बिक्री हुन छाडे चोयाका सामग्री « Khabarhub

बिक्री हुन छाडे चोयाका सामग्री


२६ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

गलेश्वर– सोमबार बालाचतुर्दशीका दिन म्याग्दीको गलेश्वरमा बाग्लुङको काठेखोला–४ तङग्रामबाट डाला नाङ्ला बोकेर गलेश्वर आएकी अमृता पुन ल्याएका सामग्री नबिकेपछि चिन्तित भएकी छिन् । पुन मात्रै होइन, बागलुङकै बडिगाड गाउँपालिकाका धनबहादुर बुढा, तनहुँको बन्दीपुर गाउँपालिका–५ की तिलिमाया भुजेल र बागलुङको अमलाचौरका टेकनाथ चापागाइँले पनि आफूले ल्याएका सामान बिक्री नभएपछि सामान बोकेर गाउँ फर्किएका छन् ।

म्याग्दीको गलेश्वरमा शतबीज छर्न र दर्शन गर्न आएका भक्तजनलाई नाङ्लो, डालो र ठेकाठेकी बिक्री गर्ने उद्देश्यले उनीहरू हस्तकलाका सामग्री बोकेर गलेश्वर आएका थिए । विगत एक दशक अघिसम्म बालाचतुर्दशीमा लाग्ने गलेश्वर मेलामा डाला, नाङ्ला, ठेकाठेकी, भकारी र थुन्सेको व्यापार खुब हुने गर्दथ्यो । तर पछिल्लो समय सस्तो मूल्यमा पाइने प्लास्टिक र स्टिलका सामानको प्रयोग बढ्दै गएपछि बाँस र निगालोबाट बनाइएका सामानको बिक्री घट्दै गएको हस्तकला सामग्रीका व्यापारी अमृता पुनले बताइन् ।

‘हस्तकलाका सामग्री बनाइ बिक्री गरेरै जीविका चलाउँदै आएका थियौँ’, उनले भनिन् ‘कोरोना महामारीमा व्यापार घट्यो, गुजारा चलाउन गाह्रो भयो ।’ अहिले निगालो र बाँसको चोयाबाट बनाइएका डालो, नाङ्लो, थुन्से, भकारी, मान्द्रो आरीलगायत सामान बिक्री हुन छाडेका पुनले बताइन् । उनले हरेक वर्ष बालाचतुर्दशी पर्वमा म्याग्दीको गलेश्वर, माघेसङ्क्रान्तिमा गुल्मीको रिडी र चैते दसैँमा बागलुङमा पुगेर नाङ्लो, डालो र हस्तकलाका सामग्री बिक्री गर्दै आएको बताइन् ।

पुनका अनुसार एक पाथी जाने डाला तीन सय रुपैयाँदेखि छ सय रुपैयाँ, दुई पाथीभन्दा बढी अन्न अट्ने डालो छ  सयदेखि एक हजार रुपैयाँसम्म तथा नाङ्लो छ सय रुपैयाँमा बिक्री हुँदै आएको छ । बाँस र निगालोबाट बनाइएका नाङ्लो, डालो र पाथी बिक्री हुन छाडेको अर्का व्यापारी अमानबहादुर विकले बताए । युवा जनशक्ति विदेश पलायन हुने र सीप हस्तान्तरण नहुँदा पुख्र्याैली पेसा लोप हुने अवस्थामा पुगेको उनको भनाइ छ ।

बाँसको चोयाबाट बुनेर गोलाकार रूपमा बिट राखी बनाइने नाङ्लो ठूलो थालजस्तै आकारको हुन्छ । यसमा अन्न निफन्ने (केलाउने) गरिन्छ । यस्तै बाँस र निगालोको चोयाको सहायताबाट बुनिने फराकिलो मुख भएको गहिरो भाँडो डालो हो । यसमा पनि अन्नपात राख्ने गरिन्छ । गाउँघरमा नाङ्लो र डालोको प्रयोग गर्ने चलन धेरै भए पनि अहिले यी सामानको प्रयोगमा कमी आउन थालेको छ ।

विकास र प्रविधिको पहुँचसँगै संरक्षणमा चासो नदिँदा म्याग्दीका ग्रामीण भेगबाट रैथाने सीप र प्रविधिको प्रयोग गरी निर्माण गरिएका यस्ता सामग्री र यीसँग सम्बन्धित मौलिक सम्पदा लोप हुँदै गएका छन् । एक दशक अगाडिसम्म म्याग्दीका ग्रामीण क्षेत्रमा अत्याधिकरुपमा प्रयोग हुने गरेका यस्ता हस्तकलाका सामग्रीलगायत, ढिकी, जाँतो र पानी घट्ट पनि अहिले लोप हुँदै गएका छन् । ढिकी, जाँतो र पानी घट्ट अन्न कुट्ने र पिस्ने परम्परागत प्रविधि हुन् । गाउँ–गाउँमा पानी तथा बिजुलीमार्फत सञ्चालन हुने मिल पुगेपछि यस्ता प्रविधि पनि लोप हुँदै गएका बेनी नगरपालिका– २ का वडाअध्यक्ष यामबहादुर कार्कीले बताए ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  १ : ४५ बजे

कमजोर ब्याटिङ गरेको नेपालले ओमानलाई दियो १४८ रनको चुनौती

काठमाडौँ – एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा कमजोर

प्रधानमन्त्री बालेन बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले बिहीबार अपराह्न ३ बजेका लागि

ओमानविरुद्ध दीपेन्द्रसिंह ऐरीले बनाए अर्धशतक

काठमाडौँ – एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालका

५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ ल्याइयो

चितवन – कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने

नेपाल नेत्रज्योति सङ्घले गर्‍यो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख सहयोग

काठमाडौँ – नेपाल नेत्रज्योति सङ्घले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीबाट