फाल्गुनन्दको जन्म वि.सं. १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा भएको थियो । आज हामी फाल्गुनन्दको १३९ औं जन्मजयन्ती मनाइराखेका छौँ । किरात, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उनको चर्चा हुने गरेको छ । फाल्गुनन्दले गरेका सामाजिक-धार्मिक गतिविधि हेर्दा उनी नितान्त हिन्दु जोसमनि-पन्थबाट पूर्णरुपमा प्रभावित लाग्छ ।
फाल्गुनन्दलाई हामीले सामाजिक अथवा समाज सुधारकका रुपमा लिन्छौं । कसरी समाज सुधारक भन्दा हाम्रो लिम्बुवानमा त्योबेला किपट प्रथा थियो । किपट प्रथाभित्र भोगबन्दीको प्रथा चल्थ्यो । त्यतिबेला लिम्बुहरूले बाहुन र क्षेत्रीकहाँ आफ्नो जग्गा जमिन भोग बन्धकीमा राख्ने परम्परा थियो । भोग बन्धकी राखेको जग्गा साँवा फर्काएको दिन मात्र लिम्बुको हातमा फिर्ता हुन्थ्यो । मासी कट्टामा जग्गा लगेर साहुकोमा राखिन्थ्यो र साँवा जग्गाको आम्दानी अनुसार प्रत्येक वर्ष काँटिदै जान्थ्यो ।
यो प्रथाले लिम्बूहरूलाई निराश बनायो । भएका जग्गा जमिन सबै साहुकोमा राखिन्थ्यो । आफ्नो बाबु मर्दा साहुसँग ऋण काढ्ने, आमा मर्दा त्यो साँवा थपिने भयो । यसले गर्दा दिनदिनै आफ्नो पुर्ख्यौली भूमिसँग लिम्बुको सम्बन्ध टुट्दै गयो । यो भयानक दृश्यलाई विचार गरेर फाल्गुनन्दले यसरी भोग बन्धकमा जग्गा राख्नुपर्ने कारण लिम्बूहरूको खर्चालु संस्कृतिलाई औंल्याए ।
जस्तो– आफ्नो परम्परा र संस्कारमा बाख्रा मार्नुपर्ने, भैंसी मार्नुपर्ने, राँगा मार्नुपर्ने, सुँगुर मार्नुपर्ने एउटा संस्कारका कारण लिम्बुहरू ऋणमा फस्नु परेको र जग्गा गुमाउँदै गएको भनेर फाल्गुनन्दले जाँड खानु हुँदैन, मासु खानु हुँदैन, खर्चालु संस्कृतिलाई त्याग्नुपर्छ भनेर अभियान नै चलाए । फाल्गुनन्दले विसं १९८८ मा एउटा सत्य धर्म मुचुल्का गरे । त्यो पाँचथरको सिटौलीमा जस्तो लाग्छ । त्यहाँबाट धेरै लिम्बुहरूले जाँड, रक्सी र मासु खान छोडे । त्यसपछि लिम्बूहरूको आर्थिक अवस्थामा पनि सुधार आयो । यो अर्थमा चाहिँ मैले र धेरै मान्छेले फाल्गुनन्दलाई समाज सुधारकका रुपमा चिन्ने गर्दछौँ ।
फाल्गुनन्दको सुधारको पक्ष एउटा सकारात्मक पाटोका रुपमा आयो । समाज सुधारकसँगै उनले जोसमनि पन्थबाट प्रभावित संस्कारी जीवन हिन्दु धर्मबाट सुरु गरे । जसअनुसार लिम्बूहरूको संस्कार, परम्परा र रीतिरिवाजलाई निमिट्यान्न पारियो । लिम्बूहरूमा श्रीजंगा थेबेले चलाएको श्रीजंगा लिपि थियो । त्यो लिपिको उनले र उनका चेलाले प्रयोग गरे । तर, लिम्बुहरुको परम्परागत संस्कार छोडियो र हिन्दु धर्मबाट लिम्बुको संस्कारलाई अतिक्रमित गराइयो ।
हामी लिम्बूहरूको आध्यात्मिक ज्ञान भनेको मुन्धुम हो । त्यहाँ छुट्टै दर्शन छ । यो ब्रह्माण्ड सञ्चालनमा पशु, पन्छी, बोटविरुवा र मान्छेको अस्तित्व समान हुन्छ । यो भूमिका समान हुने कुरा लिम्बु वा याक्थुम्बा दर्शनले भन्छ । हाम्रो मुन्धुममा फाल्गुनन्दले हाम्रा पुर्खाको नाम लेखेनन् ।
बोटविरुवाको नाम लेखेनन् । हाम्रा मुन्धुमी स्थलको नाम लेखेनन् । उनका चेला बद्रीनन्द तुम्बापो लगायतले त्यसलाई समेट्न सकेनन् । हाम्रो मुन्धुममा हाम्रो घर, आँगन, चुल्हो, मूल खाँबो, माथिल्लो तला, धुरी, आँगन, बारी, जंगल हुँदै हुँदै हिमालसम्मको व्याख्यात्मक वर्णन छ । सबै व्याख्या गरेर बलेंसी, आँगन, तितेपातीघारी हुँदै करेसा हुँदै, बाटाभरि चरा हुन्छन् । जनावर र पशुपन्छीको वर्णन हुँदै जान्छ । सबैको नामाकरण हुन्छ ।
त्यो भित्र पशुपन्छी, बोटविरुवा, पोखरी, खोलानालाको विषय समेटिएको हुन्छ । अहिलेको पर्यावरणको सबै व्याख्या त्यसभित्र छ । हाम्रा पूर्खासँग खेल्ने, हाँस्ने, प्राकृति विपत्तिको सामना गर्ने विषयमा चर्चा हुन्छ । मुन्धुमी ज्ञानमा प्राकृतिक विपत्तिबाट बच्न हाम्रा याक्थुम्बा, लिम्बु, फेदेङबाले सिकाएका हुन्छन् । हाम्रो उत्पत्ति थलोलाई महत्त्व दिएका छन् ।
बाढी, पहिरो, डढेलो लाग्ने विपत्तिबाट बच्नका लागि हाम्रा फेदाङ्बा र साम्बाले स्तुति गर्छन् । तर फाल्गुनन्दले चलाएको ‘सत्यहाङ्मा मुन्धुम’ मा यी कुरा छैन । लिम्बूहरूको सातो बुझाउने संस्कार फरक हुन्छ । लिम्बुको थर र ठाउँ अनुसार विधि हुन्छ । तर, फाल्गुनन्दले लिम्बूहरूको पूर्खालाई बिर्सिएको देखिन्छ । त्यसैले फाल्गुनन्दलाई चिन्दा समाज सुधारकका रुपमा मात्र चिन्नु हुँदैन । उनले अहिले चलाएको जुन सत्यहाङमा मुन्धुम छ, त्यसले लिम्बुको परम्परा र संस्कृतिलाई छुटाएको छ ।
फाल्गुनन्दका चेलाले परम्परागत स्थलमाथि अतिक्रमण गरेका छन् । फाल्गुनन्दका शालिक अर्थात् समाज सुधारकका शालिक चोकचोकमा हुनुपर्ने हो । तर अहिले सत्यहाङमाले लिम्बूहरूको उत्पत्तिस्थल ओढार, खोला, नाला र पाखामा लगेर उनका शालिक राखेका छन् । यसले फाल्गुनन्दले प्राप्त गरेको उच्च मर्यादालाई घटाउने काम सत्यहाङमा र उनका चेलाहरुले गरेका छन् ।
भाषा र लिपिमा फाल्गुनन्दले चलाएको अभियानलाई उनका चेलाले पनि निरन्तरता दिएका छन् । यसलाई हामीले मान्नुपर्छ । तर केही कुरा यसमा पनि कमजोरी छन् । लिम्बुहरुका देउतालाई शुक्र भनेका छन् । यसरी उनीहरूले अतिक्रमण गरेका छन् । किरात धर्मभित्र सत्यहाङमा चरु होम गर्छन् । जो बाहुनहरुले गर्छन्, त्यसलाई अनुशरण गरिएको छ ।
अर्कोतर्फ किराती धर्म मान्ने थाक्थुम चुम्लुङले पहिला लिम्बुले जे गर्दै आएका थिए, त्यही गर्ने चलन छ । सत्यहाङमाहरु जहाँबाट पैसा प्राप्त हुन्छ, त्यही लागेको देखिन्छ । युरोपमा पास्टरले भेटी दिने गरेको पाइन्थ्यो, त्यही कुरा आएको देखिन्छ । यसले लिम्बूहरूको संस्कृतिमाथि प्रहार भएको देखिन्छ ।
याक्थुम्बाहरुले मान्ने लिम्बू संस्कार छ । हामी लिम्बुहरू धर्म बोकेका समुदाय होइनौँ, लिम्बू जातिमा धर्म भन्ने शब्द नै छैन । हामी परम्परा र संस्कृतिवादी हौँ । राजनीतिक रुपमा अहिले किरात शब्दले लिम्बूहरूलाई समस्यामा पारेको छ । यसको प्रमुख कारण फाल्गुनन्दका चेलाले किरातको नाममा चलाएको हिन्दु संस्कार, संस्कृति हो ।
किरात याक्थुङ चुम्लुङले पनि आफ्नो धर्म र संस्कृतिका नाममा चलाएको अभियानमा खोट देख्छु । हाम्रो परम्परा, संस्कार र संस्कृतिलाई किरातले प्रहार गर्दै लगेको छ । यसको प्रमुख कारण फाल्गुनन्दले लिएको जोसमनिपन्थ हो । यसको प्रभावले हिन्दु धर्मको प्रभाव हामीमाथि परेको छ । अहिले हामी फाल्गुनन्दको ११६ औं जन्मजयन्ती मनाइराखेका छौँ । फाल्गुनन्दलाई समाज सुधारक मात्र बनाऔँ ।
सरकारले राष्ट्रिय विभूति तोकेको छ । जसको राजनीतिक पहुँच हुन्छ, उसले विभूति बनाएको हो । राष्ट्रिय विभूति बनाउन सुवास नेम्वाङको ठुलो योगदान छ । इलाममा एमालेलाई भोट पाउनका लागि यो राजनीतिक रुपमा अगाडि बढेको प्रस्ताव हो । त्यसमा हाम्रो आपत्ति होइन । उनको समाज सुधारक र सादगी जीवन थियो । जुनसुकै पथ लिए पनि उनले केही सकारात्मक काम गरेका छन् ।
लिम्बुहरू खर्चालु संस्कृतिकै कारण जग्गा, जमिन र पुर्ख्यौली भूमिबाट बञ्चित हुनुपर्ने अवस्थाबाट रोक्न उनको भूमिका छ । लिम्बूहरूको संस्कार र संस्कृतिमा बेलायतमा म्याग्नाकार्टा भनेजस्तै लिम्बुहरूले उनका कुरालाई लिनुपर्छ । समाज सुधारकका रुपमा फाल्गुनन्दलाई चिन्नुपर्छ । फाल्गुनन्दको सादगी जीवनलाई हामीले अपनाउन सक्नुपर्छ । त्यसरी अगाडि बढ्दा मात्र फाल्गुनन्दप्रति श्रद्धाञ्जली र सम्मान हुन्छ भन्ने लाग्छ ।
(मुन्धुमविद् एवं तेह्रथुमको म्याङलुङ नगरपालिकाका मेयर अर्जुनबाबु माबुहाङसँगको कुराकानीमा आधारित)
प्रतिक्रिया