सेवा क्षेत्रमा गतिविधि बढाउँदै विन्ध्यवासिनी मन्दिर | Khabarhub Khabarhub

सेवा क्षेत्रमा गतिविधि बढाउँदै विन्ध्यवासिनी मन्दिर


२५ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

गण्डकी –पर्यटकीय नगरी पोखराको महत्त्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्यका रुपमा रहेको विन्ध्यवासिनी मन्दिर धार्मिक क्षेत्र विकास समितिले सेवाका काम अघि बढाएको छ ।

पोखराको जीवन्त इतिहासको साक्षी यो मन्दिर धार्मिक आस्था एवं विश्वासको केन्द्र त हो । पोखराका धार्मिक क्षेत्रमध्ये अग्रणी रहेको मन्दिर समितिले सामाजिक सेवाका गतिविधिमा आफूलाई अघि बढाइरहेको छ । मन्दिरलाई केबल धार्मिक क्षेत्रका रुपमा मात्र नभई यसैका माध्यमबाट सामाजिक सेवाका विभिन्न क्षेत्रलाई पनि प्राथमिकताका साथ अघि बढाइएको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका सचिव तीर्थ श्रेष्ठले जानकारी दिए।

शिक्षा, स्वास्थ्य जस्ता आधारभूत आवश्यकताका क्षेत्रसँगै ज्येष्ठ नागरिकलाई लक्षित गर्दै विभिन्न गतिविधि अघि बढाइएको उहाँले बताउनुभयो । समितिकै सक्रियतामा विसं २०५१ मा स्थापित विन्ध्यवासिनी गुरुकूल विद्याश्रममा कक्षा ६ देखि १० सम्म निःशुल्क आवासीय अध्यापन हुँदै आएको छ । गुरुकूलमा हाल ३० विद्यार्थी अध्ययनरत छन् । गुरुकूललाई कक्षा १२ सम्म विस्तार गर्ने योजना अनुरुप मन्दिरको गुठीको हक–भोग स्वामित्वको पोखरा महानगरपालिका वडा नं १८ स्थित २६ रोपनी जग्गामा भवन निर्माण अन्तिम चरणमा पुगेको छ ।

भवनमा ४० कक्षाकोठा, विद्यार्थी तथा गुरुका लागि आवास, सभाहल आदिको व्यवस्था हुने सचिव श्रेष्ठले जानकारी दिए । समितिले ज्येष्ठ नागरिकलाई लक्षित गरी विसं २०७२ देखि विन्ध्यवासिनी ज्येष्ठ नागरिक मिलन केन्द्र सञ्चालनमा ल्याएको छ । ज्येष्ठ नागरिक मिलन केन्द्रबाट दैनिक ७० ज्येष्ठ नागरिकले सेवा लिइरहेका छन् ।

समितिले केन्द्रमा आउने ज्येष्ठ नागरिकलाई लक्षित गरी दिउँसोको चिया, खाजा निःशुल्क उपलब्ध गराउँदै आएको छ भने विभिन्न प्रवचन, समय समयमा अवलोकन भ्रमण तथा स्वास्थ्य जाँच आदिको व्यवस्था मिलाइएको छ । केन्द्रकै लागि विन्ध्यवासिनी प्राकृतिक चिकित्सालय परिसरमा भवन निर्माण गरिसकिएको छ ।

मन्दिरकै सक्रियतामा विसं २०७१ देखि एम्बुलेन्स सेवा सञ्चालन गर्दै आएको छ । समितिले वडा नं १ को नदीपुरमा मन्दिरकै स्वामित्वमा रहेको २१ रोपनी १२ आना क्षेत्रफलको जग्गामा निर्माण गरिएको विन्ध्यवासिनी प्राकृतिक चिकित्सालयबाट यही साउन १ गतेदेखि उपचार सेवा प्रदान सुरु गरेको छ । उपचार सेवाका लागि २८ चिकित्सक एवं कर्मचारी व्यवस्था गरिएको छ । चिकित्सालय सञ्चालनका लागि समितिले मासिक रु आठ लाख प्रदान गरिरहेको छ ।

चिकित्सालयबाट हाल बहिरङ्ग सेवा उपलब्ध गराउँदै आइएको चिकित्सक डा समिरबहादुर क्षेत्रीले जानकारी दिए । उनका अनुसार चिकित्सालयमा दैनिक ६० जनासम्म बिरामी विभिन्न स्वास्थ्य समस्या लिएर आउने गरेका छन् ।

धार्मिक आस्था विश्वासको केन्द्रसँगै मन्दिरलाई सामाजिक सेवाका क्षेत्रमा जोड्ने समितिको लक्ष्य अनुरुप समितिले सेवामूलक गतिविधिलाई जोड दिइरहेको सचिव श्रेष्ठले बताए ।

मनले चिताएको पुग्ने जनविश्वाससँगै पुगेका दर्शनार्थी एवं पर्यटक विन्ध्यवासिनी मन्दिरबाट देखिने हिमाली दृश्यमा मोहित हुने गर्दछन् । मन्दिरले पोखराको महत्त्वपूर्ण धार्मिक पर्यटकीयस्थलका रुपमा चासो र चर्चा कमाउँदै आएको छ । मन्दिर निर्माणबारे यकिन तथ्य फेला नपरे पनि कुनै अज्ञात कालखण्डदेखि शक्तिस्थलका रुपमा पुजिँदै आएको पाइन्छ । हालको मन्दिर आजभन्दा अढाइ शताब्दी पुरानो भएको अनुमान गरिएको छ । मन्दिर स्थापना कास्कीका अन्तिम राजा सिद्धिनारायण शाहका पालामा भएको हो ।

कास्की जिल्लाको मध्यभागमा २७ रोपनी क्षेत्रफलमा फैलिएको मन्दिर वरपरको समथर भू–भागबाट केही उच्च थुम्कामा अवस्थित रहनाले पनि यहाँको शोभा बढाएको छ । थुम्कामा मन्दिर रहेका कारण दर्शनार्थीले सिँढी चढेर माथि उक्लनुपर्छ । मन्दिरमा हिँडेर उक्लन नसक्नेका लागि लिफ्टको प्रबन्ध छ । धार्मिक महत्वका साथै पोखराको दृश्यावलोकन एवं मन्दिर परिसरबाट विभिन्न ११ वटा हिमशिखर देख्न सकिन्छ ।

गुम्बज शैलीमा सेतो रङको अष्टभुजाकार रहेको मन्दिरको गजुरबाट तामाको श्रीबन्दी लतारिएको छ । मन्दिरको चारैतर्फ विसं १८९६ यताका विभिन्न मितिमा राखिएका घण्टा छन् । पित्तलको द्वार अघि राखिएका पित्तलबाटै निर्मित दुई सिंहका आकृतिले मन्दिरको शोभा बढाएको छ । मन्दिर वरपर गणेश, हनुमान, सरस्वती, राधाकृष्ण, शिव, नवग्रह तथा अष्टचीरञ्जीवीका मन्दिर छन् ।

मन्दिर परिसरमा समितिले वाटिका बनाएको छ भने मन्दिरको परिक्रमा गर्न प्रदक्षिणा पथ बनाइएको छ । परिसरमा अष्टभुजाकार कुण्डमा साढे चार फिट उचाइको शिवलिङ्ग, पूर्वबाट पश्चिम फर्केका पञ्चधारा, फलैँचालगायत संरचना निर्माण गरिएको छ । मन्दिर परिसरमा दर्शनार्थीका लागि शौचालय, पानीको बोरिङ तथा खानेपानी भण्डारणका लागि ४० हजार लिटर क्षमताको ट्याङ्की निर्माण गरिसकिएको छ ।

यसैबीच समितिले विसं २०६४ देखि आश्विन शुक्ल पक्ष ९वडा दसैँ० का अवसरमा सञ्चालन गर्दै आएको नवदुर्गा महोत्सव यस वर्ष पनि गर्न लागेको समितिका उपाध्यक्ष सूर्यप्रसाद सुवेदीले जानकारी दिनुभयो । यही असोज २८ गते घटस्थापनाका दिन सुरु भई नवमीका दिन सम्पन्न हुने महायज्ञमा हरिशरण पौडेलले सङ्गीतमय झाँकीसहित श्रीमद्देवी भागवतको कथा प्रस्तुत गर्ने जनाइएको छ ।

महोत्सवबाट सांस्कृतिक सद्भावको अभिवृद्धि, धर्म, संस्कृति र परम्पराको संरक्षण तथा धार्मिक पर्यटनको विकासमा योगदान पुग्ने विश्वास लिइएको उपाध्यक्ष सुवेदीले बताए ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहीबार  ८ : ५६ बजे

भाँगो र आलुसँग चामल साट्दै रमुवाका बासिन्दा

बागलुङ– बागलुङको उच्च पहाडी क्षेत्रमा पर्ने रमुवा गाउँ आलुखेतीका लागि

भेरी करिडोरका निर्माणाधीन पुलको अनुगमन

सुर्खेत– कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढाले

२१४ विद्यार्थीलाई छात्रवृत्ति

स्याङ्जा– स्याङ्जाको गल्याङ नगरपालिकाले आर्थिक अभावका कारण उच्च शिक्षा अध्ययनबाट

संसदीय उपसमितिद्वारा मेलम्ची आयोजनाको अनुगमन

सिन्धुपाल्चोक– संसद्को पूर्वाधार विकास समिति अन्तर्गतको खानेपानी उपसमितिले राष्ट्रिय गौरवको

प्रधानमन्त्रीले कांग्रेस नेताहरुसँग छलफल गर्दै

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेसका नेताहरुसँग छलफल सुरु गरेका