काठमाडौँ – कृषि तथा पशुपन्छी विकास मन्त्री डा बेदुराम भुसालले प्रदेश सरकारका कृषि मन्त्री र सचिवसँग शुक्रबार छलफल गरेका छन् ।
कोशी, मधेश र कर्णालीका कृषिमन्त्री तथा लुम्बिनी, गण्डकी, वाग्मती र सुदुरपश्चिम प्रदेशका कृषि सचिवलाई शुक्रबार कृषि मन्त्रालयमै बोलाएर मन्त्री भुसालले आगामी बजेट तथा कृषि क्षेत्रमा भए गरेका गतिविधिबारे जानकारी लिएका हुन् ।
सो क्रममा उनले अब नतिजामुखी भएर काम गर्नुको विकल्प नभएको भन्दै आवश्यक निर्देशनसमेत दिए । नेपालको कृषि क्षेत्रको विकासको लागि छुट्टै ऐन नबन्दा समस्या सिर्जना भएको भन्दै आफूले गर्न सक्ने क्षेत्रमा इमान्दारीपूर्वक काम गरेर जनताको मन जित्नु अहिलेको आवश्यकता रहेको उनको भनाइ थियो ।
कृषिको आधुनिकीकरण तथा यान्त्रिकीकरणमा जोड दिन आग्रह गर्दै मन्त्री भुसालले भने, “कृषिको आधुनिकीकरण र यान्त्रीकीकरणमा हाम्रो ध्यान छैन । अनुदानको रकम दुरुपयोग भइरहेको सुनिन्छ । उत्पादनमुखी अनुदान छैन । वास्तविक किसानसँग अनुदान नपुगेको गुनासो सुनिन्छ । यत्ति कुरामा तपाईं सचेत रहन सक्नुभयो भने पनि धेरै सुधार हुन्छ । तपाईंहरू इमान्दार भएर काम गर्नुहोला ।’
मन्त्री भुसालले यसपटक किसानको लागि रासायनिक मल सहज हुने बताउँदै सोहीअनुसार आफूले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताए। सो अवसरमा पोखरा उप–महानगरपालिकाका प्रमुख धनराज आचार्यसमेतको सहभागिता भएको छलफलमा मन्त्री भुसालले प्रदेश र स्थानीय तहमा भए गरेका कामको जानकारी लिए ।













प्रतिक्रिया