बसाइँ हिँड्नेको कथा : मान्छे किन जाँदैछन् युरोप-अमेरिका ? | Khabarhub Khabarhub

बसाइँ हिँड्नेको कथा : मान्छे किन जाँदैछन् युरोप-अमेरिका ?



काठमाडौं- नेपालबाट अमेरिका जान भनी हिँडेका मान्छेको मृत्यु भएको समाचार बेला–बेला आउने गरेको छ । अमेरिका जाने गाउँलेको लहरले गर्दा रुकुमको एउटा गाउँ नै रित्तिएको विषय हालै प्रधानमन्त्री पुष्पकमल दाहालले नै चर्चामा ल्याए ।

कति नेपाली वैधानिक बाटोबाट विदेशिएर अस्ट्रेलिया, अमेरिका, खाडी मुलुक, मलेशिया, युरोपेली मुलुक पुगेका छन् भन्ने तथ्याङ्क त सरकारसँग होला तर अवैध बाटो प्रयोग गरेर आप्रवासी बन्ने नेपाली कति छन् भन्ने तथ्याङ्क भने भेटिँदैन । नेपालमा केही अवसर नै नदेखेर हो वा अन्त धेरै राम्रो अवसर देखेर हो, मान्छे आप्रवासी हुन अझै लालायित छ । आखिर किन ?

विश्व बैंकले मुलुकहरुबीच रहेको आय असमानता, जनसङ्ख्यामा आउने परिवर्तन, मौसम परिवर्तन, हिंसा र द्वन्द्वजस्ता घटना, सामाजिक वहिष्करण, भ्रष्टाचार, शिक्षा, स्वास्थ्य सेवा र सामाजिक सुरक्षाजस्ता अवसरको कमी र विवाहको अवसरजस्ता कारणले मान्छेले एक ठाउँबाट अर्को ठाउँमा बसाइ सर्ने गरेको उल्लेख गरेको छ । त्यसबाहेक उद्गम र गन्तव्य देशमा हुने नीति परिवर्तन र आप्रवासी कामदारको मागजस्ता कारणले पनि आप्रवासीले देश छाड्ने गरेको विश्व बैंकले जनाएको छ ।

संयुक्त राष्ट्रसंघका अनुसार आफू जन्मेको देश छाडेर अर्को देशमा बसिरहेको जोकोही मान्छे प्रवासी हो । हाल इतिहासमै सबैभन्दा धेरै मानिसले आफ्नो ठाउँ छाडिरहेका छन् ।

काउन्सिल अन फरेन रिलेसनका अनुसार विश्वका २८ करोड मानिसहरु अर्थात् हरेक ३० मध्ये एकजना अहिले आफू जन्मेको देशबाट टाढा छन् । यीमध्ये ३ करोड ५३ लाख शरणार्थी हुन् र ५९ लाख अर्को देशमा शरण पाउने आशामा छन् ।

कूल अन्तर्राष्ट्रिय आप्रवासीमध्ये झण्डै आधा अर्थात् ४८ प्रतिशत महिला छन् । तीन चौथाइ आप्रवासीहरु २० देखि ६४ वर्ष उमेर समूहका छन् । यस्तै, ४ करोड १० लाख आप्रवासी २० वर्ष उमेरभन्दा कम उमेरका छन् ।

सबैभन्दा धेरै एसिया र युरोपमा समान ३१ प्रतिशत आप्रवासी बस्छन् । त्यस्तै, २१ प्रतिशत उत्तर अमेरिकामा, ९ प्रतिशत अफ्रिकामा, ल्याटिन अमेरिका र क्यारेबियनमा ५ प्रतिशत र ओसियानियामा ३ प्रतिशत आप्रवासी बस्छन् ।

काउन्सिलका अनुसार पछिल्लो ३० वर्षमा मात्रै विश्वको आप्रवासनदर ८० प्रतिशतले बढेको छ । सन् १९९० मा विश्वको आप्रवासन २ दशमलब ८८ प्रतिशत रहेकोमा सन् २०२० सम्म आइपुग्दा त्यो बढेर ३ दशमलब ६ प्रतिशत पुग्यो । २१ औँ शताब्दीमा आप्रवासन बढ्नुमा सिरियाली युद्धजस्ता द्वन्द्व प्रमुख कारण रहेको काउन्सिलको ठहर छ ।

तथ्याङ्ककै कुरा गर्दा संसारका १० देशले कूल आप्रवासीमध्ये एक तिहाइ उत्पादन गर्छन् । सबैभन्दा धेरै आप्रवासीको उद्गम देश भने भारत हो । भारतमा जन्मेका १ करोड ७८ लाख मानिसहरु आफ्नो देशबाट टाढा छन् ।

यद्यपि यो सङ्ख्या भारतको कूल जनसङ्ख्याको १ प्रतिशतजति मात्रै हुन आउँछ । त्यस्तै, मेक्सिकोका १ करोड १२ लाख नागरिक विदेश बस्छन् । यो भनेको मेक्सिकोको कूल जनसङ्ख्याको ८ दशमलब ६८ प्रतिशत हो ।

त्यस्तै, रुस र चीनका क्रमशः १ करोड ७ लाख र १ करोड ४ लाख मानिसहरु आफू जन्मेको देशबाट टाढा छन् । त्यसपछि क्रमशः सिरिया, बङ्गलादेश, पाकिस्तान, युक्रेन, फिलिपिन्स र अफगानिस्तान सबैभन्दा धेरै आप्रवासीका उद्गम मुलुक हुन् । राष्ट्रसंघको तथ्याङ्कमा नेपालका २६ लाख मानिसहरु विदेशमा छन् । यो यहाँको कुल जनसङ्ख्याको झण्डै ९ प्रतिशत हो ।

आप्रवासीको गन्तव्यको कुरा गर्दा शीर्ष स्थानमा अमेरिकाको नाम आउँछ । अमेरिकामा ५ करोड ६ लाख आप्रवासीको बसोबास छ ।

दोस्रो स्थानको जर्मनीमा १ करोड ५८ लाख, तेस्रो, साउदी अरबमा १ करोड ३५ लाख, रुसमा १ करोड १६ लाख आप्रवासी बस्छन् । त्यस्तै, यो सूचीमा बेलायत, यूएई, फ्रान्स, क्यानाडा, अस्ट्रेलिया र स्पेनको नाम पनि शीर्ष १० मा अटाएको छ ।

हिंसाका कारण आफ्नो देश छाडेर अन्त जानेहरुको कुरा गर्दा सबैभन्दा धेरै शरणार्थीहरु उत्पादन गर्ने देशको पहिलो नम्बरमा युद्धग्रस्त सिरियाको नाम आउँछ । सिरियाका ६८ लाख मानिसहरु शरणार्थीका रुपमा विदेशमा छन् ।

त्यसैगरी, आर्थिक र राजनीतिक सङ्कटले आक्रान्त ल्याटिन अमेरिकी देश भेनेजुएलाका ४६ लाख जनता शरणार्थी भइ विदेश गएका छन् ।

अफगानिस्तानका २७ लाख शरणार्थीले देश छाडेका छन् भने दक्षिण सुडानका २४ लाख र म्यान्मारका १२ लाख शरणार्थी विदेशमा छन् । यस्ता शरणार्थीहरुलाई शरण दिने सबैभन्दा ठूलो देशका रुपमा सिरियाको छिमेकी टर्कीको नाम शीर्ष स्थानमा आउँछ । टर्कीले ३७ लाख शरणार्थीहरुलाई आश्रय दिएको छ ।

त्यसपछि भेनेजुएलाको छिमेकी कोलम्बियाले दोस्रो ठूलो शरणार्थी जनसङ्ख्यालाई आश्रय दिएको छ । कोलम्बियामा १८ लाखले शरण लिएका छन् । यो सूचीको तेस्रो स्थानमा युगाण्डा, चौथोमा पाकिस्तान र पाचौँमा जर्मनी छन् ।

यो त आधिकारिक तथ्याङ्क भयो तर आप्रवासनको वास्तविक चित्र भने योभन्दा कहालीलाग्दो रहेको बताइन्छ । समग्रमा हेर्दा एसिया, अफ्रिका र ल्याटिन अमेरिकी महादेशबाट युरोप, उत्तर अमेरिका र अष्ट्रेलिया महादेशका विकसित देशतिर आप्रवासन हुने गरेको देखिन्छ ।

जे-जस्तो कारणले भए पनि एक ठाउँबाट अर्को ठाउँ बसाइँ सर्न हरेक वर्ष लाखौँ मानिसहरु लामो यात्रामा निस्कन्छन् । कोही वैध बाटोबाट गन्तव्य पुग्ने प्रयासमा हुन्छन् त कोही आफूले चाहेको गन्तव्यमा पुग्न जस्तोसुकै मूल्य चुकाउन पनि तयार हुन्छन् ।

अवैध बाटो प्रयोग गर्ने ल्याटिन अमेरिका, अफ्रिका र एसियाका आप्रवासीहरु गन्तव्य देशहरु अमेरिका, युरोप, अस्ट्रेलिया पुग्नका लागि केही महत्वपूर्ण मार्ग अथवा रुटहरुको प्रयोग गर्छन् ।

पहिलो रुट अन्तर्गत अफ्रिकाका विभिन्न देशबाट लिबिया र ट्युनिशियास्थित महादेशको उत्तरी तटसम्म पुगेका आप्रवासीहरु डुङ्गा चढेर भूमध्य सागरमा जोखिमपूर्ण यात्रा गरेर युरोपेली युनियनमा पर्ने इटालीको लाम्पेदुसा, पान्तेल्लेरियाजस्ता टापु पुग्छन् । त्यस्तै, अर्को रुट अन्तर्गत एसिया र मध्यपूर्वबाट टर्कीसम्म आइपुग्ने आप्रवासीहरु एजियन सागरको यात्रा गरी ग्रिसको लेस्बोस टापुसम्म पुग्छन् ।

संयुक्त राष्ट्रसंघले यस वर्षको सुरुदेखि हालसम्म मात्रै भूमध्य सागरमा जोखिपूर्ण यात्रा गर्नेमध्ये २४ सय जनाभन्दा धेरैको मृत्यु भइसकेको वा बेपत्ता रहेको जनाएको छ । यो तथ्यांक सन् २०१८ यताकै सबैभन्दा धेरै हो ।

यसअघि सन् २०१५ मा टर्कीबाट नै स्थलमार्थ प्रयोग गरी बाल्कन हुँदै युरोपेली युनियन प्रवेश गर्ने आप्रवासी गर्ने आप्रवासीका कारण युरोपमा सङ्कट नै निम्तिएको थियो । बंगलादेश र म्यान्मारको तटबाट डुङ्गा चढेर मलेशिया, इण्डोनेशिया पुग्न आप्रवासीले प्रयोग गर्ने रुटलाई पनि अवैध आप्रवासनमा प्रयोग हुने अर्को महत्वपूर्ण रुट मानिन्छ ।

यसअघि सन् २०२१ को अन्त्य र २२ को सुरुतिर सयौँ आप्रवासीहरु रुसी भूमि हुँदै बेलारुस पुग्ने गरेको र त्यहाँबाट पोल्याण्ड जान खोजिरहेको भन्ने समाचार पनि आएको थियो ।

अहिले सबैभन्दा धेरै चर्चामा आएको आप्रवासन रुट चाहीँ ल्याटिन अमेरिकी देशहरुबाट स्थलमार्ग हुँदै मेक्सिको र त्यहाँबाट अमेरिकासम्म पुग्ने रुट नै हो । यो रुट प्रयोग गरी भइरहेको अवैध आप्रवासनले अमेरिकासँगै मेक्सिकोमासमेत सङ्कटकै रुप लिएको छ ।

ल्याटिन अमेरिकामा व्याप्त गरिबी, भोकमरी, भ्रष्टाचार, असफल राज्य संयन्त्र, आपराधिक ग्याङ र लागूऔषध कारोबारीले मच्चाउने हिंसा र अमेरिका पुगिने लोभलाग्दो सपनाका कारण यो रुट प्रयोग गरी हरेक वर्ष लाखौँ मानिसहरु नयाँ गन्तव्य पुग्न निस्किने गरेका छन् ।

भ्वाइस अफ अमेरिकाका अनुसार यो वर्षको सुरुदेखि हालसम्म अमेरिकी सीमा सुरक्षा अधिकारीहरुले १७ लाखभन्दा धेरै आप्रवासीहरुलाई अमेरिका-मेक्सिको सीमाबाट नियन्त्रणमा लिएका छन् ।

यो वर्षको सेप्टेम्बर महिनामा मात्रै भेनेजुएलाबाट ६० हजारभन्दा धेरै आप्रवासी मेक्सिको पुगेका थिए । मेक्सिकन सरकारलाई उद्धृत गर्दै भ्वाइस अफ अमेरिकाले जनाएअनुसार सोही महिना ग्वाटेमालाबाट ३५ हजार, होण्डुरसबाट २७ हजार जना अमेरिका जान भनी मेक्सिको पुगेका थिए ।

मध्यकालको कथा

मध्यकालीन ऐतिहासिक नोर्स गाथा ‘भिनल्याण्डको नालिबेली (भिनल्याण्ड क्रोनिकल)’ मा आइसल्याण्डका लेइफ एरिक्सन नाम गरेका एकजना खोजकर्ताको जीवनी पढ्न पाइन्छ । उनका पिता एरिक द रेडले युरोपभन्दा धेरै टाढा ग्रिनल्याण्डमा पहिलो पटक नोर्स बस्ती बसाएका थिए ।

ईसाको दशौँ शताब्दीको उत्तराद्र्ध र एघारौँ शताब्दीको पूर्वाद्ध आसपास आइसल्याण्डबाट ग्रिनल्याण्ड जाने क्रममा उनी चढेको जहाज आँधीमा बेपत्ता हुन्छ । लेइफ एरिक्सन र उनको जहाजी दललाई आँधीले उत्तर अमेरिका पुर्‍याउँछ ।

एरिक्सन कोलम्बसभन्दा झण्डै ५ सय वर्षअघि अमेरिकी महादेश पुग्ने युरोपेली हुन् । उत्तर अमेरिकी महादेशमा फेला परेका प्राचीन नोर्स पुरातात्विक अवशेषले यसको पुष्टि गर्छ ।

अहिले आप्रवासी बारम्बार आउने समाचार हेर्दा लाग्छ, लेइफ एरिक्सनले आफ्नो यात्रामा जस्तो दुःख पाएका थिए, अहिले अफ्रिकाको ट्युनिशिया र लिबियाको तटदेखि डुङ्गा चढेर इटालीको लाम्पेदुसा टापु पुग्न चाहने आप्रवासी, या टर्कीको तटबाट ग्रिसको लेस्बोस पुग्न चाहने आप्रवासी अथवा बंगलादेशको तटबाट इण्डोनेशिया पुग्न चाहने आप्रवासीले पाउने दुःख र एरिक्सनले पाएको दुःख उस्तै छन् ।

विज्ञानको विकासले मानव आप्रवासनलाई पनि छाडेको छैन । घोडा पाल्नुअघि मान्छे खुट्टैले हिँडेर एक ठाउँबाट अर्को ठाउँ जान्थ्यो । ५ हजार वर्षअघि युरेशियाको विशाल घाँसेमैदानमा घोडा पाल्न थालेपछि आप्रवासनमा क्रान्तिकारी परिवर्तन आयो । यही घोडा चढेर एक ठाउँबाट अर्को ठाउँ बसाइ सर्ने भएकाले याम्नायाहरुले आफ्नो भारोपेली सँस्कृति युरोपदेखि भारतसम्म विस्तार गरे भन्ने एकथरी सिद्धान्त छ ।

पछि पाङ्ग्राको आविष्कारले आप्रवासन अझ सहज भयो । अहिले जहाज, रेल, गाडीजस्ता साधनको विकासले इच्छा हुने मान्छेका लागि एक ठाउँबाट अर्को ठाउँ जान कुनै अफ्ठेरो छैन ।

मान्छेको जातै डुलिहिँड्ने

क्रमविकास सुरु भएदेखि नै मान्छे शिकार खेल्न, फलफूल, कन्दमूल, खानेपानी खोज्न एक ठाउँबाट अर्को ठाउँ जाने गरेको हो । त्यतिमात्रै होइन, बसोबासका लागि राम्रो ठाउँ खोज्न, वस्तुभाउका लागि राम्रो चरन, व्यापारजस्ता कारणले पनि इतिहासमा मान्छे एक ठाउँबाट अर्को ठाउँ जाने गरेको पाइन्छ ।

अशान्ति मच्चियो, द्वन्द्व चर्कियो, बैरीले देखिसहेनन्, खानेकुरा, पानी पाइएन, धेरै हिउँ प¥यो अथवा बाढीपहिरो गयो भने पनि मान्छेले थातथलो छाडेर अन्त बसाइ सर्ने गर्थे । अथवा, अर्को समूहले हमला ग¥यो र आफूलाई बन्दी बनाएर दासतामा लगायो भने पनि मान्छेलाई अर्को ठाउँ जानुपर्ने बाध्यता आइलाग्थ्यो ।

ऐतिहासिक मानव आप्रवासनकै कारण मान्छेले एसिया, अस्ट्रेलिया र युरोपसँगै अमेरिकी महादेशसमेत आवाद गर्यो । मानव आप्रवासनकै कारण भारोपेलीहरुले युरोप र भारतसम्म आफ्नो सँस्कृति र भाषा विस्तार गरेको भाषाशास्त्रीहरु बताउँछन् ।

बसाइँ सर्ने क्रममै तुर्केलीहरु मध्यएसियाबाट अनातोलिया पुगे । युनानीहरुले एक जमानामा मध्यएसियाजस्तो सुदूर क्षेत्रमा आफ्नो सभ्यता विस्तार गरेको पनि आप्रवासन र (अलेक्जेण्डरको सैनिक अभियान) कै कारणले गर्दा हो । हुण र जर्मन आप्रवासनकै कारण रोमन साम्राज्य ढलेको पनि हामीले इतिहासमा पढेकै हौँ ।

अस्ट्रोनेशियन परिवारको भाषा बोल्ने आदिवासीले सुदूरपूर्वमा प्रशान्त महासागरको हवाइदेखि पश्चिममा हिन्द महासागरको मदागास्करसम्म पुगेर आफ्नो भाषा सँस्कृति विस्तार गरे ।

मानव आप्रवासन नभएको भए नवौँ शताब्दीसम्म कसैले पनि बसोबास नगरेको आइसल्याण्ड अझै पनि अन्टार्कटिकाजस्तै मानवशून्य हुन्थ्यो होला । युरोपबाट मान्छेको आप्रवासन नहुन्थ्यो त अमेरिकी महादेश अहिलेजस्तो पटक्कै हुन्थेन । वा, अझै इतिहासमा जाँदा मानव आप्रवासन नहुन्थ्यो त मान्छेको अस्तित्व अफ्रिकी महादेशमै सीमित हुन्थ्यो होला ।

यी त भए ऐतिहासिक मानव आप्रवासन । त्यसबेला सीमा निर्धारण नभएको, कसैको शासन नभएको एक ठाउँबाट अर्को ठाउँमा जान बन्देज थिएन ।

आप्रवासन गर्नुपरे मान्छेको ठूलो झुण्ड आफ्ना केटाकेटी, गाईवस्तु, शिकार खेल्ने हतियार, आफ्नो सीप, भाषा, सँस्कृति र जीवनशैली लिएर एक ठाउँबाट अर्को ठाउँ जान्थे । त्यहीँ बसोबास गर्ने अर्को समूहलाई असर नपरे मिलेर बस्थे नत्र प्रकृतिको नियम अनुसार द्वन्द्व हुन्थ्यो ।

तर, अहिले भने अवस्था भिन्न छ । अहिले ‘राष्ट्र राज्य (नेसन स्टेट)’ को सिद्धान्तमा विश्व चलेको छ । विश्वका हरेक देशका निश्चित सीमा छन् । यी देश आफ्नो सीमाभित्र आफूखुशी अर्को देशका मान्छे आउन् भन्ने चाहँदैनन् । यसका लागि ‘राहदानी’ र ‘भिसा’ जस्ता कागजी प्रक्रियाको व्यवस्था छ । यस प्रक्रियाबाट निश्चित देशले चाहेका मान्छेमात्रै प्रवेश गर्न पाउँछन् ।

तर, पहिले र अहिलेको आप्रवासनमा केही समानता चाहिँ अझै बाँकी छन् । पहिले पनि मान्छे राम्रो स्रोत, साधन र अवसरको खोजीमा बसाइँ सर्थे, अहिले पनि मान्छे राम्रो स्रोत साधन र अवसरको खोजीमा अन्त जान्छन् ।

पहिलेका मान्छे कन्दमूल र शिकार खेल्न जङ्गल र जनावर धेरै भएका ठाउँतिर जान्थे । गाईवस्तु चराउन रुखो ठाउँबाट घाँसेमैदानतिर, अनिकाल लाग्ने मरुभूमिबाट खोलाको किनारतिर जान्थे । त्यसबेला जीवनयापनका लागि आवश्यकता नै त्यही थियो ।

अहिले समयसँगै मान्छेका आवश्यकता फेरिएका छन् । अहिलेको मान्छेले रोजगारी, राम्रो स्वास्थ्योपचार, शिक्षामा राम्रो अवसर, गुणस्तरीय जीवन खोज्छ । रोजगारीको अवसर नभएको नेपालजस्तो देशबाट मानव संशाधनको अभाव रहेको खाडीतिर, राम्रो शिक्षाको खोजीमा अस्ट्रेलिया र अमेरिकातिर, अनिकाल लागेका अफ्रिकाबाट मान्छेहरु समृद्ध युरोपतिर गइ नै रहेका छन् ।

पहिले पनि मान्छेहरु आफ्नो ठाउँमा झगडा हुँदा भागेर अन्त जान्थे, अहिले पनि आफ्नो देशमा युद्ध भयो, अशान्ति मच्चियो भने मान्छे भागेर शरणार्थी भएर अन्त जान्छ ।

हुणहरुसँग निरन्तर कलह हुँदा पूर्वी युरोपमा बस्ने जर्मनहरु रोमन साम्राज्य पसेको र उनै जर्मनहरुले सन् ४७६ मा रोम नै कब्जा गरेको त हामीले इतिहासमा पढेकै कुरा भयो । अहिले पनि आफ्नो ठाउँमा कलह हुँदा मान्छेहरु भागेर अन्त गइरहेका छन् ।

उदाहरणका लागि म्यान्मारमा युद्ध हुँदा त्यहाँका रोहिङ्ग्या भागेर बङ्गलादेश र दक्षिणपूर्वी एसिया पुगेको अनि केही रोहिङ्ग्या नेपालसम्मै आइपुगेको त हामीले देखे-सुनेकै हो ।

विश्वमा दासताको उन्मूलनका कारण मान्छेलाई दास बनाएर अर्को ठाउँ लैजाने चलन भने अहिले छैन । तैपनि श्रम गराउन वा यौन धन्दामा लगाउन तस्करले लुकिछिपी मान्छेलाई अन्त लैजान भने छाडेका छैनन् ।

त्यसैगरी, विश्वव्यापीकरणले गर्दा व्यापार नै गर्नका लागि अहिले मान्छे एक ठाउँबाट अर्को ठाउँमा जानुपर्ने बाध्यता छैन । तैपनि कर छली गर्न वा सम्पत्ति लुकाउनेजस्ता कामका लागि आफ्नो वा कम्पनीको स्थान परिवर्तन गर्ने मान्छेहरु पनि पाइन्छन् ।

विश्वमा अशान्ति, हिंसा र अन्याय सहन नसकेर बसाइँ हिँड्ने क्रम आधुनिक युगमा पनि जारी छ । केहीअघिमात्रै तालिबानले सत्ता कब्जा गरेको बखत देश छाड्न विमानस्थलमा छट्पटाइरहेका अफगानहरुको अवस्था पनि हामीले समाचारमा देखेकै हौँ । यतिमात्रै होइन, आफ्नो देशबाट लखेटिएपछि नेपाल आएका भुटानी र तिब्बतीहरुलाई नेपाल पनि शरण दिएकै हो ।

तर, नेपालमा अहिले अशान्ति र हिंसा नहुँदा नहुँदै पनि मानिसहरु अमेरिका र युरोपतिर ‘बगावत’ हुने क्रम रोकिएको छैन । यस्तो किन भइरहेको होला ? यो भने खोज र अनुसन्धानको विषय हो ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  ४ : ०२ बजे

जागरुकताको अभ्यास योग

योग शारीरिक तन्दुरुस्तीको अभ्यास मात्र नभएर आन्तरिक रूपमा हरपल जागृत

आजदेखि उपत्यकामा मेलम्चीको पानी नआउने

काठमाडौं– आजदेखि काठमाडौँ उपत्यकामा मेलम्चीको खानेपानी बन्द हुने भएको छ

भारतको आर्थिक विकासबाट हामीले पनि फाइदा लिनुपर्छ : राष्ट्रपति विक्रमासिंघे

काठमाडौं– श्रीलंकाका राष्ट्रपति रनील विक्रमासिंघेले भारतसँग अझ निकट हुनुपर्ने विचार

योगाभ्यासका लागि नेपाल सुन्दर भूमि हो : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक हिसाबले नेपाल संसारभरका मानिसका

तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं – संघीय संसदअन्तर्गत तीनवटा समितिको बैठक बस्दैछ।  मध्याह्न १२