विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


२४ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

आज आश्विन २४ २०८० या अंग्रेजी क्यालेन्डर अनुसार अक्टोबर ११, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

इजरायलको हवाइ आक्रमणमा हमासका अर्थमन्त्री मारिए

इजरायलले गरेको प्यालेस्टाइनी लडाकु समूह हमासविरुद्धको हवाइ आक्रमणमा हमासका दुई जना पोलिटब्युरो सदस्य मारिएका छन् ।

इजरायलले गाजा पट्टीमा गरेको हवाई आक्रमणमा जकारिया अबु मुअम्मर र जवाद अबु शमाला मारिएको बताइएको छ । हमासले पनि इजरायलतर्फ हवाई र स्थलगत आक्रमण जारी राखेको छ ।

इजरायली सेनाका प्रवक्ता अविचय अद्राईका अनुसार हवाइ आक्रमणमा मारिने अबु शामाला हमासका अर्थमन्त्री समेत हुन् । शमालाले हमासको वित्तीय मामिला हेर्दै आएका थिए भने गाजाभित्र र बाहिर वित्त तथा प्रत्यक्ष कार्यक्रम सञ्चालनका लागि रकम विनियोजन गर्थे ।

इजरायली सेनाले अबु मुअम्मरलाई आन्तरिक सम्बन्धको कार्यालयको प्रमुख र ‘हमासको वरिष्ठ योजनाकार’ र गाजामा सशस्त्र समूहहरूको बीचमा समन्वयकको भूमिका खेल्ने हमासको उच्च अधिकारीका रूपमा उल्लेख गरेको छ ।

इजराइलमा मृत्यु हुनेको सङ्ख्या १२ सय पुग्यो

इजराइल–हमास द्वन्द्वमा एक हजार दुई सयभन्दा बढी इजराइलीहरूको मृत्यु भएको इजराइलको प्रतिरक्षा फौज (आईडीएफ) का प्रवक्ताले बुधबार बताएका छन् । यो सङ्ख्या यसअघि बताइएको एक हजारभन्दा बढी हो ।

“मृत्यु हुनेको सङ्ख्या एक हजार दुई सय पुगेको छ”, आईडीएफका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल जोनाथन कन्रिकसले एक भिडियो सन्देशमा भने । उनले मारिनेहरूमा अधिकांश सर्वसाधारण रहेको जानकारी दिए ।

यसैबीच इजराइलले गाजा पट्टीमा रातभर गरेको हवाई हमलामा कम्तीमा ३० जनाको मृत्यु भएको र सयौँ घाइते भएको हमास सरकारका एक अधिकारीले बुधबार बताएका छन् ।

हमास सरकारको सञ्चार कार्यालयका प्रमुख सलमा मरुफले इजराइली हमलामा दर्जनौँ आवासीय भवन, कारखाना, मस्जिद र पसलहरू प्रभावित भएको एएफपीलाई जानकारी दिए । इजराइली सेनाले रातको समयमा हमासका थुप्रै लक्ष्यमा आक्रमण गरेको पुष्टि गरेको छ ।

अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प

अफगानिस्तानमा बुधबार छ दशमलव एक म्याग्निच्युडको भूकम्प गएको छ । आज बिहान ६ः११ बजे १० किलोमिटरको गहिराइमा भूकम्प गएको एनसीएसले उल्लेख गरेको छ । भूकम्पबाट अहिलेसम्म हताहतको कुनै समाचार आएको छैन । थप विवरणको प्रतीक्षा गरिएको छ ।

तालिबान नेतृत्वको मन्त्रालयलाई उद्धृत गर्दै खामा प्रेसले अफगानिस्तानको हेरात प्रान्तमा गत शनिबार गएको भूकम्पमा परी चार हजारभन्दा बढीको ज्यान गएको र हजारौँ आवासीय घर क्षतिग्रस्त भएको बताएको छ ।

शनिबार हेरातमा २० गाउँका एक हजार नौ सय ८३ घर क्षतिग्रस्त भएको अफगानिस्तानको तालिबान नेतृत्वको विपद् व्यवस्थापन मन्त्रालयले जनाएको छ । यद्यपि तालिबानले हेरातमा भूकम्पमा परी मर्ने र घाइतेहरूको विवरण खुलासा गरेको छैन ।

तालिबान नेतृत्वको मन्त्रालयले सोमबार भूकम्प गएको क्षेत्रमा एक हजार व्यक्तिसहित ३५ राष्ट्रिय तथा विदेशी उद्धार तथा खोज कार्यमा रहेको जनाएको खामा प्रेसले बताएको छ ।

तालिबानले भग्नावशेषमा पुरिएका उद्धार र राहत कार्य जारी रहेको बताएको छ । हेरात भूकम्पका पीडितहरूलाई युरोपेली युनियन र विश्व स्वास्थ्य सङ्गठनले नगद, खाद्यान्न र चिकित्सा सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

इजराइल-हमास द्वन्द्वमा टर्कीएद्वारा मध्यस्थताको प्रस्ताव

टर्कीएका राष्ट्रपति रेसेप तय्यप एर्दोगानले हमास–इजराइल द्वन्द्वको मध्यस्थताका लागि प्रस्ताव गरेका छन् । उनले यसका लागि आफ्नो कूटनीतिक प्रयासलाई निरन्तरता दिने बताएको टर्कीमा रहेको अनाडोलु समाचार समितिले जनाएको छ ।

‘यदि दुवै पक्षले अनुरोध गरेको खण्डमा बन्दीहरूको आदानप्रदानसहित कुनै पनि प्रकारको मध्यस्थताका लागि टर्कीए तयार रहेको म बताउन चाहन्छु’ एर्दोगानले भने, ‘हामीले केही समयदेखि कायम राख्दै आएको हाम्रा कूटनीतिक सम्पर्कहरूलाई निरन्तरता दिइरहेका छौँ र पछिल्ला दिनमा हामीले यसलाई अझ गति दिएका छौँ ।’

आतङ्ककारी समूह हमासले इजरायलमा अप्रत्याशित आक्रमण गरेपछि राष्ट्रपति एर्दोगानको उक्त टिप्पणी आएको हो । हमासको आक्रमणसँगै इजरायललाई युद्धको घोषणा गर्न बाध्य बनाएको थियो । युद्ध नैतिक बन्धनको अधीनमा रहेकोमा जोड दिँदै टर्किएका राष्ट्रपतिले भने, ‘दुवै पक्ष यो नैतिक बन्धनको पालना गर्न बाध्य छन्, हामीले सधैँ भने जस्तो न्यायपूर्ण शान्तिमा कसैले पनि हार्दैन ।’

उनले इजरायललाई प्यालेस्टिनी क्षेत्रहरूमा बम आक्रमण रोक्न र प्यालेस्टिनीहरूलाई इजराइलमा नागरिक बस्तीहरूमा उत्पीडन रोक्न आग्रह गरे। उनले मानवीय विवेक प्रयोग गर्न आग्रह गर्दै यस्तो मध्यम कदमले शान्तिको ढोका खोल्ने बताए।

‘हवाई तथा जमिन आक्रमणबाट गाजाको विनाश, मस्जिदमा बम आक्रमणका साथै अबोध बालबालिका, महिला, वृद्ध र नागरिकहरूको मृत्यु कहिल्यै स्वीकार्य छैन’ ,उनले भने ।

आतंकवादविरोधी कारवाहीमा पाकिस्तानमा दुईको मृत्यु

पाकिस्तानको उत्तरपश्चिम खैवर पख्तुनख्वा प्रान्तमा सुरक्षा बलले गरेको छुट्टाछुट्टै कारवाहीमा दुई आतंककारी मारिएको पाकिस्तानीनी सेनाले जनाएको छ ।

सेनाले प्रान्तीय डेरा इस्माइल खान जिल्लाको जासुसी–आधारित कारवाहीमा दोहोरो भिडन्तमा एक आतङककारीलाई मार्न सफल भएको सेनाको मिडिया शाखाले इन्टर सर्भिस पब्लिक रिलेसनले विज्ञप्तिमा उल्लेख गरेको छ । मारिएका आतंतककारी हमला तथा सुरक्षा बलविरुद्ध गतिविधिमा सक्रिय रहेको सेनाले जनाएको छ ।

यसैगरी उत्तरी वाजिरिस्तान जिल्लामा आतंककारीसँग भएको अर्को भिडन्तमा सेनाले लुकेर बसेका अर्का आतंककारीलाई मारेको जनाएको छ । उक्त आतंकरीबाट हतियार र गोलाबारुद बरामद गरेको पनि सेनाले बताएको छ ।

चीनमा तीन वर्षदेखि थुनामा रहेकी पत्रकार अस्ट्रेलिया फर्किन्

जासुसी गरेको आरोपमा दोषी ठहर भई चीनमा तीन वर्ष थुनामा रहेकी चिनियाँ मूलकी एक अस्ट्रेलियाली पत्रकार अस्ट्रेलिया फर्केको अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले बुधबार बताएका छन् ।

उनका अनुसार पत्रकार चेङ लिसँग आफ्ना दुई सन्तानसँग मेलबोर्नमा पुनर्मिलन भएको छ । ४८ वर्षीया चेङ चीनको सरकारी प्रसारक सीसीटिभीको अन्तर्राष्ट्रिय विभागमा काम गर्थिन् ।

“उहाँको मुद्दा चीनमा कानूनी प्रक्रियाबाट टुङ्गिएको थियो”, प्रधानमन्त्री अल्बानिजले पत्रकारहरूसँग भने । पत्रकार चेङको फिर्ती अल्बानिजको यो वर्ष नियोजित बेइजिङ भ्रमणअघि भएको छ ।

यद्यपि प्रधानमन्त्री अल्बानिजको बेइजिङ भ्रमणको मिति टुङ्गो लागिसकेको छैन । अल्बानिजको सरकारले सन् चेङ र सन् २०१९ देखि चीनमा थुनिएका चिनियाँ मूलका अस्ट्रेलियाली नागरिक याङ हेङ्जनको रिहाइका लागि लबिङ गरिरहेको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  ७ : ५८ बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः