खेतमै उखु सुक्न थालेपछि किसान चिन्तित « Khabarhub

खेतमै उखु सुक्न थालेपछि किसान चिन्तित


२९ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- कञ्चनपुरको लालझाडी गाउँपालिका–३ नन्दगाउँका लोकबहादुर बडायक केही दिनयता खेत खलियानमै व्यस्त छन् । उनले दुई बिघाभन्दा बढी जमिनमा उखुखेती गरेका छन् । केही दिनयता खेतको उखु सुक्न थालेकाले सिँचाइ गर्दै उनको दिन बित्छ ।

“पानी नपर्दा गर्मीले खेतको उखु सुक्दै गएको छ, यस्तै भयो भने उखु सबै सुकेर नष्ट हुने सम्भावना छ”, बडायक भन्छन्, “खेती जोगाउन हम्मेहम्मे परेको छ ।” विगतका वर्षमा पनि उखु सुक्ने गरे पनि यसवर्ष अत्यधिकमात्रामा उखु सुक्दै गएको उनको भनाइ छ ।

“यसपटक गर्मी पनि अत्यधिक छ, आकाशको पानी पनि परेको छैन”, बडायक भन्छन्, “बोरिङबाट खेतमा पानी लगाइरहेका छौँ ।” बेलौरी नगरपालिका–१० भुडाका धनीदत्त भट्ट खेतको उखु कसरी जोगाउने भनेर चिन्तित छन् । दुई बिघा जग्गामा उनले उखुखेती गरेका छन् । करिब आधा बिघाभन्दा बढीको उखु सुकेर नष्ट भइसकेको भट्टको गुनसो छ  । “आकाशे पानीको भर पर्दा  खेतको उखु सुकेको छ, नहरबाट सिँचाइ हुने जमिनमा सिँचाइ गरिरहेका छौँ”, किसान भट्टले भने, “पानी परे खेती जोगाउन सकिन्थ्यो ।”

उखु बेचेर घरखर्चको जोहो गर्ने उनी यसपटक लगानी पनि निकाल्न पनि गाह्रो हुने बताउँछन् । आम्दानीको स्रोतका रुपमा रहेको उखु खेतमै सुक्न थालेपछि किसान चिन्तित बनेका हुन् । केही दिनयता अत्यधिक गर्मी बढ्नाका साथै सिँचाइका लागि आकाशबाट पानी नपर्दा उखु खेतमै सुक्न थालेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी हरि जोशीले बताए ।

“यहाँ धेरै ठाउँमा आकाशको पानीका भरमा खेती हुन्छ”, उनले भने, “पानी नपरेकाले र पछिल्लो समय तापक्रम पनि बढेकाले खेती सुकिरहेको छ ।” जिल्लाको पुनर्वास, बेलौरी, लालझाडी, बेलडाँडी र दोधाराचाँदनीमा बढी उखुखेती हुने गरेको छ । जिल्लाभर आठ सयदेखि एक हजार हेक्टर जमिनमा उखुखेती हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

कञ्चनपुरमा उखुको उत्पादन प्रति हेक्टर ५५ देखि ६० टनका दरले हुने गरेको छ । यहाँका किसानका लागि उखु बेच्न बेलौरी र पुनर्वासमा मिल छ । “गहिरो जमिनको खेती त्यति धेरै सुकेको छैन, बालुवा तथा सुख्खा जमिनको खेती सुकेको छ”, सूचना अधिकारी जोशीले भने, “किसानलाई बाली जोगाउन नियमित सिँचाइ गर्न आग्रह गरेका छौँ ।”

प्रकाशित मिति : २९ जेठ २०८०, सोमबार  ३ : १३ बजे

गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बलात्कारपछि हत्या गरिएकी बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीलाई

हामीले नोटबन्दीबारे सोचेका छैनौँ : अर्थमन्त्री डा. वाग्ले

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले नोटबन्दी गर्नेबारे नसोचेको बताएका

तेमाल बृहत् खानेपानी आयोजना : पाँच वर्ष लम्बियो, अझै अनिश्चित

काभ्रेपलाञ्चोक– एघार वर्ष पूरा हुँदासम्म तेमाल बृहत् खानेपानी आयोजना निर्माण

रास्वपाको केन्द्रीय समिति बैठक सुरु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक सुरु

मेसाक चक्रवातपछि चीनमा बाढी : १५९ जनाको मृत्यु, १० बेपत्ता

न्यानिङ- दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रमा जुलाईको सुरुवातमा आएको मेसाक