दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचार « Khabarhub

दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचार


२९ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 8 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

आज दिनभर रास्वपाद्वारा डा. ढाकाकुमार श्रेष्ठलाई कारवाही, अडियो सार्वजनिक गर्नु पार्टीविरुद्धको षड्यन्त्र भएकाे सांसद श्रेष्ठकाे भनाइ, उपप्रधानमन्त्री श्रेष्ठ र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता, रौतहटमा झडप हुँदा ६ प्रहरी र एक प्रदर्शनकारी घाइते, कोरोना संक्रमणका कारण एकको मृत्युलगायत समाचारले प्रमुख स्थान पाए ।

रास्वपाद्वारा डा. ढाकाकुमार श्रेष्ठलाई पार्टीको साधारण सदस्य समेत नरहनेगरी कारवाही

राष्ट्रिय स्वतन्त्र पार्टीले नेता तथा सांसद डा. ढाकाकुमार श्रेष्ठलाई पार्टीको साधारण सदस्य समेत नरहनेगरी कारवाही गरेको छ ।

बुधबार बसेको पार्टीको बसेको केन्द्रीय समिति बैठकले अनुशासन समितिले गरेको कारवाहीको सिफारीसलाई अनुमोदन गर्दै श्रेष्ठलाई पार्टीको साधारण सदस्य समेत नरहनेगरी कारवाही गरेको हो । डा. श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईसँगको २ करोड घुस मागेको अडियो सार्वजनिक भएको थियो ।

त्यस्तै, बैठकले श्रेष्ठलाई सांसद पदबाट पनि हटाउने निर्णय गरेको छ । श्रेष्ठलाई कारवाही गरेसँगै रास्वपाले उनको स्थानमा विन्दवासिनी काशंकारलाई सांसद बनाउने निर्णय गरेको पार्टी सभापति रवि लामिछानेले जानकारी दिए । बैठकपछि अयोजित पत्रकार सम्मेलनमा लामिछानेले श्रेष्ठले उक्त अडियो आफ्नो भएको स्वीकार नगरेपनि पार्टीले छानबिन गर्दा श्रेष्ठकै अडियो प्रमाणीत भएको बताए ।

त्यसअघि बैठकबाट बाहिरिदै ढाकाकुमार श्रेष्ठले केही महिना पहिलेको अडियो अहिले ल्याएर प्रचार गर्नु पार्टीमाथि प्रहार भएको बताएका थिए । श्रेष्ठले आफू पार्टीको सदस्यबाट पनि बाहिरिएको र न्यायिक प्रक्रियामा गइसकेको उल्लेख गरे ।

केहिदिन अघि श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ माग गरेको अडियो सार्वजनिक भएको थियो ।

प्रतिनिधिसभामा गणपूरक सङ्ख्या नपुग्दा सुरक्षण मुद्रण प्रस्ताव निर्णयार्थ प्रस्तुत भएन

राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७ माथि विचार गरियोस’ भन्ने प्रस्ताव कार्यसूचीमा समावेश गरिए पनि प्रतिनिधिसभामा गणपूरक सङ्ख्याको अभावमा प्रस्ताव प्रस्तुत हुन सकेन ।

प्रस्ताव निर्णायार्थ प्रस्तुत गर्नुअघि नेकपा एमालेका सचेतक महेश बर्तोलाले गणपूरक सङ्ख्याको यकिन गर्न सभामुख समक्ष माग गरेका थिए । त्यस लगत्तै सभामुख देवराज घिमिरेले तीन मिनेटको घण्टी बजाएर गणपूरक सङ्ख्या यकिन गर्न सचिवालयलाई निर्देशन दिएका थिए ।

बैठकमा कुनै पनि प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा कम्तीमा एक तिहाई अर्थात् ६९ सांसद उपस्थित हुनुपर्नेमा ६१ मात्र रहेको जनाउँदै सभामुख घिमिरेले आजको कार्यसूचीमा रहेका बाँकी सबै कार्यक्रम स्थगित भएको जानकारी दिए । यसअघि सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सदनमा उक्त प्रस्तावमाथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

विधेकमाथि उठेका प्रश्नको जवाफ दिँदै उहाँले मुलुकमा सुरक्षण मुद्रणसम्बन्धी कानून आवश्यक भएकाले उपकरण खरिद र पूर्वाधार निर्माण गरेर अन्तःशुल्कको स्टिकरलगायत सुरक्षण मुद्रणसम्बन्धी सामग्री छपाई सुरु गर्न पहल र प्रयत्न भइरहेको बताए ।

मन्त्री शर्माले भने, “हामीसँग भएको क्षमतालाई बढाएर सुरक्षण मुद्रण स्थापना गरी सञ्चालन गरिनेछ, सरकारकै निगरानी र मातहतमा राखिनेछ, विधेकमा बाझिएका बुँदा सच्याइनेछ, गुणस्तरमा विशेष ध्यान दिइनेछ ।” छलफलमा ज्ञानेन्द्रबहादुर कार्की, महेश बर्तौला, रोशन कार्की, रघुजी पन्त, मनिष झा, प्रेम सुवाल, माधव सापकोटा, रामकृष्ण यादव, ध्रुवबहादुर प्रधानलगायत १५ सांसदले विधेयकबारे आफ्ना धारणा राखेका थिए ।

उक्त विधेयक विसं २०७७ मा राष्ट्रियसभामा उत्पत्ति भई त्यही लामो समयसम्म रहेको थियो । प्रतिनिधिसभाको अर्को बैठक आगामी वैशाख ३ गते आइतबार दिनको १ बजे बस्ने छ ।

अडियो सार्वजनिक गर्नु पार्टीविरुद्धको षड्यन्त्र भएकाे सांसद श्रेष्ठकाे भनाइ 

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठले आफू जोडिएको अडियो सार्वजनिक गर्नु पार्टीविरूद्धको षड्यन्त्र रहेको बताएका छन् ।

बुधबार पत्रकार सम्मेलन गरेर उनले उपनिर्वाचनमा आफ्नो पार्टीलाई हराउन षड्यन्त्रस्वरूप आफ्नो अडियो सार्वजनिक गरिएको आरोप लगाएका छन् । उक्त अडियोमा सत्यता नरहेको जिकिर गर्दै उनले आफू र पार्टीविरुद्ध अडियाे इडिटिङ गरेर बनाएको आरोप लगाए ।

फसाउने गरि गत जनवरी, फेब्रुअरीमा भएको अडियाे अहिले ल्याएर हाल्नु हाम्रो पार्टीविरुद्ध गरिएको प्रहार रहेको उनको भनाइ छ ।

‘पार्टीलाई तीनवटै क्षेत्रमा हराउने सुनियोजित हो’ उनले भने । यस विषयमा आफू न्यायलयमा गइसकेको र क्लिनचिट लिएर आउने उनको दाबी छ ।

उपप्रधानमन्त्री श्रेष्ठ र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज शिष्टाचार भेट गरेका छन् । भेटवार्तामा उनीहरुबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न भारत भ्रमण, नेपाल–भारत ऐतिहासिक सम्बन्ध, निरन्तरको सहकार्य र सीमा सुरक्षालगायत विषयमा छलफल भएको छ ।

नेपालगन्ज–रुपेडिया, भैरहवा–सुनौली तथा दोधारा–चाँदनीमा ‘इन्टेग्रेटेड चेकपोस्ट’ बनाउने विषयमासमेत उनीहरुबीच छलफल भएको थियो । सो क्रममा उपप्रधानमन्त्री श्रेष्ठले प्रधानमन्त्रीको भारत भ्रमणको कार्यक्रम छिट्टै तय हुने र आफ्नो तथा वर्तमान सरकारको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप घनिष्ट हुने विश्वास व्यक्त गरे ।

उनले सीमा व्यवस्थापन र सीमापार अपराध नियन्त्रण जस्ता संवेदनशील विषयमा समेत खुला छलफल हुनुपर्ने बताएको उपप्रधानमन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ । भेटमा राजदूत श्रीवास्तवले प्रधानमन्त्री दाहालको प्रस्तावित भारत भ्रमणको कार्यक्रम मिलाउन आफू क्रियाशील रहेको बताए ।

गृहमन्त्री जस्तो चुनौतीपूर्ण जिम्मेवारी सफलताका लागि बधाई दिँदै भौतिक पूर्वाधार तथा यातायातमन्त्री हुँदाको सहकार्यका लागि उपप्रधानमन्त्री श्रेष्ठलाई धन्यवाद व्यक्त गरे । भेटवार्तामा सीमामा नियमित वारपार गर्ने नागरिकले अपराधी जस्तै व्यवहारको सामना गर्नु नपरोस् भनेर दुवै पक्ष संवेदनशील हुनुपर्ने राजदूत श्रीवास्तवले बताए ।

गतवर्ष भारतको नयाँ दिल्लीमा सम्पन्न ‘ज्वाइन्ट वर्किङ ग्रुप अन बोर्डर म्यानेजमेन्ट’को बैठकमा कतिपय सीमा नजिकका स्थानमा विकास निर्माणका सम्बन्धमा रहेको विवादलाई थप छलफल गरेर टुङ्ग्याउने सहमति भएको र त्यसका लागि भारतीय पक्ष तयार रहेको समेत राजदूत श्रीवास्तवले बताए ।

‘मेयर बालेन गैरजिम्मेवार बने पनि संघीय सरकार गैरजिम्मेवार बन्न मिल्दैन’

एकीकृत समाजवादीका सांसद राजेन्द्रप्रसाद पाण्डेले फोहोर उठाउने विषयमा काठमाडौं महानगरपालिका गैरजिम्मेवार बने पनि संघीय सरकार गैरजिम्मेवार बन्न नहुने बताएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले काठमाडौंका मेयर बालेन शाहले राष्ट्रपति भवन, सिंहदरवारलगायत स्थानको फोहोर उठाउँदिनँ भन्नु गैरजिम्मेवार अभिव्यक्ति भएको बताए । तर, उनले संविधानले दिएको जिम्मेवारी पूरा नगर्ने अभिव्यक्ति दिए भन्दै संघीय सरकार पनि गैरजिम्मेवार बन्न नहुने उनको भनाइ छ ।

काठमाडौंमा दुई दिन फोहोर नउठ्दा अब के गर्ने भन्ने पिरलो हुने गरेको भन्दै सांसद पाण्डेले तर, ४२ किलोमिटर टाढा बनेपादेखिको फोहोर बन्चरेडाँडामा फ्यालेर त्यहाँका जनतामाथि अन्याय गरेको आरोप लगाए । यसर्थ संघीय सरकार गैरजिम्मेवार नबनोस् उनको माग छ ।

संसद् विघटन ठिक भन्ने ओलीसँग एकता नहुने माधव नेपालकाे भनाइ

नेकपा एकीकृत समाजबादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संसद् विघटनको दाउमा रहेको आरोप लगाएका छन्।

बुधबार सुनसरीको इनरुवामा सञ्चारकर्मीसँग उनले ओली संसद् विघटन गरेरै मध्यावधि चुनावमा जाने दाउमा रहेको भन्दै त्यसो हुन नदिने बताएका हुन् । अध्यक्ष नेपालले संविधान मिच्ने कुरालाई आफूले समर्थन गर्न नसक्ने बताए।

नेता नेपालले ओलीप्रति लक्षित गर्दै भने, “एमालेभित्र अब अहिले प्रतिनिधिसभालाई फेरि पनि विघटन गर्न सकिन्छ। मध्यावधिको अवस्थामा जान सकिन्छ भन्ने सोच हामीले सुनेका छौँ। त्यो बाटोमा त हामी जान सक्दैनौँ। संविधान मिच्ने कुरालाई हामी समर्थन गर्न सक्दैनौँ।”

नेपालले मन र विचार मिल्नेहरुसँग एकताका लागि वहस र छलफल गर्न तयार रहे पनि एमालेसँग भने एकता सम्भव नरहेको बताए। उपाध्यक्ष मुकुन्द न्यौपानेलगायतका नेताहरुले पार्टी छाडेको बारे केही फरक नपर्ने बताए । ‘पार्टी छोड्नु र प्रवेश गर्नु नियमति प्रक्रिया हो ।’ उनले भने।

रौतहटमा झडप हुँदा ६ प्रहरी र एक प्रदर्शनकारी घाइते

रौतहटमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा ६ जना प्रहरी एवम् एक जना प्रदर्शनकारी घाइते भएका छन् । रौतहटको गरुडा नगरपालिकामा झडप भएको हो ।

नगरपालिका कार्यालयमा मेयर पदका उम्मेदवार दीपक यादवले तालाबन्दी गर्ने प्रयास गरेपछि उत्पन्न विवाद बढ्दै गएपछि झडप भएको हो ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै फायर खोलेको थियो । अहिले सो क्षेत्रमा व्यापक सुरक्षाकर्मी तैनाथ गरिएको प्रहरीले जनाएको छ ।

थप १२१ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले बुधबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको हो।

यसअघि मंगलबार पनि एक जनाको मृत्यु भएको थियो । बुधबार एक जना सङ्क्रमितले ज्यान गुमाएसँगै मृतकको संख्या १२ हजार २२ पुगेको छ । पछिल्लो २४ घन्टामा १२१ जनाको कोरोना संक्रमण भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ६२० जनाको पीसीआर परीक्षण गर्दा ५८ जना र १७५७ जनाको एन्टिजेन परीक्षण गर्दा ६३ जनाको कोरोना संक्रमण पुष्टि भएको हो ।

नेपालमा सक्रिय संक्रमितको संख्या ४४५ पुगेको छ। पछिल्लो २४ घण्टामा ८१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

सगरमाथा आरोहणमा क्रममा हिमपहिरोमा परी ३ जनाको मृत्यु

सगरमाथा आरोहणका क्रममा हिमपहिरोमा परी ३ जनाको मृत्यु भएको छ ।

सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाका अनुसार खुम्बु आइसफल भत्किएर हिमपहिरो जाँदा क्याम्प-१ भन्दा तल हिउँमा पुरिएर खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ का तीन जना शेर्पा आरोहीको मृत्यु भएको हो ।

मृत्यु हुनेहरूमा लाक्पा रिता शेर्पा, तेन्जिङ शेर्पा र बादुरे शेर्पा रहेका छन् ।

पहिरोका कारण मृतकको शव खोंचमा पुरिएको हुनाले शव निकाल्न हेलिकोप्टर पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

कोरोना बढेसँगै तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमणले बढ्दै गएपछि विभिन्न अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । दैनिकरूपमा कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि सबै अस्पताललाई तयारी अवस्थामा रहन मन्त्रालयले निर्देशन दिएको हो ।

भारतमा कोरोना भाइरसको देखिएको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि १.१६ पछिल्लो समय नेपालमा पनि देखिन थालेको छ । मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.चुमनलाल दासले अहिले देखा परेको भेरियन्ट सङ्क्रामक रहेकाले अस्पताललाई तयारी अवस्थामा राख्न निर्देशन दिएको जानकारी दिए ।

‘कोरोना भाइरसको नयाँ भेरियन्टले धेरै जनालाई सङ्क्रमण सार्ने गर्ने सम्भावना छ’, उनले भने, ‘सङ्क्रमणको रोकथाम र नियन्त्रण गर्नका लागि सबै अस्पताललाई तयारी अवस्थामा बस्न निर्देशन दिइसकेका छौँ ।’ मन्त्रालयका अनुसार हाल वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, निजामती कर्मचारी अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, नेपाल प्रहरी अस्पताल लगायतका अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ ।

कोरोना सङ्क्रमणका कारण बुधबार एक जनाको निधन भएको छ । वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेलले कोभिड-१९ केन्द्रीय युनिफाइड अस्पताललाई तयारी अवस्थामा राखिएको बताए । उनले चिकित्सक, सघन उपचार कक्ष (आइसियु), भेन्टिलेटर र अक्सिजनलाई तयारी अवस्थामा राखिएको उनको भनाइ छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्ट्यान्ट फिजिसियन डा विमल चालिसेले कोरोना भाइरसको सङ्क्रमणको सम्भावित जोखिमबारे सचेत रहँदै आफूृहरु तयारी अवस्थामा रहेको जानकारी दिए । ‘अहिले ने आत्तिनुपर्ने अवस्था छैन तर सजग भने हुनुपर्छ’, उनले भने, ‘सङ्क्रमणको सम्भावित जोखिम नहोस् भनेर तयारी अवस्थामा रहेका छौँ ।’ अस्पतालमा एक जना भेन्टिलेटर र दुई जना कोरोना सङ्क्रमित सघन उपचार कक्ष (आइसियु)मा उपचाररत रहेको उनले जानकारी दिए ।

बुधबार मात्रै देशभर एक सय छ जना नयाँ सङ्क्रमित देखा परेका थिए । हाल काठमाडौँ उपत्यकामा २४ जना आइसोलेसन, १३ जना सघन उपचार कक्ष (आइसियु)मा र ५ जना भेन्टिलेटरमा उपचाररत छन् । महाशाखाले नेपाल प्रवेश हुने सीमा नाकामा कडाइ गरिएको जनाएको छ । सीमा नाकाबाट नेपाल प्रवेश गर्नेहरूको कोरोना परीक्षण सुरु गरिएको छ ।

बैतडीमा जिप दुर्घटना हुँदा छ जनाकाे मृत्यु 

मङ्गलबार राति ११ बजे बैतडीमा जिप दुर्घटना हुँदा छ जनाको ज्यान गयो । भारतमा रोजगारी गरेर नयाँ वर्ष अर्थात् बिसु पर्व मनाउन उनीहरु घर फर्किँदै थिए । बझाङको एकै गाउँका छ जना बाटोमै अस्ताए । परिवारका साथ बिसु पर्व मनाउने उनीहरुको सपना बाटोमै बिलायो ।

जयपृथ्वी राजमार्गको खोडपे–बझाङ सडकखण्डअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ को झौलेक मोडमा से१ज ७६४ नंको जिप दुर्घटना हुँदा छ जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परी बझाङको केदारस्युँ गाउँपालिका–५ बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय वीरे धामीको ज्यान गयो ।

भारतसितको सीमानाका झुलाघाटबाट बझाङको बागथलातर्फ जाँदै गरेको उक्त जिपमा सवार सोही गाउँका अन्य छ जनाले भने हामफालेर ज्यान जोगाएको प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । “क्षमताभन्दा बढी यात्रु सवार थिए, उकालोमा जिप चढ्न सकेन, ब्रेक फेल भएर दुर्घटना भएको अनुमान छ”, उनले भने ।

भारतको पिथौरागढमा मजदुरी गर्दैआएका एकै गाउँका उनीहरू मङ्गलबार घर फर्किन झुलाघाट पुगेका थिए । झुलाघाटबाट बझाङ¬स्थित गाउँ पुग्न दुई तीनवटा गाडी फेरबदल गर्नुपर्ने झन्झटले सबैले मिलेर बझाङबाटै जिप रिजर्भ गरेर मगाएका थिए । बाह्र जनामध्ये छ जनाको बिसु मनाउने सपना झौलेक भिरमै बिलायो ।

सोही जिपमा सवार जयसिंह बोहराका अनुसार उहाँसहित पाँच जना जिपको पछिल्लो भागमा बसेकाले हाम फालेर बाँच्न सफल भए । “सडक उकालो थियो, जिप ब्याक भएर भिरबाट खस्यो”, उनले भने, “जिप पछाडि पछाडी फर्किन थाल्यो, पछाडि सवार सबैले हामफाल्यौँ, जिप सोझै भिरमा खस्यो ।”

गत मङ्सिरमा सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा उनीहरुले गाउँमा भोट खसाले । त्यसपछि रोजगारीका लागि भारतको पिथौरागढ जाने सल्लाह भयो । निर्वाचनको अर्को दिन सबैजना घरबाट हिँडेको जयसिंहले बताए । उनले भने, “बिसु पर्व मनाउन सबै सल्लाह गरेर घर फर्किँदै थियौँ, एकसाथ नयाँ वर्ष मनाउनै पाइएन ।”

राति ११ बजे उनीहरुले खोडपे बजारमा खाना खाएका थिए । खाना खाएर अगाडि बढेको केही समयमै जिप मध्यरातमा झौलेक भिरमा दुर्घटनामा पर्‍यो । “खाना खाएपछि खोडपेमै आराम गर्न चालकलाई आग्रह गरेका थियौँ, चालकले बागथला पुगेर आराम गरौँला भन्यो”, जयसिंहले भने, “राति यतै आराम गरौँ, नयाँ वर्ष आउन एक दिन बाँकी छ, बरु बिहान झिसमिसेमै जाउँला भन्दा चालकले मानेनन ।”

दुर्घटनामा एकै गाउँका छ जनाको ज्यान गएपछि बझाङको बाँझगाउँ शोकमा डुबेको छ । पर्वको मुखमै भएको दुःखद् घटनाले बिसु खल्लो बनाएको केदारस्युँ गाउँपालिका–५ का वडाध्यक्ष मोहनसिंह ठगुन्नाले बताए । सुदूरपश्चिममा नयाँ वर्षलाई बिसु पर्वका रूपमा मनाउने गरिन्छ ।

यतिबेला घर बाहिर हुनेहरु पर्व मनाउन फर्किन्छन् । जिप सडकबाट पाँच सय मिटर तल खसेको छ । जिप चालक मृतककै गाउँका २७ वर्षीय अर्जुन बोहरा फरार छन् । दुर्घटनालगत्तै प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी, प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीलगायतको टोली घटनास्थलमा पुगेको छ । शव भिरबाट निकाल्ने काम भइरहेको छ ।

द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवारद्वारा काठमाडौंमा धर्ना

सशस्त्र द्वन्दका पीडित सुरक्षाकर्मीका परिवारले बुधबार पनि काठमाडौंमा धर्ना दिएका छन् ।

सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमा पीडकलाई उन्मुक्ति दिन खोजिएको भन्दै द्वन्द्वपीडित सुरक्षाकर्मी परिवार संस्थाले काठमाडौंको नयाँ बानेश्वरमा धर्ना दिएका हुन् ।

उनीहरूले सशस्त्र युद्धका बेला ज्यान गुमाएका र अंगभंग भएका व्यक्तिका परिवारलाई क्षतिपुर्तीको माग गर्नुका साथै पीडकलाई उचित सजायको व्यवस्था गर्न माग गरेका छन् ।

उनीहरूले द्वन्द्वका बेला बेपत्ता भएका नागरिकलाई सार्वजनिक गर्न पनि माग गरेका छन् । उनीहरूले आफूहरूको माग पुरा नभएसम्म राज्यलाई ध्यानाकर्षण गराउनका लागि प्रदर्शन गरिरहने जनाएका छन् ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  ८ : ५९ बजे

यस्ता छन् मन्त्रिपरिषद् बैठकका छ निर्णय

काठमाडौं– सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय

नेपालको कुल स्वास्थ्य खर्चको सबैभन्दा ठूलो हिस्सा नसर्ने रोगमा : स्वास्थ्यमन्त्री 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले नेपालको कुल

सुदूरपश्चिममा ‘निर्वाचन प्रहरी’मा चार हजारभन्दा बढीको आवेदन

महेन्द्रनगर– पछिल्लो तीन दिनमा सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीमा भर्ना हुनका

मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध

मुस्ताङ– यहाँका पाँच वटै स्थानीय तहमा शनिबार साँझदेखि नियमित विद्युत्

बैतडीमा जिप दुर्घटना : मृतकको सङ्ख्या चार पुग्यो

बैतडी– जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको पाटन  नगरपालिका–८ साडीघाटीमा जिप दुर्घटना