न कमाएको धन, न रमाएको मन | Khabarhub Khabarhub

न कमाएको धन, न रमाएको मन



एउटा गाउँमा एकजना बुद्धिचालका प्रकाण्ड खेलाडी रहेछन् । उनको प्रसिद्धि गाउँदेखि सहरसम्म फैलिएको थियो । आफ्नो इलाकामा कसैले पनि उनलाई हराउन सक्दैनथे । यही कारण उनमा घमण्ड पलाएको थियो । बुद्धिचालको पारङ्गत ठानेर घमण्डले चुर उनले आफ्नो घरको मूलढोकामा समेत लेखेका थिए– बुद्धिचाल बादशाह ।

एकदिन अर्को गाउँका कुनै अपरिचित बटुवा झमक्क रात पर्नै लाग्दा लङ्गडो घोडा डाेर्‍याउँदै बुद्धिचाल बादशाहको घर आइपुगे । उनले बुद्धिचालका महारथीसँग आफू बुद्धिचाल खेल्न इच्छुक रहेको बताए । आफू जो पायो त्यहीसँग खेल खेल्न इच्छुक नभएको भन्दै तिनले कुनै बाजी राखे मात्र खेल्न तयार रहेको सर्त तेर्स्याए ।

ती बटुवाले आफूसँग बिरामी घोडा बाहेक केही नभएको तर बुद्धिचाल खेल्ने ठूलो इच्छा भएकाले बाजीमा त्यही घोडा राख्ने अड्डी लिए । खेलाडी राजी भए । खेल शुरु भयो । नभन्दै ५, ७ चाल नचाल्दै बटुवा हारे । घोडा महारथीलाई बुझाएर उनी बाटो लागे । यता बुद्धिचाल महारथी बिरामी घोडाको उपचार गरेर त्यसलाई आफ्नो काममा लगाउन थाले । केही दिनपछि बटुवा फेरि त्यही गाउँ हुँदै फर्किए । फर्किदा पनि उनले आफू हारेमा सयवटा सिक्का दिने र जितेमा आफ्नो घोडा फिर्ता लिने सर्त गरेर बादशाहलाई खेल्न राजी गराए ।

यसपटक भने ४, ५ चाल चल्ने बितिक्कै बुद्धिचाल बादशाह नराम्ररी हारे । ती बटुवा कुनै साधारण खेलाडी नभई अत्यन्त निपूर्ण र प्रतिभाशाली खेलाडी भएको सबैले थाहा पाएपछि उनलाई सबैले अघिल्लो पटक हार्नुको कारण सोधे । ती बटुवाले बेलिविस्तार लगाए– ‘पहाडभन्दा ठूलो अर्को पहाड, आकासभन्दा बाहिर अर्को आकास हुन्छ । त्यसैले घमण्ड गर्नु हुँदैन । अघिल्लो पटक हिँड्ने क्रममा मेरो घोडा बिरामी भयो । त्यसैले यसको निःशुल्क उपचार र हेरचाह गराउनका लागि मात्र मैले यस्तो चाल चालेको थिएँ ।’

महाभारतको विध्वंशकारी लडाईंको केन्द्रविन्दु अन्ततः सत्ता नै थियो । तर जब महाभारत सकिएर सत्ताको साँचो पाण्डवहरूको हातमा पुग्यो, त्यसपछि पाण्डवहरूलाई वैराग्यले सताउन थाल्यो । पाण्डवहरूका अग्रज युधिष्ठिर सत्ता सम्हाल्न हैन, बरु धर्मभीरु भएर सन्यासी बन्ने तर्खरमा लाग्न थाले । महाभारतका डन कृष्ण इहलीलाको बाटो खोज्न थाले । अर्जुन आफूले यी सारा कर्म ‘दाजुका लागि गरिदिएको’ भनेर पन्छिन थाले । युद्ध जितेको भन्दा छोरो कर्ण आफ्नै सन्तानको हातबाट मारिएको पीडाले कुन्तीलाई उठी सुख न बसी सुख पारेको थियो । लडाईंका नियम मिचेर हात पारिएको त्यो सत्तामा कसैको मोह देखिएन ।

राजनीतिको खोल ओढेर उत्ताउलिनेहरूको पखेटा बारम्बार काटिएका उदाहरण छन् । जहाजमा तेल बोकेर जनताको टुकी बाल्ने दुस्साहसले मरिचमानलाई खायो । चोरी औंलो उठाएर ‘म नै राज्य हुँ’ भन्ने सोच पालेका गिरिजाप्रसाद जब गल्ती महसूस गर्ने अवस्थामा आए, त्यसपछि जीवनको उत्तरार्द्धमा मलामी बटुल्न सफल भए । प्रधानमन्त्री खान राइटर बाजे, लक्ष्मण खड्काको कुम कुममा पुग्ने देखि लिएर ब्रह्मनालमा आमाको शब छोडेर मयलपोश सुरुवाल लाउन चम्किएका माधव नेपाल पटकपटक राजनीतिमा हण्डर खाए । जब उनमा परिपक्वता आयो, गल्ती केस्रा केस्रा केलाएर आफूले आफैँलाई सच्याए, आखिर फेरि माया पाए ।

इतिहासले लौहपुरुष बनेका गणेशमान परिवारलाई राजनीतिक ब्याज ख्वाउने कसरतमा लागेकैले जिन्दगीभर विरुवादेखि पानी हालेर बनाएको रुख छोडी अन्ततः हात्ती छापको वियोगान्त कथामा खुम्चिएर महायात्रामा लाग्नु पर्‍याे । नेपाल सिंगापुर बनाउँछु, जाँड खान संसद जान लागेको भन्ने खालका सस्ता कुरा गर्दा सादगी महापुरुष कृष्णप्रसाद भट्टराईजस्ता व्यक्तित्व अन्ततः विद्या भण्डारीको सेतो सारीले इतिहासको भट्टीमा गालिएको त्यो साखमा धावा बोल्यो ।

स्थानीय चुनावमा पार्टीको दह्रो उपस्थिति बनाएपछि आफूलाई सिंह ठानेर पार्टी फुटाएका वामदेव आफ्ना कार्यकर्ता जति सबै माओवादीलाई बुझाएर म्याउँ गर्दै माउ पार्टीमा त फर्किए त उत्तरार्द्ध खोटो मोहरको जीवन बाँच्नु पर्‍याे । डडेल्धुराको रुवाखोलामा जन्मिएका शेरबहादुर नारायणहिटी धाउन थालेपछि ओढाइएको बाघको खोलको न्यानोले आफूलाई श्री ३ ठानेर के दल टुक्र्याएका थिए, ज्ञानेन्द्रले खोटा हानेपछि लागेको टुटुल्को सुम्सुम्याउँदै फेरि सानेपामा मिसिए ।

जनताको संगठन हुँदैन, तर सबैको हिसाब किताब तिनीहरूले राखेका हुन्छन् । नेपाल सिंगापुर जस्तो हैन, नेपालजस्तै बनाउनु पर्छ भन्ने अकाट्य सत्य बुझेका जनताले किसुनजीका बोली हावामा उडाइदिए । नेपाललाई स्वीट्जरल्याण्ड बनाउन विकासको मूल फुटाउने कागजी बाघमा लागेका पञ्चहरूको छाता पञ्चायत नै सिलटिमुर खायो । सलादजस्तो मिलेको समाजबाट फलफूलका टुक्रा चुडेर स्वार्थको रोटी सेक्नेहरू बढारिँदै जान थालेका छन् । धरहराभन्दा अग्लो बनाउन पनि नसक्ने, धरहराको विरोध गर्न पनि नछोड्ने अतिवादीहरूका लागि राजनीति घाँटीमा अड्किएको हड्डी जस्तो हुन पुगेको छ ।

यसैगरी नेपालको राजनीतिक इतिहासमा राजा महेन्द्र र बीपीको जस्तो मेल अपवाद नै थियो । कतिसम्म भने अन्तर्राष्ट्रिय मञ्चहरूमा बोल्दा राजा आफ्नो प्रधानमन्त्रीको खुलेर प्रशंसा गर्थे । कतै गयो कि बीपी र पत्नी सुशीलालाई उपहार ल्याइदिन्थे । रानीले आफ्नै हातले पकाएको खाना ख्वाउन बीपी निम्त्याइन्थे । तर एकाएक त्यो सम्बन्ध यसरी बिग्रियो कि जसका कारण त्यसको पीडा सम्पूर्ण देशले भोग्नुपरेको छ । दुई शक्तिलाई लडाएर नेपाली मनोविज्ञानमा खेल्ने देशी विदेशीले पुरै देश अवन्नतिको गर्तमा पुर्‍याए ।

नेपाली समाजमा रामको गाथा गाउनेको संख्या धेरै छ । तर तिनै रामले लक्ष्मणलाई आफूले मारेका रावणको खुट्टा ढोग्न लगाएर ज्ञानको कदर गरेका थिए । राम राज्यको आँखाबाट रावण राक्षस भएपनि उनी यति विद्वान थिए कि उनले त्यतिबेलै दुईवटा कृति लेखेका थिए । उनको तात्कालिन योजना आयोगले सुनको सिंढी बनाएर स्वर्ग र मर्त्यलोक जोड्ने योजना पारित गरेको थियो । युद्धको नियमलाई उनले कति पनि उल्लंघन गरेनन् ।

रामराज्यका जनता बदमासी गरेपछि आफैँ जेल जान्थे । हाम्रो राजनीति ज्यानमारा र अपराधीलाई माफी मिनाहा गराउन सक्रिय छ । पढ्न त सबैले पढ्छन् । प्रश्न हो– पढाइ अनुकूलको व्यवहार हुन्छ या हुँदैन ? भारतका पूर्वराष्ट्रपति एपीजे अब्दुल कलाम प्रत्येक दिन नमाज पढेपछि सितार बजाएर राम धुनमा रमाउँथे । यो चाहिँ पो हो त पढाइको सामर्थ्य  । खोइ उनको विद्वतामाथि कसले शंका गरेको छ ?

साहरूख खानलाई ट्वीटमा पछ्याउनेको संख्या साढे एघार करोड छ । उनले हिन्दु समुदायकी जीवनसाथी रोजेका छन् । छोराको नाम अविराम राखेका छन् । उनको कलामा प्रश्न उठाएको कसैलाई थाहा छैन । बरु उनको ख्याति झन्झन् बढ्दो छ । अर्का खान सलमानकी बहिनीको बिहे हिन्दु केटासँग भयो । मानव जीवनको सबैभन्दा शक्तिशाली विवेकको नेत्र हो । भएको तर्क सकिएपछि गर्ने कुतर्कले हाम्रा नेताहरूलाई झन्झन् निर्धो र भद्दा बनाउँदै लगेको छ । सत्यलाई कुतर्कको पर्दाले कहिल्यै छेक्न सक्दैन । बरु झन्झन् नाङ्गिन्छ । रहर र कहरमा पढेका कोरा ठेलीलाई शास्त्रीय मान्यता ठानेर सधैँ ढुङ्गाको अक्षर बनाउन खोज्नु भनेको समयको रफ्तार नबुझ्नु हो ।

समय अनुसार मान्यता बदलिन्छ । माओत्सेतुङको नाम मात्रले काँप्ने चिनियाँ समाज आर्थिक उदारीकरणको पराकाष्ठामा पुगेको छ । अबको १५ वर्षभित्र चीनले अमेरिकीलाई उछिन्ने प्रक्षेपण स्वयं पश्चिमाहरूले गर्न थालेका छन् । माओत्सेतुङको राजनीतिक आतङ्कलाई देङ सियाओ पिङको आर्थिक दूरदृष्टिले पाखा लगाइदिएको छ ।

सद्दाम हुसेनको सालिक बनाउन खुन, पसिना चुहाएका इराकीले घन चलाएर सालिक भत्काएका छन् । निर्धन ब्राम्हण चाणक्य विद्वान विशाल भारतीय साम्राज्यका प्रधानमन्त्री बने । चाणक्य नीति, कौटिल्यको अर्थशास्त्र आज अकाट्य मानव सूत्र बनेका छन् । प्रधानमन्त्री भएर पनि कुटीमा बस्थे । पढ्नु भनेको आफूलाई सरल बनाउनु हो । असल विचारमा उत्प्रेरित गर्नु हो । अरुको भलोमा आफू रमाउनु हो । अझ राजनीतिलाई जीवनपथ बनाउनेहरूले त दिनु, दिनु अनि फेरि दिइरहनुमा समर्पित गर्नुपर्छ । पैसा कमाउन त व्यापार गर्नुपर्छ, व्यापार । जसरी विशुद्ध राजनीति गर्नेहरू जनताको मनमा बस्न सक्छन्, व्यापार गर्नेहरू घरबाटै फर्कनु पर्छ ।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  ८ : ३० बजे

वाफ च्याम्पियनसिप : लेवनानलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौं । नेपाल पश्चिम एशियाली फुटबल फेडेरेसन (वाफ) वुमन्स च्याम्पियनसिपको

छ सय २० किलो गाँजा बरामद

मलेखु – धादिङको गजुरी गाउँपालिका–२, बिहानी पेट्रोलपम्प नजिकबाट प्रहरीले छ

कांग्रेस नेता सिंह भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंहलाई

प्रसारण लाइनको ठेक्का विवादसम्बधी मुद्दा खारेज

काठमाडौं – सर्वोच्च अदालतले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) को अनुदानमा

पूर्वप्रधानाध्यापकसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सुनसरी – सुनसरी कोसी गाउँपालिका–१ स्थित राष्ट्रिय माध्यमिक विद्यालय लौकहीका