दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


२७ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

दिनभर आज प्रधानमन्त्री पत्नी सीता दाहालको निधन, कांग्रेस केन्द्रीय समिति बैठक स्थगित, मुद्दा किनारा नलागेसम्म दीर्घकालीन प्रभाव पर्ने निर्णय नगर्न कोशी सरकारलाई सर्वोच्चको आदेश, प्रहरी परिसरभित्रै प्रहरीलाई यातना दिइएको विषयमा छानबिन समिति गठन, ललिता निवास प्रकरणमा समरजंग कम्पनीका तत्कालिन सहलेखापाल पौडेल पक्राउ, बुधबार नेप्से उकालोलगायतका समाचारले प्रमुख स्थान पाए ।

प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ ।

उनको थापाथलीस्थित नर्भिक अस्पतालमा आज विहान ८ बजेर ३३ मिनेटमा निधन भएको अस्पतालले जनाएको छ ।

लामो समयदेखि अस्वस्थ सीता दाहालको अवस्था तथ जटिल बनेपछि गएराति नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

राजकीय सम्मानसहित सीता दाहालको अन्त्येष्टि, प्रचण्डसहित दुई छोरीले दिए दागबत्ती

नेकपा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको छ ।

बुधबार अपराह्न पशुपति आर्यघाटमा उनको राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको हो । उनको पार्थिव शरीरमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरेका थिए भने नेपाली सेनाको टोलीले सलामी अर्पण गरेको थियो । दाहाललाई पति प्रचण्ड र छोरीहरु रेणू दाहाल र गंगा दाहालले दागबत्ती दिए ।

सीता दाहालको निधनप्रति भारतीय प्रधानमन्त्री मोदीबाट दुःख व्यक्त

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली समकक्षी पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

मोदीले आज सामाजिक सञ्जाल ट्वीटरमार्फत नेपाली र अंग्रेजी दुवै संस्करणमा सीता दाहाल दिवंगत आत्मालाई चिर शान्ति मिलोस् भन्ने प्रार्थनागर्दै शोक सन्तप्त प्रचण्डसहित परिवारप्रति हार्दिक समवेदना प्रकट गरेका छन् ।

कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ ।

आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनपछि स्थगित गरिएको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए।

कोशी सरकारलाई सर्वोच्चको आदेश : मुद्दा किनारा नलागेसम्म दीर्घकालीन प्रभाव पर्ने निर्णय नगर्नू

कोशी प्रदेश सरकार गठनका विरुद्धमा परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

न्यायाधीश सपना मल्ल प्रधानको इजलासले कोशीमा सरकार गठनविरुद्ध नेकपा एमालेले दायर गरेको रिटमा कारण देखाउ आदेश जारी गरेको हो ।

प्रहरी परिसरभित्रै प्रहरीलाई यातना दिइएको विषयमा छानबिन समिति गठन

जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत एक प्रहरी जवानलाई कार्यालय परिसरभित्रै हात खुट्टा बाधेर यातना दिइरहेको भिडियो बाहिरिएको छ । महोत्तरीको जलेश्वर नगरपालिका ८ फूलहट्टा घर भई जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी जवान अनु रायलाई हात पछाडि पारी बाँधेर यातना दिएको भिडियो सार्वजनिक भएको हो ।

रायलाई आफ्नै कार्यालयका इन्स्पेक्टर हेमन्त राईले हातखुट्टा बाँधेर यातना दिएको आरोप लगाएको छ । सामाजिक सञ्जालमा भाइरल भिडियोमा प्रहरी जवान राय भक्कानिएर रुँदै बाँधिएको हात खोलिदिन अनुरोध गरेको देखिन्छ। उनीसँग दोहोरो संवादमा रहेको व्यक्तिले कहाँ रक्सी खाइस् भन्ने प्रश्न गरेका छन् । जवाफमा उनले, ‘मैले रक्सी खाएको छैन, मेरो हात खोलिदिनुस् । मैले रक्सी खाएको प्रमाणित भए म जागिर छोड्छु’ भनेको सुनिन्छ ।

भिडियोमा प्रहरी जवान रायले भिडियोमा रुँदै ‘मलाई यसरी याताना नदिनुस् बरु मारिदिनुस्’ भनेका छन् । सामाजिक सञ्जालमा सार्वजनिक भिडियोले प्रहरीभित्र अझै पनि तल्लो दर्जाको कर्मचारीमाथि गरिने व्यवहार उदाङ्गिएको विश्लेषण गरिएको छ । ‘मुस्कानसहितको सेवा’ दिने प्रहरी आफैँले आफ्ना कर्मचारीमाथि गरेको गैरन्यायिक व्यवहारले प्रहरीमाथि थप प्रश्न उठेको छ ।

ललिता निवास प्रकरण : समरजंग कम्पनीका तत्कालिन सहलेखापाल पौडेल पक्राउ

ललिता निवास प्रकरणमा समरजंग कम्पनीका तत्कालिन सहलेखापाल विनोद पौडेल पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सहलेखापाल पौडेललाई काठमाडौंको चाबहिलबाट पक्राउ गरेको हो ।

कीर्ते तथा सङ्गठित रुपमा सरकारी जग्गा हिनामिना गरेको आरोपमा यसअघि पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ, धर्मप्रसाद गौतम र गोपाल कार्कीलगायत पक्राउ परिसकेका छन् ।

सञ्चार सचिव राउतलाई थुनामुक्त गर्न सर्वोच्चमा रिट

ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सञ्चार सचिव कृष्णबहादुर राउतलाई हिरासतमुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको मुद्दा दर्ता भएको छ ।

राउतका वकील टीकाराम भट्टराईका अनुसार रिट दर्ता भएकोमा प्रारम्भिक सुनुवाइका लागि भोलिलाई पेशी राखिएको छ।

भ्रष्टाचार गरेको आरोपमा १३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा १३ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, सहकारी तथा गरिबी निवारण शाखा मधेश प्रदेश, जनकपुरधामका वरिष्ठ शाखा अधिकृत ओमनारायण झाविरुद्ध मुद्दा दायर गरेको हो ।

आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार प्रदेशका आठवटै जिल्लामा सहकारीसम्बन्धी आयमूलक तालिम सञ्चालन गर्दा भ्रष्टाचार गरेको आरोपमा झाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

आयोगले झाविरुद्ध रु सात लाख एक हजार तीन सय ८० जरिवाना र बिगोसमेत असुल उपरको माग गरेको छ ।

जातीय विभेदविरुद्ध माइतीघरमा प्रदर्शन

जातीय विभेदविरुद्ध काठमाडौँको माइतीघरमा प्रदर्शन गरिएको छ । जातीय विभेदका कारण हुने हिंसाजन्य घटना श्रृखलाबद्ध रुपमा बढ्दै गएको भन्दै प्रदर्शन गरिएको हो ।

जात व्यवस्था उन्मूलन मोर्चा नेपालले जात व्यवस्थाका कारण घटेका श्रृंखलाबद्ध घटनाविरुद्ध बुधबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेको हो ।

जुम्लामा अन्तरजातीय विवाह गरेको भन्दै घर जलाइएको, दाङमा जातकै कारण डेराबाट निकालिएको लगायतका प्रतिनिधिमूलक घटनाका साथै देशभर भएका जातीय विभेदविरुद्ध खबरदारी गरेको मोर्चाले जनाएको छ ।

बैतडी दुर्घटना : घाइतेमध्ये १६ उपचाररत, ३ जनालाई भारत पठाइयो

बैतडीको मेलौलीमा सोमबार भएको बस दुर्घटना परी घाइते भएका ४५ जनामध्ये १६ जना अझै उपचाररत रहेका छन् । थप उपचारका लागि तीन जनालाई भारतको बरेली पठाइएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका बस चालक पञ्चेश्वर गाउँपालिका–६ का ३५ वर्षीय देवसिंह भण्डारी, शिवनाथ गाउँपालिका–१ का ५५ वर्षीय मन्दिर सिंह साउद र शिवनाथ गाउँपालिका–५ का विनोद दमाइँलाई भारतको बरेलीमा उपचारका लागि पठाइएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।

उनका अनुसार १० जनाको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ भने तीन जनाको डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ ।

नवीकरण नगर्ने क्याम्पसलाई त्रिवीले कारबाही गर्ने

त्रिभुवन विश्वविद्यालय (त्रिवी)ले सम्बन्धन प्राप्त गरी सञ्चालनमा भइ नवीकरण नगर्ने क्याम्पसलाई कारबाही गर्ने भएको छ ।

विश्वविद्यालयले आज सूचना प्रकाशित गरी यसअघि नवीकरणका लागि पटकपटक सम्बन्धित क्याम्पसलाई सूचित गरे पनि नवीकरण नगरेकाले कारबाहीको प्रक्रिया अगाडि बढाएको जानकारी दिएको हो ।

दरबारमार्ग, कमलादी, जमल, सिफल, डिल्लीबजार, चारखाललगायतका स्थानलाई ‘वान वे’ बनाउने तयारी

दुवै तर्फबाट सवारीसाधन आवतजावत गर्दा समस्या आएको भन्दै काठमाडौँ महानगरपालिकाले आफ्नो अधिकार क्षेत्रमा पर्ने केही सडकमा ‘वान वे’ अर्थात् एक तर्फबाट मात्रै सवारीसाधन सञ्चालन गर्ने तयारी गरेको छ ।

यसरी एकतर्फी बनाउने सडकमा दरबारमार्गस्थित महेन्द्र सालिक क्षेत्रको सडक, कमलादी क्षेत्र, जमल क्षेत्र, सिफल  क्षेत्र, डिल्लीबजार चारखाल क्षेत्रका सडकमा एकतर्फी गर्न लागिएको कामपाको ट्राफिक व्यवस्थापन सल्लाहकार जगतमान श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार सडक एकतर्फी कहिलेदेखि गर्ने, कुन समयमा गर्ने वा सबै समयमा नै सडक एकतर्फी बनाउनेबारे छलफल र अध्ययन भइरहेको छ । त्यसैगरी कामपाले आगामी आवदेखि आफ्नो अधिकार क्षेत्रमा पर्ने सडकमा जेब्राक्रसिङमा रङ लगाउने काम पनि गर्ने जनाएको छ । अहिले अधिकांश स्थानका जेब्राक्रसिङ मेटिएका अवस्थामा छ ।

बुधबार नेप्से उकालो

बुधबार नेप्से उकालो लागेको छ । बुधबार नेप्से परिसूचक २५.३१ विन्दुले बढेर २०९७.५५ अंकमा पुगेको छ । बुधबार ३ अर्ब १८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ८ कम्पनीमा सकारात्मक सर्किट लागेको छ । बुधबार हाइड्रोपावर समूहमा सबैभन्दा धेरै वृद्धि भएको छ ।

असार मसान्तको प्रभावका कारण बजार यसअघि केही दिन सुस्त र सामान्य रहेको थियो । तर, बुधबारबाट नेप्सेले फेरि गति लिने संकेत देखिएको छ । असार मसान्त नजिकिंदै गर्दा बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था छ । अधिक तरलताकै कारण अन्तर बैंक ब्याजदर एक प्रतिशतकै लाइनमा आइसकेको छ ।

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  ९ : ०२ बजे

जर्मनका राष्ट्रपतिले गरे राजनीतिक ‘हिंसा’ को निन्दा

काठमाडौं– जर्मन राष्ट्रपति फ्रांक-वाल्टर स्टिनमियरले बिहीबार कार्यस्थलमा वा अभियानका क्रममा

७ कारोबार दिनमै १३८ अंकले बढ्यो नेप्से, यसकारण आयो उछाल

काठमाडौं – शेयर बजारले जेठ महिनामा सुखद सुरुवात गरेको छ

दर्शकको घेरामा आर्यन र प्रदीप, फ्यानले किन लगाए नारा ?

काठमाडौं– आजबाट दुई फिल्म प्रदर्शनमा आएका छन् पुजार सार्की र

जीवन परियारले भने : रविलाई छाडेर गोलमोटोल भाषाले छानबिन अघि बढ्दैन

काठमाडौं- सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) तयार

पाकिस्तानले स्वदेशी पेट्रोलियम पदार्थको उत्पादनलाई प्रोत्साहन गर्ने

काठमाडौं– पाकिस्तानका पेट्रोलियम मामिला मन्त्री मुसादिक मसूद मलिकले पाकिस्तानले आयात