मौसम फेरिँदा केही राहत « Khabarhub

मौसम फेरिँदा केही राहत


२९ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


537
Shares
  • change font
  • change font
  • change font

 महोत्तरी- चिसो बतास चलेर ठाउँठाउँमा पानी परेपछि हालै बढेको गर्मीबाट केही राहत मिलेको महोत्तरीका स्थानीय बताउँछन् । जेठ लागेयता पानी नपरेर लगातार बढ्दो तापमानले प्रभावित भएको जनजीवनमा आइतबार साँझदेखि चिसो बतास चल्नुका साथै ठाउँठाउँमा पानी परेपछि केही राहत भएको हो । महोत्तरीमा आइतबार साँझ पूर्व–पश्चिम राजमार्ग वारिपारी क्षेत्रमा केहीबेर मेघगर्जनसहित पानी परेपछि शीतल महसुस गरिएको छ ।

“खेतीपातीलाई साथ मिल्ने र सुकेका पानीका मुहान रसाउने गरी त पानी पर्न सकेन, तर चिसो बतास चलेपछि मौसम शीतल भएको छ”, बर्दिबास–२ बारनचौडीका उमेश आचार्यले भने, “पानी परेर चिसो भएपछि हिँड्डुल गर्न सहज भएको छ ।” उनका अनुसार मौसममा सामान्य फेरबदल हुँदा पनि यहाँका स्थानीयले निकै राहत महसुस गरेका छन् ।

जेठ मध्ययता एकाबिहानैदेखि लाग्ने टड्कारो घाम आज मलिन भएको छ । आकाशमा काला बादलका टुक्रा देखिँदा र चिसो बतास चलिरहँदा अब राम्ररी पानीपर्ने आश जागेको यहाँका स्थानीय बताउँछन् । जेठ मध्ययता हिजो अपरान्हसम्म केही घटबढ हुँदै तापमान ४४ डिग्री सेल्सियससम्म मापन गरिएको थियो । आज बिहान महोत्तरीका बर्दिबास, गौशाला, औरही र भङ्गाहामा जडित मौसम सूचना केन्द्रले तापक्रम ४० डिग्री सेल्सियसभन्दा तल देखाएका र पानी पर्नसक्ने सङ्केत दिइरहेका दैनिक मौसम सूचना हेरी रहेका बर्दिबास–६ का नीलबहादुर लुम्रेले बताए ।

“मैले निरन्तर मौसम स्टेसनका सूचना हेर्दै छु, आइतबार साँझयता तापमान घटेको र पानी पर्ने सम्भावना देखाइएको छ” उनले भने, “यसले अब केही त्राण ९राहत० पाइन्छ कि भन्ने आश जागेको छ ।” जिल्लामा लामो समयदेखि घामको राप बढ्दै गएर पानी नपर्दा पानीका मुहान सुकेर खानेपानीको हाहाकार बढ्दै गएको छ । मौसममा फेरबदल आए पानी पर्ने र मुहान रसाउने सर्वसाधारणले आशा गरेका छन् । मौसम तथा जलवायु विज्ञ विराट पन्तले अझै राम्ररी पानी पर्ने सम्भावना नरहेको बताए ।

जलवायु परिवर्तनको असरले मौसमको पूर्वानुमान गरिने परम्परागत मान्यता खण्डित भएको उनको भनाइ थियो । जलवायु परिवर्तनका असर न्यूनीकरणसम्बन्धी कार्यरत संस्था रुपान्तरणमा जलवायु विज्ञ रहेका पन्तले विश्वव्यापी रूपमा भइरहेको जलवायु परिवर्तनका असरभित्र आफूलाई अनुकूल बनाउँदै लैजानुपर्ने बताए ।

“जलवायु परिवर्तनका विश्वव्यापी असर छन्, हामीले यी असरभित्रै खेतीपाती र अन्य व्यवसाय अनुकूल हुनेगरी ढाल्न सक्नुपर्छ” उनले भने, “यसका लागि विपद् कम गर्न नदी प्रणाली व्यवस्थापन गर्ने, वृक्षरोपण गर्ने र अनुकूलन खेतीपाती अपनाउनुपर्छ ।”

लामो समयसम्म लागेको खडेरीले चरनक्षेत्रका सिमसार, भूल (भूल्के जरुवा पानीका मुहान) र चरन पानीघाटमा पानी सुकेपछि पशुवस्तु पालनमा पनि अप्ठ्यारो थपिएको छ । खडेरीका कारण बालीनाली ओइल्याउने, सुक्ने र मर्ने क्रम बढ्दो छ । खडेरी उखुबाली डढ्न थालेपछि उखु किसान चिन्तित छन् ।

प्रकाशित मिति : २९ जेठ २०८०, सोमबार  ३ : ३६ बजे

विभिन्न अस्पताल र बोर्डका लागि अन्तर्वार्ताका लागि छनोट भएकाको सूची सार्वजनिक

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न सार्वजनिक निकायका

उच्च जोखिममा खटिने सशस्त्र प्रहरीलाई प्रोत्साहन भत्ता दिइने

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को असार ३० गतेको निर्णयले सशस्त्र

किन भयो प्रतिनिधिसभा बैठकको समय परिवर्तन ?

काठमाडौं । प्रतिनिधिसभाको बुधबार बिहान बोलाइएको बैठकको समय परिवर्तन गरिएको

पूर्वसचिव जोशीको निधन

काठमाडौँ । सहरी योजनाकार तथा नेपाल सरकारका पूर्वसचिव डा जीवगर

नक्कली शरणार्थी प्रकरण : कसलाई कति सजाय ? (सूचीसहित)

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बहुचर्चित नक्कली शरणार्थी प्रकरणमा मुछिएकामध्ये