खप्तड : पाहुना डाक्न नसकेको एउटा भू-स्वर्ग | Khabarhub Khabarhub

खप्तड : पाहुना डाक्न नसकेको एउटा भू-स्वर्ग



काठमाडौं– अछामको शिरमा रहेको खप्तड बाजुरा, डोटी, बझाङ र अछामको संगमस्थल हो । ‘भू–स्वर्ग’को उपमाले परिचित खप्तड समुद्री सतहदेखि ३२ सय मिटरको उचाइँमा रहेको छ । यसलाई २ सय २५ वर्ग किलोमिटर क्षेत्रफलले आफ्नो हिस्सा बनाएर सुरक्षित गरेको पाइन्छ । ठूला र साना गरी २२ वटा फाँट रहेका खप्तडमा फुल्ने रंगीचंगी फूल र फाँटछेउमा मिलाएर रोपेका जस्ता देखिने रुख सौन्दर्यका मुख्य विशेषता हुन् ।

२ सय ६० प्रजातिका चरा, ५ सय बढी जडिबुटी पाइने खप्तड जैविक विविधताले भरिपूर्ण पृथ्वी लोकको एउटा टुक्रा हो । देशको सुन्दर सुदूरलाई आफ्नो सौन्दर्यले छपक्क छोपेको खप्तडलाई संरक्षण गर्ने भन्दै सरकारले सन १९८४ मा खप्तड राष्ट्रिय निकुञ्जको घोषणा गरेको थियो । 

भावी पुस्ताका लागि भन्दै इकोसिस्टम तथा प्राकृतिक पहिचानको संरक्षणको उद्देश्यले घोषणा हुने राष्ट्रिय निकुञ्जले सो क्षेत्रमा मानव आवत जावत कम गराउने गर्दछ । नेपालमा राष्ट्रिय निकुञ्जहरुको संरक्षण गर्ने जिम्मा नेपाली सेनाको रहेको छ, जसले गर्दा आम नागरिक यस्ता निकुञ्ज क्षेत्रसँग आफ्नो सामिप्य प्रगाढ बनाउन सकिरहेका छैनन् । 

यसैको प्रभाव हुनसक्छ प्राकृतिक सौन्दर्यको खानी भएर पनि खप्तडले सोचेको जस्तो पर्यटक आवागमनलाई सहज बनाउन सकिरहेको छैन् ।

उदासिन सरकार

प्राकृतिक छट्टाले पूर्ण खप्तड उच्च पर्यटकीय सम्भावना बोकेको स्थान हो । प्रचुर सम्भावना भए पनि भौगोलिक समस्या र प्रवर्द्धनमा सरकारी निकाय उदासिन हुँदा सो क्षेत्रले सोचेको जस्तो गति लिन सकेको छैन् । 

खप्तड क्षेत्रलाई व्यवस्थित गर्न र पर्यटन विकासका पूर्वाधार तयार गर्न सरकारले २०६३ सालमा खप्तड क्षेत्र पर्यटन विकास समिति गठन गरेको थियो । खप्तडको विकासका लागि भन्दै समितिलाई प्रदेश सरकार मातहत लाने निर्णय गरियो । 

प्रदेश सरकार मातहत गएको समिति विभिन्न कारण लामो समय गठन हुन सकेनन् । सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् बैठकले खप्तड क्षेत्र विकास तथा व्यवस्था समिति गठन आदेश २०७५ लाई स्वीकृति गरेको २ वर्षपछि २०७७ सालमा समितिले पूर्णता पायो । 

त्यसयता समितिले खप्तडमा पर्यटकीय गतिविधि बढाउन काम गर्दै आए पनि त्यो सोचेजस्तो हुन नसकेको खप्तड क्षेत्र विकास तथा व्यवस्था समितिका अध्यक्ष भीम खड्काले बताए । खप्तडलाई अन्तर्राष्ट्रिय आध्यात्मिक क्षेत्रको विकास गर्न धेरै सम्भावना भए पनि त्यसमा सरकारी तवरबाट सहयोग हुन नसकेको उनको गुनासो छ । 

यस क्षेत्रमा रहेका खप्तड आश्रम, त्रिवेणी, सहस्रलिङ्ग, खडुली, डडुली, माईको थान, खापर मष्टा माण्डु, खापर दह, नागढुङ्गा, डाँफेकोट धार्मिक तथा पौराणिक स्थलहरू हुन । यस ठाउँमा ब्रम्हलिन १००८ खप्तड स्वामी श्री सच्चिनानन्द सरस्वतीले तपस्या र साधना गरेकाले यसलाई आध्यात्मिक क्षेत्रको रुपमा विकास गर्न सहज हुने अध्यक्ष खड्काको भनाई छ ।

यतिखेर खप्तडस्वामीको आश्रमस्थललाई संग्रहालय बनाएको छ । त्यहाँ उनले प्रयोग गरेका लत्ता कपडा, जुत्ता, पादुका, ओछ्यानको रुपमा प्रयोग गरेका मृग, बाघ, भालु, कस्तुरी आदिका छाला, संगीत साधन हेर्न पाइन्छ । समग्रमा खप्तड आफैँ प्रकृतिको एक जीवित संग्रहालय भएको बताउँछन् अध्यक्ष खड्का । 

खप्तडको विकासका लागि भन्दै केही महिना अघि प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा खप्तडमा अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन सम्पन्न भएको थियो ।  जेठ २३ देखि २५ सम्म चलेको सम्मेलन शुभारम्भ गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले अब ‘खप्तड विकास प्रतिष्ठान’ वा ‘खप्तड विकास कोष’को रूपमा विकास गरिने आश्वासन दिएका थिए ।

चर्चामा रहेको खप्तडको प्रचारप्रसार हुन नसकेको भन्दै यसलाई विश्वव्यापी प्रचार गर्ने जनाएका थिए । सम्मेलनमा योगगुरु रामदेवले खप्तड अलौकिक क्षेत्र भएको बताएका थिए ।

आध्यात्मिक क्षेत्रका लागि प्रकृतिले दिएको गहना खप्तड भएको भन्दै रामदेवले जीवित छँदा नै एकपटक खप्तड पुग्नुपर्ने धारणा राखेका थिए । तर, प्रधानमन्त्री दाहालले आफूले त्यो पावन भूमिमा टेकेर लिएको संकल्प बिर्संदा काम गर्नेहरूको पनि हात बाँधिएको छ ।  नीतिगत समस्याका कारण स्रोत व्यवस्थापन हुँदा पनि काम गर्ने अवस्था छैन । 

भएन पूर्वाधारको विकास 
खप्तड आन्तरिक पर्यटकको प्रमुख रोजाइमा परेको क्षेत्र हो । तर, खप्तड क्षेत्रमा जाँदा पर्यटकलाई खान बस्न अझै समस्या छ । सो क्षेत्रमा सुविधा सम्पन्न होटल नबन्दा स्तरीय पर्यटक जान नसकेको बताउँछन समितिका अध्यक्ष खड्का ।
सरकारले सो क्षेत्रमा लगानी गर्ने वातावरण बनाउन नसकेको उनको गुनासो छ । राष्ट्रिय निकुञ्जका कारण पनि त्यहाँ लगानी गर्न व्यवसायीहरू हच्किने गरेको उनको भनाई छ । त्यसका लागि सरकारी स्तरबाट नै नीतिगत काम हुनुपर्ने र लगानीका लागि प्रोत्साहन गर्नुपर्ने खड्का बताउँछन् ।

खप्तडको पर्यटन प्रवर्द्धनमा ध्यान दिने हो भने पर्यटकका लागि खानेबस्ने लगायत आवश्यक सुविधा मिलाउन सके यो भूस्वर्गको रसास्वादन गर्न आन्तरिक मात्रै होइन, विश्वकै पर्यटक ओइरिने खड्काको विश्वास छ । खप्तड क्षेत्रको अन्य भौतिक निर्माणको जिम्मा पाएको समितिले पनि सोचे अनुरूप काम गर्न सकिरहेको छैन् । संघीय सरकारबाट प्रदेश सरकार मातहत गएपछि कम बजेट हुने भएका कारण भौतिक निर्माणको काम गर्न समस्या हुने गरेको अध्यक्ष खड्काको भनाई छ । 

सामान्य सडक मर्मतका लागि पनि नपुग्ने गरी विनियोजन गरिएको बजेटबाट खप्तड क्षेत्रको विकासका लागि काम गर्न समस्या हुने उनको तर्क छ । खप्तडको विकासका लागि कुनै एक समितिलाई मात्र भन्दा पनि स्थानीय, प्रदेश तथा संघीय तीन तहका सरकारको सक्रियतामा काम हुनुपर्ने उनी बताउँछन् । 

भौगोलिक कठिनाइ तथा आवासीय सुविधा नहुँदा पनि अहिले खप्तडमा आन्तरिक तथा केही मात्रामा बाह्य पर्यटक आइरहेका छन् । यो क्षेत्रमा सुविधासम्पन्न होटल तथा आरामदायी यात्राका लागि सडक हुने हो भने सम्पूर्ण प्रदेशलाई चलायमान बनाउने गरी पर्यटक आउने खड्काको विश्वास छ । अझ यो क्षेत्रलाई अन्तराष्ट्रिय ध्यान केन्द्रको रुपमा विकास गर्न सके यसले सम्पूर्ण देशलाई फाइदा पुग्ने उनको तर्क छ । 

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  १२ : ५३ बजे

व्यास नगरपालिकालाई जातीय विभेद मुक्त बनाउने जनप्रतिनिधिको प्रतिबद्धता

तनहुँ – व्यास नगरपालिका क्षेत्रलाई जातीय विभेद र छुवाछुतमुक्त पालिका

भरतपुर भ्रमण वर्षमा यात्रुलाई भाडा छुट

चितवन – भरतपुर भ्रमण वर्षलाई सहयोग गर्ने उद्देश्यले यहाँका तीन

मिलेनियम ट्रेकमा समेटिँदै महत्वपूर्ण गन्तव्य

गण्डकी – तनहुँको दुलेगौँडादेखि स्याङ्जाको रामबाछा जोड्ने मध्यपहाडी पदमार्ग मिलेनियम

अमेरिकालाई दक्षिण अफ्रिकाले दियो १९५ रनको चुनौती

काठमाडौं – आईसीसी टि–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर आठको पहिलो

खैरहनीमा चैते धानको उत्पादन वृद्धि

चितवन –  चितवनको खैरहनी नगरपालिका–११, सुन्डीका किसान राम बहादुर केसीले