, तर बर्खामा चल्दैनन् ठूलो पुल चाहियो, पहिला काठको पुल बनाएर खोला तथ्र्यौं, खोला तर्दा धेरैले ज्यानसमेत गुमाए, गाउँगाउँमा सडक पुगेपछि मान्छेले खच्चड पाल्न छाडे, भारी मान्छेले नै बोक्नु पर्‍यो ।’

तमानखोला–६ नर्जाखानी सबैभन्दा टाढाको वडा हो । बोङ्गादोभानदेखि नर्जाखानी, पात्ले र भित्रीवन पुग्न पाँच मोटरेबल पुलको आवश्यक पर्छ । वडा नं ५ को खुङ्खानी तीन, पहिरा तीन, स्याउला र हिजा पुग्न एउटा पुल तर्नुपर्छ । अहिलेसम्म कुनै पनि स्थानमा पुल नबन्दा स्थानीय मर्कामा छन् । स्थानीय तिलबहादुर घर्तीले बर्खामा गाडी नचल्दा बिरामीलाई अस्पताल पुर्‍याउन र सामान ढुवानी गर्न सबैभन्दा बढी समस्या हुने गरेको बताए । यहाँका धेरै गाउँ खोला पार गरेपछि मात्रै पुग्न सकिने हुँदा अहिलेसम्म एउटा पनि बन्न नसकेको घर्तीको गुनासो छ । 

उनले भने, ‘अहिले खोलामा पानी घरटेको छ, गाउँपालिकाले त्यही भएर होला डोजर लगाएर गाडी चलाउन थालेको छ, असारको पहिलो सातादेखि खोलामा गाडी तर्न छोडेको, खोला बढेर आएपछि गाडी पनि वारीको वारी, पारीको पारी भएका थिए, हिजोबाट अलिअलि चल्न थालेका छन्, महिनौँपछि गाउँमा गाडी आउँदा पनि खुसी लाग्दो रैछ, बर्खाको समयमा दुर्गम गाउँमा मान्छेले निकै दुःख पायौँ, राज्यले हाम्रो दुःख, समस्या कहिले देखेर पुल बनाउला?’

तमानखोलाका अध्यक्ष जोकलाल बुढा मगरले चाडबाड नजिकिएसँगै अवरुद्ध सडक सञ्चालन गर्न थालेको बताए। खोलामा पानीको बहाव पनि केही कम भएको हुँदा यातायातका साधान सञ्चालन हुने गरी सडक खुलाउन थालेको उनको भनाइ छ । बोङ्खानीखोलामा दुई वर्ष अगाडिदेखि पुल निर्माण गर्न थाले पनि अहिलेसम्म सम्पन्न हुन सकेको छैन । पुल बनेको भए पालिकाका अधिकांश वडामा बर्खामा पनि यातायातका साधन सञ्चालन हुने अध्यक्ष बुढा मगरले बताए । निर्माण कम्पनीले समयमै काम गर्न नसक्दा तमानखोलाका हजारौँ नागरिकले सास्ती खेप्नु परेको उनको भनाइ छ । 

नर्खाखानी पुग्न घट्टबोटघाट, भिकोसघाट, खुङनीघाट, खुङ्गानीबगर घाट र नर्जाबगर घाट गरी पाँच स्थानमा मोटरेबल पुल आवश्यक परे पनि अहिलेसम्म कुनै पनि ठाउँमा पुल बनाउन नसकिएको अध्यक्ष बुढा मगर बताउँछन्। बर्खाका लागि स्थानीयले हिउँदमै सामान खरिद गरेर राख्नुपर्ने अवस्था रहेको भन्दै हिउँदमा खरिद गरेर राखेको सामानको म्याद बर्खा भरिमा गुज्रिसक्ने उनले बताए । त्यही सामान स्थानीयले उपभोग गर्दा बिरामीसमेत पर्ने गरेको बुढा मगरको भनाइ छ । 

वडा नं ३ को तमान, लाम्मेला गाउँ हुँदै म्याग्दी पुग्न ढोमइघाटशेर्माखोला घाटमा पुल आवश्यक भए पन यहाँ पनि अहिलेसम्म पुल बनेको छैन । वडा नं २ को बोङ्गानी, मुठाचौर लगायतका गाउँसम्म पुग्न बेसीघाटबोङ्गानीघाटमा मोटरेबल पुल आवश्यक पर्ने उनको भनाइ छ ।

‘तमानखोलामा धेरै खोला छन्, एक गाउँदेखि अर्को गाउँसम्म पुग्न खोला तर्नुपर्छ, सबै ठाउँमा मोटरबाटो त पुर्‍यायौँ, तर मोटरेबल पुल निर्माण गर्न सकेको छैनौँ, एउटै पुल निर्माण गर्न करोडौँ बजेट लाग्छ, त्यो बजेट पालिकासँग हुँदैन’, अध्यक्ष बुढा मगरले भने,  ‘धेरै पुल निर्माण गर्नुपर्ने छ, माथिल्लो सरकारसँग नै माग गर्नुपर्छ, माथिल्लो निकायबाट सहयोग भयो भने पुल बनाउन सहज हुने थियो ।’

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  २ : ५६ बजे

भेनिस चलचित्र महोत्सवमा प्रदर्शन हुँदै ‘पूजा, सर’

काठमाडौं – विश्वकै पुरानो मानिने ‘भेनिस चलचित्र महोत्सव’ को ‘ओरिजोन्टी

विपद्को डरले वर्षायाममा रातभर निदाउँदिन : मुख्यमन्त्री पाण्डे

पर्वत –गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले वर्षायाम लागेपछि रातभर निद्रा

विमान दुर्घटनाको नालीबेली : ७० दुर्घटना, ९६४ जनाको मृत्यु

काठमाडौं– नेपालमा हवाई उडानको इतिहास धेरै लामो छैन । आजभन्दा

ऋण पुनर्संरचनापछि जापानद्वारा श्रीलङ्कालाई पुनः आर्थिक सहयोग

कोलम्बो – सफलतापूर्वक आफ्नो विदेशी ऋणको पुनर्संरचना गरेपछि मुख्य अन्तर्राष्ट्रिय

एआइजी डा सिंहको बिदाइ

काठमाडौं – नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरले प्रहरी सेवाबाट सेवानिवृत्त