देश/प्रदेश

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

By खबरहब

October 12, 2023

दिनभर आजमा अर्थतन्त्र गम्भीर अवस्थामा पुग्यो : प्रधानमन्त्री, माओवादीका आङ्बोलाई कोशीको मुख्यमन्त्री बनाउने सत्ता गठबन्धनको निर्णय, लोक सेवा आयोगको विश्वसनीयता अभिवृद्धिमा मेहनत गर्न राष्ट्रपतिको सुझाव, प्रतिनिधिसभा बैठक : इजरायलबाट शीघ्र नेपालीको उद्धार गर्न सांसदको माग, नेपालमा लगानी गर्न कोरियालाई अर्थमन्त्रीको आग्रहलगायतका समाचारले प्रमुख स्थान पाए ।

अर्थतन्त्र गम्भीर अवस्थामा पुग्यो : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको अर्थतन्त्र गम्भीर अवस्थामा पुगेको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघले बिहीबार आयोजना गरेको राष्ट्रिय आर्थिक बहस कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले देशको अर्थतन्त्र गम्भीर अवस्थामा पुगेको र अब पनि बोल्ड डिसिजन नलिए झनै जटिल अवस्थामा पुग्ने बताएका हुन् ।

माओवादीका आङ्बोलाई कोशीको मुख्यमन्त्री बनाउने सत्ता गठबन्धनको निर्णय सत्ता गठबन्धनले कोशी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोलाई अघि सार्ने निर्णय गरेको छ ।

लोक सेवा आयोगको विश्वसनीयता अभिवृद्धिमा मेहनत गर्न राष्ट्रपतिको सुझाव राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक प्रशासनलाई स्वच्छ, मर्यादित, पारदर्शी, समावेशी र जनउत्तरदायी बनाउन लोक सेवा आयोग सफल हुने विश्वास व्यक्त गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा आज आयोजित विशेष समारोहमा आयोगको आर्थिक वर्ष २०७९-८० को वार्षिक प्रतिवेदन बुझ्दै उनले योग्यता प्रणालीको संरक्षकका रूपमा रहेको आयोगको विश्वसनीयतामा अभिवृद्धिका लागि मेहनत गर्न सुझाव दिए ।

भारतबाट हुने निर्यात पूर्ति गर्न चैते धान अभियान चलाउनुपर्छ : मन्त्री भुसाल कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसालले किसानलाई ‘चैते धान अभियान’ चलाउनुपर्ने बताएका छन् । ‘जीवन र खाद्यको आधार हो पानी’ भन्ने नारासहित कृषि विभागले आज यहाँ आयोजना गरेको ४३औँ विश्व खाद्य दिवसमा उनले भारतले धान निर्यात बन्द गरेको उल्लेख गर्दै एक लाख हेक्टर जमिनमा चैते धान अभियान चलाउनुपर्ने बताए ।

सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको थालनी गरेको छ : स्वास्थ्यमन्त्री स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सरकारले शिक्षा र स्वास्थ्यको क्षेत्रमा व्यापक सुधारको थालनी गरेको बताएका छन्।

चाडपर्वका बेला आन्तरिक जहाजहरुले भाडावृद्धि गर्न पाउँदैन : मन्त्री किराती संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चाडपर्वका बेला आन्तरिक जहाजहरुले भाडावृद्धि गर्न नपाउने बताएका छन् ।

प्रतिनिधिसभा बैठक : इजरायलबाट शीघ्र नेपालीको उद्धार गर्न सांसदको माग प्रतिनिधिसभाको आजको बैठकमा इजरायलमा रहेका नेपालीको उद्धार र चाडबाडको समयमा आपूर्ति व्यवस्थापन सहज बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

इजरायलमा गत शनिबार भएको आतंवादी आक्रमणमा परी मृत्यु भएका नेपाली विद्यार्थीको शव स्वदेश फर्काउन तथा उद्धारमा ढिलाइ गरिएको विषय संसदमा उठेको हो ।

नेपालमा लगानी गर्न कोरियालाई अर्थमन्त्रीको आग्रह विश्वबैंकको वार्षिक बैठकको सिलसिलामा मोरक्कोको मराकेसमा रहेका अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालमा लगानी गरेका विदेशी कम्पनीहरुले मुनाफा आर्जन गरिरहेकाले दक्षिण कोरियाली कम्पनीहरूलाई पनि लगानी गर्न आग्रह गरेका छन् ।

भारतीय प्रधानमन्त्रीको भ्रमणबारे सदनलाई जानकारी गराउन रास्वपाको माग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं सांसद रवि लामिछानेले छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दार्चुलाको सीमावर्ती क्षेत्र गुञ्जीमा भ्रमण गरेको विषयबारे सदनलाई जानकारी गराउन माग गरेका छन् ।

सम्पत्ति शुद्धीकरण प्रतिवेदन संसद्मा पेस प्रतिनिधिसभामा ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८०’ पेस भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति विमला सुवेदीले समितिले दफावार छलफल गरी तयार गरेको उक्त प्रतिवेदन पेस गरेका हुन् ।

हाम्रो संस्कृति र सभ्यताले अन्तर्राष्ट्रिय क्षेत्रमा मान बढ्नेछ : प्रदेश प्रमुख शर्मा बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले हाम्रो संस्कृति र सभ्यताले अन्तर्राष्ट्रिय क्षेत्रमा हाम्रो मान बढ्ने बताएका छन् ।

नेप्से परिसूचक २०.१६ अंकले घट्यो कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक २० दशमलव १६ अंकले घटेर एक हजार आठ सय ७४ दशमलव ६० को विन्दुमा कायम भएको हो ।

‘मास प्रिन्टर’ खरिदका लागि बोलपत्र आह्वान यातायात व्यवस्था विभागले स्मार्ट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छाप्ने ठुलो क्षमताको मेसिन ९मास प्रिन्टर० खरिदका लागि चौथो पटक बोलपत्र आह्वान गर्न लागेको छ । तीन पटकसम्म बोलपत्र आह्वान गरिए पनि उपयुक्त आवेदन नपरेपछि पुनः आह्वान गर्न लागिएको विभागले जनाएको छ ।