बैतडी– बैतडीको पाटन नगरपालिका–६ स्थित श्रीकृष्ण माविका शिक्षक धनबहादुर विष्टको हत्यामा संलग्न रहेको जनाउँदै एक दम्पतीलाई कारागार चलान गरिएको छ । कारागार चलान हुनेमा पुचौडी नगरपालिका–३ का प्रजा बोहरा र उनकी श्रीमती विमला रहेका छन् ।
दुवैलाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । सुर्नया गाउँपालिका– २ घर भएका ५५ वर्षीय शिक्षक यही पुस २ गते श्रीकृष्ण माविको छात्रावास पछाडि मृतावस्थामा भेटिएका थिए । त्यसपछि शिक्षकको हत्यामा संलग्न रहेको आरोपमा बोहरा दम्पतीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
नियन्त्रण पश्चात् बोहरा दम्पतीले हत्या गरेको स्वीकारेपछि प्रहरीले पुस ७ गते पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । दुवैजनाविरुद्ध बैतडी जिल्ला अदालत कर्तव्य ज्यान मुद्दामा दुई पटक म्याद थपेर अनुसन्धान कार्य गरेको थियो । श्रीकृष्ण माविमा कम्प्युटर डिप्लोमा चौँथो वर्षमा अध्ययन गरिरहेकी विमला छात्रावासमा बस्दै आएकी थिइन् । उनका श्रीमान् पनि भेटघाटका लागि पाटन पुगेर छात्राबासमै बसेका थिए ।
छात्राबासमै बस्दै आएका शिक्षक विष्टले पुस १ गते राति पौने १० बजे शौचालय गएकी बिमलालाई अँगालो हाली दुर्व्यवहार गरेको प्रजाले देखेको र त्यसपछि आक्रोशित भएका प्रजाले विष्टको छाती, मुखमा हिर्काउँदै छात्रावास बाहिर ल्याई पुर्पुरोमा ठोस् हिर्काउँदै हत्या गरेको प्रजाले प्रहरीसमक्ष बयान दिएका छन् । विष्टको मृत्यु भएपश्चात शवलाई प्रजा र बिमलाले केत्तुकेको झारीमा फालेका जनाइएको छ ।
प्रतिक्रिया