पाँच केजी चामलकाे भरमा पहिरोपीडित | Khabarhub Khabarhub

पाँच केजी चामलकाे भरमा पहिरोपीडित


२८ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बझाङ– खप्तडछान्ना गाउँपालिका-५ सुतारीगाउँका विष्ट परिवारले आफ्नो घर छोडेको करिब डेढ वर्ष हुन थाल्यो । गत वर्ष असोज २९ गतेदेखि कात्तिक ३ गतेसम्म परेको बेमौसमी वर्षापछिको पहिरो आउँदा विष्ट परिवारले रातारात भागेर ज्यान जोगाएको थियो ।

ढल्नै लागेका घरबाट सामान ओसार्दै नजिकै रहेको खापरदेव क्याम्पसको भवनमा आश्रय लिएका थिए उनीहरू । विष्ट टोलको आँगनदेखि वरिपरि पहिरोमय नै भयो । नौ परिवार रहेको विष्ट टोल भर्खरै बनेको क्याम्पसको भवनमा गयो । त्यहाँ पनि नअटाएपछि गुलेनीचौर, कालुखेती, चाकेगडा गएर पनि आश्रय लिए । त्यसयता चार परिवार भने अझै क्याम्पसकै दुईकोठे भवनमा आश्रय लिइरहेका छन् ।

‘खेती गर्नलाई जमिन छैन । सानो-तिनो मजदुरी गरेर पेट पालिरहेका छौँ’, भरत विष्ट दुःखेसो पोख्नुहुन्छ । आफ्नो अवस्था देखाएर धेरै निकायलाई गुहार्दा पनि कसैले कुनै सहयोग नगरेको उहाँको गुनासो छ । ‘दर्जनौँ सङ्घसंस्था, सरकारी निकायलाई गुनासो पोख्दा पनि कसैले पनि चासो देखाएनन् । अहिले त कसैलाई पीडा सुनाउन पनि औचित्यहीन लाग्छ’, उनले भने ।

पहिरो आएको दिन सम्झँदै भरतकी श्रीमतीले भने, ‘त्यो दिन त सम्झँदा पनि शरीर काँप्छ । मेरो त सातो उडिसकेको थियो । धन्न भाग्न सफल भयौँ । उतिबेला पहिरोबाट ज्यान त बचाइयो तर अहिले भोकभोकै मरिने अवस्था आयो ।’ बाढीपहिराले नोक्सान गरेको भोलिपल्टै तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा निरीक्षण गर्न खप्तडछान्नामै पुगे । तर उनी सवार हेलिकोप्टर आकाशबाटै निरीक्षण गरेर फर्कियो । त्यसै दिन सुदूरपश्चिम प्रदेशका तत्कालीन मुख्यमन्त्री त्रिलोचन भट्ट, सभामुख अर्जुन थापा, कानुनमन्त्री पूर्णा जोशीसहितको टोली पनि निरीक्षणमा आयो । तर विष्ट परिवार भएको ठाउँमा कसैको नजर परेन ।

दोस्रोपटक फेरि प्रदेश सरकारको ठूलो टोली राहत वितरणमा आयो । टोलीले खप्तडछान्ना–१ मा एक–एक बोरा चामल दियो । विष्ट परिवारका नौ परिवारको भागमा भने २५–२५ केजीका दुई बोरा चामल, दुई केजी दाल, दुईवटा टर्च लाइट, नौवटा कम्मल परेको थियो । ‘राहतका नाममा पाएको त्यही हो’, विष्टले भने, ‘दुई बोरा चामल नौ परिवारलाई बाँड्दा साढे पाँच केजीजति मात्रै भागमा पर्‍यो ।’

सम्पत्तिका नाममा भएको जायजेथा सबै नोक्सान भएपछि स्थानीय सरकारसँग सहयोग माग्दासमेत केही नपाएको पुतली विष्टले बताए । खातीगाउँका प्रेम खाती, धन्दुरी खातीको सर्वस्व बाढीले लुट्दा पनि राहत नपाएको गुनासो गर्छन् । बाढीको दोस्रो दिनमा प्रदेश सरकारले एक बोरा चामल दिएकोबाहेक अहिलेसम्म केही नपाएको उनी बताउँछन् ।

बाढी आएको दुई सातापछि तत्कालीन गृहमन्त्री बालकृष्ण खाण पनि बाढी प्रभावित क्षेत्रमा निरीक्षणमा आउनुभयो । बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएको भन्दै संकटग्रस्त क्षेत्र घोषणा गर्ने र पूर्वाधार निर्माणमा जोड दिने आश्वासन दिए ।

मङ्सिर २१ गते सरकारले १० जिल्लाका ३३ स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्दा बझाङका पनि चार स्थानीय तह परे तर त्यो घोषणा त्यसैमा सीमित रह्यो । विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका पालिकाहरूमा पुनःनिर्माणका लागि कत्ति पनि पैसा नआएको खप्तडछान्ना गाउँपालिकाका प्रवक्ता रमानन्द जोशीले बताए।

खप्तडछान्ना गाउँपालिकाका मात्रै बाढीपीडित ७६ परिवार छन् । गाउँपालिकाका सूचना अधिकारी ऐनबहादुर रोकायाले भने , ‘७६ मध्ये ६६ परिवारको विवरण भरिसकेका छौँ । अब १० परिवारको मात्रै बाँकी छ’, उनका अनुसार पीडितले जमिन किनेर लालपुर्जा प्राप्त गरेपछि प्राधिकरणले मागेको विवरणमा भरेर पठाउनुपर्छ ।

खप्तडछान्नामा विष्ट परिवारले भने जमिन खरिद नगरेको हुँदा विवरण पेस नगरेको उनले बताए । ‘हामीले सबैको विवरण पेस गरिसकेका छौँ, पाटादेवलमा एक परिवार, माझिगाउँमा एकसहित विष्ट परिवारको लालपुर्जा ढिलाइ भएकाले पठाउन सकिएको छैन ।’

विष्ट परिवार बसेको टोलको लालपुर्जा एउटैको नाममा छ । तर दुई पुस्ताका सन्तानहरू अलग हुँदा नौ परिवार भइसकेको छ । सरकारले जमिन किनेपछि घर बनाउनलाई पैसा दिने भनेको छ । तर उनीहरूसँग जमिन किन्नलाई पैसा नभएकाले उनीहरूका लागि सरकारी आश्वासन केबल भनाइमै सीमित बनेको छ । 

प्रकाशित मिति : २८ पुस २०७९, बिहीबार  १ : ०९ बजे

जाजरकोट भूकम्प : तीन हजार बढी घर प्रबलीकरण गर्न सकिने

काठमाडौं– जाजरकोट भूकम्पबाट क्षतिग्रस्त निजी आवासहरूको प्रबलीकरण सम्बन्धमा विस्तृत क्षति

पेस्तोल, म्यग्जिन र सात राउण्ड गोलीसहित एक जना पक्राउ

काठमाडौं– प्रहरीले काठमाडौँ महानगरपालिका–१६ चमतीबाट अटोकेटिक पेस्तोल, दुई थान म्याग्जिन

नेपालगञ्जमा गोली हानेर लागूऔषध कारोबारी पक्राउ

नेपालगञ्ज– बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको बसपार्कमा आज प्रहरीले गोली हानेर लागूऔषध खैरो

भारतीय दूतावासले उपप्रधानमन्त्री सिंहको प्रमुख आतिथ्यतामा मनायो ७९औँ स्वतन्त्रता दिवस 

काठमाडौं– नेपालस्थित भारतीय दुतावासले उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान

खानेपानीमन्त्री यादव र भारत सरकारका विज्ञ टोलीबीच छलफल

काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादव र भारत सरकारका विज्ञ टोलीबीच तराई-मधेसको खानेपानीसम्बन्धी