खेतमै उखु सुक्न थालेपछि किसान चिन्तित « Khabarhub

खेतमै उखु सुक्न थालेपछि किसान चिन्तित


२९ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- कञ्चनपुरको लालझाडी गाउँपालिका–३ नन्दगाउँका लोकबहादुर बडायक केही दिनयता खेत खलियानमै व्यस्त छन् । उनले दुई बिघाभन्दा बढी जमिनमा उखुखेती गरेका छन् । केही दिनयता खेतको उखु सुक्न थालेकाले सिँचाइ गर्दै उनको दिन बित्छ ।

“पानी नपर्दा गर्मीले खेतको उखु सुक्दै गएको छ, यस्तै भयो भने उखु सबै सुकेर नष्ट हुने सम्भावना छ”, बडायक भन्छन्, “खेती जोगाउन हम्मेहम्मे परेको छ ।” विगतका वर्षमा पनि उखु सुक्ने गरे पनि यसवर्ष अत्यधिकमात्रामा उखु सुक्दै गएको उनको भनाइ छ ।

“यसपटक गर्मी पनि अत्यधिक छ, आकाशको पानी पनि परेको छैन”, बडायक भन्छन्, “बोरिङबाट खेतमा पानी लगाइरहेका छौँ ।” बेलौरी नगरपालिका–१० भुडाका धनीदत्त भट्ट खेतको उखु कसरी जोगाउने भनेर चिन्तित छन् । दुई बिघा जग्गामा उनले उखुखेती गरेका छन् । करिब आधा बिघाभन्दा बढीको उखु सुकेर नष्ट भइसकेको भट्टको गुनसो छ  । “आकाशे पानीको भर पर्दा  खेतको उखु सुकेको छ, नहरबाट सिँचाइ हुने जमिनमा सिँचाइ गरिरहेका छौँ”, किसान भट्टले भने, “पानी परे खेती जोगाउन सकिन्थ्यो ।”

उखु बेचेर घरखर्चको जोहो गर्ने उनी यसपटक लगानी पनि निकाल्न पनि गाह्रो हुने बताउँछन् । आम्दानीको स्रोतका रुपमा रहेको उखु खेतमै सुक्न थालेपछि किसान चिन्तित बनेका हुन् । केही दिनयता अत्यधिक गर्मी बढ्नाका साथै सिँचाइका लागि आकाशबाट पानी नपर्दा उखु खेतमै सुक्न थालेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी हरि जोशीले बताए ।

“यहाँ धेरै ठाउँमा आकाशको पानीका भरमा खेती हुन्छ”, उनले भने, “पानी नपरेकाले र पछिल्लो समय तापक्रम पनि बढेकाले खेती सुकिरहेको छ ।” जिल्लाको पुनर्वास, बेलौरी, लालझाडी, बेलडाँडी र दोधाराचाँदनीमा बढी उखुखेती हुने गरेको छ । जिल्लाभर आठ सयदेखि एक हजार हेक्टर जमिनमा उखुखेती हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

कञ्चनपुरमा उखुको उत्पादन प्रति हेक्टर ५५ देखि ६० टनका दरले हुने गरेको छ । यहाँका किसानका लागि उखु बेच्न बेलौरी र पुनर्वासमा मिल छ । “गहिरो जमिनको खेती त्यति धेरै सुकेको छैन, बालुवा तथा सुख्खा जमिनको खेती सुकेको छ”, सूचना अधिकारी जोशीले भने, “किसानलाई बाली जोगाउन नियमित सिँचाइ गर्न आग्रह गरेका छौँ ।”

प्रकाशित मिति : २९ जेठ २०८०, सोमबार  ३ : १३ बजे

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

बर्दिया– ठाकुरबाबा नगरपालिका-६ बकुवा बस्ने ४९ वर्षीय सन्तराम थारूको घरको पछाडि रहेको

प्रतिनिधिसभा निर्वाचन : नेकपाद्वारा रुपन्देही–३ बाट पाँच जना सिफारिस

देवदह– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा)

सरकारका प्रवक्ताको दौडधुप, देउवापछि ओली भेट्न पुगे गुण्डू

काठमाडौं- सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले

चीनको उच्चगतिको रेल नेटवर्कले ५० हजार किलोमिटर पार गर्‍यो

एजेन्सी– जनवादी गणतन्त्र चीनको उच्च गतिको रेल नेटवर्कले शुक्रबार नयाँ

ऐतिहासिक र पुरातात्वक दृष्टिले महत्त्वपूर्ण रहेको मकवानपुर गढी (तस्बिरहरू)

काठमाडौं– ऐतिहासिक र पुरातात्वक दृष्टिले महत्त्वपूर्ण रहेको मकवानपुर गढी मकवानपुर