काठमाडौं उपत्यका भन्नासाथ धुलो, धुवाँ, प्रदूषणका विषयले अत्यधिक चर्चा पाउने गर्छ । तर तपाईं यहाँबाट २० किलोमिटरको दूरीमा दक्षिणकाली नगरपालिका वडा नम्बर ५ शिखरापुर जानुभयो भने वातावरण जोगाउन गरिएका आकर्षक प्रयासले मन्त्रमुग्ध बनाउने छ ।
प्रयोगमा आइसकेका बस्तुबाट वातावरण जोगाउन गरिएका स्थानीय समुदायका प्रयास अनुकरणयोग्य छन् । सिखरापुर कम्युनिटी लर्निंग सेन्टरले गरेका यी कामबाट स्थानीय जनता लाभान्वित मात्र भएका छैनन्, यसबाट उनीहरूको दैनिक जीवनमा सुधार ल्याउने प्रयास प्रभावकारी देखिएको छ ।
आइतबार शिखरापुरबासीको नयाँ प्रयासबारे अवलोकन गर्न काठमाडौंबाट एक टोली त्यहाँ पुगेको थियो। अमेरिकी दूतावासको सहयोगमा सञ्चालित क्लाइमेट एक्सन च्याम्पियन्स नेटवर्क परियोजना अन्तर्गतको नेपाल टिमले शिखरापुरको अवलोकन गरेको हो । यो अवलोकन भ्रमण इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनोमिक रिसर्च (आईएसएसआर) को नेतृत्व र नेपाल-युएस आलुमनाई नेटवर्कको सहयोगमा गरिएको हो ।
‘क्लाइमेट एक्सन क्याम्पेन नेटवर्क’ ले नेपाल, भारत, बङलादेश, भुटान र श्रीलङ्का गरेर पाँच देशमा कार्यक्रम गरिरहेको छ । यस परियोजनाले जलवायु परिवर्तनका लागि कार्यक्रम गरिरहेको छ ।
शिखरापुर सामुदायिक सिकाइ केन्द्रले स्थानीय तहमा भएका कामको नेतृत्व लिएको छ । आफूले गरेका कामको जानकारी दिन स्थलगत अन्तरक्रियाका वक्ताहरुले जलवायुले पारेका बहुआयामिक प्रभाव, स्थानीय स्रोत साधन उपयोग गरी त्यसको निराकरण खोज्ने विषयमा धारणा राखे । पुन:प्रयोग नहुने वस्तुबाट सीप विकास गरी स्थानीयको जीवनस्तर माथि उठाउनुपर्ने धारणामा विज्ञहरूको एकमत थियो ।
यही अवधारणा अन्तर्गतको अनौठो काम हो– मदिराका रित्तो बोतलबाट निर्मित घर । यो घर यसक्षेत्रकै लागि अनुपम रहेको केन्द्रका निर्देशक निरज श्रेष्ठ बताउँछन् । माटो, बालुवा र पराल मिश्रण गरी बनाइएको सिसा गर भूकम्प प्रतिरोधी र वातावरणमैत्री रहेको दावी श्रेष्ठको छ । उनका अनुसार बोतलबाट बनाइएका यी घरले आन्तरिक पर्यटकलाई तान्ने गरेका छन् ।
उनी थप्छन् ‘यसखाले प्रविधिबाट एक तलाको भूकम्प प्रतिरोधात्मक घर बनाउन सकिन्छ ।’ लगानी थोरैमा बलियो घर बनाउन सकिने सन्देश अन्यत्र पुग्न जरुरी छ । प्रयोगमा नआउने बोतलका घर बनाउँदा पर्यावरणमा पर्ने असर कम गर्न सकिने उनको तर्क छ । त्यसैगरी, इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनोमिक रिसर्च (आईएसएसआर) निर्देशक नरेश श्रेष्ठले समाजका लागि काम गर्नेलाई सरकारले प्रोत्साहन नगरेको गुनासो गरेका छन् ।
शिखरापुर सामुदायिक सिकाइ केन्द्रले गरेको कार्यको प्रशंसा गर्दै उनले भनेका छन्, ‘सिकाइ, सहकार्य र पारदर्शितामा रहेर यस केन्द्रले सामाजिक कार्य गरेको छ । तर सबै अन्तर्राष्ट्रिय सहयोगले सञ्चालन भएको सुन्दा दुःख लाग्यो । ’
यस्ता काम अन्तर्राष्ट्रिय दातृ संस्थाबाट मात्रै चल्नु राम्रो होइन । राम्रो कार्यको लागि सरकारको साथ र सहयोग हुनुपर्ने उनको माग थियो । सरकार कहाँ के हेरेर बसिररहेको छ ? भनेर उनले प्रश्न समेत गरेका छन् ।
त्यस्तै उनले नेपालमा जलवायु परिवर्तनको विषयमा अत्यन्त सामान्य मात्र ज्ञान भएको बताए। यसले कृषि क्षेत्रमा के-कस्तो असर गरेको छ धेरैलाई थाहा छैन । ‘स्काभेटर ड्राइभरले इन्जिनियरको काम गर्दा पहिरो गएको छ ।
उचित विज्ञको अभाव छ ।’ नकरात्मक कुरा गर्न सजिलो छ । तर काम गर्न गाह्रो छ । एक ढिक्का भएर सरकारलाई झक्झक्याउनु सबैको दायित्व भएको उनको भनाइ छ । साथै, उनले यो अन्तरक्रिया र अवलोकनले जलवायु परिवर्तनका लागि काममा सहयोग पुग्ने अपेक्षा राखेका छन् ।
अवलोकनका लागि आएका केयर अपरचुनिटीका प्रतिनिधि समय खड्काले जलवायु परिवर्तनका लागि केन्द्रले गरेको प्रयास प्रशंसनीय रहेको बताए । उनी भन्छन्, ‘ जलवायु परिवर्तनको विषय धेरैलाई बुझाउन सकिएको छैन ।
जलवायु परिवर्तन कसरी देखिन्छ । यो विषय सैद्धान्तिक रुपमा पढेर मात्रै थाहा हुँदैन, अभ्यास गर्नुपर्छ । विद्यालयमा क्लबहरू राखेर सिकाउने प्रयास हुन जरुरी छ ।’ ‘विद्यार्थीलाई सोध्ने हो भने डाक्टर, इन्जिनियर बन्ने लक्ष्य सुनिन्छ तर जलवायु परिवर्तनको सवालमा काम गर्छु भन्ने भेटिदैनन्’ उनले भने ।
यो क्षेत्रमा काम गर्नेको भविष्य सुरक्षित छ । अब विद्यार्थीलाई कसरी सुरक्षित छ भनेर यो क्षेत्रको विषयमा बुझाउने प्रयास आफूहरूले थालेको उनको भनाइ छ । ग्रीनक्लिनका निर्देशक स्यामुअल न्यौपाने हरेकले आफ्नो क्षेत्रबाट जलवायु परिवर्तनका लागि काम गर्नुपर्ने बताउँछन् ।
आफूहरूले धनगढीमा ‘वान स्कुल, वान इको क्लब’ मार्फत विद्यार्थीहरुलाई विभिन्न कार्यक्रहरुमा सहभागी बनाएर काम गरिरहेको बताए । त्यसले विद्यार्थी स्वयंलाई वातावरण संरक्षणको लागि काम गर्न तत्परता जगाउने उनको विश्वास छ ।
‘विद्यालयमा वातावरण सम्बन्धी कार्यक्रम गर्ने, वार्षिक रुपमा अवार्ड दिने गरेका छौ विद्यालयलाई नगरपालिकासँग समन्वय गरेर प्लास्टिकमुक्त शहर बनाइएको छ ।’ उनी आफैं इसाई धर्मावलम्बी भएपनि क्रिसमस ट्रीको उपयोग नगर्ने पक्षमा देखिएका छन् । खादाको साटो फूलको प्रयोग गर्दा वातावरण अनुकूल हुने मात्र होइन, कृषकलाई सहयोग हुन उनको विश्लेषण छ ।
त्यस्तै, सीएलसीका अध्यक्ष,श्याम के.सीले देश विकासको लागि सबैभन्दा पहिले समाजमा विद्यमान सबै वर्गका मानिसको आर्थिक, समाजिक र चेतनाको विकास हुनुपर्नेमा जोड दिए । त्यसअनुरुप आफ्नो संस्था सीएलसीले शिक्षा, सूचना , स्वास्थ्य र न्यायको पहुँचबाट बाहिर रहेकाहरूका लागि काम गरिरहेको बताए ।
आईएसएसआरका अनुसन्धान अधिकृत सञ्जु ढकाल मानव जीवनको मुख्य स्रोत हावा, माटो र पानी भएकाले यसको संरक्षणमा जुट्नु कर्तव्य भएको बताउँछिन् । उनले अर्को पुस्तालाई सुन्दर र स्वस्थ दिन कर्तव्य भएकाले यस विषयमा सबैको सहकार्य आवश्यक रहेको बताइन् ।
कार्यक्रममा विभिन्न संस्थाबाट सहभागिले जलवायु परिवर्तनका लागि आफूहरूले गरेको काम, अनुभव र भावी योजना सुनाएका थिए । केन्द्रले कृषकलाई अर्गानिक खेतीतर्फ प्रोत्साहित गर्न विभिन्न तालिम दिएको छ । यसका लागि उद्यमशील समूहहरू बनाइएका छन् । कृषि क्षेत्रका समस्या समाधान गर्ने, सामाग्रीको मर्मत सम्भार, गहुँत र गोबर टेष्ट गरेर ल्याबको विकास गर्ने, रैथाने बिउबिजन संकलन गर्ने र कृषि फार्म बनाउने जस्ता काम भइरहेका छन् ।
त्यसैगरी महिलालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन शिक्षामा जोड दिइएको छ । सामुदायिक क्याम्पसमार्फत छोरी–बुहारी उच्च शिक्षाबाट वञ्चित हुनु हुँदैन भन्ने उद्देश्यले खुला विद्यालय सञ्चालनमा ल्याइएको छ । बीचमा पढाइ छोडेका वा आर्थिक अभावले पढाइलाई निरन्तरता दिन नसकेकाहरूले पढ्न पाएका छन् । त्यतिमात्र हैन, त्यहीँबाट शिक्षा लिएकाहरू अहिले अरुलाई पढाउन सक्ने भएका छन् ।
पढाइका साथै उनीहरूलाई आत्मनिर्भर हुन सीप विकासका तालिमसमेत उपलब्ध गराएको छ । केन्द्रले २०७३ सालदेखि स्थानीय स्तरमा निरन्तर क्रियाशील रहेको जनाइएको छ ।
अवलोकन भ्रमणका केही तस्विरहरु-
प्रतिक्रिया