बिक्री हुन छाडे चोयाका सामग्री | Khabarhub Khabarhub

बिक्री हुन छाडे चोयाका सामग्री


२६ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

गलेश्वर– सोमबार बालाचतुर्दशीका दिन म्याग्दीको गलेश्वरमा बाग्लुङको काठेखोला–४ तङग्रामबाट डाला नाङ्ला बोकेर गलेश्वर आएकी अमृता पुन ल्याएका सामग्री नबिकेपछि चिन्तित भएकी छिन् । पुन मात्रै होइन, बागलुङकै बडिगाड गाउँपालिकाका धनबहादुर बुढा, तनहुँको बन्दीपुर गाउँपालिका–५ की तिलिमाया भुजेल र बागलुङको अमलाचौरका टेकनाथ चापागाइँले पनि आफूले ल्याएका सामान बिक्री नभएपछि सामान बोकेर गाउँ फर्किएका छन् ।

म्याग्दीको गलेश्वरमा शतबीज छर्न र दर्शन गर्न आएका भक्तजनलाई नाङ्लो, डालो र ठेकाठेकी बिक्री गर्ने उद्देश्यले उनीहरू हस्तकलाका सामग्री बोकेर गलेश्वर आएका थिए । विगत एक दशक अघिसम्म बालाचतुर्दशीमा लाग्ने गलेश्वर मेलामा डाला, नाङ्ला, ठेकाठेकी, भकारी र थुन्सेको व्यापार खुब हुने गर्दथ्यो । तर पछिल्लो समय सस्तो मूल्यमा पाइने प्लास्टिक र स्टिलका सामानको प्रयोग बढ्दै गएपछि बाँस र निगालोबाट बनाइएका सामानको बिक्री घट्दै गएको हस्तकला सामग्रीका व्यापारी अमृता पुनले बताइन् ।

‘हस्तकलाका सामग्री बनाइ बिक्री गरेरै जीविका चलाउँदै आएका थियौँ’, उनले भनिन् ‘कोरोना महामारीमा व्यापार घट्यो, गुजारा चलाउन गाह्रो भयो ।’ अहिले निगालो र बाँसको चोयाबाट बनाइएका डालो, नाङ्लो, थुन्से, भकारी, मान्द्रो आरीलगायत सामान बिक्री हुन छाडेका पुनले बताइन् । उनले हरेक वर्ष बालाचतुर्दशी पर्वमा म्याग्दीको गलेश्वर, माघेसङ्क्रान्तिमा गुल्मीको रिडी र चैते दसैँमा बागलुङमा पुगेर नाङ्लो, डालो र हस्तकलाका सामग्री बिक्री गर्दै आएको बताइन् ।

पुनका अनुसार एक पाथी जाने डाला तीन सय रुपैयाँदेखि छ सय रुपैयाँ, दुई पाथीभन्दा बढी अन्न अट्ने डालो छ  सयदेखि एक हजार रुपैयाँसम्म तथा नाङ्लो छ सय रुपैयाँमा बिक्री हुँदै आएको छ । बाँस र निगालोबाट बनाइएका नाङ्लो, डालो र पाथी बिक्री हुन छाडेको अर्का व्यापारी अमानबहादुर विकले बताए । युवा जनशक्ति विदेश पलायन हुने र सीप हस्तान्तरण नहुँदा पुख्र्याैली पेसा लोप हुने अवस्थामा पुगेको उनको भनाइ छ ।

बाँसको चोयाबाट बुनेर गोलाकार रूपमा बिट राखी बनाइने नाङ्लो ठूलो थालजस्तै आकारको हुन्छ । यसमा अन्न निफन्ने (केलाउने) गरिन्छ । यस्तै बाँस र निगालोको चोयाको सहायताबाट बुनिने फराकिलो मुख भएको गहिरो भाँडो डालो हो । यसमा पनि अन्नपात राख्ने गरिन्छ । गाउँघरमा नाङ्लो र डालोको प्रयोग गर्ने चलन धेरै भए पनि अहिले यी सामानको प्रयोगमा कमी आउन थालेको छ ।

विकास र प्रविधिको पहुँचसँगै संरक्षणमा चासो नदिँदा म्याग्दीका ग्रामीण भेगबाट रैथाने सीप र प्रविधिको प्रयोग गरी निर्माण गरिएका यस्ता सामग्री र यीसँग सम्बन्धित मौलिक सम्पदा लोप हुँदै गएका छन् । एक दशक अगाडिसम्म म्याग्दीका ग्रामीण क्षेत्रमा अत्याधिकरुपमा प्रयोग हुने गरेका यस्ता हस्तकलाका सामग्रीलगायत, ढिकी, जाँतो र पानी घट्ट पनि अहिले लोप हुँदै गएका छन् । ढिकी, जाँतो र पानी घट्ट अन्न कुट्ने र पिस्ने परम्परागत प्रविधि हुन् । गाउँ–गाउँमा पानी तथा बिजुलीमार्फत सञ्चालन हुने मिल पुगेपछि यस्ता प्रविधि पनि लोप हुँदै गएका बेनी नगरपालिका– २ का वडाअध्यक्ष यामबहादुर कार्कीले बताए ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  १ : ४५ बजे

कसको गल्तीले रोकियो देशभरको इन्टरनेट सेवा? सरकार र सेवा प्रदायक आरोप-प्रत्यारोप

काठमाडौं- नेपालभर बिहीबार अपरान्हदेखि करिब ६ घण्टासम्म इन्टरनेट सेवा प्रभावित

सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित

वासिङ्टन – सात महिनाको युद्धपछि गरिबी दर बढेसँगै प्यालेस्टिनी अर्थतन्त्र

सांसद बस्नेत मुछिएको सहकारी प्रकरण छानबिन गर्न सरकारलाई राप्रपाको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा सांसद गीता बस्नेत जोडिएको सहकारी

चिनियाँ राजदूत झी सहभागी कार्यक्रममा विरोध प्रदर्शन

ताइवान – ताइवानी र तिब्बती विद्यार्थीहरूले संयुक्त राज्य अमेरिकाका लागि

पर्यटकको आकर्षण बन्दै गुरुङगाउँको ‘अम्बोटे होमस्टे’

धादिङ – धादिङ जिल्लाको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिका–३ गुम्दीस्थित गुरुङगाउँको